5 months ago
October 16, 2024
सुबास हुमागाईं, काठमाडौं
साफ महिला च्याम्पियनसिपको सातौं संस्करण विहीबार दशरथ रंगशालामा सुरु हुँदैछ । नेपालमा लगातार तेस्रो पटक आयोजना हुन लागेको प्रतियोगिताको पूर्वसन्ध्यामा भारतले आफ्नो पुरानो दवदवा कायम राख्ने लक्ष्य राख्दा साविक विजेता बंगलादेश र नेपालले पनि उपाधि जित्ने लक्ष्य रहने बताएका छन् ।
प्रतियोगिताको पूर्व सन्ध्यामा सहभागी सातै टोलीले आ-आफ्नो तयारी र लक्ष्यबारे अभिव्यक्ति दिँदा भारतका अनुभवी प्रशिक्षक सन्तोष कश्यपले अनुभवी खेलाडी टोलीमा फर्कंदा टोली थप बलियो भएको बताए । उनले महिला फुटबलमा आफ्नो पहिलो जिम्मेवारी रहेपनि टोलीमा रहेका खेलाडीले आफ्नो योजनाबारे बुझेको र तयारी राम्रो रहेको आफ्नो बुझाइ सुनाए ।
टोलीकी कप्तान आशालता देवीले पनि विगतभन्दा टोली यसपटक बलियो रहेको बताइन् । उनले पछिल्लो पटक धेरै युवा खेलाडी रहेकाले अपेक्षित नतिजा नआएको र यसपटक अनुभवी खेलाडीको पुनरागमनसँगै टोली थप बलियो रहेको बताइन् । उनले नेपालमा सधैं दर्शकको बाक्लो उपस्थिति रहने भएकाले पनि खेल्न निकै उत्सुक रहेको जानकारी दिइन् ।
यता बंगलादेशका प्रशिक्षक पिटर बटलरले भने टोलीमा केही परिवर्तन गर्दा आलोचना हुनु स्वभाविक भएपनि टोलीको हितका लागि उक्त कदम चालेको बताए । युवा खेलाडी टोलीमा समेट्दा भविष्यका लागि पनि राम्रो हुने र हालको योजना अनुसार पनि रहेको उनले बताए ।
यता कप्तान सविना खातुनले भने नयाँ प्रशिक्षकको आगमनपछि टोलीले पर्याप्त समय पाएको र नयाँ योजनामा भिजेको बताइन् । पछिल्लो पटक बंगलादेशले उपाधि जित्दा गोलाम रोबानी छोटो टोलीका प्रशिक्षक थिए । झन्डै दशक लामो जिम्मेवारीपछि उनलाई संघले प्रतिस्थापन गरेको थियो ।
नेपालका प्रशिक्षक राजेन्द्र तामाङले आफ्नो सिद्धान्तमा खेल्न टोलीलाई सक्दो सिकाएको बताए । तयारीका लागि २ साता समय मात्र प्राप्त गरेपछि नयाँ खेलाडीलाई भने टोलीमा समेट्न नसकेको उनको भनाइ थियो । ‘नयाँ खेलाडी एक्कासी टिममा राख्दा मेरो योजना नबुझ्ने डर भयो । यसअघिको एक महिने क्याम्पमा पुराना खेलाडीसँग लामो तयारी भएको थियो । त्यसैले पुराना खेलाडीलाई नै समेटेर टोली निर्माण गरेको हुँ,’ तामाङले भने ।
कप्तान एन्जिला तुम्बापो सुब्बाले पनि टोलीको तयारी सन्तोषजनक रहेको र यसपटक उपाधि जित्ने विश्वास रहेको अभिव्यक्ति दिइन् । उनले घरेलु भूमिमा आयोजना भएपनि दशरथ रंगशालामा प्रशिक्षण गर्ने अवसर नपाउँदा घरेलु मैदानको फाइदा लिन नसकेको दुखेसो पोखिन् ।
अष्ट्रेलियन प्रशिक्षक निकोल डीमेनले यसपटक भुटानी टोली सम्हाल्दैछिन् । यसअघि पपुवा न्यु गिनीको राष्ट्रिय टोलीबाट क्षेत्रीय उपाधि जितेकी उनले दक्षिण एसियाको फुटबल भने फरक रहेको बताइन् । उनले टोलीका खेलाडी घरेलु लिगमा खेलेर फर्किएको र युवा टोली रहेकाले आशावादी रहेको बताइन् ।
यता कप्तान पेमा छोदेनले नेपालसँगको पहिलो खेल महत्त्वपूर्ण हुने बताउँदै आफ्नो टोली तयार रहेको अभिव्यक्ति दिइन् । उनले सावित्रा भण्डारी टोलीमा नहुनुले भुटानलाई केही सहज हुने भएपनि अहिलेलाई आफ्नै टोलीमा ध्यान दिने बताइन् ।
माल्दिभ्सका प्रशिक्षक मोहमद निजामले टोलीको तयारी राम्रो रहेको र हरेक खेललाई महत्त्व दिएर खेल्ने बताए । कप्तान हव्वा हनिफाले भने फुटबल संघले महिला फुटबललाई प्राथमिकतामा नराख्दा राम्रो तयारी गर्न नपाएको दुखेसो पोखिन् ।
श्रीलंकाका प्रशिक्षक मोहमद हसन रुमी र कप्तान थुसानी मधुसिकाले पनि मैदानको अभाव र मौसमको असरले गर्दा यसपटक तयारी राम्रो हुन नसकेको जानकारी दिए ।
पाकिस्तानका प्रशिक्षक आदील रिज्कीले पछिल्लो पटकको तुलनामा यसपटक टोलीमा परिवर्तन रहेको जानकारी दिए । उनले त्यसबेला युवा रहेका खेलाडीमा अनुभव थपिएको र यसपटक पुनरागमन भन्दा प्रदर्शनमा बढी ध्यान दिने पनि बताए ।
कप्तान मारिया खानले यसपटक टोलीले मैदानमा नतिजाका लागि खेल्ने बताउँदै अघिल्लो संस्करणभन्दा यसपटक टोलीको फरक प्रदर्शन देखाउने विश्वास दिलाइन् ।
प्रतियोगितामा ७ टोलीको सहभागिता रहँदा समूह ए मा साविक विजेता बंगलादेश, ५ पटकको च्याम्पियन भारत र पाकिस्तान रहेका छन् । समूह बी मा आयोजक नेपाल, भुटान, श्रीलंका र माल्दिभ्स रहेका छन् । दुवै समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर सडनडेथमा धरान एफसीलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौँ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि निर्णय सडनडेथबाट लिइएको थियो । सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल […]
March 12, 2025
दिपक बोहोरा, पाँचथर सानदार प्रदर्शन गर्दै मच्छिन्द्र एफसी पाँचौं पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पथरी ११ एफसीलाई बुधवार ३-१ ले मच्छिन्द्र उपाधि नजिक पुगेको हो । फिदिम माविको खेलमैदानमा मच्छिन्द्रलाई जित दिलाउन विशाल घलान, स्टेफन र नवयुग श्रेष्ठले गोल गरे । खेलको २४औं मिनेटमा विशालको आकर्षक गोलबाट मच्छिन्द्रले सुरुवाती अग्रता लियो । प्रतिस्पर्धात्मक […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सरस्वती युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। सरस्वतीले आज बाँसबारी क्लबलाई २-१ ले हरायो। यो सँगै सरस्वतीले ३ अंक जोडेको छ। एन्फा कम्प्लेक्समा भएको खेलको ३३ औं मिनेटमा सविन लुंगेली मगरले गोल गरेपछि यो सरस्वतीले पहिलो हाफमा १-० कि अग्रता बनायो। ५१ औं मिनेटमा धिरेन्द्र बहादुर शाहले […]