8 years ago
July 12, 2017
काठमाडौँ – नेपाल र बंगलादेशका यू२३ राष्ट्रिय टोलीले एएफसी यू२३ च्याम्पियनसिपको तयारीका लागि मंगलबार एक मैत्रीपूर्ण खेल खेले। २०औं मिनेटमा कप्तान विमलको गोलमा अग्रता लिएको नेपालले त्यसको केहि मिनेटपछि चोटका कारण उनलाई गुमायो। त्यसपछि खेलमा केहि हतोत्साहित देखिएको नेपाली टोलीको खेल अन्तिम समयतिर भने सम्हालियो। पहिलो हाफकै गोलको भरमा खेल नेपालले १-०ले जित्यो।
खेलको ७०औं मिनेटमा राष्ट्रिय टोलीका मिडफिल्डर हेमन गुरुङको स्थानमा मैदान प्रवेश गरेका पुजन उपरकोटीले छोटो समयमै आफ्नो खेल कौशल प्रदर्शन गर्न सके। मिडफिल्डमा बल होल्ड गर्ने देखि अन्य खेलाडीसँग वन टच/टु टच पास खेल्न पुजन विश्वस्त देखिन्थे। वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका पुजनको खेल हेर्दा उनि पहिलोपटक यत्रो ठुलो मंचमा खेलिरहेका छन् भन्दा सायदै कसैले पत्याउँथे होला। तर, वास्तवमा पुजनले कुनैपनि उमेर समूहको राष्ट्रिय टोलीका लागि यसै खेलमा डेब्यु गरेका थिए।
खेलपश्चात पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक राजु काजी शाक्यले वैकल्पिक खेलाडी पुजन उपरकोटीको खेलदेखि सन्तुष्ट रहेको बताए। यता विपक्षी प्रशिक्षक एन्ड्रयु ओर्डले भने नेपालले मिडफिल्डमा बल खेल्न नसकेको बताएका थिए। प्रशिक्षक शाक्यले हेमन्त थापा मगर र हेमन गुरुङको जोडीले सोचेअनुरुप खेल्न नसकेको पनि स्वीकारे। ‘दुवै खेलाडी एकै प्रकृतिका भएकाले मैले एकजनालाई फरक रोल दिएको थिएँ तर खेलमा त्यो लागु हुन सकेन। पुजनको आगमन पछि भने मिडफिल्ड केहि सुधारिएको थियो। हामीले अर्को खेलमा यसबारे सोच्नेछौँ।’ खेलमा प्रशिक्षक शाक्यसँग तेज तामाङ, डोना थापा जस्ता उमेर समुह र घरेलु लिगमा भरपुर अनुभव बटुलीसकेका मिडफिल्डर उपलब्ध हुँदाहुँदै पनि उनले पुजनलाई रोजेका थिए।
आफ्नो बाल्यअवस्थामा फरवार्डको रुपमा खेल्ने पुजन अहिले यू२३ टोलीको मिडफिल्डर भएका छन्। पहिलोपटक उमेर समूहको टोलीमा पर्न सफल रहेका पुजनले यसअघि झापा एघार फुटबल क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए। केहि महिनाअघि च्यासल युथ क्लब ‘ए’ डिभिजनमा बढुवा हुँदा उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनले पहिलोपटक २०७२ सालको राष्ट्रिय लिगमा झापा एघारबाट त्रिभुवन आर्मीक्लब विरुद्ध मैदानमा उत्रंदै डेब्यु गरेका थिए। उनले त्यसबेला वैकल्पिक खेलाडीका रुपमा २ खेल मात्र खेल्न पाए। तर त्यसपश्चात उनले मोफसलमा भएका प्रतियोगिताहरुमा पहिलो रोजाईमा पनि खेले। त्यसै प्रदर्शनका आधारमा उनले च्यासलबाट खेल्ने आमन्त्रण आएको थियो।
११ वर्षको उमेरदेखि झापाको धुलाबारीमा फुटबल खेल्न थालेका पुजनले विद्यालय स्तरीय फुटबल पनि खेले। कोकाकोला कपको सेमिफाइनलसम्म पुगेको उनको टोलीले उपाधि भने जित्न सकेन। २१ वर्षीय पुजन आफ्नो खेल कौशल देखाउँदै उमेर समूहको राष्ट्रिय टोलीको छनोटमा पनि सहभागी भए। तर जिल्ला र क्षेत्रबाट छनोट भएर काठमाडौँ आइपुगेका पुजनको यात्रा काठमाडौँमा भने अन्तिम चरणतिर रोकिने गर्दथ्यो। तर, उनले झापामै बसेर निरन्तर सचिन्द्र धिमालको प्रशिक्षणमा रहेर रोलिङ क्लबमा मेहेनत गरिरहे।
आफुभन्दा ठुला दाइहरुले सँगै खेलाउने र हौसला प्रदान गर्नाले आफु यस ठाउँसम्म आएको उनि बताउँछन्। ‘मेरो उमेर सानो भएपनि ठुला दाईहरुसँगै खेल्न बोलाउनुहुन्थ्यो। मलाई प्रोत्साहन दिने र हौसला प्रदान गर्नाले मैले अझ राम्रो प्रदर्शन गर्न सकेको हुँ।’
‘सानो उमेरमा अवसर नपाउँदा निकै दुख लाग्थ्यो। बेलाबेलामा दाईहरुले खेल्न दिनुहुन्थ्यो तर आफुले आफ्नो कौशल देखाउन पाइएन। एकपटक काँक्कडभित्तामा एउटा प्रतियोगिता खेल्दा टोलीमा मिडफिल्डरको कमि रहेको थियो। मैले त्यो बेलामा मिडफिल्डबाट खेल्दा राम्रो प्रदर्शन गरे र त्यसपछि त्यहि पोजिसनमा खेलिरहें। झापा एघारमा आएपछि मैले अझै तल झरेर डिफेन्सिभ मिडफिल्डरको भूमिका निर्वाह गर्न थालेको हुँ।’
यू२३ टोलीको प्रारम्भिक छनोटमा नाम आउँदा आफु एकदम खुशी भएको र मेहेनतको फल पाएको अनुभूति गरेको उनले बताए। ‘मैले झापामा रहँदा र काठमाडौँ पुग्दा पनि एकदम मेहेनत गरेको थिएँ। च्यासलबाट खेल्दा पनि टोलीको व्यवस्थापन र खेलाडी साथीहरुको सहयोगले हामीले निकै राम्रो प्रदर्शन गर्न सक्यौं। मलाई मेहेनत गरिरहें भने एकपटक अवसर अवश्य आउँछ भन्ने विश्वास थियो।’
‘जब यू२३ टोलीमा आफ्नो नाम परेको थाहा पाएँ, एकदम खुशी लाग्यो। यू२३ टोली भनेको राष्ट्रिय टोलीको आधार बनाउने टोली हो र यसमा आफु पनि सहभागी हुन पाउँदा हर्षित छु। तर, यो सबै सुरुवात मात्र हो। मैले अझ मेहेनत गरेर टोलीमा आफ्नो स्थान बनाउने लक्ष्य राखेको छु। मैले सुनौलो अवसर पाएको छु र यसको सदुपयोग गर्न म हरपल लागिरहनेछु।’
उनको प्रदर्शनदेखि प्रभावित भएर केहि ‘ए’ डिभिजन क्लबले अर्को सिजनका लागि उनलाई सम्पर्क पनि गरिसकेका छन्। ‘मलाई केहि ‘ए’ डिभिजन क्लबबाट प्रस्ताब त आएको छ तर निर्णय भने लिएको छैन। अब यू२३ सकेर आएपछि मलाई व्यक्तिगत विकासमा टेवा पुग्ने क्लबसँग सम्झौता गर्नेछु।’
उनि राष्ट्रिय टोलीका मिडफिल्डर विक्रम लामा र रोहित चन्दलाई आफ्नो आदर्श मान्छन्। ‘मलाई विक्रम दाई र रोहित दाईको खेल एकदम मनपर्छ। एकदिन राष्ट्रको लागि खेल्छु भन्ने सपना पनि बोकेको छु। तर मैले त्यसको लागि अझै धेरै सुधार गर्नुपर्ने छ। साथीहरुले मलाई मेरो कमजोरी सच्याएर अघि बढ्न प्रेरित गरिरहेका छन्। अहिलेको टोलीमा पनि अनन्त, अन्जन, दिनेश लगायतका खेलाडीहरुले निरन्तर सहयोग गरिरहेका छन् र यसैले मलाई अगाडी बढ्न सहयोग गर्छ।’
झापाको धुलाबारीबाट सुरु भएको पुजनको यात्रा यसै साता काठमाडौँ हुँदै अब संयुक्त राज्य इमिरेट्स (युएई)को अल आइन सहरमा पुग्दैछ। काँक्कडभित्ताको प्रतियोगिताबाट मिडफिल्डरमा परिवर्तित भएका पुजनलाई झापा एघारबाट थप परिपक्व बनायो। काठमाडौँ आएर च्यासललाई ‘बि’ डिभिजनबाट ‘ए’ डिभिजन पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका पुजनले समयसँगै आफुलाई सुधार्दै लागेका छन्। यू२३ टोलीको प्रारम्भिक चरणमा प्रशिक्षक शाक्यलाई प्रभावित पारेका पुजनले बंगलादेशसँगको खेलमा छोटो समयमै आफ्नो क्षमता प्रदर्शन गरे। युएईमा हुने प्रतियोगितामा उनले अवसर पाउलान/नपाउलान वा प्रदर्शन कस्तो होला, त्यो कौतुहलताको विषय पक्कै छ। तर, खेलाडीको खंडेरी परिरहेको समयमा पुजनको उदयले भने प्रशिक्षक शाक्यलाई केहि राहत महसुस पक्का हुनेछ।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]