default_image

6 years ago

March 21, 2019

इतिहास रच्ने अवसर

131 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

पछिल्लो एक वर्षमा महिला फुटबलमा नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा फड्को मारेको छ । शुक्रबार साफ महिला च्याम्पियनसिपको फाइनलमा चौथोपटक उत्रँदा नेपाली टोलीसामु पहिलो पटक उपाधि जित्ने अवसर त छ नै । सँगै यस जितले समग्र नेपाली फुटबलमा महिला टोलीको सुखद दिनको सुरुवात रच्नेछ ।

घरेलु स्तरमा महिला फुटबल पर्याप्त मात्रामा नभइरहेको अवस्थामा अन्तर्राष्ट्रिय स्तरमा भने राष्ट्रिय टोलीले एकपछि अर्को सुखद नतिजा आत्मसात गरिरहेको छ । उमेर समूहमा पनि यू-१९ टोलीले भुटानमा भएको साफ च्याम्पियनसिपमा उपविजेता तथा एएफसी को यू-१९ च्याम्पियनसिपको दोस्रो चरणमा छनोट हुनुले सुखद संकेत दिएको छ । अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारीमा व्यस्त रहँदा नेपाली टोलीले लगातार राम्रो प्रदर्शन गर्न सकेको हो ।

घरेलु मैदानमा साफ च्याम्पियनसिप खेल्नुअघि नेपालले दुई प्रतियोगितामा सहभागिता जनायो । म्यानमारमा भएको ओलम्पिक छनोटमा नेपालले म्यानमार, भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्यो । तीनै खेल १-१ को बराबरीमा सकिएपछि नेपाली टोली इतिहासमा पहिलो पटक ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गर्यो । साफ सुरु हुनुअघि भारतमा भएको हिरो गोल्डकपमा नेपालले फेरी भारत र म्यानमारसँग नै खेल्ने अवसर पायो । भारतलाई समूह चरणमा २-१ ले पराजित गर्दै फाइनल पुगेको नेपालले म्यानमारसँग भने फाइनल र त्यसअघि समूह चरणमा हार बेहोर्यो ।

भारतविरुद्ध पछिल्लो दुई खेलमा नेपाल अपराजित छ । दुवै खेलमा नेपालले केहि दबाब पनि कायम गर्न सफल भएको छ । नयाँ स्वरुपमा उत्रिएको भारतविरुद्ध नेपालले कडा चुनौती प्रस्तुत गर्दै आएको छ । शुक्रबारको खेल त्यसै लयमा जाने निश्चितप्राय छ । कारण दुवै टोलीले प्रतियोगितामा खेलेका तीन खेलमा सहज जित दर्ता गरेका छन् । दुवै टोलीले तीनै खेलमा क्लिनसिट राखेका छन् । दुवै टोली प्रतियोगितासुरु हुनुअघिका दावेदार थिए र मैदानमा त्यसै स्तरको खेल देखाउन सक्षम छन् ।

साफ च्याम्पियनसिपको इतिहास पल्टाउने हो भने नेपालले भारतबाहेक अन्य टोलीसँग पराजय भोग्नुपरेको छैन । नेपालले यसअघिको चार संस्करणमा तीन पटक उपविजेता बन्दै र पछिल्लो पटक सेमिफाइनलमा घर फर्कंदा भारतसँग नै पराजित हुन पुगेको थियो । उक्त सेमिफाइनलमा नेपालले भारतलाई दबाबमा राख्न सफल भएपनि अवसर सदुपयोग गर्न नसक्दा पराजित हुन पुगेको थियो । त्यसपछि खेलेका दुवै खेलमा नेपाल अपराजित रहेको छ ।

नेपाली टोली पछिल्लो समय लगातार खेलेका कारण पनि उच्च लयमा छ । प्रतियोगिताको तीन खेलमा नेपालको सुरुवाती रोजाई एक पटक मात्र परिवर्तन भएको छ । नेपाली टोली ‘सेट’ देखिन्छ । यद्यपी डिफेन्स र गोलरक्षकको पर्याप्त मात्रामा खेलमा संलग्नता नहुनुले केहि समस्या आउन सक्छ ।

समूह चरणमा भुटान र बंगलादेश तथा सेमिफाइनलमा श्रीलंकाविरुद्ध नेपाली टोलीले रक्षात्मक रणनीतिमा खासै कसरत गर्नु परेन । यसले भारतको बलियो आक्रमणलाई रोक्न भने केहि समस्या हुन सक्छ । गोलरक्षकमा एन्जिला तुम्बापो सुब्बासँगै हिराकुमारी भुजेल, पुनम जर्घामगर, गीता राना र मनमाया लिम्बु भारतको आक्रमण निस्तेज पार्न तयार छन् ।

रक्षात्मक रुपमा नेपाल जति चिन्तित छ, आक्रमणमा नेपालको शक्तिले टोलीमा उर्जा थपेको छ । दक्षिण एसियाकै उत्कृष्ट फरवार्डको रुपमा आफूलाई सिद्ध पारेकी सावित्रा भण्डारी र कप्तान निरु थापाको जोडीसँगै नेपालको बेन्च पनि बलियो नै छ । रेखा पौडेल, सरु लिम्बू, अनिता केसी र शर्मिला थापा कुनैपनि समय खेलमा अवसर पाए आफूलाई सावित गर्न लालयित छन् ।

अनिता बस्नेत र मन्जलीकुमारी योन्जनको विंगप्ले नेपालको लगातार गोलसंख्यामा निर्णायक सावित हुँदै आएको छ । बल खोस्ने योजनामा व्यस्त रहने मिडफिल्डको मध्यक्रमले आक्रमणमा अपेक्षित प्रदर्शन गर्न सकेको छैन । भारतविरुद्ध दिपा राई र रेनुका नगरकोटेको जोडीलाई थप जिम्मेवारी हुनेछ ।

नेपाली टोली राम्रो लयमा छ र भारतविरुद्ध पछिल्ला नतिजाले मनोबल पनि उच्च छ । नेपालको लागि उपाधिको खडेरी तोड्ने यो सुवर्ण अवसर हो । घरेलु मैदानमा फाइनल खेल्न पाउनु अर्को सुखद पाटो छ । एन्फाले प्रतियोगिताको पूर्वसन्ध्यामा नेपाली टोलीले उपाधि जितेमा ‘भविष्य सुखद’ रहने गरि सोच राखेको बताएको थियो । स्थानीय निकाय प्रमुखले पनि आफ्नो स्तरबाट सक्दो सहयोग गर्ने वाचा गरेका छन् । यसबाहेक सरकारी निकायका उपल्लो दर्जाका व्यक्तित्वहरुले पनि टोलीको हौसला बढाउने क्रममा आश्वासनको ठेली नै पेलेका छन् ।

उपाधि खडेरी तोड्दै नेपाली फुटबलको इतिहासमै सिनियर टोलीले साफ स्तरको उपाधि जित्नु सुखद नतिजा हुनेछ । यसका लागि परम्परागत प्ररिद्वन्द्वीलाई परास्त गर्नु नेपालको लागि सहज भने छैन । इतिहास रच्ने बानी पारेका महिला खेलाडीले शुक्रबार शहिद रंगशालामा भारतको उपाधि यात्रामा पूर्णविराम लगाउँदै समग्र नेपालको फुटबलमा नै नयाँ इतिहास कोर्ने अपेक्षा धेरैले राखेका छन् ।

March 18, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको सेमिफाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको‌ सामना गर्यो […]

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

March 18, 2025

श्रेष्ठलाई यु १९ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]

Success

Thank you for your time.