default_image

2 years ago

May 9, 2023

एन्फामा ब्रह्मलुट : खेलाडी वर्षौंदेखि उधारोमा, पदाधिकारीको तलब ‘सुटुक्क’ वृद्धि

380 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार बसेको आपतकालीन बैठकले एन्फाका तीन सह-महासचिवलाई मासिक ७५ हजार रुपैयाँ तलब तोक्ने निर्णय गर्यो । नियुक्तिकै समयमा निकै विवाद भएका तीन जिम्मेवारी विहिन पदाधिकारीले मोटो रकम बुझ्दा राष्ट्रका लागि दिन रात मिहिनेत गर्ने खेलाडी भने वर्षौंदेखि उधारोमा छन् । पदाधिकारीको तलबबारे बैठकमा भएको निर्णय गुपचुप राख्न प्रेस विज्ञप्तिमा भने देखाइएन ।

एन्फा निर्वाचनको समय सुशासन र आर्थिक पारदर्शिताको नारा घन्काएर अघि बढेको नवनिर्वाचित एन्फा नेतृत्व एक पछि अर्को विवादमा फस्दै गएको छ । कार्यसमिति बैठकमै अल्पमतमा पर्ने भएपछि केही सदस्यलाई विदेश भ्रमणको प्रलोभन र विभिन्न पदीय जिम्मेवारीको लोभ देखाउँदै अघि बढेको एन्फाले पुन: एकपटक फुटबल जगतलाई धरापमा पार्ने निर्णय गरेको छ ।

एकातर्फ एन्फा आर्थिक रुपमा निकै कमजोर अवस्थामा भन्दै लिग फुटबल नै संचालन गर्न नसक्ने अवस्थामा रहेको बताउने एन्फाले एन्फाका पदाधिकारीलाई मासिक लाखौं तलब-भत्ता दिने निर्णय गर्नु आफैंमा आश्चर्यजनक छ । एन्फाले ए डिभिजन लिगका साँझ दशरथ रंगशालामा हुने खेल संख्या आर्थिक कारण देखाउँदै घटाएको छ । रातको खेल गर्दा फ्लड लाइट बाल्न जेनेरेटरमा खर्च हुने कारण देखाउँदै दोस्रो लेगमा रंगशालामा साँझ हुने खेल संख्या घटाइएको छ । जबकी रंगशालामा साँझ हुने खेलमा दर्शकको उपस्थिति धेरै हुने गर्दथ्यो । दर्शक धेरै आएपनि टिकट अधिकार एकमुष्ठ विक्री गरेको एन्फाले आर्थिक भार पार्ने कारण देखाउँदै साँझको खेल घटाएको छ ।

केही हजार रुपैयाँ बढी खर्च हुँदा ए डिभिजन लिगको खेल नै सार्ने, बी र सी डिभिजन गर्न नसक्ने एन्फाले सोमबार संघमा जिम्मेवारी नै नपाएका तीन पदाधिकारीलाई मासिक ७५ हजार दिने निर्णय गरेको हो । थ्री स्टार क्लबका अध्यक्ष समेत रहेका अरुणमान जोशी, एन्फा चुनाव दौरान निर्वाचन समितिको संयोजक रहेका दामोदर भट्टराई (बद्रि) र मोरङ जिल्लाको प्रतिनिधित्व गर्दै आएका वसन्त अर्याल सह महासचिवको पदमा छन् । महासचिवको अनुपस्थितिमा उनको स्थान लिनुबाहेक एन्फामा यी तीनको अन्य जिम्मेवारी छैन । त्यसो त महासचिव आफैं पनि मासिक १ लाख २० हजार रुपैयाँ तलब बुझ्छन् । एन्फामा नयाँ कार्यसमिति आएपछि उनले तलब पनि बढाएका थिए ।

त्यसो त एन्फामा यसअघि प्रवक्तालाई मासिक ६५ हजार रुपैयाँ र वरिष्ठ उपाध्यक्षले मासिक ९९ हजार रुपैयाँ भत्ता लिने विषयले पनि चर्चा पाएको थियो । तर कार्यसमितिमा तालमेल मिलाउन एन्फा अध्यक्षले विरोधका आवाज सुने-नसुनेको गरिदिए । सोमबारको निर्णय पनि सोही अनुसार लिइएको छ । यसबाहेक असन्तुष्ट पक्षका विराटजंग शाहीलाई लिग समिति संयोजक र उपाध्यक्ष दिपक खतिवडालाई आपतकालीन समिति सदस्यमा मनोनयन गरिएको छ ।

एन्फामा महासचिव, तीन सहमहासचिव, वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष, सह कोषाध्यक्ष र प्रवक्ताले मासिक कुल ६ लाख २९ हजार रुपैयाँ तलब-भत्ता लिने गरेका छन् । यसबाहेक बैठक, भ्रमण र अन्य भत्ता थप प्राप्त गर्ने प्रावधान छ । यस्तै राष्ट्रिय टोलीका २३ खेलाडीले प्रति खेलाडी मासिक १८ हजारका दरले ४ लाख १४ हजार रुपैयाँ बुझ्छन् । यो रकम ५ महिनायता दिइएको छैन ।

एन्फा कार्यसमितिका सबैले आफ्नो दुनो सोझ्याउने काम गरिरहँदा एन्फामा राष्ट्रिय खेलाडी र रेफ्रीले पाउने तलब भने लामो समयदेखि रोकिएको छ । राष्ट्रिय टोलीका खेलाडीले मासिक १८ हजार तलब पाउने गर्छन् । यो तलब नै नपाएको ५ महिना भइसकेको छ । यसबाहेक वर्षौंदेखि खेलाडीलाई दिने भनेर घोषणा गरिएको पुरस्कार रकम पनि उधारो नै छ । सन् २०१९ को दक्षिण एसियाली खेलकुदको स्वर्ण पदक जित्दा घोषणा गरिएको पुरस्कार रकम, साफ च्याम्पियनसिपको उपविजेता बन्दा घोषणा गरिएको पुरस्कार रकम लगायत उमेर समूहमा पनि विभिन्न पुरस्कार दिइएको छैन । यसबाहेक राष्ट्रिय टोलीको तलब र प्रशिक्षण भत्ता पनि लामो समयदेखि उधारो नै राखिएको छ ।

खेलाडीले पाउनुपर्ने मासिक १८ हजार रुपैयाँ समेत दिन नसकेको स्थितिमा एन्फाका जिम्मेवारी नै नभएका र स्वयंसेवक रुपमा हुनुपर्ने विभिन्न पदमा मोटो रकम बुझ्ने निर्णयले वर्तमान कार्यसमितिको बदनियत देखिन थालेको छ । यसैपनि एन्फा आर्थिक संकटमा रहेको अवस्थामा आफ्नै समितिमा आफैं तलब लिने निर्णय गर्ने समितिको सर्वत्र आलोचना भइरहेको छ । सोमबारको बैठकले २०२३ को लागि ६७ करोडको बजेट कार्यक्रम पारित गरेको छ । यसको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

एन्फामा नियमित काम गर्ने कर्मचारीको तलबभन्दा जिम्मेवारी नै नभएका पदाधिकारीले मोटो रकम बुझिरहेका छन् । फुटबल गतिविधि र प्रशासनमा दैनिक खट्ने कर्मचारीभन्दा कार्यसमिति निकट रहेका व्यक्तिको भरणपोषणमा एन्फाले धेरै रकम खर्च गरिरहेको छ । यसपटक ए डिभिजन लिग संचालनमै पनि जिम्मेवारी निर्वाह गरिरहेका एन्फाका कर्मचारी भन्दा करारमा नियुक्त गरिएका जिम्मेवारी नै नभएका व्यक्तिले बढी रकम लिएका छन् । खुला आवेदनमार्फत नियुक्त गरिनुपर्ने विभिन्न पदमा पनि आफूखुसी निकटका व्यक्तिलाई मोटो रकममा काम गराइएको छ ।

फुटबल गतिविधि घट्दा एन्फाले आन्तरिक रुपमा आर्थिक पाटो सुदृढ बनाउन सकिरहेको छैन । मुख्य लिग अन्त्यतिर उन्मुख भइसक्दा पनि मुख्य प्रायोजन जोहो नहुँदा प्रत्यक्ष घाटा भइरहेको छ । तर यसबीचमा पनि एन्फाका पदाधिकारी आफ्नै दुनो सोझ्याउन व्यस्त छन् । नयाँ कार्यसमितिले व्यक्तिगत फाइदाका लागि नभएर संस्थागत विकास र उन्नतिको सोच राख्न नसक्दा यसले नेपाली फुटबललाई नै धरापमा पार्ने देखिएको छ । कम्तिमा मैदानमा डटने खेलाडीलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने चेत वर्तमान कार्यसमितिलाई मिलोस ।

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.