1 year ago
June 2, 2023
सन्जोग चाम्लिङ राई
ठीक दुई वर्ष अगाडि अर्थात् सन् २०२१ साल । नेपाली फुटबलको शताब्दी वर्ष । नेपालमा सन् १९२१ मा फुटबल भित्रिएको थियो, अखिल नेपाल फुटबल संघ (एन्फा) को वेबसाइटले यही भन्छ । त्यो सुखद शताब्दी समयलाई एन्फाले कसरी सम्झियो भनेर पंक्तिकारलाई ठ्याक्कै याद छैन । त्यो अवसरलाई सम्बन्धित पक्षले बेवास्ता गर्यो या थाहा नै थिएन, सम्बन्धित पक्षले नै जानोस् । यति चाहिँ हो, जसरी सम्झिनु पर्थ्यो त्यो कसैबाट पनि भएन । खैर यो प्रसंग अहिलेलाई पुरानो भइसक्यो ।
नेपाली फुटबलको सर्वोच्च संस्था एन्फा गठन भएको नै ७२ वर्ष भइसक्यो । मानिसको उमेरसँग दाँज्ने हो भने यो पाको र परिपक्व उमेर हो तर एन्फालाई गहिरिएर हेर्ने हो भने यस संस्था शैशवकालमा नै छ । अफसोच हो, अहिलेसम्म एन्फा विवादरहित र एकताबद्ध कहिल्यै भएन । यसको जिम्मेवारी अहिलेसम्मका सबै नेतृत्वपंक्ति र कार्यसमितिलाई जान्छ, भलै अन्य धेरै पक्षहरुलाई पनि धेरथोर जान्छ नै ।
जोसँग डाडु पन्यु हुन्छ, भान्सामा पाकेको मिठो र नमिठो सबै परिकारहरुको जिम्मेवारी उसैको हुन जान्छ । कुरा सरल र सिधा छ । राणा शासनकालमा भित्रिएको नेपाली फुटबल अहिले लोकतान्त्रिक गणतन्त्रसम्म आईपुग्दा, एन्फाको वर्तमान स्थितिको बारेमा केही लेख्ने प्रयास गरिएको छ । पक्का हो, सबै कुरा एउटै लेखमा समेट्न सकिन्न नै ।
हिजोको नेतृत्वपंक्तिको बारेमा फेरि कुनै लेखमा चर्चा गरौंला । आजको स्थिती भनेकै हिजोको कथाको निरन्तरता र असर पनि हो । एन्फाको चुनावसहितको २१ औं साधारण सभाबाट वर्तमान अध्यक्ष पंकज विक्रम नेम्बाङ र नयाँ कार्यसमिति निर्वाचित भएको लगभग एक वर्ष हुन लाग्यो । त्यसैले यस नेतृत्वको थोरै कुरा गर्दा असान्दर्भिक र असहज पक्कै नहोला । ह्यापी एन्नीभर्सरी इन एड्भान्स ।
निर्वाचनक्रममा नेम्बाङ समूहले सामाजिक संजालमा राखेको पोष्टरमा मुख्य नारा यस्तो थियो–“हाम्रो एकता,नेपाली फुटबलको व्यवसायिकता” । पंक्तिकारलाई यो नारा सम्झेर कहिलेकाहीँ फिस्स हाँस्न मन लाग्छ । यति सुन्दर नाराको व्याख्या नेम्बाङ समूहले न निर्वाचनपूर्व गर्यो, न जितेर आए पछि नै ।
भन्यो–लेख्यो–सकियो । व्यवसायिक फुटबल के हो र यसको विकासको लागी अल्पकालिन र दिर्घकालिन योजना के कस्तो छ भनेर एन्फाले अहिलेसम्म भनेको छैन । सायद आवश्यकता नसम्झेर होला । भनेको दिन भने छलफल गरौंला । के खेलाडीले खेले बापत धेरथोर रकम पाउनु मात्र नै व्यवसायिकता हो त ?
पक्कै होइन । यो त व्यवसायिक फुटबलको एउटा पक्ष मात्र हो । छोटो समयमा नै नेपाली राष्ट्रिय टिमकै सदस्यहरु र नेपाली फुटबलका केही उम्दा खेलाडीहरु विदेश पलायन भई सकेका छन् , यो क्रम जारी नै छ ।
विदेशिनु खासमा व्यक्तिगत रोजाई नै हो । तर यो व्यक्तिगत रोजाईको पछाडि एन्फाको अप्रत्यक्ष भूमिका सबैभन्दा धेरै छ । उनीहरु मानुन् या नमानुन् । ती खेलाडीहरु जो गए , देशमा व्यवसायिक फुटबलको विकास भई सकेको स्थितिमा जान्थे त ? उत्तर हो, त्यसरी सबै जाने थिएनन् । त्यो पोष्टरमा उल्लेखित एकता शब्दको कुरा नगर्दा नै ठीक होला, किनकी एन्फाको भाँडभैलो तमाम नेपाली फुटबलप्रेमीहरुले थ्रीडी स्वरुपमा हेरी नै रहेका छन् । क्लाइमेक्स अझ रमाईलो देखिने लगभग पक्का छ ।
निर्वाचनअघि र निर्वाचनपछि यो शब्दलाई एन्फा नेतृत्वले गरेको व्यवहारिक दुरुपयोग हेर्ने हो भने नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली शब्दकोशबाट एकता शब्दको अर्थ परिवर्तन गर्नु पर्छ । यो अनुच्छेदले वर्तमान नेतृत्वलाई आफ्नै चुनावी नारा सम्झना होस् । एन्फाभित्रको क्रियाकलापहरुले गर्दा मुख्य नारा सातदोबाटोमा सुस्तरी लजाइरहेको छ ।
नेपाली फुटबललाई जस्तो व्यक्तिहरु चाहिएको छ, अपवादलाई छोडेर त्यस्ता व्यक्तिहरु एन्फामा देखिँदैनन् । काम गर्ने होइन, माम खानेहरु मात्र छन् । आफू र आफ्नो समूहको स्वार्थको जुंगे लडाँईमा सबै लडीरहेका छन् । कोही एन्फाभित्रै लड्छन् , त कोही एन्फा बाहिरै लड्न् ।
संस्थापन र ईतर समूह बहुमतको खेलमा जसरी सकुनी चालहरु चालिरहेका छन् , त्यो हेर्दा नै लाज लागेर आउँछ । उनीहरु सबै नांगिसकेका छन् । उनीहरुलाई हेक्का छैन कि लुगा लगाउँदैमा लाज छोपिन्न भनेर ।
भर्खरैको एउटा प्रसंगलाई यहाँ सम्झिउँ: एन्फाले सहायक महासचिवहरुको तलब ७५ हजार रुपैयाँ तोक्यो । एकजना सहायक महासचिव वसन्त आर्यालले उक्त तलब नलिने घोषणा गरे । जबकी गएको निर्वाचनको पूर्वसन्ध्यामा वर्तमान महासचिवले नै एन्फा तत्कालिन समयमा १३ करोड घाटामा रहेको तथ्य पत्रकार सम्मेलनमा नै भनेका थिए । जहाँ खेलाडी , रेफ्री आदिलाई दिने रकम छैन तर अर्थविहिन मनोनितहरुलाई यस्तो सुविधा ? यसरी एन्फाले लोकलाई हँसायो । मनोनयनको विषयमा आज नै नलेखीहालुँ । यस्ता मनोनयनहरु नेतृत्वले किन र कस्तालाई गर्छ भनेर सबैलाई विदितै छ । कस्तो लाचार संस्था । कति विवेकहीन ती मनोनित पदाधिकारीहरु । कठैबरा !
लिगको थोरै कुरा गरौं ।
सन् १९५४ मा नेपालमा फुटबल लिगको विधिवत सुरुवात भएको हो । धेरै विवादहरुबीच ढिलो सुरु भएर शहीद स्मारक ए डिभिजन लिग आधा सम्पन्न भई सकेको छ । तर लिगले मुख्य प्रायोजक नै अहिलेसम्म पाएन । यसको कारण त एन्फासँगै होला तर विचारणीय प्रश्न के हो भने , के नेपालको नीजि क्षेत्रले एन्फालाई विश्वास गर्न छाडेको हो ? उता लिगको तालिका हेर्नुस् ।
कति हतारो छ एन्फालाई लिग सक्न ? खेलाडीलाई कुनै रोबोटजस्तै सम्झिइएको छ , र त शरीरले पूर्ण आराम नै नपाई खेलाडीलाई मैदानमा जोताइएको छ । दुखकै कुरा हो , एन्फाले खेलाडीलाई कहिल्यै पहिलो प्राथमिकतामा राखेन । सिर्फ अर्थविहिन भाषण र गफहरुमा मात्रै ।
यो संस्करणको लिगलाई एन्फा नेतृत्वले उपत्यका बाहिर पनि संचालन गर्ने भनेको थियो तर पंक्तिकारको अनुमान बमोजिम भएन नै । किन भएन भनेर नेतृत्वलाई सोध्नु अर्थविहिन छ किनकी सस्तो लोकप्रियता र विना तयारी बोल्ने प्रवृत्ति एन्फामा अहिलेसम्म गएको छैन ।
फेरि भनुँ , केही दर्जन संख्यामा खेलाडीहरु विदेश पलायन भएको तथ्य सबैमा विदित छ । यसको प्रत्यक्ष प्रभाव यति सम्म पर्यो कि लिगको लगि भनेर विदेशी खेलाडीे संख्याको कोटा थप गर्नु पर्यो । केही खेलाडीहरु विदेशिँदा नियम नै परिवर्तन गर्नुपर्ने स्थिति बन्नुले नेपाली फुटबलको स्तर कहाँ छ भनेर थप व्याख्या आवश्यक छैन जस्तो लाग्छ । समस्या यति सम्म भयो कि क्लबहरुलाई टिम बनाउन नै हम्मे हम्मे पर्यो । बलियो भनिएका क्लबहरुले चाहेर पनि योजना अनुसारको टिम निर्माण गर्न सकेनन् । फलतः सबै टिमहरु लगभग औसत देखिएका छन् ।
नेपाली खेलकुद क्षेत्रमा फुटबल सर्वाधिक लोकप्रिय खेल हो । नेपाली फुटबलप्रेमीहरुको उल्लेख्य संख्या र उनीहरुको प्रेम हेर्दा पंक्तिकार व्यक्तिगत रुपमा फुटबल प्रेमीहरुप्रति नतमस्तक छ । सुरक्षित भविष्य विनाको नेपाली फुटबलमा आइरहेका नयाँ खेलाडीहरुको जोश र मिहिनेत हेर्दा हामी नकरात्मक नै हुनु पर्ने स्थिती पनि छैन, तर जर्जर भईसकेको एन्फामा व्यापक सुधारहरु गर्न तत्काल आवश्यक छ । एन्फा यति सम्म जर्जर भइसक्यो कि एउटा एनआरएनले एन्फाको जग हल्लाइ दिन्छ र नेतृत्वको नृत्यको कोरियोग्राफी गरीदिन्छ । कम्तिमा गएको दुई निर्वाचनहरुको सपाट दृश्य हो यो ।
यस्तै यस्तै ।
नोट : पूर्व खेलाडी चाम्लिङ हाल लन्डनमा छन् ।
October 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राजेन्द्र तामाङले राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक पद गरेको बताएका छन् । महिला साफ च्याम्पियनसिपको फाइनलमा बुधवार बंगालादेशसँग २-१ ले पराजित भएपछिको पोस्ट म्याच कन्फ्रेन्समा अब राष्ट्रिय महिला टोली नहेर्ने बताएका हुन्। ‘अब महिला राष्ट्रिय टोली हेर्दिन’, उनले भने ,’सायद अब क्लब हेर्छु होला ।’ तामाङको नेतृत्वमा महिला टोलीले गत […]
October 30, 2024
सुबास हुमागाईं, काठमाडौं साविक विजेता बंगलादेशले घरेलु टोली नेपाललाई हराउँदै लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । दशरथ रंगशालामा बुधबार सम्पन्न फाइनलमा नेपाललाई २-१ ले हराउँदै बंगलादेशले उपाधि रक्षा गर्यो । बंगलादेशका लागि मोनिका चक्मा र ऋतु पोर्ना चक्माले १-१ गोल गरे । नेपालको लागि अमिशा कार्कीले बराबरी गोल फर्काएपनि नेपाल खेलमा […]
October 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र बंगलादेशबीच जारी फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले पहिलो हाफमा पाएको अवसर सदुपयोग गर्न सकेका छैनन् । सुरुवाती १० मिनेटमा नै दुवै टोलीको प्रहार क्रसबारमा लागेको थियो । बंगलादेशकी गोलरक्षक रुपना चक्माले आज लगातार गल्ती गरिरहेकी छिन् । खेलको पहिलो […]