default_image

2 years ago

April 5, 2023

हुमागाईले श्रम स्वीकृतिको कारण देखाउँदै चर्च ब्वाइज छाडे

240 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पछिल्लो तीन खेलमा लगातार जितबाट बन्चित भएको ए डिभिजन लिगको नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडका प्रशिक्षक प्रदिप हुमागाईले प्रशिक्षकको जिम्मेवारीबाट राजिनामा दिएका छन् । अमेरिकी नागरिक हुमागाईले बुधबार विहान सामाजिक संजाल फेसबुकमा श्रम स्वीकृति प्राप्त गर्न नसक्दा क्लब छोडेको बताएका छन् ।

मंगलबार लिग अन्तर्गत न्यु रोड टिम (एनआरटि) विरुद्ध चर्च ब्वाइजले २-० को अग्रता लिएरपनि जित हासिल गर्न सकेको थिएन । पहिलो हाफमा आशिष चौधरीको गोल र दोस्रो हाफको ६२ औं मिनेटमा अनन्त तामाङको दर्शनीय फ्रिकिकमा चर्च ब्वाइज २-० ले अघि थियो । तर दोस्रो गोल गरेको ५ मिनेटपछि टोलीले गरेको खेलाडी परिवर्तनले एनआरटिलाई खेलमा फर्कने अवसर दियो ।

फरवार्ड आशिष चापागाई र मिडफिल्डर प्रशान्त लक्षमलाई मैदानबाट बाहिर निकाल्दै हुमागाईले विवेक पौडेल र कुवेर न्यौपानेलाई मैदान पठाए । आशिष निक्लेसँगै मिलन राई फरवार्डको भूमिकामा देखिए । विवेकलाई उनको मुख्य पोजिसन रक्षात्मक मिडफिल्डभन्दा बाहिर खेलाउने निर्णय फलदायी सावित भएन ।

एनआरटिले उक्त परिवर्तनपछि खेलम पकड जमाउँदै गएपछि थप आक्रामक हुन खेलाडी परिवर्तन गरेको थियो । नभन्दै रोहन खड्गीले मैदान छिरेको ३ मिनेटपछि गोल गर्दै २-१ को स्कोर बनाए । त्यसपछि पनि एनआरटिले एकपछि अर्को अवसर सिर्जना गरिरह्यो । मिडफिल्डमा रक्षात्मक भूमिका निर्वाह गरेका जोस्पे बेम्पाले बल गुमाउँदा उक्त पोजिसनका लागि फिट विवेक भने अगाडी नै खेलिरहे । प्रशिक्षकले आफ्नै खेलाडीको भूमिका नबुझेको भन्दै भीआइपीमा रहेका क्लबकै पदाधिकारी पनि असन्तुष्ट देखिएका थिए ।

विपक्षी हाफमा बल राख्न संघर्ष गरेको चर्च ब्वाइजले ८८ औं मिनेटमा अर्को परिवर्तन गर्यो । फरवार्ड मिलन राई निकालेर डिफेन्डर सनम राई मैदान प्रवेश गरे । यसैपनि अग्रता लिएको टोली बल पोसेसन कायम गर्न नसकेको अवस्थामा फरवार्ड निकालेर डिफेन्डर पठाउनु आत्मघाती निर्णय थियो । चर्च ब्वाइज लगातार बल क्लियर गर्दै एनआरटिकै खेलाडीमा बल पुर्याइरहेको थियो ।

इन्ज्युरी समयको तेस्रो मिनेटमा अन्तिम परिवर्तन गर्दा झनै चर्च ब्वाइजले गम्भीर गल्ति गर्यो । एनआरटिले राइट विंगमा दबाब बनाइरहेको अवस्थामा बल बाहिर गयो । थ्रो इन लिने तयारीमा रहँदा लेफ्ट ब्याक सविन खड्काको स्थानमा मनोज राइलाई पठाउने निर्णय प्रशिक्षक हुमागाईले लिए । सविन त्यही टचलाइनबाट बाहिरीए भने मनोज मैदान प्रवेश गर्दा विपरित दिशाबाट आफ्नो पोजिसनमा आउनुपर्ने भयो ।

दोस्रो हाफमा मैदान प्रवेश गर्दै उच्च प्रदर्शन गरेका एनआरटिका सरोज तामाङले लगातार क्रस गर्दै समस्या दिएको अवस्थामा उनले बिना मार्कर खेल्न पाए । एक त एनआरटिका ३ खेलाडी भएको अवस्थामा थप ब्याकअप ल्याउनुपर्ने थियो, तर त्यसैबेला सविनलाई निकाल्दा एनआरटिले केहि समय राइट विंगमा खुला रुपमा खेल्न पायो । इन्ज्युरी समयमा सेट पिसमा गोल खाँदा पनि टोलीको पोजिसनमा प्रश्न गर्ने ठाउँ थियो । छोटो फ्रिकिक लिएपछि वालमै रहेका खेलाडी बल नजिक आइपुग्दा बलकै दिशामा रहेका खेलाडीले भने तदारुकता देखाएनन् । नतिजा सरोज तामाङको बल प्रिसोले रोक्न सकेनन् र चर्च ब्वाइज अंक बाँड्न बाध्य भयो ।

त्यसो त चर्च ब्वाइजले यसअघि पनि प्रशिक्षककै रणनीतिका कारण पछिल्लो दुई खेल जित्न सकेको थिएन । बलियो अवस्थामा हुँदाहुँदै पनि विपक्षीमाथि दबाब कायम गर्न नसक्दा टोली जितबाट बन्चित भएको थियो । मच्छिन्द्रविरुद्ध पहिलो हाफमै पुजन उपरकोटी रातो कार्ड पाएको फाइदा चर्च ब्वाइजले उठाउन सकेन । बिना रक्षात्मक मिडफिल्ड खेलेको मच्छिन्द्रविरुद्ध उल्टो १० खेलाडीमा सिमित विपक्षीले दबाबमा राखेका थिए ।

त्यसअघि संकटाविरुद्ध अन्जन विष्ट आक्रमणमा उत्रिएपनि चर्च ब्वाइजले गोल गर्न सकेन । इन्ज्युरी समयमा मनिष डाँगीको पेनाल्टी गोलरक्षक एभ्स प्रिसोले बचाएपछि चर्च ब्वाइजको हार टरेको थियो । नवप्रवेशी भएपनि मोटो रकम खर्चेर उत्कृष्ट खेलाडी अनुबन्ध गरेको चर्च ब्वाइजको प्रशिक्षक नियुक्तिमा भने क्लबकै आन्तरिक रुपमा असहमति रहेको चर्चा रहेको थियो । हुमागाईले यसअघि इटहरी गोल्डकप सकिएपछि नै क्लब छाड्ने संकेत दिएका थिए ।

त्यसो त एन्फाले प्रशिक्षक नभएर टिम अफिसियलको भूमिकामा हुमागाईलाई टोलीमा राख्न अनुमति दिएको थियो । व्यावसायिक प्रशिक्षक हुँदा श्रम स्वीकृति चाहिने भएपछि एन्फाले स्वयंसेवक प्रशिक्षकको सम्झौता गर्दै उनलाई टचलाइनमा अफिसियलको भूमिकामा राख्न सुझाव दिएको थियो । तर हुमागाईले श्रम स्वीकृतिको कारण देखाउदै पदमा छोड्दा क्लबले उनलाई व्यावसायिक सम्झौता गर्न नमानेको अनुमान गर्न सकिन्छ । सुरुवातदेखि नै क्लबभित्र हुमागाईको नियुक्तिलाई लिएर असन्तुष्टि रहेको थियो ।

सुरुवाती ३ खेलमा जित हासिल गरेको चर्च ब्वाइज लगातार ३ बराबरीका साथ १२ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा छ । मनाङले अर्को खेलमा जित हासिल गरे शीर्षस्थानमा जाने अवसर पाउनेछ । जावलाखेल हाल ६ खेलमा १३ अंकसाथ अघि छ ।

March 22, 2025

विश्व कप छनोट – इंग्ल्यान्डको जित

एजेन्सी – फिफा विश्वकप २०२६ को युरोप छनोटमा इंग्ल्यान्डले शुक्रवार अल्वानियालाई हराएको छ। इंग्ल्यान्डको वेम्बली रंगशालामा भएको खेलमा घरेलु टोलीले २-० को जित निकालेको हो। इंग्ल्यान्डलाई जित दिलाउन मायल्स लुवेस-स्केली र ह्यारी केनले गोल गरे । खेलको २०औं मिनेटमा नै जुड बेलिङ्घमले दिलाएको पासमा मायल्सले गोल गरि घरेलु टोलीलाई अग्रता दिलाए । ७७ औं मिनेटमा […]

March 22, 2025

पिएसजीविरुद्ध साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- सावित्रा भण्डारी ‘साम्बा’ सम्मिलित एन अभान्ट ग्वेङगाम्प फ्रान्सेली महिला लिगमा बलियो टोली पेरिस सेन्ट-जर्मेन (पिएसजी) सँग पराजित भएको छ। घरेलु मैदानमा शुक्रवार ग्वेङगाम्पले पिएसजीलाई ६-२ को नतिजा सुम्पेको थियो।‌ स्टार खेलाडीले भरिएको पिएसजीविरुद्ध ग्वेङगाम्पका लागि दुवै गोल साम्बाले गरिन् । उनले २२ औं‌ र मिनेटमा ८८ औं गोल गरेकी हुन् । २२ […]

March 21, 2025

चितवन महिला फुटबल फाइनल – उपाधि जित्नेमा दुवै टोलीको दाबी

सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]

Success

Thank you for your time.