2 hours ago
February 26, 2025
हिमाल खरेल ,भद्रपुर
झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो ।
९० मिनेटसम्म १-१ को बराबरीमा रहेको खेल इन्ज्युरी समयमा ३–१ अन्तरमा पुगेको थियो । घरेलु दर्शकको समर्थन रहेको झापा ११ ले खेलको ५५ औँ मिनेटमा अग्रता बनाएको थियो ।
एरोन थापाले २५ यार्डबाट प्रहार गरेको पावरफुल फ्रिकिक भुटानका गोलकिपर रुपक कोयाले पञ्च गर्न खोज्दा बलले जाली चुमेको थियो । भुटानका सुरज रसाइलीले एरोन थापालाई फाउल गर्दा झापाले फ्रिकिक पाएको थियो ।
खेलको ८४ औँ मिनेटमा भुटानका सुरज रसाइलीले गोल फर्काउँदै खेल १–१ को बराबरीमा ल्याए । सुरजले मैदानको मध्य भागबाट लगेको बल दुईजना डिफेन्डरलाई बिट गर्दै जाली चुमाएका थिए ।
इन्ज्युरी समयमा रोहन कार्कीले गोल गर्दै खेल २–१ को स्थितमा पुर्याए । झापाका मिडफिल्डर एलन थापाको प्रहारलाई भुटानका गोल किपर रसाइलीले बल नियन्त्रणमा लिन नसक्दा बललाई कार्कीले पोस्टको दिशा दिए ।
इन्ज्युरी समयमा नै हरिबहादुर आले मगरले गोल गर्दै टिमलाई ३–० को स्थितिमा पुर्याए । समिर तामाङको क्रसपासलाई सदुपयोग गर्दै आलेले टिमको जित पक्का गरे ।
खेलको दोस्रो मिनेटमा भुटानका लाक्पा पाख्रिनको प्रहार झापाका गोलकिपर सन्दिप लिम्बूले रोके । खेलको १७ औँ मिनेटमा भुटानका तुसार विश्वकर्माको प्रहार गोलकिपर लिम्बूले पञ्च गरी बचाउ गरे ।
खेलको १४ औँ भुटानले अग्रता लिने अवसर गुमायो । हेमराज भुजेलको पावरफुल प्रहार क्रसबारको मध्य भागमा लागेर फर्कियो । खेलको ३७ औँ मिनेटमा झापाका समिर तामाङले पेनाल्टी एरियामा चुके ।
खेलको ६८ औँ मिनेटमा झापाका बबिन बोहोराको प्रहार क्रसबार नजिकैबाट बाहिरियो । खेलको ८३ औँ मिनेटमा पेनाल्टी एरियामा झापाका समिर तामाङको क्रस पासमा एरोन थापाले गरेको प्रहार गोलकिपर रसाइलीले रोके ।
खेलको प्लेयर अफ द म्याच झापा ११ का एरोन थापा भए । उनले नगद २१ हजार र ट्रफी पाए ।
खेलपिछ भएको पोस्टम्याच कन्फ्रेन्समा झापाका सहायक प्रशिक्षक सन्तोष गुरूङले टिमभित्र खेलाडीको प्रदर्शन निरन्तर राम्रो देखिएकोले भुटानमाथि सहज जित दर्ता गर्न सफल भएको बताए ।
झापाले बी डिभिजन लिगको तयारी गरिरहेको अवस्थामा मछिन्द्र तथा चर्च ब्वाइज जस्तो टिमलाई हराएर फाइनलमा पुग्दा खेलाडीमा आत्मविश्वास झन बढेर गएको उनको भनाइ छ ।
त्यस्तै, भुटानका प्रशिक्षक दोर्जी खन्डुले आजको खेल निक्कै प्रतिस्पर्धात्मक रहे पनि गोल किपर चुक्दा हार व्यहोर्नु परेको बताए । केपी ओेली कपमा समेत भाग लिएको र केही राम्रा खेलाडी त्यहाँ भएकोले आजको खेलमा केही समस्या उत्पन्न भएको उनको भनाइ छ ।
सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताअन्तर्गत फाइनल फागुन १६ गते हुनेछ।
एकजना दर्शकले महेन्द्ररत्न स्टोर बिर्तामोडका तर्फबाट एक थान हिमस्टार टिभी, एयरपोर्ट होटलका तर्फबाट एकजना दर्शकले दुईजनाको डिनर र सुनचाँदी व्यवसायी संघ भद्रपुर शाखाको तर्फबाट दुईवटा चाँदीको सिक्का पाए ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप छनोटका लागि यो फोर […]