default_image

7 months ago

February 23, 2024

यसरी सम्भव भयो सावित्राको ५० गोल

10931 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले विहीबार वाफ च्याम्पियनसिप २०२४ अन्तर्गत इराकविरुद्ध पाँचौ गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा ५० गोल पूरा गरिन् । नेपालले ५-० को फराकिलो जित दर्ता गर्दै सबै ५ गोल गरेकी साम्बाले दूर्लभ इतिहास आफ्नो नाम गरिन् ।

सन् २०१४ मा भुटानविरुद्ध बेन्चबाट मैदान प्रवेश गरेको केही मिनेटमै पहिलो अन्तर्राष्ट्रिय गोल गरेकी उनले दशक लामो यात्रापछि यो आँकडा भेटेकी हुन् । बिचमा गम्भीर चोटका कारण टोलीबाहिर रहेपनि उनले पुनरागमन गर्दै गोल गर्ने क्रममा ब्रेक लाग्न दिइनन् । यसबीचमा उनले आफूले खेलेको २५ खेलमा गोल गरेकी छिन् ।

सावित्राले गोल गरेको ४ खेलमा मात्र नेपालले हार बेहोरेको छ । उनले गोल गरेको १७ खेलमा नेपालले जित दर्ता गर्दा ४ खेल बराबरीमा सकिएका छन् ।

भुटानविरुद्ध पहिलो गोल गरेकी सावित्राले २०१६ को दक्षिण एसियाली खेलकुद अन्तर्गत श्रीलंकाविरुद्ध २ गोल थपिन् । एन्फा कम्प्लेक्समा भएको मलेसियाविरुद्ध मैत्रीपूर्ण खेलमा एकमात्र गोल गरेकी उनले त्यसै वर्ष साफ महिला च्याम्पियनसिपमा भने गोलवर्षा नै गरिन् ।

भुटानविरुद्ध पहिलो खेलमा ६ गोल गरेकी उनले दोस्रो खेलमा माल्दिभ्समाथि ५ गोल थापिन् । सेमिफाइनलमा नेपाल भारतसँग ३-१ ले पराजित हुँदा उनले सान्त्वना गोल फर्काएकी थिइन् ।

नेपालले मलेसियामा मैत्रीपूर्ण खेल खेल्दा सावित्राको गोलमा नेपालले १-१ को बराबरी खेल्यो । अर्को खेलमा भने नेपाल पराजित भएको थियो ।

त्यसपछि म्यानमारविरुद्ध १-१ को बराबरीमा गोल गरेकी साम्बाले भारतलाई पहिलो पटक हराउँदा दुवै गोल गरेकी थिइन् । इरानमाथि ३-० को जितमा पनि साम्बाले नै २ गोल गरिन् ।

सन् २०१९ को सागमा भुटान, बंगलादेश, श्रीलंका र भारतविरुद्ध उनले १-१ गोल थपिन् । त्यसपछि ओलम्पिक छनोटकै इन्डोनेसियामाथि २-१ को जितमा दुवै गोल साम्बाकै नाममा रह्यो ।

नेपालले पहिलो पटक नादेझ्दा कप खेल्दा साम्बाले ४ गोल गर्दै किर्गिस्तानमाथि नेपालले ८-२ को जित दर्ता गर्यो । ताजिकिस्तानविरुद्ध खेलको एकमात्र गोल गरेकी साम्बाले फाइनलमा २ गोल गरेपनि उज्बेकिस्तानविरुद्ध ३-२ को हार टार्न सकिनन् ।

सन् २०१९ मा माल्दिभ्सविरुद्ध ३ गोल गरेकी उनले त्यसपछि घुँडाको चोटका कारण मैदानबाहिर रहनुपर्यो । नेपालले विश्वकप छनोटका खेल खेल्दा सावित्रा एसीएल शल्यक्रियापछि रिह्याब गर्दै पुनरागमनको प्रतीक्षामा थिइन् ।

सन् २०२२ मा नेपालमै भएको साफ च्याम्पियनसिपमा भुटानविरुद्ध ४-० को जितमा साम्बाले २ गोल गरिन् । तर डेंगी संक्रमणका कारण उक्त प्रतियोगितामा साम्बा उपलब्ध नहुँदा टोलीले उपाधिबाट विमुख हुनुपर्यो ।

२०२३ मा बंगलादेशमा सावित्राले बराबरी भएको खेलमा गोल गर्दै पेनाल्टी सुटआउटमा जित दिलाइन् । भिएतनामविरुद्ध नेपाल ओलम्पिक प्लेअफमा ५-१ ले हारेपनि साम्बाको नाममा गोल रह्यो ।

भारतविरुद्ध मैत्रीपूर्ण खेलमा २-० ले पछि परेको स्थितिबाट साम्बाले लगातार २ गोल गर्दै नेपाललाई हारबाट जोगाइन् । त्यहाँयता उनी इजरायली क्लब हुँदै फ्रान्सको एन अभान्ट ग्वेंगाम्पमा खेलिरहेकी छिन् ।

पश्चिम एसियाली राष्ट्रले खेल्ने वाफ च्याम्पियनसिपको आमन्त्रित टोली नेपाललाई सुरुवाती दुवै खेल जिताउन साम्बाले गजबको प्रदर्शन गरिन् । पहिलो खेलमा ४-१ को जितमा १ गोल गरेकी साम्बाले दोस्रो खेलमा ५-० को जितमा सबै ५ गोल गरिन् ।

यससँगै उनले राष्ट्रिय टोलीका लागि ५० गोल पूरा गरेकी हुन् ।

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.