6 years ago
September 25, 2018
एजेन्सी – फिफाले वर्षेनी विभिन्न विधामा उत्कृष्ट रहने गरेका खेलाडी, प्रशिक्षक तथा व्यक्तित्वलाई फिफा ‘द बेस्ट’ अवार्डबाट सम्मानित गर्ने गरेको छ । गएराती लन्डनमा आयोजित एक समारोहमा फिफाले उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्यो । कसले के उपाधि जिते त?
मोड्रीचलाई फिफाको ‘द बेस्ट’ उपाधि, रोनाल्डो र सलाह पछि परे
फिफा ‘द बेस्ट’ अवार्ड रियल म्याड्रिड तथा क्रोएसियाका मिडफिल्डर लुका मोड्रीचले जितेका छन् । यसअघि फिफाले विभिन्न चरण गर्दै शीर्ष तीन खेलाडीको नाम सार्वजनिक गरेको थियो ।
शीर्ष तीन स्थानमा रियल म्याड्रिडबाट च्याम्पियन्स लिग जितेका क्रिस्टियानो रोनाल्डो र लुका मोड्रीचसँगै लिभरपुलका मोहमद सलाह रहेका थिए । मोड्रीचले गत सिजन क्रोएसियालाई विश्वकप फाइनलसम्म पुर्याउँदा कप्तानको भूमिका निभाएका थिए भने च्याम्पियन्स लिग उपाधि जिताउने क्रममा महत्त्वपूर्ण भूमिका खेलेका थिए । मोड्रीच फिफा विश्वकपको गोल्डेन बल विजेता पनि रहेका थिए । मोड्रीचले अर्जेन्टिनाविरुद्ध विश्वकपमा स्तरीय गोल गर्दै आफूलाई मिडफिल्डबाट गोल गर्न सक्ने क्षमता अपनी देखाएका थिए ।
रोनाल्डोले च्याम्पियन्स लिगको उपाधि जित्ने क्रममा त्यस प्रतियोगिताको सर्वाधिक गोलकर्ताको उपाधि हात पारेका थिए । अन्तर्राष्ट्रिय प्रतियोगितामा भने रोनाल्डोले खासै राम्रो प्रदर्शन गर्न सकेन । रोनाल्डोले विश्वकपमा स्पेनविरुद्ध गोल गर्नुबाहेक खासै स्तरीय छाप बसाउन सकेनन् । सलाह भने लिभरपुलको उत्कृष्ट प्रदर्शनमा मुख्य हतियार बनेका थिए । उनले प्रिमियर लिगको गोल्डेन बुट जितेका थिए । उनले पनि राष्ट्रिय टोलीलाई विश्वकपसम्म पुर्याए तर विश्वकपमा भने चोटका कारण राम्रो प्रदर्शन गर्न सकेनन् ।
कस्तो थियो छनोट हुनुको आधार ?
क्रिस्टियानो रोनाल्डो (विंगर)
देश : पोर्चुगल
क्लब: रियल म्याड्रिड / युभेन्ट्स
सफलता : च्याम्पियन्स लिग विजेता, च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता, फिफा क्लब विश्वकप विजेता
लुका मोड्रीच (मिडफिल्डर)
देश : क्रोएसिया
क्लब: रियल म्याड्रिड
सफलता : च्याम्पियन्स लिग विजेता, फिफा क्लब विश्वकप विजेता, विश्वकपको फाइनलमा कप्तान, विश्वकपको गोल्डेन बल विजेता
मोहमद सलाह (विंगर)
देश : इजिप्ट
क्लब: लिभरपुल
च्याम्पियन्स लिग फाइनल खेलेको, च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्तामा दोस्रो स्थान, प्रिमियर लिगको सर्वाधिक गोलकर्ता
जिदान र डालीचलाई पछि पर्दै डेसच्याम्प्स बने उत्कृष्ट प्रशिक्षक
फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक डीडीएर डेसच्याम्प्सले उत्कृष्ट प्रशिक्षकको उपाधि जितेका छन् । उनले फ्रान्सलाई रुसमा विश्वकप उपाधि दिलाएका थिए ।
उत्कृष्ट प्रशिक्षक घोषित हुने क्रममा डेस्च्याम्प्सले फ्रान्सका जिनेदिन जिदान र क्रोएसियाका ज्लाट्को डालीचलाई पछि पारे । जिदानले रियल म्याड्रिडमा रहँदा लगातर तेस्रो च्याम्पियन्स लिग जिताएका थिए । डालीचले भने क्रोएसियालाई विश्वकप फाइनलसम्म पुर्याउन अहम भूमिका खेलेका थिए । उपाधि विजेता डेसच्याम्प्सलाई फ्रान्सेली प्रशिक्षक आर्सेन वेंगरले विजयी ट्रफी प्रदान गरेका थिए ।
फ्रान्सलाई दोस्रो पटक विश्वकप विजेता बनाएका प्रशिक्षक डेसच्याम्प्सले सन् १९९८ पनि विश्वकप जितेका थिए । उनी त्यसबेला टोलीका कप्तानको भूमिकामा थिए । उनले सन् २०१६ को युरोपेली च्याम्पियनसिपको फाइनलमा पोर्चुगलविरुद्ध पराजय भोगेपनि विश्वकपमा भने अपराजित रहँदै उपाधि दिलाए ।
रियलका गोलरक्षक कोर्टूवा उत्कृष्ट गोलरक्षक
फिफाको ‘द बेस्ट’ अवार्ड समारोहमा रियल म्याड्रिडका गोलरक्षक थिअबाउट कोर्टूवाले उत्कृष्ट गोलरक्षकको उपाधि जितका छन् । उनले बेल्जियम राष्ट्रिय टोलीलाई विश्वकप सेमिफाइनलसम्म पुर्याएका थिए ।
यसै सिजन स्पेनिस टोली रियल म्याड्रिड पुगेका कोर्टूवाले चेल्सीबाट पछिल्लो सिजन राम्रो प्रदर्शन गरेका थिए । उनले उपाधि जित्ने क्रममा फ्रान्स तथा टोटेनहम हट्सपरका कप्तान ह्युगो लोरिस र लेस्टर सिटीका गोलरक्षक कास्पर स्माइकललाई पछाडी पारे ।लोरिसले फ्रान्सलाई विश्वकप उपाधि दिलाउँदा महत्त्वपूर्ण भूमिका खेलेका थिए । स्माइकलले पनि डेनमार्कका लागि विश्वकपमा राम्रो प्रदर्शन गरे ।
कोर्टूवाले एटलेटिको म्याड्रिड र चेल्सीबाट लिग उपाधि पनि जितिसकेका छन् । बेल्जियमको राष्ट्रिय टोलीमा नियमित सदस्य रहेका उनले यसअघि प्रिमियर लिगमा पनि उत्कृष्ट ११ मा स्थान बनाएका थिए ।
सलाह फिफाको उत्कृष्ट ११ खेलाडीको टोलीमा परेनन्
लिभरपुलका मोहमद सलाहले फिफा अवार्डको सुरुआतमा उत्कृष्ट गोल गरेवापत फिफा पुस्कास अवार्डको उपाधि हात पारेका थिए । उनी मुख्य ‘द बेस्ट’ अवार्डको शीर्ष तीन खेलाडीमा पर्दै उपाधि दावेदारका रुपमा पनि रहेका थिए ।
तर फिफाले सार्वजनिक गरेको उत्कृष्ट ११ खेलाडी सम्मिलित फिफा फिफप्रो ११ टोलीमा भने सलाह समावेश रहेका छैनन् । यद्यपी उक्त टोलीमा अन्य दुई शीर्ष तीनका खेलाडी क्रिस्टियानो रोनाल्डो र लुका मोड्रीच छन् । शीर्ष तीनमा नपरेका बार्सिलोनाका फरवार्ड लिओनेल मेसी पनि उक्त टोलीमा अटाएका छन् । विश्वकै उत्कृष्ट तीन खेलाडीमा पर्दा उत्कृष्ट ११ मा पर्न नसक्नुले भने फिफाको प्रक्रिया आलोचित बनेको छ ।
कोको छन् टोलीमा?
टोलीको गोलरक्षकमा स्पेन तथा म्यानचेस्टर युनाइटेडका डेविड डे हेया रहेका छन् । डिफेन्सको जिम्मेवारीमा रियल म्याड्रिडको वर्चस्व रहेको छ । पीएसजीका ब्राजिलियन डिफेन्डर ड्यानीएल आल्भेससँगै रियलका डिफेन्सत्रय सर्जियो रामोस, राफेल भारान र मार्सेलोले रक्षापंक्ति सम्हालेका छन् । मिडफिल्डमा भने मुख्य उपाधि विजेता मिडफिल्डर लुका मोड्रीच र एनगोलो कान्टेको जोडी रहेको छ ।
आक्रामक मिडफिल्डमा बेल्जियमका कप्तान इडेन हाजार्ड छन् । उनलाई बार्सिलोना तथा अर्जेन्टिनी राष्ट्रिय टोलीका कप्तान लिओनेल मेसीले साथ दिएका छन् । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र फ्रान्सेली युवा फरवार्ड किलियन एमबाप्पेले आक्रमणको जिम्मेवारी सम्हाल्नेछन् ।
अवार्ड समारोहमा मेसी र रोनाल्डोबाहेकका ९ जना खेलाडी नै उपस्थित रहेका थिए । दुवै खेलाडीको अनुपस्थितिले अवार्ड समारोह केहि खल्लो भएको थियो । कार्यक्रम संचालक सेलिब्रेटी इद्रिस अल्बाले दुवै खेलाडी उपस्थित नहुँदा पटक पटक व्यंग्य प्रहार गरेका थिए । यसअघि रोनाल्डो युरोपेली उत्कृष्ट खेलाडीको मनोनयनमा परेर पनि अवार्ड समारोहमा सहभागि भएका थिएनन् ।
मेसी, रोनाल्डो र बेलको गोललाई पछार्दै सलाहलाई उत्कृष्ट गोलको उपाधि
लिभरपुलका विंगर तथा इजिप्ट राष्ट्रिय टोलीका मोहमद सलाहले फिफा पुस्कास अवार्डको उपाधि जितेका छन् । उनले झन्डै ३८ प्रतिशत मत प्राप्त गर्दै उपाधि जितेका हुन् ।
फिफा पुस्कस अवार्ड वर्षको उत्कृष्ट गोल गर्ने खेलाडीले प्राप्त गर्ने प्रावधान छ । सलाहले उक्त गोल गत सिजन एभरटनविरुद्ध एफए कप खेलमा गरेका थिए । झन्डै ५ करोड मत आएकोमा सलाहले सर्वाधिक मत प्राप्त गरेका थिए ।
हालसम्म यो अवार्ड क्रिस्टियानो रोनाल्डो, नेयमार, हामेस रोड्रीग्वेज, ज्लाटन इब्राहिमोभिच, ओलिभिएर् जिरुड लगायतका खेलाडीले जितेका छन् । यसपटक पनि मनोनयनमा रोनाल्डोस्नागे लिओनेल मेसी र ग्यारेथ बेल रहेका थिए । तर सलाहले अत्यधिक मत प्राप्त गर्दै बाजी मारे ।
मनोनयनमा परेका गोलकर्ता र खेल :
ग्यारेथ बेल (रियल म्याड्रिड विरुद्ध लिभरपुल)
डेनिस चेरेसेभ (रुस विरुद्ध क्रोएसिया)
लाजरोस क्रिस्टोडोलोपोलस (एथेन्स विरुद्ध ओलाम्पियाकोस)
राइली मक्ग्री (न्युकासल जेट्स विरुद्ध मेलबर्न सिटि)
जिओर्जियन डे अरसकेता (क्रुजेरियो विरुद्ध अमेरिका मिनिएरो)
बेन्जामिन पभार्ड (फ्रान्स विरुद्ध अर्जेन्टिना)
लिओनेल मेसी (नाइजेरिया विरुद्ध अर्जेन्टिना)
रिकार्डो करेज्मा (इरान विरुद्ध पोर्चुगल)
क्रिस्टियानो रोनाल्डो (युभेन्ट्स विरुद्ध रियल म्याड्रिड)
मोहमद सलाह (लिभरपुल विरुद्ध एभरटन)
मनोनयनमा परेका सबै गोल :
मार्टाले जितिन् महिला उत्कृष्ट खेलाडीको उपाधि
ब्राजिलियन राष्ट्रिय टोली तथा ओर्लान्डो प्राइडकी खेलाडी मार्टाले उत्कृष्ट महिला खेलाडीको उपाधि जितिन् । उनले यसक्रममा लियोनबाट खेल्दै आएका अद हेगरबर्ग र जेनिफर मारोज्सालाई पछि पारिन् ।मार्टाले महिला कोपा अमेरिका उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् ।
पेड्रोसलाई द बेस्ट महिला प्रशिक्षक
फ्रान्सेली क्लब लियोनका रेनाल्ड पेड्रोसले उत्कृष्ट महिला प्रशिक्षकको उपाधि जितेका छन् । उनले आफ्नो टोलीलाई घरेलु लिगका साथै च्याम्पियन्स लिग उपाधि दिलाएका थिए । उनले यसक्रममा एसियन कप जितेकी जापानी प्रशिक्षक आसाको ताकाकुरा र नेदरल्यान्ड्सकी सरिना विएगमानको चुनौती परास्त गरेका थिए ।
पेरुलाई उत्कृष्ट समर्थक उपाधि
रुसमा भएको विश्वकपका दौरान लामो दुरी पार गरेर झन्डै ४० हजारको संख्यामा रुस पुगेका पेरु राष्ट्र्रिय फुटबल टोलीका समर्थकले उत्कृष्ट समर्थकको उपाधि हात पारे ।
लेन्नार्टलाई फेयर प्ले अवार्ड
डच क्लब भीभीभी भेन्लोका खेलाडी लेन्नार्ट थिले फेयर प्ले अवार्ड प्राप्त गरेका छन् । उनले एक समर्थकलाई रगत दिनुपर्ने अवस्थामा क्लबको महत्त्वपूर्ण खेल छाडेर समर्थकको ज्यान बचाएका थिए । उनको यो कार्यपछि नेदरल्यान्ड्समा रक्तदान गर्नेको संख्या पनि बढेको उनले बताए ।
March 6, 2025
एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]
March 6, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]
March 6, 2025
एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]