12 months ago
January 16, 2024
सन्जोग चाम्लिङ राई
सामान्यतयाः एउटा खेलाडीको सपना नै राष्ट्रिय टिमको जर्सी लगाउने हुन्छ । त्यो जर्सीमा लाग्ने पसिना नै सबैभन्दा मिठो सुगन्ध बन्छ । राष्ट्रिय टिम सम्मको यात्रा नै उसको जीवनभरको सम्झना बन्छ र सधैं रोमाञ्चित महसुस गर्दछ । राष्ट्रिय टिमको कर्ममा नै उसले गर्व महसुस गर्दछ । फुटबलले दिएको केही नाम, केही दामको सन्तुष्टिले उ बाँच्छ । तर त्यो नाम र दामले घरको चुल्होमा सधैं आगो बल्छ त ?
एनएसएलको दोश्रो संस्करण भर्खरै सकियो । विजेता ललितपुर सिटी एफसीलाई बधाई । फाइनल खेलमा भएको दर्शकहरुको भव्य उपस्थिति सम्झनायोग्य रह्यो । केही स्तरिय विदेशी खेलाडीहरुको सहभागिता र केही विदेशिएका खेलाडीहरुको आगमन पनि रोचक नै रह्योे ।
११ जना खेलाडीहरु मध्ये मैदानमा ५ जना विदेशी खेलाडीहरु उत्रन पाए । यसरी मैदानमा विदेशी खेलाडीहरुको उपस्थिती झण्डै–झण्डै पचास प्रतिशत नै रह्यो । उनीहरुले गरेको गोल संख्या र प्रभाव हेर्दा त विदेशी खेलाडीहरुबिचको प्रतिस्पर्धा जस्तै देखियो । तर आजको विषय विदेशी खेलाडीहरु होइनन् , विदेशिएका नेपाली खेलाडीहरु हुन् ।
विमल घर्ती मगर , आशिष लामा , दिनेश राजवंशी र तेज तामाङ अष्ट्रेलियाबाट आएर खेले । यो अवसर एनएसएलले जुराइदियो । उनीहरु आएर खेल्नु खुसीको कुरा रहे पनि त्यसले केही सन्देशहरु दिएको छ ।
छोटो समयमा धेरै खेलाडीहरु बुट थन्काएर विदेशिए पश्चात जुन खाल्डो रहन गयो, त्यो खाल्डो अझै पुरिएको छैन रहेछ भन्ने प्रमाणित भयो । खासमा त्यो खाल्डोको महसुस नै गरिएन । महसुस नभएर नै त होला, त्यसलाई पुर्ने चिन्ता र तत्परता एन्फामा भएन । विदेशिएका नेपाली खेलाडीहरुको आगमन भनेको नयाँ खेलाडीहरुलाई दिएको चुनौती पनि हो ।
हुन त नेपाली फुटबल खेलाडीहरु विदेश जानु सामान्य नै हो, जुन हिजो पनि थियो । नेपाली नागरिकहरु जसरी जिविकोपार्जनको लागी विदेश जान्छन् , त्यही क्रम न हो । तर बहस हो, हिजो गए भनेर आजको दिनमा पनि जानुलाई ठीक मान्न सकिन्छ त ? एन्फा सधैँ झै-झगडामा रुमल्लिएको हेरेर कतिन्जेल खेलाडीहरुले सहनु पर्ने हो ? खै एन्फा पदाधिकारी विदेशिए भनेर समाचार पढ्न पाइँदैन त ? कहिले सम्म खेलाडीहरुले विदेशमा गएर घरको चुल्हो बाल्नु पर्ने ?
एन्फा महासचिवले भनेको सत्य हो कि विदेश जानु भनेको खेलाडीहरुको व्यक्तिगत इच्छा नै हो । अब प्रश्न आउँछ , सपना माया मारेर एउटा व्यक्ति किन विदेश जान्छ ? एउटा सम्मानित जीवन छोडेर खेलाडी किन विदेशिन्छ ? उनीहरु विदेशिएका हुन् कि विदेशिन बाध्य बनाईएका ?
एनएसएल च्याम्पियन ललितपुर सिटी एफसीका कप्तान अनन्त तामाङले भनेका थिए , ‘एनएसएल सकियो तर अब कहिले मैदानमा गएर फुटबल खेल्ने भन्ने थाहा नै छैन ।’ यो भन्दा नेपाली फुटबलको अनिश्चितता कति चाहियो ? यो भन्दा एन्फालाई व्यङ्ग्य वाण कस्तो चाहियो ?
मैदानमा नै जान नपाए पछि खेलाडीको चुल्हो बल्छ कसरी ? कहिले लिग होला भनी आश गरेर कतिन्जेल बस्नु पर्ने ? यस्तो अनिश्चितताविच खेलाडीको मनस्थिती बन्छ कस्तो ? हो, यसैको नतिजा हो खेलाडीहरुको लगातार वैदेशिक पलायन ।
कुनै एउटा खेलाडीको दैनिक तालिका अनिश्चितताहरुले भरिए पछि उसले जाने कहाँ ? कुनै एउटा खेलाडीलाई अब कहाँ कहिले खेल्ने भनेर थाहा छैन भने उसले गर्ने के ? हो, यसैको नतिजा हो खेलाडीहरुको लगातार वैदेशिक पलायन ।
कुनै समय पूर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङले कुनै पत्रिकामा दिएको अन्तर्वार्ता पंक्तिकारलाई अझै सम्झना छ , ‘भोको पेटले मेरो देश भन्दैन ।’ राष्ट्रिय टिमकै नियमित सदस्यहरु फुटबल त्यागेर विदेश जाँदा पनि एन्फालाई न पिडा बोध न वास्ता नै छ । एन्फा यस्तो खेल संस्था भयो, जसको केन्द्रमा खेलाडी कहिल्यै भएनन्। हो, यसैको नतिजा हो खेलाडीहरुको लगातार वैदेशिक पलायन ।
“चेन्ज एन्फा” भनेर आएकाहरु ३६० डिग्रीमा परिवर्तन भए । भीरबाट लडेको ढुंगाझैं फुटे । अनि आफ्नो नाराको मलामी आफैं गए । आजको दिन सम्म खेलाडीहरुको हितमा कुन चाहिँ सिन्का एन्फाले भाँच्यो ? एन्फाले खेलाडीको सुरक्षित जीवनको लागी सोच्छ कहिले ? हो, यसैको नतिजा हो खेलाडीहरुको लगातार वैदेशिक पलायन ।
एन्फा भित्र नेपाली फुटबलको विकासबारे बहस हुँदैन । न एन्फाले दिर्घकालिन योजनाका महत्वकांक्षी कार्यक्रमहरु संचालन गर्न सकेको छ । बहुमतको पल्ला भारी बनाउन सबै जना सबै प्रकारको तिकडम गर्न व्यस्त छन् । गुट भन्दा माथि कोही उठ्न सकेको छैन । हो, यसैको नतिजा हो खेलाडीहरुको लगातार वैदेशिक पलायन ।
एन्फा दिनचर्या स्वार्थको घनचक्करमा मात्र बित्न थाले पछि र एन्फाले खेल्ने वातावरण नबनाएपछि खेलाडीहरु विदेश लागे र लाग्दैछन् । खासमा खेलाडीहरु विदेश गएका होइनन् , बरु विदेशिन बाध्य बनाइएका हुन् । फुटबल मात्रै जानेको र फुटबल नै वर्तमान र भविष्य मानेको खेलाडीहरुको सपनामा एन्फाले लात प्रहार गरी रहेको छ । खेलाडीहरुको सपनाको यो असामयिक अवसानको नैतिक जिम्मेवारी एन्फाको हो ।
फुटबल खेलाडीको एउटा दुखद सत्य के हो भने, उसले आफ्नो जीवनको सबैभन्दा उर्जाशिल समय खेलाडीको रुपमा बाँचीसकेको हुन्छ । नेपालको परिपेक्षमा सक्रिय खेलाडी जीवन पश्चात परिवारको चुल्होको चिन्ता सुरु हुन्छ । जुन अन्तर्राष्ट्रिय फुटबलमा देखिँदैन ।
यहाँ अन्तर्राष्ट्रिय फुटबलसँग नेपाली फुटबल तुलना गर्न खोजिएको भने होइन । यति मात्र हो, फुटबल खेलाडी भएर घरको चुल्हो किन राम्रोसँग बल्दैन ? किन उसलाई खेलाडी जीवनको उम्दा अवस्थामा नै बुट थन्क्याउन बाध्य बनाइन्छ ? र, कोही किन यसको जिम्मेवारी लिँदैन ?
एउटा खेलाडी विदेशिनु भनेको एक थान व्यक्ति विदेश गएको हो भन्ने बुझाई कसैको छ भने त्यो पूर्ण होइन । खेलाडी एकै दिनमा वा एकै छिनमा विकास हुने कला वा कर्म होइन । धेरै वर्षहरुको कठिन मेहनतले खेलाडी बनिन्छन् । खेलाडी मात्र होइन, हाम्रो कला पनि सँगसँगै विदेशिएको छ ।
कोही खेलाडी राष्ट्रिय टिम सम्म पुग्दा राज्यको केही न केही लगानी रहेको हुन्छ । राज्यको लगानी भनेको तपाईं हामीले तिरेको कर हो । खेलाडी विदेशिनु भनेको त्यो करको प्रतिफल समाजले नपाउनु हो ।
एउटा खेलाडीले समाजमा पार्न सक्ने सकरात्मक प्रभाव, उसले नयाँ खेलाडीहरुको विकासमा दिन सक्ने योगदान, बालबालिकालाई दिन सक्ने प्रेरणाको त हिसाबकिताब नै गर्न सकिँदैन । सक्रिय खेल जीवन पश्चात खेलाडीले नेपाली फुटबल क्षेत्रलाई दिन सक्ने योगदानबाट समाज या एन्फा विमुख भइरहेको छ ।
विदेशिने खेलाडीहरुको लहरको समाचारले विश्व फुटबलमा जाने सन्देशको असर हामीलाई नै पर्ने हो । यस्ता कुराहरुको महत्वका साथ समीक्षा गर्ने फुर्सद एन्फासँग छ होला त?
कठै !
यस्तै यस्तै ।
यस लेखमा प्रयोग गरिएको प्रतीकात्मक तस्विर एआइको सहयोगमा तयार पारिएको हो ।
December 26, 2024
दिपक बोहोरा,पाँचथर न्युरोड टिम ( एनआरटी) फिदिममा जारी ११औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । फिदिम माविको मैदानमा बिहीवार भएको अन्तिम क्वाटरफाइनलमा सिरहाको सलेहश क्लबलाई टाइब्रेकरमा ५–४ ले हराउँदै एनआरटी अन्तिम चारमा पुगेको हो । योसँगै फाल्गुनन्द गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ । आयोजक फिदिम स्पोर्टिङ क्लब, मच्छिन्द्र क्लब र चर्च […]
December 26, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको एन्फा यू१६ लिगका लागि थ्री स्टार क्लबले आफ्नो समर्थकबाट प्रायोजन पाएको छ । लामो समयदेखि क्लबको समर्थन गर्दै आएका हाल अष्ट्रेलिया निवासी अरुण तिवारीले क्लबको यू१६ टोलीलाई आफ्नो कम्पनि सिल्भर रे रिअल्टिमार्फत प्रायोजन गरेका हुन् । थ्री स्टारले आफ्नो सामाजिक संजालमार्फत प्रायोजन […]
December 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्याब्सन बुढानिलकण्ठ र ए डिभिजन टोली हिमालयन शेर्पा क्लबबीच ग्रासरुट फुटबल कार्यक्रम संचालनका लागि सम्झौता भएको छ । स्थानीय स्तरमा फुटबल खेलकुदको प्रवर्द्धन र नयाँ प्रतिभाको पहिचानका लागि बिहीवार सम्झौता भएको हो। सम्झौताअनुसार, बुढानिलकण्ठ नगरपालिका भित्रका विद्यालयका बालबालिकालाई लक्षित गरी फुटबल प्रशिक्षण कार्यक्रम संचालन हुने बताइएको छ । बालबालिकाहरूमा फुटबल खेलप्रति रुचि […]