default_image

1 year ago

August 7, 2023

मच्छिन्द्र भुटानी च्याम्पियनको सामना गर्न तयार

1009 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कपको प्रारम्भिक छनोट अन्तर्गत प्लेअफमा मच्छिन्द्र फुटबल क्लबले भुटानी लिग च्याम्पियन पारो फुटबल क्लबको सामना गर्दैछ । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा हुनेछ ।

लिग च्याम्पियन चर्च ब्वाइजले एएफसी क्लब लाइसेन्स प्राप्त गर्न नसक्दा उपविजेता भएपनि मच्छिन्द्रले एएफसी कपमा प्रतिस्पर्धा गर्न पाएको हो । पछिल्लो संस्करणमा श्रीलंकाको ब्लु स्टार स्पोर्ट्स क्लबसँग घरेलु मैदानमै पराजित भएको मच्छिन्द्र यसपटक भने सचेत छ ।

क्लबले यसपटक लिग खेलेको टोलीमा राष्ट्रिय टोलीका युवा स्टारसहित ८ खेलाडी थपेको छ । मच्छिन्द्रले लिग च्याम्पियन चर्च ब्वाइजका विंगर आशिष चौधरी र मिडफिल्डर एरिक विष्टलाई टोलीमा समेटेको छ । यसबाहेक राष्ट्रिय टोलीका मिडफिल्डर लाकेन लिम्बू, विंगर आयुष घलान र डिफेन्डर सनिश श्रेष्ठ पनि मच्छिन्द्रमा आएका छन् ।

रेलिगेसनमा परेको खुमलटारबाट विदेशी खेलाडी मेसुके ओलोमोउसँगै रेजिन सुब्बा पनि मच्छिन्द्रमा छन् । रेजिनले गत संस्करणको लिग उपाधि जित्दा महत्त्वपूर्ण भूमिका खेलेका थिए । मेसुकेको कागजी प्रक्रिया पूरा नभएकाले उनले भोलिको खेल नखेल्ने सम्भावना छ ।

प्रशिक्षक किशोर केसीले मेसुके स्तरीय खेलाडी रहेकाले अन्तिमसम्म पनि उनलाई प्रतीक्षा गर्ने बताए । ‘मेसुके स्तरीय खेलाडी हुन् । आज भरेसम्म कागजी प्रक्रिया पूरा हुन्छ भने एकदिन विश्राम लिएर उनलाई उतार्ने सोच छ,’ केसीले खेलको पूर्वसन्ध्यामा बताए ।

पारोका डिफेन्डर फ्लोरेन्ट कोआरा यसअघि जावलाखेल युवा क्लबबाट खेलेका थिए । प्रशिक्षक केसीले फ्लोरेन्ट राम्रो खेलाडी भएपनि आफ्नो आक्रमण थप बलियो रहेको बताए । ‘फ्लोरेन्ट राम्रा खेलाडी हुन् । मैले उनीसँग केहि समय पनि बिताएँ । तर मलाई लाग्छ हाम्रो आक्रमणले उनलाई समस्या दिन सक्छ,’ केसीले भने ।

क्लबका कप्तान विशाल श्रेष्ठले यसअघि एक पटक एएफसी कपको समूह चरण खेलिसकेका छन् । उनले मनाङबाट सन् २०१९ मा चेन्नईयन एफसी, अबहानी र मिनेर्भा पन्जाबसँग समूह चरणमा खेलेका थिए । अघिल्लो संस्करण मच्छिन्द्र प्लेअफबाट बाहिरिंदा पनि विशाल नै गोलरक्षक थिए ।

कप्तान विशालले पारोलाई सहज रुपमा नलिने बताए । ‘पारो भुटानको च्याम्पियन टोली हो । यतिकै कमजोर आँक्न मिल्दैन । स्तरीय विदेशी र भुटानकै राष्ट्रिय टोलीबाट खेल्ने खेलाडी पनि छन् । आशा गरौं हामी राम्रो नतिजा निकाल्न सक्नेछौं,’ उनले भने ।

विशालले क्लब फुटबलमा आकर्षण बढाउन पनि यो खेलले महत्त्व राख्ने बताए । ‘लिग सकिएपछि नेपाली फुटबलमा खासै गतिविधि भएको छैन । लिगमै पनि विगतको तुलनामा दर्शकको उपस्थिति कमजोर रह्यो । आशा छ भोलिको खेलमा दर्शकहरु आउनुहुनेछ । साँझको खेल छ, बाक्लो उपस्थिति अपेक्षा गरेका छौं,’ गोलरक्षक विशालले भने ।

पारोका प्रशिक्षक पुष्पलाल शर्माले मच्छिन्द्र नेपालको च्याम्पियन नभएपनि निकै राम्रो टोली भएको बताए । ‘मच्छिन्द्र राम्रो टोली हो । राष्ट्रिय टोलीका खेलाडी पनि छन् । हामी सकारात्मक नतिजा निकाल्ने लक्ष्यका साथ खेल्नेछौं,’ उनले भने, ‘नेपालमा हाम्रो समर्थनमा पनि दर्शक आउने अपेक्षा लिएका छौं,’ उनले थपे ।

टोलीका कप्तान किन्ले वाङचुकले आफ्नो ध्यान मच्छिन्द्रविरुद्ध खेलमा मात्र रहेको बताए । ‘अहिलेको लागि हाम्रो ध्यान मच्छिन्द्रकै खेलमा छ । हाम्रो ध्यान यो खेलको नतिजापछि मात्र अर्को खेलमा हुनेछ,’ उनले भने ।

मच्छिन्द्रले ए डिभिजन खेलेका १५ खेलाडीलाई निरन्तरता दिएको छ । कप्तान विशाल श्रेष्ठ टोलीमा नियमित रहँदा उनलाई प्रदिप भण्डारी दोस्रो गोलरक्षक र लुज महर्जन तेस्रो गोलरक्षक छन् ।

फरवार्ड विमल घर्ती मगर, अफिज ओलावाले, सौरभ लिम्बु, अभिषेक गुरुङ र विजय भुजेल टोलीमा छन् । मिडफिल्डर आन्द्रेस निया, दिपेश घले र उत्सव राई पनि नियमित छन् । डिफेन्समा ओमोलाजा करीम, देवेन्द्र तामाङ, दिवाकर चौधरी, छिरिङ गुरुङ र सुरज विक पनि टोलीमा छन् ।

खेलका लागि टिकट मूल्य साधारणतर्फ २ सय रुपैयाँ र भीआइपी तर्फ ५ सय रुपैयाँ रहेको छ । खेलको टिकट इसेवामार्फत खरिद गर्न सकिने बताइएको छ ।

८ अगस्टमा हुने उक्त खेल जिते मच्छिन्द्रले १६ अगस्टमा मोहन बगान सुपर जायन्टको सामना गर्नेछ । उक्त खेल जिते २२ अगस्टमा हुने प्लेअफको फाइनलमा क्लब इगल्स र ढाका अबहानीको विजेतासँग मच्छिन्द्रले खेल्नेछ ।

पूर्ण टोली :

गोलरक्षक (३) : विशाल श्रेष्ठ, प्रदिप भण्डारी, लुज महर्जन

डिफेन्डर (६) : सनिश श्रेष्ठ, ओमोलाजा करीम, देवेन्द्र तामाङ, दिवाकर चौधरी, छिरिङ गुरुङ र सुरज विक

मिडफिल्डर (५) : आन्द्रेस निया, एरिक विष्ट, लाकेन लिम्बु, दिपेश घले र उत्सव राई

फरवार्ड (९) : विमल घर्ती मगर, आशिष चौधरी, आयुष घलान, अफिज ओलावाले, मेसुके ओलोमोउ, सौरभ लिम्बु, अभिषेक गुरुङ, रेजिन सुब्बा र विजय भुजेल

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.