6 years ago
March 14, 2019
सुबास हुमागाईं, विराटनगर
खेलाडीको जीवनमा चोटका कारण मैदानबाहिर बस्नुजस्तो पिडादायी क्षण सायदै अरु केहि होला । कुनैपनि हारको नतिजामा पिडा हुन्छ तर त्यसलाई बिर्साउन खेलाडीले अर्को मौका पाउँछ । चोट लागेर मैदानबाहिर बस्दा हुने पिडालाई जित्न सुखद पुनरागमनको विकल्प हुँदैन ।
चोटको पिडाले खेलाडीलाई शारीरिक रुपमा त कमजोर बनाउँछ नै मानसिक रुपमा त्योभन्दा बढी हानी गर्छ । कमै खेलाडीले छोटो समयमा चोटबाट सफल पुनरागमन गर्न सक्छन । स्थापित खेलाडीको लागि यो प्रक्रिया सहज हुन्छ तर युवा खेलाडीको लागि आफ्नै पिडालाई जित्नु निकै कठिन हुने गर्छ । तर यो सबैलाई चिर्दै नेपाली महिला राष्ट्रिय टोलीकी युवा फरवार्ड रेखा पौडेलले राष्ट्रिय टोलीमा स्थान बनाइन् र डेब्यु पनि गरिन् ।
मिति सन् २०१६, नोभेम्बर २२
एक महिनापछि भारतमा सुरु हुने साफ च्याम्पियनसिपको लागि एन्फा कम्प्लेक्समा अवस्थित एष्ट्रो टर्फ मैदानमा राष्ट्रिय टोलीको अन्तिम चरणको छनोट जोडतोडले चलिरहेको थियो । मुख्य प्रशिक्षक कुमार थापा, प्रशिक्षक अस्मिता खवास र टेक्निकल डाइरेक्टर चियाकी ताकेदासहितको प्राविधिक टोली खेलाडी नामावलीसहित मैदानको छेवैमा छलफल गरिरेहका थिए । छनोटको अन्तिम मैत्रीपूर्ण खेल समाप्त भएको संकेत गर्न प्रशिक्षक थापाले सिट्ठी फुक्ने तयारी गर्दै थिए ।
खेल सकिन केहि समय बाँकी रहँदा फरवार्ड रेखा पौडेल मैदानको बीच भागमा लडीन् । मैदानबाहिर रहेकी टोलीकी फिजियो भूमिका कायस्थ ‘आइसप्याक’ बोक्दै त्यसतर्फ दगुरिन् । केहिबेरमा थाहा भयो डिफेन्डर अन्चली वाइबाले प्रहार गरेको बल रेखाको हातमा लागेको थियो । रेखाको पिडा र उनको हातको स्थिति हेर्दा फिजियोलाई उनको हात भाँचिएको एकिन गर्न लामो समय लागेन । विस्तृत परिक्षणपछि उनको राष्ट्रिय टोलीमा पहिलोपटक छनोट हुने सपना त्यसबेला पूरा हुन नसक्ने निष्कर्ष आयो ।
त्यसबेला नवनियुक्त प्रशिक्षक कुमार थापाको नेतृत्वमा नेपाली टोलीले भारतको सिलिगुडीमा हुने प्रतियोगिताका लागि केहि साताअघि नै तीव्र गतिमा तयारी अगाडी बढाएको थियो । प्रारम्भिक चरणमा ७२ खेलाडी उपस्थित भएपछि थापाले तीन चरणको छनोटपछि ३३ खेलाडीको नाम छनोट गरे । त्यसपछि अर्को चरण टोलीको छनोट गर्न आयोजित मैत्रीपूर्ण खेलमा फरवार्ड रेखा पौडेलले चोट बोकिन् । दुर्भाग्यपूर्ण चोट बोक्नुपर्दा रेखाको टोलीमा पुग्ने बलियो सम्भावनाले मुर्तरुप लिन सकेन ।
उनै रेखा पौडेलले यहि मंगलबार साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा भुटानविरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरिन् । उमेर समूहको प्रतियोगितामा लगातार आफूलाई प्रमाणित गर्दै आएकी रेखाको लागि यो दिनको लागि निकै प्रतिक्षा गर्नुपर्यो । सन् २०१४ मा श्रीलंका र सन् २०१५ मा नेपालमा आयोजित एएफसी यू-१४ गर्ल्स रिजनल च्याम्पियनसिपमा रेखाले लगातार गोल गर्दै उमेर समूहको फुटबलमा स्थापित गराएकी थिइन् ।
प्रतियोगिताको फाइनल खेलको दिन महाभूकम्प आएपछि उक्त फाइनल केहि महिनाको लागि स्थगित भएको थियो । स्थगित भएको फाइनलमा उपविजेतामै सिमित भएपनि रेखाको लागि भने उक्त प्रतियोगिता नेपाली समर्थकमाझ आफ्नो सुरुवाती परिचय बनाउन पर्याप्त रहयो । उक्त प्रतियोगितामा खेलेका अधिकांश खेलाडी हाल यू-१९ राष्ट्रिय टोलीमा पनि छन् । कहिले विभागीय टोलीबाट खेल्दै राष्ट्रिय टोलीसम्म यात्रा तय गरेका छन् ।
फरवार्ड रेखाले उक्त प्रतियोगितापछि सिनियर स्तरको महिला लिगमा पुर्वान्चलबाट आक्रमण सम्हाल्दै आफ्नो क्षमता देखाइन् । उमेर समूहको टोलीमा रहेकी आक्रामक मिडफिल्डर सरु लिम्बूको साथमा उनले पुर्वान्चलका लागि राम्रो प्रदर्शन गरेपछि दुवै खेलाडी लगत्तै विभागीय टोली एपीएफमा होमिए । राष्ट्रिय खेलाडीले भरिपूर्ण एपीएफमा दुवै खेलाडीले खेल समयका लागि केहि समय कसरत गर्नुपर्यो ।
लिग र प्रधानसेनापति कपमा गरेको धेरथोर प्रदर्शनका आधारमा रेखा र सरु दुवै राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा परे । तर छनोटमा प्रभावशाली प्रदर्शन गर्नका बाबजुद चोटले उनको टोलीमा पर्ने सम्भावनामा पूर्णविराम लगायो । सरुले भने राष्ट्रिय टोलीमा पर्दै डेब्यु पनि गरिन् । त्यसयता सरुले राष्ट्रिय टोलीबाट १३ खेल खेलिसकेकी छिन् ।
बिरलै आउने अवसरमा चोट बोकेपछि रेखालाई मैदानमा फर्कन निकै समय कुर्नुपर्यो । नियमित महिला फुटबल नहुनुले उनलाई आफूलाई सिद्ध गर्न अवसरको आवश्यकता थियो । महिला लिग र प्रधानसेनापति कपमा सिमित नेपालको घरेलु फुटबलले उनलाई एपीएफमा सिद्ध पार्न पर्याप्त अवसर दिएन । राष्ट्रिय टोलीका खेलाडीले भरिपूर्ण एपीएफमा उनले कडा मिहिनेत भने जारि राखिन् । धेरथोर खेल्ने समय पाउँदा आफ्नो स्तर देखाई नै रहिन् ।
उमेर समूहको यू-१९ प्रतियोगितामा नेपालले पहिलो पटक सहभागिता जनाउनु उनको लागि अवसर बनेर आयो । एएफसी यू-१९ च्याम्पियनसिपको छनोट खेल्नुअघि नेपालले दक्षिण एसियाली स्तरको साफ यू-१८ महिला च्याम्पियनसिप खेल्ने भयो । साफ प्रतियोगितामा नेपाल फाइनलमा बंगलादेशसँग १-० ले पराजित भयो । भुटानमा भएको प्रतियोगिता अवधिभर ८ गोल गर्दै रेखाले सर्वाधिक गोलकर्ताको उपाधि जितिन् ।
उक्त लयलाई रेखाले एएफसी स्तरमा पनि कायम राखिन् । पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएपछि भारतविरुद्ध दोस्रो खेलमा २-० को जितमा दुवै गोल गरेकी रेखाले दुवै खेलमा पहेंलो कार्ड पाएकाले तेस्रो खेल भने गुमाइन् । तर कमजोर पाकिस्तानमाथि रेखाको अनुपस्थितिमा नै नेपाल ९-० को फराकिलो जित दर्ता गर्दै दोस्रो चरणमा स्थान बनायो । उक्त प्रतियोगिताको दोस्रो चरण अप्रिल अन्तिम साता म्यानमारमा हुँदैछ । नेपालको समूहमा आयोजक म्यानमारसँगै अष्ट्रेलिया र उज्बेकिस्तान रहेका छन् ।
रेखाले राष्ट्रिय टोलीबाट डेब्यु गर्दाको क्षणमा आफ्नो सपना पूरा भएको अनुभूति गरिन् । ‘डेब्यु गर्दा एकदम खुसी लाग्यो । घरेलु मैदानमा भएको साफको उद्घाटन खेलमा डेब्यु गर्न पाउनु अझ विशेष रहयो । मैदानभित्र छिर्दाको क्षणमा आफ्नो सपना पुरा भएजस्तो लाग्यो । मेरो यो खुसी दिवंगत आमाप्रति समर्पण गर्न चाहन्छु,’ रेखाले भनिन् ।
१७ वर्षीय रेखाले खेलको अन्तिम समयमा मैदान प्रवेश गरेपनि छिरेको केहि सेकेन्डमै आफ्नो प्रकृति अनुसार प्रदर्शन गरेकी थिइन् । शारीरिक रुपमा निकै छरितो रेखा प्राविधिक रुपमा पनि उत्तिकै राम्रो रहेको टोलीका मुख्य प्रशिक्षक हरि खड्का बताउँछन् । ‘ प्रशिक्षणमा रेखाको प्रदर्शन र मिहिनेतको कारण नै उनले राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन् । भुटानविरुद्ध निकै कम समय पाएपनि उनले आफ्नो प्रयास गरिन् । अझै खेल्ने समय पाएको खण्डमा उनले आफ्नो स्तर देखाउनेमा विश्वस्त छु,’ खड्काले थपे,’ उनी उदीयमान खेलाडी हुन् । उनको खेलको स्तर देखेर नै यहाँ ल्याएका छौं । एउटा फरवार्डमा हुनुपर्ने छरितोपन र सहि स्थानमा पुग्ने प्रकृतिका कारण नेपाली फुटबलले भविष्यमा राम्रो फरवार्ड पाउने अपेक्षा मैले गरेको छु ।’
रेखाले पनि अवसर पाएको खण्डमा त्यसलाई सदुपयोग गर्न तत्पर रहेको बताइन् । ‘मैले आफ्नो सक्दो प्रयास गरिरहेको छु । प्रशिक्षकले मलाई विश्वास गर्नुहुन्छ भने मैले वहाँको योजनामा सिद्ध पार्ने हर प्रयास गर्नेछु,’ उनले भनिन् ।
चोटका कारण पछिल्लोपटक छनोटमा सहभागी हुन नपाएको इख राखेर यहाँसम्म आइपुगेको रेखा बताउँछिन् । ‘पछिल्लोपटक छनोटका दौरान चोट बोक्दा मैले बिचमा छाडेर जानुपर्यो । मैले राष्ट्रिय टोलीमा पर्छु भन्ने इख राखेको थिएँ । आफ्नो स्तरवृद्धि गर्न थप मिहिनेत गरें र अहिले त्यसको फलस्वरुप नै यहाँसम्म आइपुगेको छु,’ उनले थपिन्, ‘जस्तोसुकै परिस्थितिमा पनि डटेर लडेपछि नै यहाँसम्म आइपुग्न सकें । क्लबमा पनि प्रशिक्षक र अन्य सिनियर खेलाडीको साथ पाएँ ।’ केहि पारिवारिक समस्या भएपनि उनले त्यसलाई कहिल्यै आफ्नो खेल जीवनमा बाधा पुर्याउन दिइनन् । खेलप्रति उनको लगाव र नजिकका साथी र प्रशिक्षकको प्रेरणाले उनलाई अगाडी बढ्न मदत गरिरह्यो ।
सिनियर खेलाडीभन्दा माथि रहेर अन्तिम टोलीमा स्थान बनाउन रेखालाई सहज भने थिएन । तर उनले ती खेलाडीसँग प्रतिस्पर्धा गरेर अन्तत: सिनियर टोलीमा आफ्नो स्थान बनाइन् । ‘राष्ट्रिय टोलीमा सिनियर दिदीहरु हुनुहुन्थ्यो । वहाँहरुसँग प्रशिक्षण गर्दा धेरै कुरा सिक्न पाएँ र सुधार गर्ने ठाउँ पनि थाहा भयो । अहिले एकै टिमबाट खेल्ने अवसर पाउँदा निकै खुसी छु,’ उनले भनिन् ।
राष्ट्रिय टोलीमा बटुलेको अनुभवलाई उनी उमेर समूहको प्रतियोगितामा प्रयोग गर्ने बताउँछिन् । उनले राष्ट्रिय टोलीमा बलियो आत्मविश्वास र खेल्ने शैलीमा थप सुधार गरेकी छिन् । यसले व्यक्तिगत रुपमा मात्र नभएर टोलीलाई नै फाइदा हुने उनको जिकिर छ । त्यसअघि उनले आफ्नो नजर साफ च्याम्पियनसिपको उपाधिमा राखेकी छिन् । रेखाले भनिन्, ‘हामी सबैको लक्ष्य अहिले मात्र साफ च्याम्पियनसिपमा रहेको छ । हामीले जसरी पनि यो उपाधि जित्नुपर्छ । घरेलु मैदानमा साफ उपाधि जितेर सारा नेपालीलाई खुसी बनाउने हाम्रो लक्ष्य रहेको छ ।
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]