8 years ago
August 4, 2017
प्रकाश तिमल्सिना
काठमाडौं – समय अनुसार भूमिका पनि फेरिन्छ । धरानका राजु राईको पनि भूमिका फेरिएको छ । कुनै समय घरेलु फुटबलमा चर्चामा रहेका स्ट्राइकर राजु अब नेपाली फुटबलको समर्थकको भूमिकामा सिमित भइसकेका छन् । घरेलु फुटबलको माथिल्लो स्तरको लिग एवं नकआउट प्रतियोगिताको अनुभव अब उनका लागि पनि कथा जस्तै भइसकेको छ।
उनी सक्रिय खेल जीवनबाट टाढा भएको पनि पाँच बर्ष नाघ्न थालिसक्यो । लिग नभएकै तीन बर्ष भएको देशमा एउटा खेलाडीले पाँच बर्ष फुटबलबाट अलग बस्नु पनि सामान्य जस्तै भइसक्यो । अब भने राजु फुटबलबाट मात्र होइन केही समयका लागि देशबाटै टाढा जाने तरखरमा छन् ।
आज (शुक्रबार) राती उनी जापानका लागि उड्दैछन् । इटहरीकी प्रेमिका सुमी राई जापान अध्ययनका लागि जापान बसेको चार बर्ष भइसक्यो । उनले नै चाँजो मिलाएपछि राजुको यात्रा पनि अब जापान तिर मोडिएको छ । केही महिनामा स्वदेश फर्केर विवाह गर्ने पनि उनीहरुले योजना बनाइसकेका छन् । एक वर्षको भिसामा जान लागेका राजु आफैलाई थाहा छैन कति वर्ष पछि उनी सधैका लागि नेपाल आउनेछन् भन्नेमा । जहाँ रहेपनि नेपाली फुटबलको चासो भने रहि रहने उनी सुनाउँछन् ।
‘फुटबल त नशा जस्तै हुने रहेछ ’ राजुले हाम्रो खेलकुद डट कमसँग भने,‘जहाँ भएपनि नेपाली फुटबलको माया त लागि हाल्छ नी । अहिले पनि खेल्न छाडेको कति भयो । तर चासो लाग्छ । लिग फुटबल समयमा होस् भन्ने लाग्छ ।’
१५/१६ वर्षको उमेर अनि पूर्वको फुटबल मौहोल, राजु पनि त्यो बाट अछुतो रहने कुरै भएन । धरान १९ का राजु किरात युवा क्लबबाटै खेल्न थाले । पछि धरान फुटबल क्लबबाट विभिन्न नकआउट खेलेपनि उनको यात्रा राजधानीतर्फ मोडियो । २०६० मा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) मा खेले र क्लब त्यहि वर्ष क्लबलाई ए डिभिजन लिगमा उकाल्न महत्वपूर्ण भूमिका खेले । २०६२ मा बिबिसीबाट ए डिभिनजमा डेब्यू गरे । त्यसपछिको लामो समय उनी अर्को ए डिभिजन क्लब ब्वाइज युुनियनमा रहे । २०६६ को लिगमा उनी ब्वाइज युनियनबाट खेल्दा उनी लिगको उच्च गोलकर्ता बनेका थिए । त्यसको अर्को बर्ष २०६७ मा उनी रुस्लान थ्री स्टार क्लब पुगे ।
उनी थ्री स्टारबाट खेल्नुलाई आफ्नो खेल जीवनको हाइलाइट मान्छन् । ‘देशकै ठूलो र चर्चित क्लब खेल्दा परिचय पनि फराकिलो बन्ने रहेछ’, उनले स्मरण गरे,‘देश भित्रबाट अहिले बाहिर निस्किन मौका मिल्यो । थ्री स्टारबाट भारतमा ३ वटा प्रतियोगिता खेले । अहिले सम्म जे परिचय दियो त्यो फुटबलले नै दियो । ’ चोटका कारण २०६९ को लिगमा उनले अन्तिम तिर २ खेल मात्र खेले । त्यसपछि लगभग उनको सक्रिय खेल जीवनको पूर्णविराम लाग्यो ।
उनलाई फुटबलमा लागेर पछुतो नै त छैन । तर, जसरी नेपालमा फुटबल रोकिदै हुँदै गर्ने परम्परा बस्यो, त्यसले धेरै खेलाडीमा अलमल भने बनाएको उनको अनुभव छ । ‘नियमित फुटबल हुन्थ्यो भने अहिले जसरी खेलाडीहरु विदेश पलायन हुनु पर्ने थिएन’ उनले भने, ‘सायद नियमित फुटबल हुन्थ्यो भने म पनि कुनै दिन राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पर्न सक्थे । तर २०६३ साल तिर म उच्च फर्ममा हुँदा नेपालमा फुटबल नै त्यति भएन । खेलाडीको फर्म त सधै रहन सक्दैन । त्यो अखिल नेपाल फुटबल संघ (एन्फा) ले किन बुझ्न सक्दैन । मैले बुझ्न सकेको छैन । कहिले काही चाही अर्को पेशामा गएको भए यो भन्दा सफल हुन्थेकी जस्तो लाग्छ । तर, फुटबलमा लागेर पछुतो छैन । ’
खेल्न छाडेपनि उनी फुटबलबाट पनि अलग थिएनन् । डिपोट स्कुलका विधार्थीलाई प्रशिक्षण दिन थाले भने छुट्टै पसल पनि सुरु गरे । प्रशिक्षक प्रशिक्षण लिने पनि उनको इच्छा थियो, तर त्यो पुरा नहुँदै उनी विदेश यात्रामा हिड्नु पर्ने भएको छ ।
फुटबल छोडेपछि उनी फिटनेसका लागि गल्फ तिर जान सुझाव पाएपछि उनी त्यतै लागे । गल्फमा पनि उनले छिट्टै प्रगती गरे । विगिनर्सबाट छिटै एमेच्योरमा भए । २०७२ फागुनमा भएको सातौं राष्ट्रिय खेलकुदमा उनीसहितको टोलीले गल्फमा स्वर्ण पदक जितेको थियो । ‘फिटनेसको लागि गल्फ पनि राम्रै हुने रहेछ ’३५ वर्षे उनले भने, ‘खेलाडी मान्छे यसै बस्न त म नलाग्ने नरहेछ ।’ सुरुमा फिटनेस र विस्तारै आदत बनेको गल्फले पनि विस्तारै प्रगती गर्दै गएको उनको बुझाई छ । उनले थपे ‘अन्य क्षेत्रमा जस्तै लगातार लागेपछि सफलता पनि मिल्दै जाने रहनेछ । नेपालमा पनि गल्फको सम्भावना विस्तार बन्दै गएको छ । सबै खेलले प्रगती गरेकोमा खुसी लाग्छ ।’
राजु आफु जहाँ पुगेपनि नेपाली फुटबलको सुखद खबर सुन्न पाइयोस् भन्ने कामना गर्छन् । ‘अहिले गतिविधि शून्य जस्तो भएको छ । यसले नयाँ खेलाडी आउने माहौल बन्दैन ’उनले भने, ‘जति गतिविधि भयो त्यती नयाँ पुस्ता तयार हुने हो । देशको फुटबलको मेरुदण्ड लिग हो, लिग नियमित नहुँदा सम्म हाम्रो फुटबलले प्रगती गर्न सक्दैन । नेपाली फुटबलले राम्रो गरोस् भन्ने मेरो कामना छ ।’
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]