default_image

5 months ago

September 29, 2024

कर्णालीबाट खेलेर राष्ट्रिय टोलीको यात्रा बुन्दै सूदुरका चेली

1898 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

साफ महिला च्याम्पियनसिप २०२४ का लागि एन्फाले गत साता ४० सदस्यीय नेपाली महिला राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक छनोट घोषणा गर्यो । टोलीमा विभागीय खेलाडीको दबदबा रहेपनि कर्णाली प्रदेशबाट ३ खेलाडीले स्थान बनाए ।

कर्णाली प्रदेशले एन्फा महिला लिगमा सन्तोषजनक प्रदर्शन गर्दा टोलीमा महत्त्वपूर्ण प्रदर्शन गरेका कप्तान तथा गोलरक्षक लिला जोशी, डिफेन्डर तुलसा बोहरा र लेफ्ट विंगर भूमिका बुढाथोकी टोलीमा स्थान बनाउन सफल रहे । कर्णालीको टोलीबाट लिग खेलेका यी तीनै खेलाडी सुदूरपश्चिमका हुन् ।

लिला र तुलसाले लिगको छनोट पनि कर्णालीबाट नै खेलेका थिए भने भूमिका राष्ट्रिय लिगमा टोलीसँग जोडिएकी हुन् । लिला र भूमिका पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाउन सफल रहे । तुलसाले भने यसअघि राष्ट्रिय टोलीसँग प्रशिक्षण गरिसकेकी छिन् ।

महिला लिगमा गरेको प्रदर्शनकै आधारमा यी खेलाडी टोलीमा समेटिएका हुन् । कप्तान लिलाले टोलीमा अनुभवी खेलाडी नभएपनि प्रशिक्षकको रणनीति अनुसार खेल्दा सोचेभन्दा राम्रो प्रदर्शन गर्न सकेको बताइन् ।

हाम्रो टोली हेर्नुहुन्छ भने सबै खेलाडी कम उमेरका छौं । उमेर समूहको राष्ट्रिय टोलीमा त खेलेका छन् तर सिनियर फुटबल खेलेको यो पहिलो पटक होला । त्यसैले हामीले निकै मिहिनेत गर्नुपर्यो । प्रशिक्षकले हरेक खेलका लागि फरक योजना बनाउनुहुन्थ्यो, अनि हामीले त्यसलाई पालना गर्यौं । त्यसैले नतिजा पनि देख्न सक्छौं,’ उनले भनिन् ।

कप्तान तथा गोलरक्षक लिला जोशी

प्रशिक्षक गणेश खड्का पनि खेलाडीले आफ्नो योजना अनुसार खेलेकै कारण सन्तोषजनक नतिजा हासिल गरेको बताउँछन् । ‘गोलरक्षक लिलाले त सबै मिहिनेत आफैं गरेकी हुन् । मैले गोलरक्षकको जिम्मेवारी उनलाई नै दिएको थिएँ, उनले आफ्नो अनुभव र मिहिनेतले यो हासिल गरिन् । अन्य खेलाडीले भने निकै मिहिनेत गरे,’ उनले सुनाए ।

लिग अगाडी प्रशिक्षक खड्काले विगतमा मोफसलका टोलीले ठूलो अन्तरमा हार बेहोर्ने गरेकाले यसपटक कम्तिमा त्यो परिचय बदल्ने लक्ष्य रहेको बताए । ‘मैले खेल सुरु हुनुभन्दा ५ दिनअघि मात्र टोलीको जिम्मेवारी पाएको हो । तर मैले विगतजस्तो दर्जनौं गोल खाने परिपाटीको भने अन्त्य गर्छु भन्ने सोच बनाएको थिएँ । त्यस योजनामा खेलाडीले पनि राम्रो साथ दिए,’ उनले भने ।

प्रशिक्षक गणेश खड्का

प्रशिक्षक खड्का र सहायक प्रशिक्षक विनोद माझीले टोलीको व्यवस्थापनमा पनि निकै खट्नुपरेको थियो । अन्त्यमा ३ खेलाडी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पर्दा भने निकै खुसी लागेको खड्काले बताए । ‘हाम्रो टोलीबाट ३ खेलाडी बन्द प्रशिक्षणमा परे । लिगमा राम्रो खेलेर नै यो सम्भव भएको हो । राष्ट्रिय टोलीमा आफ्नो टोलीबाट ३ खेलाडीको योगदान दिन पाउँदा निकै खुसी छु । टोलीको राम्रो नतिजा र यसले हाम्रो लिगलाई सफल बनाएको छ ,’ उनले भने ।

कर्णालीमा तुलसा र सुनकला राई मात्र २० वर्ष माथि उमेरका थिए । तर टोलीले चन्द्रपुरसँग बराबरी र सुदूरपश्चिमलाई पराजित गर्यो । ३ विदेशी खेलाडी सम्मिलित बागमतीसँग पनि कर्णालीले अन्तिम मिनेटमा गोल खाएर हार बेहोरेको थियो । लिगका ९ खेलमा कर्णालीले २६ गोल खाएर ४ गोल गर्यो । उस्तै स्तर मानिएको सुदूरपश्चिमले भने ९ खेलमा ६९ गोल खाएको थियो ।

संकटाविरुद्ध कप्तान लिला जोशी

उमेरले १९ वर्ष पुगेकी कप्तान लिला आफैं पनि राष्ट्रिय टोलीको छनोटमा पर्दा निकै खुसी छिन् । आफ्नो टोलीको राम्रो प्रदर्शनकै कारण ३ खेलाडी बन्द प्रशिक्षणमा परेको उनलाई थाहा छ । उनले अहिले नै राष्ट्रिय टोलीमा पर्ने भन्दापनि यो अवसरको सक्दो सदुपयोग गर्नुपर्ने बुझेकी छिन् ।

‘राष्ट्रिय टोलीमा पर्नु मेरो सपना नै थियो । तर यति चाडैं यो अवसर आउँछ सोचेकी थिइनँ । लिग सुरु हुँदा राम्रो प्रदर्शन गर्नुपर्छ भनेर लागेको थिएँ । बिस्तारै खेल पनि राम्रो भयो । हाम्रो टोली कागजमा अरुभन्दा कमजोर देखिएपनि योजना अनुसार खेल्यौं । त्यसैले कुनैपनि खेलमा विपक्षीलाई सहज रुपमा नतिजा दिएनौं । अब राष्ट्रिय टोलीको प्रशिक्षणमा आफ्नो प्रदर्शन अझ राम्रो बनाउन प्रशिक्षण गर्नेछु,’ उनले सुनाइन् ।

लिला र तुलसा सुदूरपश्चिमको कैलाली जिल्लाको गौरीगंगा नगरपालिकामा नियमित प्रशिक्षण गर्छन् । स्थानीय प्रशिक्षक मिलन ओलीसँग सिक्न थालेको ४ वर्ष पुग्दै गर्दा उनले सिनियर टोलीको बन्द प्रशिक्षणमा स्थान बनाइसकेकी छिन् । लिलाले यसअघि उमेर समूहमा यू-१५, यू-१८ हुँदै यू-२० राष्ट्रिय टोलीबाट खेलिसकेकी छिन् ।

विंगर भूमिका बुढाथोकी

विंगर भूमिकाले गत वर्ष नेपालमा भएको साफ यू-१५ च्याम्पियनसिपमा नेपालको कप्तानी गरेकी थिइन् । त्यसअघि पनि उनले सोही उमेर समूहबाट खेलिसकेकी थिइन् । पहिलो पटक सिनियर स्तरको फुटबल खेलेकी उनले कर्णालीबाट पहिलो सहभागितामै बन्द प्रशिक्षणमा स्थान बनाएकी हुन् ।

कमै मात्र आक्रमण गर्न पाएपनि १६ वर्षीय भूमिकाले लेफ्ट विंगमा आफ्नो कौशल देखाइन् । सुदूरपश्चिम कैलालीको लम्कीमा फुटबल खेल्न सिकेकी उनले आफ्नो गुरुको आग्रहमा कर्णालीबाट लिग खेल्ने निर्णय लिएकी हुन् । कर्णालीबाट राम्रो प्रदर्शन गरेर टोलीमा स्थान बनाएकी उनलाई पहिलो पटक टोलीमा परेको कुरा सुन्दा विश्वास गर्न गाह्रो भएको थियो ।

‘लिग राम्रो त भएको थियो । तर टोलीमा पर्छु भन्ने सोचेको थिइनँ । हाम्रो गुरु र टिमको निकै मिहिनेत थियो । मेरो पनि खेल अझ राम्रो भएको मलाई लाग्छ । राष्ट्रिय टोलीमा नै स्थान बनाएको थाहा पाउँदा विश्वास गर्न गाह्रो भयो । अब झनै मिहिनेत गर्न यसले सहयोग गर्छ,’ भूमिकाले भनिन् ।

सुदूरपश्चिमविरुद्ध जितमा १ गोल र १ असिस्ट गरेकी उनले आफ्नै प्रदेशविरुद्ध खेल्दा भने दुख लागेको बताए । ‘आफ्नो प्रदेशविरुद्ध खेल्दा केही दुख त लागेको थियो । तर हामी कर्णालीबाट राम्रो खेलिरहेका थियौं । त्यो खेल निकै राम्रो पनि भयो । हामीले जित्दा निकै खुसी लग्यो,’ उनले भनिन् ।

डिफेन्डर तुलसाका लागि भने लिगको प्रदर्शन उनले सोचेजस्तो हुन सकेन । उनी आफैं यसअघि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परिसकेकी थिइन् । यसपटक कठिन नतिजाका कारण आफू टोलीमा पर्नेमा उनलाई शंका थियो । तर अहिले भने खुसी लागेको उनले बताइन् ।

‘यसपटक लिगमा सोचेजस्तो प्रदर्शन भएन । हाम्रो टोली युवा खेलाडीले भरिएको थियो । तर प्रशिक्षकको योजनामा खेल्दा हामीले अरुलाई खुलेर खेल्न दिएनौं । नतिजा हाम्रो पक्षमा नआएपनि सन्तोषजनक भने रह्यो । आफूलाई टोलीको नतिजा नआएकाले क्याम्पमा पर्दिन जस्तो लागेको थियो । तर पछि बोलाउनुभयो, एकदम खुसी लाग्यो,’ तुलसाले खुसी साटिन् ।

उमेर समूहमा यू२० राष्ट्रिय टोलीबाट साफ र एएफसी प्रतियोगिताखेलेकी उनी यसअघि पनि बन्द प्रशिक्षणमा रहेकी थिइन् । गत संस्करणको लिग धनगढीबाट खेलेकी तुलसाले लिगमा यसपटक विदेशी खेलाडी हुन अझ कठिन भएको बताइन् ।

डिफेन्डर तुलसा बोहरा

‘यसपटक लिग निकै कठिन थियो । विभागीय टोली सधैं बलिया छन् नै, यसपटक विदेशी खेलाडी पनि थिए । लिगमा डिफेन्स गर्न सहज थिएन । तर त्यो अनुभवले अब राष्ट्रिय टोलीमा सहज हुन्छ । लगातार कठिन टिमसँग खेल्दा आफ्नो खेल सुधार भएको छ । अब क्याम्पमा अझ राम्रो गर्नेछु,’ उनले अनुभव सुनाइन् ।

कर्णाली प्रदेशका लागि उच्च प्रदर्शन गरेका यी ३ खेलाडी अब राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहनेछन् । आन्तरिक प्रतिस्पर्धा उच्च रहेको अवस्थामा २३ सदस्यीय अन्तिम टोलीमा पर्न सहज नहुने उनीहरुले बुझेका छन् । प्रशिक्षक राजेन्द्र तामाङले हाल घोषित ४० सदस्यीय टोलीले १ साता प्रशिक्षण गर्ने यसअघि नै बताएका छन् ।

‘हामी १ सातासम्म ४० जना प्रशिक्षण गरेर अनि अन्तिम टोली घोषणा गर्छौं । धेरै समय छैन तर दुई समय प्रशिक्षण गरेर भएपनि राम्रो गर्ने प्रयास हुनेछ । धेरै युवा खेलाडी टोलीमा छन् । अहिलेलाई मात्र नभएर भविष्यका लागि पनि हेरेर टोली छनोट गरेका छौं,’ उनले भने ।

प्रशिक्षक तामाङले भनेजस्तै हाललाई ४० खेलाडीबाट २३ खेलाडी छनोट गर्न धेरै समय छैन । तर यो लिगबाट छनोट भएका खेलाडीले सिनियर टोलीको वातावरणसँग भिजेर नियमित उच्च स्तरमा खेल्न प्रेरणा प्राप्त गर्नेछन् । अझ भविष्यमा निर्माण हुने टोलीलाई पनि यसले सहयोग गर्नेछ ।

गोलरक्षक लिलाले भने जस्तै, ‘ अहिले नै टोलीमा पर्ने वा नपर्ने भन्ने होइन । यो अवसरको सदुपयोग गरेर राष्ट्रिय टोलीमै पर्न मिहिनेत गर्नेछु ।’

February 23, 2025

‘लयमा फर्कदै छु’- साम्बा

काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित।‌ साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]

February 23, 2025

फाइनल अघि नेपालले म्यानमारलाई बराबरीमा रोक्यो

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]

February 23, 2025

बंगलादेशको काउर्न बाजार भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]

Success

Thank you for your time.