default_image

6 years ago

January 3, 2019

एन्फामा अनियमितता : राष्ट्रिय रेफ्री नबन्दै ‘फिफा रेफ्री’ नियुक्त

106 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन् २०१९ को लागि फिफा रेफ्रीको नियुक्तिमा चरम अनियमितता गरेको छ । योग्य उम्मेदवार हुँदाहुँदै एन्फाले फिफा सहायक रेफ्रीका लागि सशस्त्र प्रहरी बलका सहदेव श्रेष्ठलाई सिफारिस गरेको छ । राष्ट्रिय रेफ्रीको मान्यता नै नपाएका उम्मेदवारलाई फिफा रेफ्रीमा नियुक्त गरेसँगै यसैपनि विवादमा रहेको रेफ्री क्षेत्र अर्को विवादमा तानिएको छ ।

विक्रम चौधरी, सहदेव श्रेष्ठ र किशन यादव (बायाँबाट)

एन्फाले वर्षेनी नेपालबाट पुरुषतर्फ ४ रेफ्री र ६ सहायक रेफ्री तथा महिलातर्फ १ रेफ्री र १ सहायक रेफ्रीको नाम सिफारिस गर्ने गरेको छ । फिफा रेफ्री बनेपछि अन्तर्राष्ट्रिय रुपमा नेपालको तर्फबाट खेलमा सहभागिता जनाउन पनि अवसर पाउने हुन्छ । यसपटक एन्फाले रेफ्री नियुक्तिमा आश्चर्यजनक निर्णय गरेको छ । नाम सिफारिस गर्ने समयसम्म ए डिभिजन लिग नै नखेलाएका एपीएफका श्रेष्ठलाई एन्फाले फिफा रेफ्रीका लागि सिफारिस गर्यो ।

फिफा सहायक रेफ्रीका लागि दक्ष उम्मेदवार हुँदाहुँदै एन्फाले निकै कम अनुभव बोकेका र एक हिसाबले अयोग्य उम्मेदवारलाई फिफा रेफ्रीका लागि सिफारिस गरेको हो । फिफा सहायक रेफ्री प्रकाशनाथ श्रेष्ठले आफ्नो नाम फिर्ता लिन आग्रह गरेपछि फिफा सहायक रेफ्रीको स्थान रिक्त भएको थियो । सोहि स्थानमा पछिल्लो एक दशक देखि रेफ्री गरिरहेका अनुभवी र दक्ष विकल्पलाई बेवास्ता गर्दै एन्फाले एपीएफका श्रेष्ठलाई नियुक्त गरेको हो ।

पछिल्लो समय राजधानीमा सम्पन्न पल्सर सहिद स्मारक ए डिभिजन लिगमा रेफ्रीलाई लिएर थुप्रै विवाद भए । अधिकांश क्लबका प्रशिक्षकले रेफ्रीको स्तर ए डिभिजन लिगको लागि लायक नभएको नै प्रष्ट अभिव्यक्ति दिए । पहिलो खेलमा नै रेफ्री विवादका कारण लिगको सुरुवात खल्लो बन्यो ।

कुनैपनि खेललाई उचित ढंगले संचालन गर्न रेफ्रीको भूमिका महत्त्वपूर्ण हुन्छ । रेफ्रीको निर्णयमै आधार रहेर खेलाडीहरुको प्रदर्शन पनि मैदानमा देखिन्छ । यदि रेफ्रीको निर्णय सहि हुन सकेन भने त्यसले खेलाडीको प्रदर्शनमा पनि प्रत्यक्ष असर पर्छ । रेफ्रीले सहि निर्णय लिन नसक्दा खेलाडीको इच्छाशक्ति त गिर्छ नै, खेलको नतिजा पनि विपरित आउन सक्छ ।

नेपालमा हाल तीन स्तरका रेफ्रीहरुले घरेलु फुटबलमा खेल संचालन गर्ने गरेका छन् । एन्फाले वर्षेनी विभिन्न स्थानमा रेफ्री कोर्स गरेर त्यसमा उतिर्ण हुनेलाई ‘एन्फा रेफ्री’ बनाउने गरेको छ । एन्फा रेफ्री मध्यबाट उत्कृष्टलाई छनोट गरेर ‘राष्ट्रिय रेफ्री’ छनोट हुने गरेका छन् । र त्यस सुचिबाट खेलको प्रदर्शन, विगतका अनुभव, फिटनेस टेस्ट र लिखित परिक्षापश्चात उत्कृष्ट रेफ्री छनोट गर्ने प्रावधान रहेको छ ।

हरेक वर्ष सेप्टेम्बर महिना आस-पासमा फिफाले सदस्य राष्ट्रहरुको लागि आयोजना गर्दै रेफ्री कोर्ष (फिफा एमए रेफ्री कोर्ष) नेपालमा हुने प्रचलन रहेको थियो । नेपालभरबाट उत्कृष्ट ३० रेफ्री सम्मिलित हुने यस कोर्षमा फिफा रेफ्रीसँगै उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय र एन्फा रेफ्री सहभागी गराउने प्रावधान छ । तर यस वर्ष भने उक्त कोर्ष समयमा हुन सकेन । एन्फाले सुरुमा तोकेको मिति सारेपछि अर्को उचित मिति तोक्न सम्भव नभएपछि यसपटक उक्त कोर्ष नै संचालन भएन । फिफा रेफ्री नियुक्त भएका श्रेष्ठले पछिल्लो वर्ष उत्कृष्ट ३० को सुचिमा नभएपछि एमए कोर्षमा सहभागिता जनाएका थिएनन् ।

श्रेष्ठको विकल्पमा रहेका किशन यादव र आर्मीका विक्रम चौधरी दुवै तुलनात्मक रुपमा निकै अनुभवी र स्तरीय खेल संचालन गर्दै आएका छन् । राष्ट्रिय रेफ्रीको ब्याज समेत नपाएका श्रेष्ठलाई सिधै फिफा रेफ्री नियुक्त गर्दा ‘फिफा रेफ्री’ कै स्तरमा प्रश्न उठ्ने रेफ्री विशेषज्ञहरुको बुझाई छ । श्रेष्ठको नियुक्तिले रेफ्री क्षेत्रकै बदनाम हुने र आउने पिढीले पनि यसबारे प्रश्न उठाउनेमा एन्फाको ध्यानाकर्षण हुनु जरुरि रहेको विज्ञले बताए ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले भने रेफ्री समितिसँग छलफल गरेर नै यो निर्णय लिएको बताए । ‘हामीले नेपाली फुटबलको विकासका लागि यो निर्णय लिएका हौं । आर्मी र पुलिसका रेफ्री पर्याप्त मात्रामा रहेका कारण एपीएफको पनि प्रतिनिधित्व होस् भन्ने विषयमा पनि सोचेका हौं, ‘ उनले भने । महासचिव तुलाधरका अनुसार श्रेष्ठले फिफा रेफ्री हुन सम्पूर्ण योग्यता पूरा गरेका छन् तर श्रेष्ठले राष्ट्रिय रेफ्रीको ब्याज नै पाएका छैनन् । विभागीय दबाबमा आएर निर्णय लिएको भन्ने प्रश्नलाई भने महासचिव तुलाधरले नकारे ।

एन्फा महासचिव इन्द्रमान तुलाधर (फाइल तस्बिर)

श्रेष्ठले आफू राष्ट्रिय रेफ्री भएको दावी गरेपनि उनले हालसम्म ब्याज भने पाएका छैनन् । वि.सं. २०७१ मा भएको राष्ट्रिय रेफ्री परिक्षामा उनी फिटनेसमा फेल भएका थिए । त्यसपछि उनले रेफ्री परिक्षामा सहभागी भएका छैनन् । जारी ए डिभिजन लिग सुरु हुनुअघि लिइएको फिटनेस टेस्टमा भने उनी पास भएका थिए । त्यसैलाई आधार मानेर उनलाई फिफा रेफ्रीमा सिफारिस गरिएको एन्फाको जिकीर छ । तर ए डिभिजन लिग नै नखेलाएका र राष्ट्रिय रेफ्री नभएका रेफ्रीलाई नेपालको प्रतिनिधित्व गर्दै फिफामा पठाउनुले एन्फाको कार्यशैलीमा प्रश्न उठाउने बाटो बनेको छ ।

एन्फाले पछिल्लो समय रेफ्रीको विषयमा विवादास्पद निर्णय गर्दै आएको छ । पछिल्ला वर्षहरुमा रेफ्री संघले नै रेफ्री समितिको रुपमा एन्फामा काम गर्दै आएको थियो । रेफ्रीमात्र नभएर खेलाडी संघ र महिला फुटबल संघमा पनि सोहि अनुसार कार्यसंचालन हुने गरेको थियो । तर एन्फा चुनावअघि भएको रेफ्री संघको निर्वाचनमा पराजित हुने टोलीका अधिकांश सदस्य समेटेर एन्फाले नयाँ ‘रेफ्री समिति’ बनाएको छ ।

रेफ्री संघको चुनावको विरोध गर्दै अदालतसम्म पुगेका सुरेन्द्र सिख्राकार र रेफ्री संघको चुनावमा अध्यक्ष पदमा पराजित भएका बलराम थापा रेफ्री समितिका सदस्य छन् । एन्फाका केन्द्रीय सदस्य रवीन्द्रनाथ कोजु रेफ्री समितिका संयोजक रहेका छन् । तर फिफा रेफ्री नियुक्तिबारे प्रश्न गर्दा संयोजक कोजुले उत्तर दिन सकेनन् । उनले आफुलाई यसबारे केहि थाहा नभएको भन्दै महासचिव इन्द्रमान तुलाधरसँग कुरा गर्न भने । महसचिव तुलाधरले भने रेफ्री समितिको छलफलबाट यस निर्णय आएको बताएका छन् ।

नवनियुक्त रेफ्री श्रेष्ठ अयोग्य कसरी ?

एपीएफका श्रेष्ठले राष्ट्रिय रेफ्री परिक्षा पास गरेका छैनन्, जसले उनलाई फिफा रेफ्री बन्न एक चरण नै पार नगरेको प्रष्ट हुन्छ । सामान्यतया फिफा रेफ्री सिफारिस हुन राष्ट्रिय रेफ्रीका रुपमा शीर्ष प्रतियोगिताहरु खेलाउनुपर्ने हुन्छ । श्रेष्ठले नाम सिफारिस हुने बेलासम्म ए डिभिजन लिग खेलाएका थिएनन् । उनले अहिलेसम्म ए डिभिजन स्तरीय मोफसल प्रतियोगिता पनि खेलाएका छैनन् । विकल्पमा रहेका किशन यादव र विक्रम चौधरी भने लामो समयदेखि ए डिभिजन स्तरीय मोफसल प्रतियोगिता खेलाउँदै आएका छन् ।

फिफा रेफ्रीमा सिफारिस भइसकेको अवस्थामा पनि श्रेष्ठले जारी लिगमा खेल खेलाउने पर्याप्त जिम्मेवारी पाएका छैनन् । उनको तुलनमा किशन यादव र विक्रम चौधरीले बढी खेल खेलाएका छन् । विक्रम र किशन बाहेकका अन्य राष्ट्रिय रेफ्रीले पनि सहदेव भन्दा बढी खेल खेलाएका छन् । उनीहरु सहदेवभन्दा बढी अनुभवी पनि छन् र दक्ष पनि । जारी ए डिभिजन लिगको १२ चरण समाप्त हुँदा सहयक रेफ्रीहरुले खेलाएको खेल संख्या यसप्रकार छ :

पूर्व फिफा रेफ्री लव खत्रीका अनुसार फिफा रेफ्री बन्नका लागि अनुभवको निकै महत्त्व हुन्छ । ‘एन्फा रेफ्री बनेको केहि वर्ष खेल खेलाएपछि मात्र राष्ट्रिय रेफ्री हुन पाइन्छ । राष्ट्रिय रेफ्रीक रुपमा आफुलाई सिद्ध गरेपछि फिफा रेफ्री बन्ने सम्भावना हुन्छ । यसका लागि नियमित रुपमा स्तरीय प्रदर्शन गर्न जरुरि छ । दबाबमा खेल खेलाउने, सहि निर्णय लिने र खेलको महत्त्व बुझ्ने भनेको अनुभवले प्राप्त हुने हो,’ उनले भने ।

पछिल्लो पटक पनि सहायक रेफ्री नियुक्तिमा विक्रम र किशनको दावेदरिता बलियो रहेको थियो । तर एन्फाले पुरानै रेफ्रीहरुलाई निरन्तरता दिएपछि दुवैले यस वर्ष भने रिक्त रहेको पदमा आफ्नो नियुक्ति हुने सम्भावना देखेका थिए । त्यसअघि सन् २०१६ मा पनि विवादास्पद निर्णय हुँदा दुवै रेफ्री मारमा परेका थिए । त्यसबेला रिक्त रहेको पदमा कम अनुभवी रहेका युनाल मल्ल छनोटमा परेका थिए ।

श्रेष्ठको तुलनामा दुवै किशन र विक्रम बलिया उम्मेदवार हुन् । विक्रमले डेढ दशकदेखि रेफ्री करिअर अंगालेका छन् । उनले ए डिभिजन खेलाएको एक दशक पुग्न लागिसक्यो । हालसम्म ४ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाएका उनले मोफसलमा पनि नियमित ठूला प्रतियोगिता खेलाउने गरेका छन् ।

किशन यादव पछिल्लो समय उत्तम मध्यका सहायक रेफ्री हुन् । उनको प्रदर्शन फिफा रेफ्रीको स्तरको रहने गरेको थुप्रै रेफ्रीहरु बताउँछन् । त्यसैले पनि उनले ठूला खेलमा जिम्मेवारी पाउनुका साथै जारी लिगमा धेरै जिम्मेवारी पाएका छन् । उनले रेफ्री करिअर सुरु गरेको १० वर्ष पुगेको छ भने ए डिभिजन खेलाएको ४ वर्ष पुगेको छ । मोफसलमा पनि उनले नियमित खेलाएका छन् ।

यता सहदेव श्रेष्ठले भने मोफसलमा ए डिभिजन लिगका कुनै प्रतियोगिता खेलाएका छन् । पहिलो पटक ए डिभिजन लिग खेलाउने जिम्मेवारी पाएका उनले ११ खेल मात्र पाएका छन्, जुन अन्य ४ राष्ट्रिय रेफ्रीभन्दा कम हो । उनले अधिकांश खेल तालिकाको तल्लो हाफमा रहेका टोलीको खेलाएका छन् । यसले पनि उनको अन्य रेफ्रीसँग स्तर र प्रदर्शनको तुलना प्रष्ट देखिन्छ ।

विक्रम चौधरी, सहदेव श्रेष्ठ र किशन यादव (बायाँबाट)

प्राविधिक पक्षमा उत्कृष्ट उम्मेदवारलाई छनोट गर्नु सामान्य प्रक्रिया हो । तर एन्फाले आफूखुसी प्राविधिक पक्षमा पनि मनोमानी गर्नाले यस क्षेत्रको भविष्यमा पनि असर पर्ने सम्भावना बढेको छ । विभागीय दबाबमा आएर योग्य उम्मेदवारलाई बेवास्ता गर्दा आउने पिढीले पनि गलत संदेश बुझ्ने देखिन्छ । प्राविधिक पक्षमा पनि विभागीय प्रतिनिधित्वलाई सन्तुलन गर्न खोज्दा भविष्यमा क्लबहरुबाट पनि सोहि किसिमको दबाब नआउला भन्न सकिन्न । प्राविधिक पक्षमा नियुक्ति उत्कृष्टताका आधारमा हुनुपर्छ ।

जसरी राष्ट्रिय टोलीमा खेलाडी छनोट हुँदा उत्कृष्ट खेलाडी छनोट हुन्छन्, त्यसैगरी नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्ने रेफ्री पनि उत्कृष्ट नै हुनुपर्छ । क्लब र विभागलाई सन्तुलनमा ल्याउन कोटा छाड्ने हो भने खेलको विकासभन्दा व्यक्तिगत विकासतर्फ बाटो मोडिन्छ । प्राविधिक पक्षमा हस्तक्षेप गर्दा यस क्षेत्रमा विकराल समस्या झन् बढ्ने देखिन्छ । एन्फाले छिट्टै यस विषयमा उचित कदम चाल्नु अत्यावश्यक छ ।

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

March 13, 2025

पेनोरिस ११ इन्डो–नेपाल क्रिकेटको फाइनलमा

हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]

Success

Thank you for your time.