5 days ago
April 3, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पोखरा थन्डर्स र ललितपुर सिटी फुटबल क्लबबीच नेपाल सुपर लिगको तेस्रो सिजनको खेल फरक कारणले चर्चामा आयो । खेल दौरान रेफ्रीको निर्णयमा असन्तुष्ट पोखराका एक अफिसियलले मैदानभित्र गएर रेफ्रीलाई हातपात गर्ने प्रयास गरे ।
खेलको ८० औं मिनेटमा पोखरा ३-१ ले पछि थियो । समिर तामाङको क्रसमा नवयुग श्रेष्ठको प्रहारमा ललितपुरका गोलरक्षक जेफ बाल्टुसले बचाउको प्रयास गरे । उनको पहिलो प्रयास पूर्णत सफल नहुँदा क्रसबारमा लगेर बल फर्कियो । यसक्रममा बाल्टुसले सुरुवाती बचाउ गर्दा नै बल भित्र पसेको दावी पोखराका खेलाडीको थियो । रेफ्री नविन्द्र महर्जन र सहायक रेफ्री किशन यादवले गोल नदिएपछि पोखराका खेलाडी र प्रशिक्षक सुमन श्रेष्ठ टचलाइन छाडेर सहायक रेफ्री यादवसँग विवाद गर्न थाले ।
रंगशालामा विवादास्पद निर्णयका दौरान रंगशालामा रहेको मुख्य स्क्रिन बन्द गरिन्छ । खेलमा भएको निर्णयलाई लिएर मैदानमा विवाद नहोस् भन्ने हेतुले विश्व फुटबलमा नै यो प्रयोग गरिंदै आएको छ । केहीबेर खेलाडी र प्रशिक्षकको असन्तुष्टिपछि खेल सुचारु भयो । तर झन्डै २ मिनेटपछि दोस्रो स्क्रिनमा खेलाडीले भिडियो रिप्ले हेर्न पाएपछि सुचारु भएको खेलपनि पुन: भड्कियो ।
पोखराका फरवार्ड समिर तामाङले रिप्ले बन्द नगरिएको दोस्रो स्क्रिन हेरेपछि आफ्नो बेन्चतर्फ इशारा गर्दै पुन: सहायक रेफ्री यादवसँग वादविवाद गर्न थाले । ठिक त्यसैबेला अफिसियल सुन्दर थापा टचलाइन हुँदै मैदान पसेर विवादमा होमिए । अफिसियल बेन्चमा नाम नै नरहेका थापा कसरी त्यहाँ पुगे भन्ने सुरक्षा निकायका लागि प्रश्न भएको छ ।
रेफ्रीलाई हात हालेपनि रेफ्रीले कार्ड दिन पाएनन् । कारण उनी टोलीको अफिसियल लिस्टमा रहेकै थिएनन् । उनी कसरी घेरा तोडेर मैदानभित्र पसे भन्ने विषय त छँदै छ, उनले त्यहाँ पुगेर गरेको हर्कत शोभनीय थिएन । नेपाली फुटबलमा खुकुरी उपनामले परिचित सुन्दर थापा आफैं खेलाडी पनि हुन् ।
यसपटक पोखराको व्यवस्थापनमा रहेका उनले सुरुमा रेफ्रीलाई हात हाल्ने प्रयास गरे । उनलाई रोक्न एन्फा प्रतियोगिता निर्देशक संजिव मिश्र अघि बढे । व्यक्तिगत रुपमा निकट सम्बन्ध रहेकाले मिश्रले थापालाई तानेर मैदानबाहिर ल्याउन खोजे । यसक्रममा तानातान हुँदै मिश्र र थापा दुवै मैदानमा लडे ।
केहीबेरमा पुलिस पनि टचलाइनमा देखियो । सामान्यतया खेलका दौरान निजि सुरक्षा गार्डले खेलको माहोललाई नियन्त्रण गर्नुपर्ने हुन्छ । तर पुलिस नै पोखराको बेन्चमा पुगेपछि माहोल झन् तातियो । अझ पोखराका अफिसियल र पुलिसबीच नै झगडाको दृश्यले माहोल थप बिग्रियो । केहीबेरमा थप सुरक्षा गार्ड आएपछि प्रहरीलाई बाहिर जान भनियो । तर फर्कनेक्रममा पनि प्रहरी टोलीका एक सदस्य र पोखराको बेन्चका एक अफिसियलबीच भएको झगडाले स्थिति साम्य हुन समय लाग्यो ।
खेलपछि पोखराका प्रशिक्षक सुमन श्रेष्ठले रेफ्रीको खराब निर्णयका कारण नै टोलीले हारको सामना गर्नुपरेको बताए । उनले आफ्नो अफिसियलको हर्कतबारे विस्तृतमा बताउन नचाहेको र रेफ्रीको निर्णयकै कारण उक्त स्थिति सिर्जना भएको अभिव्यक्ति दिए ।
‘रेफ्रीको निर्णयले खेलमा हार बेहोर्नुपर्यो । त्यो गोल दिएको भए जित नभएपनि कम्तिमा हामीले १ अंक खोस्ने थियौं । हाम्रो टिममा लगानी गर्ने व्यक्तिलाई हामीले के जवाफ दिने । मैदानमा आएर जे भयो, त्यसबारे म बोल्न चाहन्न । तर उहाँहरुले जुन लगानी गर्नुभएको छ, यस्तो निर्णयले गर्दा पक्कै सहज हुँदैन,’ श्रेष्ठले भने ।
ललितपुर सिटीका प्रशिक्षक साइमन ग्रेसनले पनि रेफ्रीको निर्णयलाई मान्नुको विकल्प नहुने जिकिर गरे । ‘रेफ्रीको निर्णय नै अन्तिम हो । भिडियो रिप्ले भएको भए सायद निर्णय दिन सहज हुन्थ्यो होला । तर ठूला विदेशी लिगमा भिडियो रिप्ले हुँदा पनि विवाद हुन्छन् । रेफ्रीको निर्णयलाई मानेर जानुपर्छ नै । जुन गतिविधि भयो त्यो फुटबलका लागि राम्रो थिएन,’ ग्रेसनले भने ।
ललितपुरका कप्तान अनन्त तामाङले पनि रेफ्रीको निर्णयमा असन्तुष्ट भएपनि अनुशासन तोड्ने गतिविधि राम्रो नरहेको बताए । ‘भिडियो रिप्ले भएको भए सहज हुन्थ्यो । रेफ्रीलाई पनि यसै निर्णय दिन सहज छैन । सायद हाम्रो विरुद्ध त्यो निर्णय गएको भए हामीले अपिल गर्थ्यौं । तर जुन हिसाबले हात नै हाल्ने प्रयास भयो, त्यो पक्कै हुँदैन थियो,’ तामाङले भने ।
नेपाल सुपर लिगको आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले यो विषयमा एन्फासँग समन्वय गरेर कारवाहीको तयारी गरिरहेको बुझिएको छ ।
April 7, 2025
सुमन अधिकारी,बुटवल सडेन डेथमा चितवनको वसन्तपुर युनाइटेड क्लब चितवनलाई हराउँदै कपिलवस्तु राइजिङ स्टार युथ क्लब बुटवलमा जारी प्रीति प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा छ । सिद्देश्वरी लालकुमारी माविको खेलमैदानमा वसन्तपुर र राइजिङबीच सोमवार भएको खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा टुंगिएको थियो। पेनाल्टी सुट आउटमा ४–४ गोल भएपछि खेल सडेन डेथमा गएको थियो […]
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीका स्टारद्वय प्रिती राई, सविता रानामगर र रश्मीकुमारी घिसिङसँगै विभिन्न खेलका २१ जना राष्ट्रिय खेलाडी सशस्त्र प्रहरी बलमा भर्ती भएका छन् । भर्ती हुने सबैभन्दा बढी १० जना महिला फुटबल खेलाडी रहेका छन् । प्रिती, रश्मी र सवितासँगै मेनुका कुमारी आलेमगर, सरस्वती हमाल, सजनी ठोकर, मनमाया दमै, सावित्री किसन […]
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्वाइज युनियन क्लबले पहिलो जित निकालेको छ। उसले मध्यपुर युथ एसोसिएसनलाई २-० गोल अन्तरले हरायो। अर्को खेलमा लिगको पुछारमा रहेको श्री कुमारीले बाँसबारी क्लबलाई १-० ले पराजित गर्दै अंकको खाता खोलेको छ। एन्फा कम्प्लेक्समा आज भएको खेलमा ब्वाइज युनियनले खेलको २४ औं मिनेटमा विनोद राईको गोलमा पहिले […]