5 months ago
October 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले माल्दिभ्समाथि फराकिलो जित दर्ता गरेको छ ।
दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा माल्दिभ्समाथि ११-० को फराकिलो जितका साथ नेपाल अंक तालिकाको शीर्षस्थानमा पनि उक्लिएको छ । पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा ७ गोल थपेको थियो । नेपालको जितमा रेखा पौडेलले ५ गोल र प्रिती राईले ह्याट्रिक पूरा गर्दा सविता राना मगर, अमिशा कार्की र अनिता केसीले १-१ गोल गरे ।
नेपालको २ खेलमा ४ अंक छ । भुटानको समान ४ अंक भएपनि गोल अन्तरमा नेपाल अघि छ । श्रीलंकाको ३ अंक हुँदा माल्दिभ्सले खाता खोलेको छैन । अब अन्तिम खेलमा नेपालले बराबरी गरे मात्र पनि सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह विजेता बन्न भने भुटानको नतिजा पर्खनुपर्नेछ ।
खेलको सातौं मिनेटमा नेपालले प्रितीको गोलमा अग्रता लियो । सविता राना मगरले दिएको छोटो कर्नरमा प्रितीले गरेको फितलो प्रहार माल्दिभ्सका २ डिफेन्डर र गोलरक्षकलाई छिचोल्दै निअर पोस्टबाट गोल भएको थियो ।
२४ औं मिनेटमा नेपालको गोलमा गोलरक्षक अमिनाथ लिजा बाधक बनिन् । रेखाको क्रसमा रश्मी कुमारी घिसिङले ६ यार्ड बक्स भित्रबाट गरेको शक्तिशाली हेडर अमिनाथले विफल परिन् ।
२९ औं मिनेटमा सविताले नेपालको अग्रता दोब्बर पारिन् । पेनाल्टी क्षेत्रबाहिर सरुको पासलाई नियन्त्रणमा लिँदै सविताले गरेको प्रहार गोलमा परिणत भएको थियो ।
३२ औं मिनेटमा रेखाले नेपाललाई ३-० ले अघि बढाइन् । रश्मीले दिएको पासलाई रेखाले गोललाइनको ठिक अघिबाट छातीले गोल गरिन् । लगत्तै रश्मीले पेनाल्टी क्षेत्र भित्रबाट गरेको लगातार दुई प्रहारले पोस्टको दिशा लिएन ।
३८ औं मिनेटमा विमला चौधरीले २५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार क्रसबारमा लागेर बाहिरियो । ४२ औं मिनेटमा रेखाले अर्को गोल थपिन् । सविताको पासमा रेखाले पहिलो टचमै गरेको प्रहार गोलरक्षक अमिनाथले बचाउन खोजेपनि उनको हातमा लाग्दै गोल भएको थियो ।
दोस्रो हाफको दुई मिनेट नबित्दै रेखाले ह्याट्रिक पूरा गरिन् । ६ यार्ड बक्सभित्र रेखाकै पास डिफेन्डरलाई लागेर फर्केपछि उनले रिबाउन्डलाई गोलमा परिणत गरिन् ।
६० औं मिनेटमा सविताले अर्को गोल थप्ने अवसर सदुपयोग गर्न सकिनन् । पेनाल्टी क्षेत्र बाहिरबाट प्रितीको प्रहार गोलरक्षक अमिनाथले रोकेपछि आएको रिबाउन्डलाई सविताले पोस्टको दिशा दिन सकिनन् ।
६३ औं मिनेटमा रेखाले व्यक्तिगत चौथो गोल गरिन् । सरुले दिएको पासलाई रेखाले नियन्त्रणमा लिँदै वन भर्सेस वनमा सुन्दर फिनिस गरिन् । लगत्तै प्रितीले नेपालको लागि सातौं गोल थपिन् । पेनाल्टी क्षेत्र बाहिर रेखाले दिएको पासलाई प्रितीले पहिलो टचमै टप कर्नरमा फिनिस गरिन् ।
नेपालले त्यसपछि तीन परिवर्तन गर्दै अनिता केसी, अनिता बस्नेत र सजनी थोकरलाई मैदान छिराएको थियो । अनिता केसीले मैदान छिरेको पहिलो टचमै नेपालको आठौं गोल गरिन् । अनिता बस्नेतको पास डिफेन्डरलाई लाग्दै आएपछि केसीले पेनाल्टी क्षेत्र भित्र सहजै गोल गरिन् ।
७८ औं मिनेटमा रेखाले व्यक्तिगत पाँचौ र समग्रमा नवौं गोल गरिन् । अनिता केसीको पासलाई पेनाल्टी क्षेत्र भित्रबाट उनले गोल गरिन् । ८६ औं मिनेटमा नेपालले पेनाल्टीको अवसर पायो । प्रितीले पेनाल्टीलाई गोलमा परिणत गर्दै १०-० को अग्रता दिलाइन् ।
त्यसको एक मिनेट नबित्दै अमिषा कार्कीले अर्को गोल गरिन् । सविताको पास डिफेन्डरलाई लागेर फर्केपछि अमिशाले गोलरक्षकलाई बिट गर्न सफल रहिन् ।
साफ अन्तर्गत बुधबार भारत र बंगलादेश साँझ ५:३० बजे खेल्नेछन् । समूह बी अन्तर्गत विहीबार दिउँसो १:३० बजे भुटान र माल्दिभ्स तथा साँझ ५:३० बजे नेपाल र श्रीलंका खेल्नेछन् ।
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अग्रता लिएको छ । सिंगापुरको नेसनल स्टेडियममा जारी खेलमा नेपालले जिलेस्पीजंग कार्कीको गोलमा अग्रता लिएको हो।उनले १२औं मिनेटमा गोल गरे । नेपालले सिंगापुरविरूद्धको औपचारिक खेलमा पहिलो पटक गोल गर्न सफल भएको हो। नेपालले एएफसी एसियन कप छनोट खेल्ने तयारीमा क्रममा मैत्रीपूर्ण खेल खेलको हो । अष्ट्रेलियन प्रशिक्षक […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। नेपाल र सिंगापुरबीचको खेल सिंगापुर नेसनल स्टेडियममा नेपाली समयअनुसार साँझ ६:१५ बजे सुरु हुनेछ। अष्ट्रेलियन प्रशिक्षक म्याट रोसकोलागि यो पहिलो खेल हुनेछ। यसअर्थ उनको लागि आजको खेल विशेष रहनेछ। आफ्नो पहिलो खेलमा सकारात्मक नतिजा निकाल्ने […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार-२०८१ बाट पुरस्कृत भएकी छिन् । सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली नागरिकलाई प्रदान गर्ने पुरस्कार अन्तर्गत विभिन्न विधाका १० जना पुरस्कृत गर्दा खेलकुदबाट साम्बा पुरस्कृत भएकी हुन् । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा आज सैनिकमञ्च टुँडिखेलमा आयोजित […]