default_image

3 months ago

August 28, 2024

मैदानबाहिर नै हारेको नेपाल

10274 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

साफ यू२० च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग पराजित हुँदै नेपाल घरेलु भूमिमा उपाधि जित्नबाट बन्चित भयो । फाइनल पुग्दासम्म प्रतियोगिताभर अपराजित रहेको नेपालले समूह चरणमा बंगलादेशलाई पनि हराएको थियो, तर फाइनलमा नेपाललाई भाग्यले साथ दिएन । र ४-१ को फराकिलो हार बेहोर्दै उपविजेतामा सिमित भयो ।

त्यसो त नेपालको नतिजामा नेपालले ३ जित र १ हारको तथ्यांक राखेपनि प्रदर्शन हेर्दा श्रीलंकाविरुद्ध खेलबाहेक नेपाल बाँकी तीन खेलमा कमजोर देखिन्थ्यो । श्रीलंकाविरुद्ध १-० को जितमा निराजन धामीको गोलबाहेक नेपालले खासै दबाब दिन सकेको थिएन । फाइनलबाहेक प्रतियोगिताको सबै खेलमा ४-२-३-१ को रणनीतिमा खेलेको नेपालले फाइनलमा ४-३-३ को रणनीति लिँदै सुरुवात गर्यो ।

बंगलादेशविरुद्ध समूह चरणमा २-१ को जित निकालेको नेपालले फाइनलमा पनि उत्कृष्ट सुरुवात गर्यो । सुरुवाती २० मिनेटमै ३ राम्रो अवसर पाएको नेपालले बललाई पोस्टभित्र छिराउने बाहेक सम्भव सबै प्रयास गर्यो । नेपालले खेलमा पकड जमाइरहेको अवस्थामा अकस्मात खेलको २४ औं मिनेटमा नेपालबाट खेलाडी परिवर्तन भयो । मिडफिल्डमा कुशल देउवा र अभिनाश स्याङतानलाई आक्रमणमा जान समय दिइरहेका लछु थापाको स्थानमा विंगर अनिल बोम्जन मैदान पसे ।

यसअघिका खेल विंगरको भूमिकामा सुरुवात गरिरहेका अनिललाई लछुको स्थानमा प्रवेश गराइयो । र उनलाई सेन्टर मिडफिल्डमा खेल्ने जिम्मेवारी प्रशिक्षक उर्जन श्रेष्ठले सुम्पिए । यसको मतलब कुशल देउवा लछुले छोडेको डिप मिडफिल्डमा खसे । र त्यसपछि बंगलादेशले एकपछि अर्को आक्रमण बुन्ने अवसर पायो ।

एक त अनिल आफ्नो पोजिसनबाहिर खेल्नु पर्यो, सँगसँगै आक्रमणमा नेपालले सिर्जना गर्दै आएको अवसर पनि घट्दै गए । अभिनाश पनि आक्रमण भन्दा डिफेन्समा बढी ध्यान दिनुपर्ने अवस्था आयो । जसको कारण नेपाली आक्रमणको गति कम हुँदै गयो । र पहिलो हाफको अन्तिम समयमा बंगलादेशले फ्रिकिकमा गोल गर्दै नेपालमाथिको दबाबलाई आफ्नो अग्रतामा परिणत गर्यो ।

दोस्रो हाफमा बंगलादेशले आफ्नो स्वभाविक खेल पस्कियो । नेपालले ५९ औं मिनेटमा अभिनाशको स्थानमा सरोज र विंगर निरज कार्कीको स्थानमा हरिश राज भट्टलाई उतार्यो । सरोज खेल अवधिभर चलायमान देखिए भने हरिशको उपस्थिति भए नभए जतिकै भयो । उनले स्थान लिएका निरजको पनि प्रतियोगितामा सम्झन लायक क्षण सायदै बने, र उनले सबै ४ खेल सुरुवात नै गरे ।

खेलको ६४ औं मिनेटमा नेपाल २-० ले पछि परेको अवस्थामा मुख्य अतिथि बस्ने स्थानबाट महासचिव किरण राई तल ओर्लिए । नेपालको बेन्च नजिकै पुग्न लागेको मात्र थिए प्रशिक्षक उर्जन श्रेष्ठ नै टचलाइन छाडेर महासचिव निर पुगे । नेपाल पछि परेको अवस्थामा केही आक्रोशित समेत देखिएका महसचिव राईले केहि साउती गरे । प्रशिक्षक श्रेष्ठले दबाबका बीच टाउको हल्लाउँदै टचलाइन फर्किए ।

नेपालले त्यसपछि ७० औं मिनेटमा लेफ्ट ब्याक सबिन घिमिरे निकालेर फरवार्ड रोहन खड्गीलाई मैदान प्रवेश गरायो । डिफेन्समा ३ खेलाडी मात्र रहेको अवस्थामा नयाँ स्वरूपमा भिज्न नपाउँदै नेपालले अर्को गोल खायो । लेफ्ट विंगमा बंगलादेशका दुई खेलाडीले बनाएको मुभ पेनाल्टी क्षेत्रभित्र २ हेडरसँगै ३-० को अग्रता बन्यो ।

बंगलादेश ३-० ले अघि बढेको केहीबेरमा दर्शक दिर्घाबाट बोतल प्रहार भएपछि खेल रोकियो । नेपालका फरवार्ड समिर तामाङले पेनाल्टी क्षेत्र भित्र डाइभ दिएर पेनाल्टी जित्न खोज्दा रेफ्री मोहमद जफरानले समिरविरुद्ध नै पहेंलो कार्ड देखाए । समिरले यस प्रतियोगितामा भुटानविरुद्ध पनि डाइभकै कारण पहेंलो कार्ड खाएका थिए ।

रेफ्रीको निर्णयमा असन्तुष्ट दर्शकले बोतल मैदानतर्फ फाले । दर्शक र मैदानबीच बाधक बन्नुपर्ने नेपाल प्रहरीको पंक्तिलाई खेलमा मस्त रहेका कारण बोतल फालेको कारण खेलमा समस्या आएको थाहा पाउन केही समय लाग्यो ।

मैदानमा ड्युटी गरिरहेका सेक्युरिटी गार्ड र प्रहरी मैदान नभएर दर्शकतर्फ हेर्नुपर्ने हो । तर टिकट काटेर आएका दर्शकभन्दा राम्रो ठाउँमा बसेर आफ्नो जिम्मेवारी कम र खेलको मनोरन्जन लिने प्रवृति आजको खेलमा पनि निरन्तरता पायो । त्यसैले प्रहरीको प्रयास भन्दा नेपाल र बंगलादेशका खेलाडीले दर्शकलाई बोतल नफाल्न भनेपछि त्यो रोकियो र खेल सुचारु भयो । यसअघि प्रतियोगिता दौरान रातो कार्ड पाएर बाहिर रहेका खेलाडीलाई मैदानभित्र पसेर गोलको खुसी मनाउन दिएको सुरक्षा क्षेत्रबाट धेरै अपेक्षा गर्नु पनि पक्कै गलत हुन्थ्यो ।

खेल सुचारु भएपछि नेपालले केहि आक्रमण त बुन्यो तर बंगलादेशको काउन्टर अट्याक पनि निरन्तर जारी रह्यो । ८० औं मिनेटमा समिर तामाङले गोल फर्काएपछि माहोल केही बदलिएजस्तो मात्र भएको थियो । त्यसपछि नेपालले पुन: खेलमा पकड जमाउन सकेन । इन्ज्युरी समयमा पियास नोभाले अर्को गोल थप्दै जित पक्का गरे । त्यो प्रहार गोललाइनबाट क्लियर गरिएको आभास भएको थियो, तर रेफ्रीले दिएको निर्णय स्विकार्नुको विकल्प नेपालसँग रहेन ।

२ साता प्रशिक्षण गरेर आएको बंगलादेशको टोलीले २ महिनादेखि प्रशिक्षणमा रहेको नेपाली टोलीलाई पराजित गर्यो । खेलाडीले त प्रशिक्षकको निर्देशनअनुसार खेल्ने नै हो, तर नेपालको बेन्च हेर्दा लाग्थ्यो खेलाडी खेलिरहेका होइनन् खेल्दिनुपरेको अवस्था थियो । प्रशिक्षक उर्जन श्रेष्ठ पहिलो हाफको अवधिभर खेलाडीलाई निरन्तर निर्देशन दिइरहेका थिए ।

अझ भुटानविरुद्ध सेमिफाइनलमा पहिलो मिनेटदेखि अन्तिम मिनेटसम्म उनी शान्त थिएनन् । सबै प्रशिक्षकको टचलाइनमा आ-आफ्नो निर्देशन दिने तरिका हुन्छ, तर बल चल्दा चल्दा, खेलाडी खेल्दा खेल्दै निर्देशन दिने सायदै प्रशिक्षकमा देखिन्छ । खेलाडीभन्दा बढी खेलमा प्रशिक्षक श्रेष्ठ नै आवद्ध भएजस्तो देखिन्थे । तर त्यसले खेलाडीमा कति प्रभाव पार्यो, त्यो सोचनीय छ ।

खेलाडीले गरेको गल्तीमा तुरुन्त गाली गर्ने उनको बानीले युवा खेलाडीमा त्यति सकारात्मक प्रभाव पारेजस्तो ठिक माथि रहेको मिडिया बक्सबाट देखिएको थिएन । सकेसम्म खेलाडी आफ्नो बेन्चबाट टाढा नै बस्न चाहेको भान मैदानमा देखिन्थ्यो । बल चलिरहेको अवस्थामा पनि खेलाडीलाई बोलाउनेसम्म श्रेष्ठबाट हुँदा खेलाडी केही चिढिएजस्तो भाव हुन्थ्यो ।

नेपालले प्रतियोगितामा फाइनलबाहेक ३ खेलमा एकै सुरुवाती ११ रोज्यो । फाइनलमा फरक रणनीतिले सुरुवात उत्कृष्ट हुँदाहुँदै पनि गोल ननिस्क्दा प्रशिक्षक श्रेष्ठले पुरानै – ११ कायम गर्न खोजे । र फाइनलमा बंगलादेशका प्रशिक्षकको भनाइ मान्ने हो भने नेपाल दबाब खेप्न नसक्दा हार बेहोर्न पुग्यो ।

‘हामीले नेपाललाई सुरुवातमा आक्रमण गर्न दियौं, र काउन्टर अट्याकमा भर पर्यौं । नेपालले गल्ती गर्छ भने त्यसलाई सदुपयोग गर्न चाहन्थ्यौं । तर नेपालले दबाब लियो र खेल्न सकेन,’ बंगलादेशका प्रशिक्षक मरुफुल हकले फाइनल जितेपछि दिएको अभिव्यक्ति थियो यो ।

बंगलादेश आफ्नो मुख्य गोलरक्षकविना नै उत्रिएको थियो, र जसका कारण दोस्रो रोजेका मोहमद असिफले पोस्ट सम्हाले । तर भारतविरुद्ध २ पेनाल्टी बचाएर आफूलाई प्रमाणित गरेका उनलाई नेपालले कमजोर आँक्यो । नेपाली खेलाडीले पहिलो हाफमा ‘सुट एट साइट’ अर्थात पोस्ट देखेपछि प्रहार गर्ने रणनीति लिए ।

भलै आसिफ रोजाइमा दोस्रो थिए, तर प्रदर्शनमा उनले आफ्नो अब्बलता दोहोर्याए । र लगातार नेपालको हवाइ फायर रोकेकै कारण हुनुपर्छ, लगभग २ घण्टा मात्र खेलेर पनि सर्वोत्कृष्ट गोलरक्षकको उपाधि पाए । नेपाली खेलाडीले मैदान बाहिर बसेको प्रशिक्षण टोलीबाट पाएको निर्देशन यहाँ पनि चुक हुन पुग्यो ।

अर्कोतर्फ नेपालले बंगलादेशको अर्को परिवर्तनको फाइदा भने उठाउन असमर्थ रह्यो । नियमित सेन्टर डिफेन्डर सेमिफाइनलमा रातो कार्ड खाएपछि बंगलादेशले राजीव होसेनलाई पहिलो पटक सुरुवाती ११ मा उतारेको थियो । र खेलको केहि सेकेन्डमै उनले पहेंलो कार्ड पाए । आफूले बल छुनु अघि नै पहेंलो कार्ड पाएको अवस्थालाई नेपालले थप दबाब दिएर सदुपयोग गर्न सकेन । आक्रमणमा झन दबाब बनाउनुपर्ने अवस्थामा रणनीति बदलेर नेपालबाट अर्को गल्ती भयो ।

मैदानभित्र युवा खेलाडीबाट प्रशिक्षकले चाहेजस्तो प्रदर्शन नभएको तर्क पनि प्रशिक्षक उर्जन श्रेष्ठले राखे । पहिलो हाफमा पाएको अवसर सदुपयोग नहुँदा खेलमा हार बेहोर्नुपरेको उनको भनाइ थियो । हारपछि पत्रकार सम्मेलनमा उनले पहिलो हाफमा अवसर सदुपयोग गर्न नसकेका खेलाडीको नाम नै तोकेर भने । तर यसो भनिरहँदा पक्कै उनले आफूले गरेका केही गल्ति पनि स्वीकारे होलान्, मनमनै ।

प्रशिक्षक उर्जन श्रेष्ठ एएफसीको ए लाइसेन्स प्राप्त प्रशिक्षक हुन् । उनीसँग शीर्ष डिभिजन क्लबसँगै उमेर समूहको टोली हेरेको अनुभव पनि छ । तर उनले आफ्नो प्रशिक्षण लाइसेन्स सुधार्न नपाएको धेरै समय भइसक्यो । श्रेष्ठजस्तै नेपालमा ए लाइसेन्समै अड्किएका प्रशिक्षकको संख्या ३ दर्जन बढी छ । त्यसमा केही त पलायन नै भइसके ।

नेपालमै उपलब्ध केही उत्कृष्ट प्रशिक्षकलाई एन्फाले नै जगेडा बनाएर पनि राखेको छ । त्रिभुवन आर्मीको मुहार फेरेका नवीन न्यौपाने हाल एन्फाको प्रशिक्षण युनिटमा छन्, तर प्रशिक्षणमा जिम्मेवारीविहिन । न उनलाई क्लब हेर्न छुट छ, न त राष्ट्रिय टोली वा उमेर समूह नै । नेपालमा उत्कृष्ट मानिएका युवा प्रशिक्षक विष्णु गुरुङ, युगलकिशोर राई लगायत अन्य केही नामले विदेशको बाटो रोजिसके । नेपालमै रहेर केही गर्ने चाहना राख्नेलाई पनि एन्फाले प्रो लाइसेन्सको लागि सहयोग गर्न सकेको छैन ।

शून्य, नेपालमा प्रो लाइसेन्स प्रशिक्षक शून्य नै छ । तर एन्फाले यसलाई गम्भीरतापूर्वक लिएको छैन । राष्ट्रिय टोली हेर्न प्रो लाइसेन्स प्रशिक्षक अनिवार्य भएको अवस्थामा नेपालले अब अन्तर्राष्ट्रिय फुटबल खेल्न विदेशी प्रशिक्षक भित्र्याउनु पर्ने बाध्यकारी अवस्था सिर्जना भएको छ ।

सन् २०१५ मा एएफसीले राष्ट्रिय टोली हेर्न कम्तिमा ए लाइसेन्स अनिवार्य गरेपछि एन्फाले लगातार ए कोर्ष गर्दै झन्डै ४ दर्जन प्रशिक्षकलाई लाइसेन्स प्राप्त गर्ने अवसर दिएको थियो । तर पछिल्लो ५ वर्षमा प्रो लाइसेन्स आवश्यक हुँदा पनि यसमा ध्यान गएको छैन । न त ए लाइसेन्स नै थप्न सकेको छ । प्रशिक्षकहरु आफैं विदेश गएर कोर्ष गरेपनि उचित अवसर दिइएको छैन ।

एकातर्फ कर्मचारी र उच्च पदस्थ अधिकारीहरु आफ्नो तलब बढाउन व्यस्त छन्, अर्कोतर्फ फुटबलको मगज मानिने प्रशिक्षण क्षेत्र अस्तव्यस्त छ । फाइनल खेल खेल चल्दै गर्दा महासचिवले प्रशिक्षकलाई टचलाइन बाहिर आउन बाध्य गराएर दिएको निर्देशनले पनि हामी कुन स्तरमा छौं भन्ने प्रश्न आफैंलाई गर्नुपर्ने अवस्था आएको छ । मैदानमा खेलाडीले ९० मिनेट बिताएर ४-१ को नतिजा त ल्याए, तर खेल नेपालले मैदानबाहिर हारिसकेको थियो । नतिजाले मात्र प्रमाणित गरिदियो ।

November 18, 2024

नर्वेको जितमा हालाण्डको ह्याट्रिक

एजेन्सी – एर्लिङ हालाण्डले ह्याट्रिक गरेको युइएफए नेसन्स लिगको खेलमा नर्वेले सहज जित हासिल गरेको छ । लिग बी समूह ३ मा नर्वेले आइतवार कजाकिस्तानलाई ५-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा नर्वेको जितमा सोर्लोथ र नुसाले गोल थपे । हालाण्डले २३औं र ३७औं मिनेटमा गोल गर्दै नर्वेलाई सानदार सुरुवात दिलाएका थिए […]

November 18, 2024

फ्रान्ससँग इटालीको हार

एजेन्सी – युरोपेली नेसन्स कपमा आइतवार फ्रान्सले इटालीलाई ३-१ ले हराएको छ। लिग ए समूह २ बाट क्वाटरफाइनलमा पुगिसकेका दुई टोलीबीच नतिजापछि फ्रान्स समूह विजेता बनेको छ। एक गोलको अन्तरले पराजित भएको अवस्थामा इटाली समूह विजेता बन्ने समीकरण थियो। सानसिरोमा भएको खेलमा फ्रान्सका मिडफिल्डर रेबियटले २ गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो। इटालीका […]

November 17, 2024

धर्वेन्द्रको ह्याट्रिकमा जावलाखेलको जित

काठमाडौं(हाम्रो खेलकुद) – कप्तान धर्वेन्द्र कुँवरको ह्याट्रिकको सहयोगमा जावलाखेल युथ क्लबले ललित स्मृति एन्फा यु १८ युथ लिगमा सहज जित दर्ता गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आइतवार जावलाखेलले सातदोबाटो युथ क्लबविरुद्ध ४-१ को जित हासिल गरेको हो । जावलाखेलका लागि अर्को गोल प्रशान्त तामाङले गरे । सातदोबाटोका लागि निसप्रकाश बरालले […]

Success

Thank you for your time.