1 year ago
July 23, 2023
सन्जोग चाम्लिङ राई
फुटबल, झट्ट हेर्दा यो ४१०–४५० ग्राम वजनको एउटा निर्जिव वस्तु हो । तर यो निर्जीव वस्तुको परिधिमा निर्माण हुने यसको जीवन भने सजीव हुन्छ । नेपाली समाजमा यसको बुझाइमा पनि विभिन्न धारणाहरू छन् । तर जब देशकै सवाल आउँछ , सबै जना लगभग एक विन्दुमा नै आउँछन् । देश भन्नु पनि एउटा भावना न हो ।
केही महिनाअघि एक चर्चित नेपाली किर्तिमानी पर्वतारोहीले यसरी आफ्नो झोक निकाले : “फुटबल खेलाडीले एउटा खेल जित्दा ९ लाख दिने घोषणा गर्ने सरकारले हिमाल चढ्नेलाई केही दिँदैन ।”
यो नेपाली समाजको एउटा बुझाई हो । उनलाई थाहा छैन होला कि एउटा खेल जित्न खेलाडीले आफ्नो जीवनको कति समय लगानी गरेको हुन्छ । यसो भनेर पर्वतारोहण पेशालाई नजरअन्दाज गरेको होइन ।
पर्वतारोहण आफैमा विशाल साहस र कलाले मात्र सम्भव छ , जो सबैसँग हुँदैन नै । अल्पविकसित मुलुक भएको हविगतले पनि होला, फुटबल मात्र त के कुनै पनि खेल उद्योगमा रूपान्तरण हुन सकेको छैन । आशावादी हुनुको विकल्प छैन ।
नेपाली फुटबल भन्नु बित्तिकै एन्फा भन्ने बुझाई व्याप्त छ । खासमा त्यस्तो होइन, एन्फा त एउटा मुख्य सरोकारवाला पक्ष मात्र हो । नेपाली फुटबलको अर्थ व्यापक छ ।
छोटकरीमा भन्दा नेपाली फुटबल भनेको एन्फा, फुटबलप्रेमी, शुभचिन्तक, निजी क्षेत्र, खेलाडी, क्लब, सबै तहको सरकारहरू, खेलकुद पत्रकारिता आदिहरुको समजोड हो । यस्ता सबै पक्षहरू मिलेर नै नेपाली फुटबलको पूर्ण तस्वीर तयार हुन्छ ।
दुई–चार वटा पाङ्ग्राले मात्र नेपाली फुटबलको रथ गुड्दैन । यो रथको सारथी एन्फा हो र रथ दुई पाङ्ग्रे छैन । जब सारथी सबल हुँदैन, रथ यथोचित ढंग र रूपले चल्दैन ।
कुराहरू आफैँमा सानो वा ठूलो हुँदैनन् । त्यसको आकारको निर्धारण उक्त कुरा लिनेले कसरी कुन अर्थमा लिन्छ भन्नेमा हुन्छ सायद । यो लेखमा उल्लेख गरिएको केही बुँदागत कुराहरू पनि लिनेले कसरी लिन्छ वा बुझ्नेले कसरी बुझ्छ भन्नेमा नै निर्भर छ ।
नेपाली फुटबल विकासको डंका सबैले पिट्दै गर्दा केही सानो कुराको छलफल गर्न पनि जरुरी छ । किनकी साना कुराको महत्त्व नबुझी ठूला ठूला कुराहरूको पनि के अर्थ ?
यो लेख नेपाली फुटबलका केही पक्षबारे विषय उठान गर्ने प्रयास हो ।
तलब
नेपाली समाजमा एउटा तर्क के सुनिन्छ भने प्रधानमन्त्रीको तलब ९१ हजार भएको देशमा फुटबल खेलाडीको तलब १ लाख माथि किन चाहियो ? खेलाडीको तलब त्यो देशको प्रधानमन्त्रीको तलबले न निर्धारण गर्छ न प्रभाव नै । यो तुलना गर्ने कुराहरू नै होइनन् । यसको प्रकृति, कर्म र अर्थमा नै आकाश पातालको फरक छ ।
युरोपेली देश नहेरी भारतमा नै हेरौँ न : विकिपिडियाको अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको मासिक तलब भारु २ लाख छ । के त्यहाँका फुटबल खेलाडीहरुले प्रधानमन्त्रीको तलब भन्दा तल छ होला त ? कम्तिमा पनि दोब्बर तेब्बर मात्राले बढी छ ।
यसरी हेर्दा त नेपाली फुटबल खेलाडीको तलब त थोरै भयो । फरक के हो भने भारतमा फुटबल एउटा उद्योगको रुपमा विकास हुँदैछ भने हामी बामे मात्रै सर्दैछौँ । सत्य के हो भने नेपाली फुटबल क्लबहरुको दयनिय आर्थिक अवस्थामा खेलाडीहरुको तलब भने असन्तुलित रुपमा बढिरहेको छ ।
यसो भनौँ, क्लबहरू यो यात्रामा कछुवाको गतिमा मात्र बढ्ने कोसिस गरे । ललितपुरको एउटा क्लबका पदाधिकारीले पङ्क्तिकारसँगको गफगाफमा यसरी व्यङ्ग्य गरेका थिए : बल रोक्न जाने वीस हजार, रोकेर पास दिन सके तीस हजार ।
उनले भन्न के खोजेका थिए भने खेलाडीको तलब वृद्धिले क्लबको पसिना चुहाई सक्यो । प्रष्ट कुरा के हो भने खेलाडीको तलब उसको कला र क्षमताले निर्धारण गर्दछ । फुटबल विकासमा तलबको आफ्नै भूमिका हुन सक्छ । तर क्लब बलियो नभई खेलाडीहरुको अनियन्त्रित तलब वृद्धिले नेपाली फुटबलको विकासमा उल्टो असर गर्न सक्छ ।
खेलाडीको तलब रोजगारसँग मात्र सम्बन्धित छैन , यसले त समाजको आर्थिक ऐना पनि अलिअलि देखाउँछ । श्रम र सीपको मूल्याङ्कन असीमित हुन सक्छ । अहिलेको समयमा खेलाडीको तलब के कति भन्दा पनि सम्झौता अनुसार पाएको छ कि छैन भन्ने प्रमुख हो ।
क्लबहरुको दुख
नेपाली फुटबलको व्यक्तित्वहरूलाई संचारमाध्यमले नछुटाई सोध्ने प्रश्न हो: नेपाली फुटबलको विकास गर्न के गर्नु पर्छ ? यसमा सबैले नछुटाई दिने एउटा साझा उत्तर हो: लिग लामो हुनु पर्छ र खेलाडीहरुले राम्रो पारिश्रमिक पाउनु पर्छ ।
यो उत्तर गलत हुँदै होइन । तर यसमा हामीले भुलेको वा उल्लेख नगरेको कुरा हो: लामो लिग गर्न र खेलाडीले राम्रो पारिश्रमिक पाउन क्लब बलियो हुनु पर्छ । यस माथि न हाम्रो समूचित ध्यान गएको छ न त एन्फाकै ।
क्लबहरुलाई व्यवसायिक बनाउन एन्फासँग बलियो योजना छ कि छैन , एन्फा नै जानोस् तर के नेपाली फुटबल क्लबहरुसँग आफ्नै योजना र दृष्टि छ त ? समुदाय केन्द्रित हाम्रा क्लबहरुले पनि सोच्नुपर्छ : कहिले सम्म चन्दा र व्यक्तिगत सहयोगहरुमा चल्ने ?
रेलिगेसन टार्न पनि करोडको वरीपरी पुग्ने बजेट क्लबहरुले कसरी कुन दुखले धानीरहेका होलान् ? सायद फुटबलप्रतिको अटुट प्रेम र पागलपनले नै होला । अहिलेसम्म क्लबहरुले जे जसरी धाने, क्लबहरु धन्यवादका पात्र छन् । तर अबको दिनमा पनि क्लबहरुले आफ्नो रुप र सारमा परिवर्तन गर्ने आँट नगर्ने हो भने आउँदो दिनहरु क्लबहरुको लागी प्रत्युत्पादक हुनेछ ।
परिवर्तन आत्मसात गर्न नसक्ने हो भने त्यसको सिधा असर अस्तित्वमा नै आउँछ । समग्र समाज विकास हेर्दा परिवर्तन आत्मसात गर्न नसक्ने प्रत्येक चिजहरुको अस्तित्व नै सकिएको उदाहरण प्रशस्त छ ।
फुटबल व्यवसायिक बनाउन क्लबलाई व्यवसायिक बनाउनु पहिलो कुरा हो । बलियो क्लबहरु नै फुटबलको भरपर्दो मेरुदण्ड हुन् । क्लब रहे न लिग , लिग रहे न खेलाडी । नयाँ क्लबहरु अब रहर र एक भोटको लागी होइन, प्रष्ट योजना र रणनीतिका साथ आउन जरुरी छ ।
प्रशिक्षकको अवस्था
नेपाली फुटबलको विकास गतिमा कोही सबैभन्दा पछाडि छन् भने त्यो प्रशिक्षकहरु नै हुन् । नेपाली फुटबल प्रशिक्षकहरु अध्ययनमा एकदमै पछाडि छन् । अध्ययन भन्नाले किताबको ठेली मात्र होइन । यसको दायरा फराकिलो छ ।
अध्ययनले ज्ञान दिने हो । ज्ञानले चेतना वृद्धिमा सहयोग गर्ने हो । चेतना वृद्धिले परिपक्वता ल्याउन सहयोग गर्ने हो । अब गफ कम , अध्ययनको दायरा बढाउनु पर्छ ।
एन्फाले गराउने एएफसीको प्रशिक्षण पनि नेपाली फुटबल प्रशिक्षकहरुले बाध्यताले लिइरहेको आभाष हुन्छ । यदि प्रशिक्षण प्रमाण पत्र नचाहिने भए थोरै जनाले मात्र लाइसेन्स लिन्थे होलान् ।
ए डिभिजन क्लबकै प्रशिक्षकहरुलाई हेरौँ न । कति जनाले अभ्यास सत्रको तयारी लिखित रुपमा गरेर आएका हुन्छन् ? उनीहरु सोचेर आउने हुन् , मैदान आए पछि परिवर्तन भए पनि सामान्य मान्नुपर्ने स्थिति छ ।
प्रशिक्षण विधि पनि परम्परागत शैली भन्दा माथि आउन सकेको छैन । नेपाली प्रशिक्षकहरु रणनीतिकार कम , तालिमकर्ता बढी हुन् र छन् । नेपाली फुटबल प्रशिक्षकहरुको सबैभन्दा कमजोरी नै उनीहरुसँग आफ्नो फुटबलको प्रष्ट दर्शन नहुनु हो । उ आफैँमा पूर्णरुपमा स्पष्ट छैन कि उ कस्तो फुटबल खेल्न चाहन्छ र उसलाई कस्तो प्रकृतिको खेलाडीहरु चाहिन्छ ।
उत्कृष्ट खेलाडी हुने वित्तिकै उत्कृष्ट प्रशिक्षक हुन सकिन्छ भन्ने कुनै तथ्य छैन । अनुभवको आफ्नै महत्व छ तर सबै कुरा त्यति मात्रै होइन । प्रशिक्षक त अनुभव, अध्ययन, विवेक, नैतिकता आदिहरुको सम्मिश्रित व्यक्ति हो, जसको उपस्थिति र थोरै निर्देशनले मात्र पनि खेलाडीमा व्यापक परिवर्तन ल्याउन सक्छ । खेलाडीको नजरमा उ सम्मानित हुन जरुरी छ । सम्मान त कर्मले दिने हो, पदले मात्र होइन ।
एक जना उमेर समूहका मुख्य प्रशिक्षकले आफ्नो सामाजिक संजालमा प्रतियोगीता पश्चात मद्यपान र धुमपानका तस्वीरहरु राखे । उनको नीजि जीवन छ तर बुझ्नु पर्छ कि खेलाडीहरुमा त्यसको असर के हुन सक्छ ।
कम्तिमा सानो उमेर समूहको प्रशिक्षकले त्यस्तो नगर्दा मनासिब हुन्छ । यति कुरा बुझ्नलाई किताबको ठेली पल्टाउनु पर्दैन । यही उदाहरणले नै भन्छ कि नेपाली प्रशिक्षकहरुको बौद्धिक रुप कपासको वजन जस्तै छ ।
केही युवा प्रशिक्षकहरु केही आशलाग्दा देखिएका छन् तर उनीहरु प्रमाणित हुन अझै केही समय लाग्न सक्छ ।
जीवनशैली
खेलाडीको जीवनशैली कस्तो हुनु पर्दछ भनी स्वयं खेलाडीले निर्धारण गर्ने कुरा हो । यो उपशिर्षक नेपाली खेलाडीहरुलाई सुझाव–शिक्षा भन्दा पनि झकझकाउनलाई हो । नेपाली फुटबलको अनुभवले भन्छ : खेलाडीहरुको खानपिन र रहनसहन सही ढंगको छैन ।
इन्टरनेट र संचारमाध्यमको विकासक्रमले हामीलाई विश्व फुटबलसँग नजिक बनाएको छ । खेलाडीहरुले धेरै कुराहरु हेरेर नै सिकेका पनि छन् । तर नसिकेको मुख्य कुरा हो खानपिन । जुन खेलाडीको विकासक्रममा महत्वपूर्ण छ ।
एउटा क्लबका पदाधिकारीले पंक्तिकारसँग गफगाफमा भनेका थिए: खेलाडीहरु कसरी खेल्ने भनेर सोच्ने भन्दा पनि कस्तो हेयर स्टाइलमा मैदान छिर्ने भनेर धेरै सोच्छन् । भन्न खोजेको कुरा हो : खेलाडीहरु खेल भन्दा पनि अरु कुरामा ज्यादा ध्यान दिन्छन् ।
खेलको अघिल्लो दिनमा प्रशस्त मदिरापान गर्ने खेलाडीहरु अझ पनि व्याप्त भेटिन्छन् । धुमपान र मद्यपानले नेपाली खेलाडीहरुलाई गाँजेको छ । सायद अनिश्चित भविष्यले गर्दा पनि हुन सक्छ उनीहरुमा लत बसेको तर सोचनिय कुरा के हो भने : हामी नयाँ पुस्तालाई के सिकाउँदै छौँ ?
यदि यो लेख खेलाडी मित्रहरुले पढ्दै हुनु हुन्छ भने सोच्नुस् त एकचोटी, तपाईको दैनिक पौष्टिक आहार तालिका कस्तो छ र कुलतहरुदेखि कति टाढा हुनु हुन्छ ? सही खानपिनको अनुशरणले तपाईको शरीरलाई सही आकारमा त राख्छ नै, नयाँ पुस्तालाई पनि एउटा शिक्षा दिनु हुन्छ तपाईले ।
एउटा अनुशासनको संस्कार पनि सुरु हुन्छ । खेलाडीहरु पिडित भएको कतिपय विषयहरुमा खेलाडीहरुलाई नै जनमानसले गाली गलौज गर्ने एउटा कारण कतै खेलाडीहरुले सार्वजनिक रुपमा बेपर्वाह तरिकाले गर्ने खानपिन र रहनसहनको नकरात्मक प्रभाव पनि त होइन ? नेपाली फुटबल खेलाडीहरुले आफ्नो जीवनशैलीमा परिवर्तन गर्न तत्काल जरुरी छ ।
टिम निर्माण
क्लबहरुले हरेक सिजन गर्ने टिम निर्माणलाई नेपालमा टिम बनाउने भनिन्छ । खासमा टिम बनाउने काम त प्रशिक्षकको हुनु पर्ने हो या उसको भूमिका प्रमुख हुनु पर्ने हो तर व्यवहारिक रुपमा त्यस्तो छैन ।
अधिकांश क्लबहरुमा त्यहाँका केही सिनियर खेलाडीहरुले टिम बनाउने चलन अझै पनि हटेको छैन । यो बाध्यता पनि हो तर अझै कहिलेसम्म ? नेपाली क्लबहरुको एउटा समस्या के हो भने प्रशिक्षकको छनोट र नियुक्ति पहिलो प्राथमिकतामा परेको देखिँदैन । अन्तिम समयमा पनि प्रशिक्षकको नियुक्ति हुन सक्छ ।
पहिले खेलाडीसँग सम्झौता गरिन्छ , अनि विस्तारै प्रशिक्षकको नियुक्ति गरिन्छ । विश्व फुटबलको ठ्याक्कै उल्टो । सुरुवाती एघारमा पनि पूर्णरुपमा प्रशिक्षकको निर्णय अपवाद वाहेक भएको देखिँदैन । क्लबका केही मानिसहरु र केही खेलाडीहरु हाबी हुने घटनाहरु अझै कम भएको छैन । यथार्थ यही हो ।
टिम बनाउने काम खेलाडीको होइन । यो काम देखि खेलाडी आफै टाढा हुन आवश्यक छ । टिम निर्माण गर्ने मुख्य जिम्मेवारी प्रशिक्षकको हो । प्रशिक्षकको नियुक्ति क्लबले सुरुवाती चरणमा नै गर्ने चलन नेपालमा कहिले देखि चल्ने होला ?
पास – मैदानभित्रको होइन, बाहिरको
लिगको प्रत्येक खेलमा एन्फाले क्लबहरुलाई निश्चित पास उपलब्ध गराउने गर्दछ । यो चलन क्लबलाई सुविधा पनि हो तर यसले नेपाली फुटबललाई फाइदा गर्दैन । जब सम्म टिकट खरिद गरेर खेल हेर्ने बानी विकास गर्न सकिँदैन तब सम्म नेपाली फुटबलको एउटा संस्कार निर्माण हुन सक्दैन ।
अब एन्फाले अत्यावश्यक बाहेकका पासहरु रोक्नु पर्छ । एन्फा पदाधिकारीकै परिवारजनले पनि टिकट खरिद गरेर दर्शकदीर्घामा प्रवेश गरेको दृश्यले नेपाली फुटबलकै शोभा बढाउँदछ । यहाँ त एन्फा पदाधिकारीहरू नै गेटमा आएर ठाडो आदेशमा आफ्ना मान्छेहरुलाई प्रवेश गराइरहेको दृश्य पनि देख्न पाइन्छ ।
अचम्म त त्यति बेला लाग्छ जब कोही व्यक्ति महँगो नीजि गाडीमा आउँछन् र गेटमा त्यही पास कुरेर बस्छन् । खेलाडीहरु पनि वार्मअपको केही क्षण अघिसम्म पास पाउन र बाँड्न हतारो गरिरहेको दृश्यले नेपाली फुटबललाई नै गिज्याइरहेको आभाष हुन्छ ।
प्रश्न कति रकमको पास होइन, हामी कस्तो फुटबल संस्कारको विकास गर्दैछौँ भन्ने हो । शिशुकालमा रहेको नेपाली फुटबलको विकासक्रममा अब हामीले यस्तो संस्कारको पनि विकास गर्न आवश्यक छ । टिकट खरिद गरेर खेल हेर्ने बानीको विकास गरौँ । यो संस्कार बनोस् ।
यो चाहिँ सानो कुरा हुँदै होइन
प्रसंग एक: एक बिहानको चिया गफमा एउटा एनएसएल टिमका नेतृत्वकर्ताले पंक्तिकारसँग भने : “टिम त हामी राम्रै बनाउँछौँ भाई, त्यो चिन्ताको विषय होइन तर फिक्सिङ कसरी रोक्ने भन्ने मात्र चिन्ता छ ।”
प्रसंग दुई: धरानमा विद्यार्थी राजनीतिमा सक्रिय र व्यस्त एक जना भाईले पंक्तिकारसँगको भेटमा केही लोकप्रिय नेपाली खेलाडीहरुको नाम नै लिएर भने: फलानो फलानो खेलाडीहरु त फिक्सिङका खास नामहरु हुन् रे नि, यो कुरा सत्य हो दाई ?
ती नामहरु सुनेर म अ्वाक भएँ । त्यसको प्रमाण नभएको मैले थाहा छैन भन्नु सिवाय केही उत्तर म सँग थिएन । तर ती नामहरु सुनेर मेरो मथिंगल भने हल्लिएको थियो ।
यी दुई प्रसंगहरुले घरेलु नेपाली फुटबलमा म्याच फिक्सिङले कति जरा गाडि सकेको छ भनेर प्रष्ट पार्छ । अहिलेको अवस्था तैँ चुप मै चुपको जस्तो देखिन्छ । नेपाली फुटबललाई नजिकबाट बुझ्नेले यस तथ्यलाई नकार्दैनन् ।
तल्लो डिभिजनका लिगहरुमा त क्लबले पारिश्रमिक नदिएको रिसमा खेलाडी आफैँले अनलाइन बेटिङ साइटमा योजना बनाएर रकम राखेर खेल खेलेको घटनाहरु पनि प्रशस्त सुन्न पाइन्छ । यसलाई खेलाडीको बाध्यता भनेर व्याख्या गर्नेहरु पनि भेटिन्छन् तर यो शतप्रतिशत गलत कुरा हो ।
गलत कुरालाई कुनै पनि बहानामा समर्थन गर्न सकिँदैन । यो विषयलाई एन्फाले नजरअन्दाज गरे केही समयपछि यसले नेपाली फुटबललाई धमिराले झैँ ध्वस्त पार्नेछ तर त्यो बेला धेरै ढिलो भइसकेको हुनेछ ।
कछुवाझैँ घिस्रिरहेको नेपाली फुटबलको सुन्दरतालाई यसले कुरुप बनाउनेछ । समयमा नै यसबारे सोचेर पाइला चालिएन भने पछि पछुताउनु सिवाय केही बाँकी रहँदैन ।
के एन्फा राजनीतिले बिग्रीएको हो ?
यो चाहिँ अर्को अंकमा ।
यस्तै यस्तै ।
राई पूर्व फुटसल खेलाडी हुन् ।
November 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘बी’ डिभिजन लिगको मिति सार्वजनिक गरेको ४ दिनपछि १४ मध्ये १० क्लबले एकलौटी निर्णय लाद्न खोजेको आरोप लगाएका छन्। ३ वर्षअघिको बी लिगको बक्यौता रकम नपाएसम्म लिग नखेल्ने उनीहरुले सामूहिक रुपमा अडान राख्दै प्रेस विज्ञप्ति जारी गरेका छन्। मंसिर ६ गते एन्फा र क्लबका […]
November 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- युएई नेपप्लिज फुटबल एसोसिएसन (युएनएफए) ले नेपाली समाज मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि जितेको छ। युएई नेपाल पत्रकार महासंघलाई टाइब्रेकर पराजित युएनएफएले उपाधि जितेको हो। १-१ को बराबरीपछि टाइब्रेकरमा युएनएफले बाजी मारेको हो। त्यसअघि सेमिफाइनलमा युएनएफएले नेपाली दुतावास र युएई पत्रकार महासंघले एनएसयु एसोसिएसनलाई हराएर फाइनलको यात्रा तय गरेको थियो। नेपाली दुतावासका सागर […]
November 25, 2024
एजेन्सी- रियल म्याड्रिडले स्पेनिस ला लिगामा आइतवार लेगानेसलाई ३-० ले हराएको छ। रियलका लागि केलियन एमबाप्पे, फेडरिको भाल्भार्डे र जुड बेलिङघमले गोल गरे । यो जितपछि रियलले शीर्षस्थानको बार्सिलोनासँगको दूरी ४ अंक भएको छ। शनिवार बार्सिलोना बराबरीमा रोकिएको थियो । एमबाप्पेले ४३ औं मिनेटमा गोल गर्दा रियलले पहिलो हाफमा १-० को अग्रता बनायो। रियलमा यो उनको […]