default_image

6 years ago

January 1, 2019

फुटबलमा फ्रेन्चाइज लिग : सम्भावना भन्दा समस्या बढी

118 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) ले मंगलबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै नेपाल सुपर लिग (एनएसएल) को आयोजनाको लागि सम्झौता गरे । सम्झौताअनुसार एन्फाले एनएसएलको प्राविधिक र खेल पूर्वाधारको पाटो हेर्नेछ भने चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीको कम्पनि एनएसईएमले प्रतियोगिताको व्यापारिक, व्यवस्थापनलगायत अन्य पाटो सम्हाल्नेछ ।

एन्फाले पछिल्लो समय अन्य विविध प्रतियोगिता गर्ने वाचा पनि गरेको छ । कार्यक्रममा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले एनएसएलको लागि एन्फाले आवश्यक गृहकार्य गरेको र यस प्रतियोगितालाई एन्फाको वार्षिक क्यालेन्डरमा उचित स्थान दिन सकिने हुनाले नै अगाडी बढेको जानकारी दिए । अध्यक्ष शेर्पाका अनुसार फ्रेन्चाइज लिग नेपाली फुटबलमा नयाँ आयाम ल्याउने कडीको रुपमा स्थापित हुनेछ । तर, अहिले कायम रहेको स्थापित लिग फुटबल नै राम्रोसँग गर्न धौ-धौ परेको अवस्थामा फ्रेन्चाइज लिगमा हात हाल्नु कतिको उपयुक्त छ त ? यसका सम्भावना के छन् ? यसको भविष्य कस्तो रहनेछ ?

फिफाको विधानअनुसार कुनैपनि देशको आधिकारिक लिगमा कुनैपनि टोलीले खेल प्रदर्शनको आधारमा नै सहभागिता जनाउन पाउने हुनुपर्छ । विधानमा लेखिएको छ, ‘कुनैपनि क्लबले देशको फुटबल लिगमा सहभागिता जनाउने मुख्य आधार खेलमा सहभागिता र प्रतिस्पर्धा हुनुपर्छ । एक क्लबले देशको लिग फुटबल खेल्न कुनै श्रेणीको लिग खेल्ने र सिजनको अन्त्यमा त्यहीं रहने अथवा बढुवा र घटुवा हुनुपर्नेछ ।’

नेपालमा अहिले अधिकारिक रुपमा स्थापित रहेको सहिद स्मारक लिग विक्रम संवत २०११ देखि खेलिंदै आएको छ । हाल सहिद स्मारक लिगमा तीन श्रेणी (ए,बी र सी) छन् । यसबीचमा थुप्रै क्लबले उपाधिको स्वाद चाखेका छन् त उपाधि जितेकै कति क्लबको अस्तित्व बिलिन भइसकेको छ । आधुनिक फुटबलको गतिमा चल्न नसक्दा केहि क्लब हराएका छन् । केहि यस्ता क्लब पनि छन् जसले आधुनिक फुटबलको परिवर्तन अँगाल्दै छोटो समयमै शीर्ष डिभिजनको यात्रा पनि तय गरेका छन् ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा

सहिद स्मारक लिग हरेक क्लबका लागि प्रतिस्पर्धा गर्ने खुला स्थल हो । हरेक वर्ष यस लिगमा खेल्न सी डिभिजन छनोटका रुपमा खुला प्रतिस्पर्धा हुँदै आएको छ । देशको कुनैपनि कुनामा रहेका क्लबले ए डिभिजन खेल्न यो प्रतियोगितालाई सुरुवाती खुड्किलाका रुपमा लिन सक्छन् । ए डिभिजन लिग राजधानी केन्द्रित भयो भन्ने तर्क यहाँनिर गलत सावित हुन्छ । देशको जुनसुकै क्लबले पनि ए डिभिजन क्लबका रुपमा आफूलाई स्थापित गर्न तीन श्रेणीको लिग खेले पुग्छ ।

कुनैपनि देशमा एक भन्दा बढी अधिकारिक लिग स्थापना हुनु हुँदैन । फिफाले त्यस्तो भएमा उक्त देशलाई निलम्बन गरेर समयसा नसुल्झे प्रतिबन्ध सम्म लगाउन सक्छ । वर्तमान परिपेक्षमा छिमेकी राष्ट्र भारतमा दुई अधिकारिक लिगले भारतीय फुटबलको सर्वोच्च निकायलाई निकै समस्या भइरहेको छ । फिफाले सन् २०२० सम्म दुवै लिगलाई एकै गर्ने अथवा एक लिगलाई मात्र आधिकारिकता दिन भारतलाई निर्देशन दिइसकेको छ ।

प्रस्तावित एनएसएलको लोगो

आई-लिग भारतको पुरानो फुटबल प्रतियोगिता हो र लामो इतिहास बोकेको क्लब पनि । यसै लिगमा भारतीय फुटबलका अब्बल क्लबहरु खेल्दै आएका छन् । इन्डियन सुपर लिग (आईएसएल) स्थापित भएको ५ वर्ष पुगेको छैन । तर व्यापारिक प्रतिष्ठानहरुको आबद्धताका कारण यस लिगमा राम्रो खेलाडीहरुको जमघट छ । प्रचुर आम्दानी हुने भएकाले यसै लिगमा खेलाडीहरुको आबद्धता रहेको हो । अब भारतीय लिगले कस्तो बाटो लिन्छ, त्यसमा कुनै एक पक्षलाई घाटा भने पक्कै हुने देखिन्छ ।

नेपालमा आयोजना गर्ने तयारी गरिएको नेपाल सुपर लिगबारे विस्तृत विवरण आइसकेको छैन । तर प्रतियोगिताको प्रारम्भिक खाका हेर्दा आयोजनाका लागि थुप्रै चुनौती तेर्सिने सम्भावना भने प्रबल छ । प्रतियोगिता सम्झौता हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा प्रदेशको आधारमा व्यापारिक प्रतिष्ठानहरुले ७ टोली गठन गर्ने भनिएको छ । यी सबै टोलीमा ए डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेका १ सय ४० खेलाडीलाई बाँडिनेछ । त्यसबाहेक विदेशी खेलाडी पनि अनुबन्ध गर्न पाइने प्रावधान उल्लेख गरिएको छ । प्रतियोगिता सिंगल राउण्ड रोबिन र त्यसपछि ४ टोलीलाई प्लेअफमा खेलाइनेछ । जसमा कुल २५ खेल हुनेछ ।

प्रतियोगिताको खाका र संलग्न व्यक्तित्व हेर्दा पछिल्लो समय नेपाली क्रिकेटमा प्रचलनमा आएको फ्रेन्चाइज लिगको प्रभाव पारेको प्रष्ट देख्न सकिन्छ । तर विश्व खेलकुदमा क्रिकेट र फुटबल चल्ने प्रक्रिया बिल्कुल फरक छ । क्रिकेट विश्व बजारमा त्यति व्यावसायिकीकरण हुन सकेको छैन जति फुटबल भएको छ । जसकारण क्रिकेटमा क्लब भन्दा पनि राष्ट्रबीचको खेलहरु बढी हुने गर्दछ । अन्तर्राष्ट्रिय क्रिकेट समिति (आईसीसी) ले क्लब क्रिकेट भन्दा अन्तर्राष्ट्रिय क्रिकेटलाई बढी प्राथमिकतामा राखेको हुन्छ । आईसीसीले क्लब क्रिकेटलाई नियमन गर्ने अवस्था पनि आइसकेको छैन । तर पछिल्लो समय फ्रेन्चाइज लिगहरुको बढ्दो संख्याले आईसीसीले पनि खेलाडीले कति लिगमा खेल्न पाउने विषयमा नियमन गर्न गृहकार्य थालिसकेको छ ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टका निर्वाण चौधरी

विश्व फुटबलमा कुनैपनि खेलाडीले एक समयमा एक क्लबबाट मात्र औपचारिक लिग खेल्न पाउँछ । एक खेलाडी एक समयमा एक क्लबसँग मात्र अनुबन्ध हुन पाउँछ । विशेष परिस्थितिमा खेलाडी लोन (ऋण) मा केहि समयको लागि अर्को क्लबमा जाने प्रचलन पनि रहेको छ । तर पछिल्लो समय ठूला क्लबहरुले अत्यधिक खेलाडी खरिद गरेर लोनमा पठाउने चलन बढेपछि फिफाले त्यसमा पनि सिमा तोक्ने बताएको छ । यसले खेलाडी र क्लबको व्यावसायिकतामा थप सुधार आउनेछ ।

नेपालको अवस्थामा ए डिभिजन क्लबले खेलाडीलाई अनुबन्धन गरेर राखेको हुन्छ । ए डिभिजन क्लबहरुले लिगको समयपछि मोफसल प्रतियोगिता खेलेर आम्दानी गरेका हुन्छन् । त्यसो नहुँदा नियमित प्रशिक्षण गरेर विभिन्न प्रतियोगिताका लागि तयारीमा हुन्छन् । प्रस्तावित फ्रेन्चाइज लिगमा ए डिभिजन लिगका खेलाडी सहभागी गराउने विषयमा क्लबहरुको ध्यानाकर्षण हुनु उत्तिकै जरुरि छ । एक त फिफाको नियमअनुसार एकै देशमा दुई लिगको सम्भव छैन । फ्रेन्चाइज लिगमा आबद्ध हुने खेलाडी घाइते भएको अवस्थामा फर्केर क्लबलाई नै घाटा हुनेछ । फ्रेन्चाइज लिगको अवधारणा हालसम्म सार्वजनिक भएको त छैन, तर यसले थुप्रै प्रश्न भने उब्जाएको छ ।

प्रतिष्ठित सहिद स्मारक लिगको शीर्ष श्रेणीको प्रतियोगिता सकिन लागेको छ । रेलिगेसन बिना नै गरिएको यस लिगमा दर्शकको संख्या अत्यन्तै न्यून रहेको छ । यसै त रंगशालाको अभाव, त्यसमाथि खस्कँदो खेलको स्तरले पनि प्रत्यक्ष असर परेको छ । देशको एकमात्र सुविधासम्पन्न अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला वि.सं. २०७२ को महाभूकम्पयता चलेको छैन । अर्को वर्ष यो मैदान तयार हुने राखेपले जनाएको छ । तर यस्तो मिति तोक्ने काम धेरै भएका छन् र काम भने कछुवा गतिमै अगाडी बढेको छ । फ्रेन्चाइज लिग गर्न पूर्वाधारको पनि कमी नै छ ।

सहिद स्मारक ए डिभिजन लिगको ट्रफी

समग्रमा भन्दा नेपाली फुटबलको विकासका लागि अहिलेको माग फ्रेन्चाइज लिग होइन । फ्रेन्चाइज लिगमा संलग्न हुने सम्भावना रहेका व्यापारिक प्रतिष्ठानलाई सहिद स्मारक लिगका क्लबहरुमा ल्याउन सके, सबै पक्षलाई लाभ हुने देखिन्छ । एकतर्फ एन्फाको फुटबललाई व्यवसायिक बनाउने लक्ष्य पनि पूरा हुने, अर्कोतर्फ व्यापारिक प्रतिष्ठानको फुटबलमा होमिने इच्छा पनि । क्लबहरुलाई पनि आर्थिक रुपमा सबल बनेपछि कार्यसंचालनमा सहज हुनेछ । यससँगै खेलाडीहरुको पारिश्रमिक, खेल हुने स्थान लगायत अन्य पक्ष पनि विस्तारै बढ्नेछन् ।

फ्रेन्चाइज लिगको अवधारणालाई सुधार गरेर अगाडी लग्ने सम्भावना पनि हुन सक्छन् । सहिद स्मारक लिगका क्लबहरुको प्रत्यक्ष संलग्नतामा कुनै प्रतियोगिता आयोजना गर्नु अथवा सहिद स्मारक लिगलाई नै आधुनिकीकरण गर्ने सिलसिलामा परिवर्तन गर्ने सम्भावना नभएका हैनन् । तर त्यसको सम्भावना र त्यसपछिको भविष्य आशालाग्दो देखिन्न ।

वर्तमान परिस्थितिमा नेपाली फुटबललाई अगाडी बढाउन सहिद स्मारक लिगलाई अझ राम्रोसँग अगाडी बढाउनु जरुरि छ । बी र सी डिभिजनसँगै सी डिभिजन छनोटमा राजधानीवरपर भन्दा बाहिरको क्लबलाई खेल्न प्रोत्साहन गरेर त्यसको सुरुवात गर्न सकिन्छ । लामो समयदेखि वीरगंज युथ एकेडेमीले सहिद स्मारक लिग खेल्दै आएको छ । एक समय ए डिभिजनको संघारमा पुगेको क्लब अहिले सी डिभिजनमा छ । त्यसो त कोइलापानी जस्तो ए डिभिजनमा पुगेर बिल्लीबाठ भएको उदाहरण पनि छ । त्यसको लागि संघले उचित वातावरण बनाएर सहिद स्मारक लिगलाई नै प्राथमिकतामा राख्नु नेपाली फुटबलको दिर्घकालिन विकासको लागि उत्तम हुनेछ ।

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

Success

Thank you for your time.