default_image

1 year ago

November 16, 2023

परिवर्तनको जोखिमबीच साख जोगाउने दबाब

1155 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२६ एएफसी छनोटको दोस्रो चरणमा विहीबार संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्दैछ । ४ वर्षअघि विश्वकप छनोटको यसै चरणमा कुवेतको सामना गर्न पुगेको टोलीबाट ३ खेलाडी मात्र हाल नेपाली टोलीमा छन् ।

नेपालका लागि सर्वाधिक खेल खेलेका कप्तान किरण चेम्जोङ, नेपाली फुटबलमा सबैभन्दा उच्च स्तरको फुटबल खेलिरहेका डिफेन्डर रोहित चन्द र नेपाली फुटबलमा हालका सर्वाधिक गोलकर्ता अन्जन विष्ट मात्र ४ वर्षअघि छनोट यात्राको सुरुवातमा थिए । नेपालका सबैभन्दा भरपर्दा डिफेन्डर अनन्त तामाङ पनि यो टोलीमा हुन्थे, तर यूएई प्रस्थान गर्नुभन्दा २ दिन अघि मात्र चोटका कारण उनको नाम भ्रमण टोलीमा अटेन ।

नेपालको वर्तमान टोली सम्भवत यो स्तरमा प्रतिस्पर्धा गर्ने हालसम्मकै सबैभन्दा कम अनुभव बोकेको टोली हो । टोलीमा रहेका २३ मध्य ७ खेलाडीले मात्र राष्ट्रिय टोलीबाट १० भन्दा बढी खेल खेलेका छन् । औसत उमेर झन्डै २३ वर्ष छ भने ७ खेलाडीले डेब्यु गर्न नै बाँकी छ ।

प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसे आफैंले राष्ट्रिय टोलीको जिम्मेवारीमा आएपछि दर्जन खेलमा जिम्मेवारी निभाएका छन् । उनले टोलीमा लगातार परिवर्तन गर्दै नयाँ युगको लागि खेलाडी तयार पारिरहेका छन् । उनको टोली छनोट हेर्दा नेपालले वर्तमान नतिजा भन्दा भविष्यका लागि टोली बनाउन खोजेको बुझ्न सकिन्छ । खेलाडीमा प्रयोग यति धेरै भएको छ, अहिले टोली परिवर्तनको क्रम होइन, नयाँ युगमा प्रवेश गरेको छ । तर, प्रशिक्षकको यो द्रुत निर्णयले नेपालको वर्तमान प्रदर्शनमै प्रश्न उठ्ने डर उत्तिकै छ ।

खेलाडी पलायनका कारण प्रशिक्षक अनेसेले नयाँ खेलाडीलाई टोलीमा समावेश गर्न बाध्य थिए । तर यसका बाबजुद उनले टोलीमा लगातार प्रयोग गरेका छन् । अनेसे आफैंले सुरुवातमा टोलीमा स्थान दिएका खेलाडी बाहिर राखेका छन् । लिग फुटबलको अभावका कारण नयाँ खेलाडीलाई सिधै प्रशिक्षणमा राखेर टोलीमा समेटेका छन् ।

विश्वकप खेल्ने लक्ष्य बोकेको स्तरीय टोलीविरुद्ध अनुभवको कमी खड्कने पो हो भन्ने चिन्ता पनि उत्तिकै छ । पछिल्लो पटक प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सिनियर खेलाडीसँग विवाद गरेर युवा खेलाडीलाई समेट्दाको नतिजा बिर्सनलायक रहेको थियो । त्यसबेला नेपालले फराकिलो हार बेहोरेपनि नयाँ युगलाई अवसर दिएको सम्झिएर नै नतिजा स्वीकार गरिएको थियो ।

यसपटक अनेसेले पुन: अर्को युग तयार पार्ने जमर्को गरेका छन् । २ वर्षको अन्तरमा नेपाली टोलीको स्वरूप नै परिवर्तन भएको छ । सायद ए डिभिजन लिग समाप्त हुँदा हाल टोलीमा रहेका कतिपय खेलाडीले राष्ट्रिय टोलीमा पर्ने त टाढा, प्रशिक्षण सुचिमा नै नाम आउने आँकलन गरेका थिएनन् । तर प्रशिक्षकको आवश्यकता पूरा हुन नसक्दा लगातार खेलाडी परिक्षण चलिरहेको छ ।

युवा टोली भएकाले नेपालले यूएईविरुद्ध निडर भएर खेल्ने विश्वास प्रशिक्षक अनेसेले खेलको पूर्वसन्ध्यामा पनि बताए । ‘जब टोलीमा युवा खेलाडी हुन्छन्, उनीहरुले शारीरिक र मानसिक रुपमा सकारात्मक खेल्न सक्छन् । उनीहरुले विपक्षी टोलीको मैदानमा पनि दबाब नलिई खेल्न सक्छन् । मलाई थाहा छ भोली यूएईको समर्थनमा धेरै आउनु हुन्छ, तर हामी त्यसको लागि तयार छौं,’ उनले भने ।

‘हामीलाई यूएईको स्तर थाहा छ । विगतमा यूएईजस्ता अन्य टोलीको सामना पनि गरेका छौं । विपक्षी टोलीको खेल र खेलाडीको बारेमा बुझेर आएका छौं । हामी यो खेल रमेर खेल्न चाहन्छौं । यो विश्वकप छनोटको भएकाले यो स्तरको फुटबलको सम्मान पनि गर्छौं,’ अनेसेले थपे ।

कप्तान किरणले पनि एसियाका उत्कृष्टमा गनिने यूएई स्टार अलि मब्खुत जस्ता खेलाडीको सामना गर्न तयार रहेको बताए । ‘हामीले अघिल्लो छनोटमा अष्ट्रेलियासँग खेल्यौं । त्यहाँ प्रिमियर लिग खेल्ने खेलाडी थिए । त्यसैले हामीलाई खासै असर गर्दैन । म सधैं आफ्नो टोलीका लागि खेल्छु र भोली पनि त्यस्तै अर्को दिन हुनेछ,’ किरणले बताए ।

प्रशिक्षक अनेसेले नयाँ चुनौतीको सामना गर्न आफू सधैं तयार रहेको पनि बताए । ‘मैले प्रशिक्षकको रुपमा धेरै अनुभव लिएको छु । एक मानव भएकाले पनि चुनौतीको सामना गर्नुपर्छ । विशेषगरी भोली प्रशिक्षक पाउलो बेन्टोविरुद्ध खेल्नु विशेष हुनेछ,’ उनले भने ।

‘पोर्चुगलमा मोउरिन्होपछि उनलाई मान्छु । त्यसैले म उनीसँग हात मिलाएर कडा प्रतिस्पर्धा दिन तयार छु । अहिलेलाई हामीले यो लक्ष्य भन्ने होइन, खेलमा ध्यान दिन जरुरि छ । आशा गरौं राम्रो खेल हुनेछ,’ अनेसेले थपे ।

यता यूएईका प्रशिक्षक बेन्टोले पनि नेपाललाई कमजोर नआँक्ने बताएका छन् । ‘हामीले विपक्षी टोलीबारे पनि सोच्नुपर्छ । उनीहरु पनि यहाँ प्रतिस्पर्धा गर्न आएका हुन् । हामीले आफ्नो खेलमा ध्यान दिएर सकेसम्म राम्रो खेल प्रस्तुत गर्नु नै मुख्य लक्ष्य हो,’ कतार २०२२ विश्वकपमा दक्षिण कोरियाको प्रशिक्षक रहेका बेन्टोले भने ।

प्रशिक्षक अनेसेले छोटो अवधिको लागि सम्झौता भएपनि दीर्घकालीन योजना लिएर अघि बढेको संकेत दिएका छन् । उनले केहि टोलीमा पर्न सक्षम तर उमेरले ३० वर्ष नाघेका खेलाडीलाई बन्द प्रशिक्षणमै राखेनन् । यसले नतिजामा असर गर्ने भएपनि नयाँ टोली तयार पार्न जोखिम लिएका छन् । तर यो जोखिमले विश्व फुटबलमा नेपालको साख नै जोगाउन कठिन हुने हो भन्ने डर भने बढेको छ ।

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

Success

Thank you for your time.