2 years ago
April 2, 2023
सुबास हुमागाईं, काठमाडौं
युवा विंगरद्वय आयुष घलान र मनिष डाँगीले थ्री नेसन्स कपको फाइनलमा गोल गर्दै नेपाललाई उपाधि दिलाए । दशरथ रंगशालामा नेपालले लाओसलाई हराउँदा २१ वर्षीय मनिष प्लेयर अफ द फाइनल बने । त्यस्तै १९ वर्षीय आयुष प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिए । फाइनल खेलेको २ दिनपछि यी दुवै संकटा क्लबका लागि लिगको खेल खेलिरहेका हुनेछन् ।
संकटा मात्र होइन, ए डिभिजनका हरेक क्लबले लिगको बाँकी २१ खेल अबको २ महिनाभित्र सकाउनुपर्ने अवस्था रहेको छ । एन्फाले थ्री नेसन्स फाइनलको अघिल्लो दिन नै लिगको १३ औं चरणको तालिका सार्वजनिक गरेको छ । जस अनुसार सबै क्लबले २६ दिनको अन्तरमा ८ खेल खेल्दैछन् । त्यसपछि बाँकी १३ खेल अर्को महिनाभित्र सक्नुपर्ने बाध्यता छ ।
क्लबहरुको बिकराल आर्थिक अवस्थाकै कारण एन्फाले साफ च्याम्पियनसिप अगाडी नै लिग सक्ने वाचा गरेको छ । साफ च्याम्पियनसिप जुन २१ देखि जुलाई ३ सम्म भारतमा हुँदैछ । साफअघि राष्ट्रिय टोलीलाई तयारी समय छुट्टयाउनु पर्दा लिगका लागि अब २ महिना समय मात्र बाँकी रहने देखिन्छ । यस्तोमा खेलाडीलाई थकान मात्र होइन प्रशिक्षकलाई नै टोली तयारीका लागि समय नपुग्ने देखिन्छ ।
राष्ट्रिय टोलीका नवनियुक्त प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले पनि उपाधि जित्दा खुसी भन्दा बढी खेलाडीको अवस्थालाई लिएर चिन्ता व्यक्त गरे । नेपाल आएपछि पहिलो प्रतियोगितामा उनले अपराजित रहँदै उपाधि जिते । जितपछि खेलाडीसँग रंगशालामा पूरै समय घुम्दै बसेका उनी निकै खुसी देखिन्थे । खेलपछि समापन समारोहमा खुसियाली साट्दै र फोटो खिच्दै लामो समय लिएका उनले पोस्ट म्याच कन्फरेन्समा भने जितको खुसीभन्दा बढी खेलाडीको भविष्यप्रति चिन्ता व्यक्त गरे ।
अनेसेको मुख्य चिन्ता खेलाडीलाई खेल खेल्ने राम्रो वातावरण नरहेको भन्नेमा थियो । एन्फा र क्लबको अवस्था थाहा पाएका उनले सिधै लिगको आलोचना गरेनन् तर बारम्बार नेपालका खेलाडीलाई विदेशी लिगमा अवसर दिन जरुरि रहेको बताए । यसमा उनको मुख्य ध्येय खेलाडीले राम्रो विश्राम र व्यवस्थित लिगमा खेल्न पाए अझ राम्रो खेल्न सक्छन् भन्ने नै थियो ।
लिगमा लगातार खेलाडीले आफ्नो उच्च प्रदर्शन गर्न नसकेको र लिगलाई केहि परिवर्तन गर्नुपर्छ होला नि? भन्ने प्रश्नमा उनले खुलेर जवाफ दिए, ‘यो मलाई थाहा छ, तपाईंलाई थाहा छ, एन्फालाई थाहा छ, सबैलाई थाहा छ । तर हामी केहि गर्न सक्दैनौं । यो लिगको प्रायोजन, आर्थिक अवस्था र लिगको क्यालेन्डर पूरा गर्नुपर्ने बाध्यता हो । मलाई लाग्छ उत्तम विकल्प भनेको राष्ट्रिय टोलीका खेलाडीलाई विदेश खेल्न पठाउनुपर्छ,’ उनले भने ।
‘यदि तपाईं व्यावसायिक खेलाडी भन्नुहुन्छ भने लिग पनि व्यावसायिक हुन जरुरि छ । एन्फाको पनि सबैलाई थाहा छ । तर ए डिभिजन खेल्ने क्लबकै बजेट कारण बनेको छ । त्यसैले यो अवस्थामा केहि खेलाडीलाई बाहिर पठाउनु नै राम्रो हुन्छ । लिगलाई परिवर्तन गर्ने सम्भावना देखिदैन,’ उनले थपे ।
अनेसेले राष्ट्रिय टोलीका खेलाडीलाई राम्रो प्रदर्शन गर्न पनि विदेश पठाउनुपर्ने बताए । ‘नेपालको लिग प्रतिस्पर्धात्मक नभएर होइन, तर आफूलाई राम्रोसँग तयार गर्न केहि खेलाडी विदेश गएर खेल्नुपर्ने देख्छु । २-३ दिनमा खेल्ने भन्दा विदेशी प्रशिक्षकसँग राम्रो तयारी गर्न पाउँछन् । खेलपछि रिकभर गर्ने समय पनि हुन्छ । यससँगै टोलीसँग रणनीतिक पाटोमा अभ्यास गर्न पनि पाउँछन्,’ अनेसेले भने ।
प्रशिक्षक अनेसेले ए डिभिजनमा खेलको स्तर सुधार्न प्रशिक्षकलाई पनि पर्याप्त समय नरहेकोमा चिन्ता व्यक्त गरे । ‘लिगको खेल तालिका हेर्दा प्रशिक्षकले एउटा प्रशिक्षण सेसन गर्ने अवस्था छ । यदि म हुन्थें भने त प्रशिक्षण पनि गराउन्न थिएँ,’ उनले भने, ‘ए डिभिजनमा प्रशिक्षकको शक्ति सिथिल बन्दै गइरहेको छ । तपाईं प्रशिक्षक हुनुहुन्छ भने एक साताको योजना लिएर टोलीलाई सुधार गर्नेबारे सोच्नुपर्ने हो । तर यहाँ प्रशिक्षण नै गर्न नपाएपछि कसरी सुधार हुन्छ?’
‘प्रशिक्षकले प्रदर्शनमा सुधार ल्याउने हो । तर त्यसका लागि योजना अनुसार समय चाहिन्छ । खेलाडीलाई शारीरिक रुपमा तयार राख्न, रणनीतिक अभ्यास गर्न र सेट पिस लगायत अन्य योजना बुन्नुपर्छ । मानसिक रुपमा पनि उत्तिकै बलियो बनाउनुपर्छ । कुनै खेल १-० ले हारेपछि अर्को खेलका लागि एक साता समय भयो भने राम्रो तयारी गर्न सकिन्छ । त्यसैले खेलाडीलाई स्तरीय खेल र स्तरीय प्रशिक्षणकै लागि पनि अन्यत्र अवसर खोज्न जरुरी छ,’ अनेसेले थपे ।
विगतको तुलनामा यसपटक लिग केहि फरक छ । पछिल्लो पटक लिग खेलेका झन्डै ३ दर्जन खेलाडी राम्रो अवसरको खोजीमा पलायन भएका छन् । राष्ट्रिय टोलीबाट खेलेका र आफ्नो क्लबमा सुरुवाती रोजाइमा खेलिरहेका यी खेलाडी पलायन हुँदा यसैपनि लिगको स्तरमा गिरावट आएको छ । सुरुवाती रोजाइमा खेल्ने झन्डै एक तिहाइ खेलाडी विदेश जाँदा नयाँ खेलाडीले स्थान बनाइरहेका छन् । पहिलो पटक ए डिभिजन खेलिरहेका नयाँ खेलाडीलाई उच्च स्तरमा प्रतिस्पर्धा सँगै उचित विश्राम नहुँदा खेलमा मात्र होइन स्वास्थ्यमै प्रत्यक्ष असर गर्छ ।
थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसीले दुई साता अघि मात्र आफ्नो पूर्व क्लब सातदोबाटो युवा क्लबलाई पराजित गरेपछि यसपटक लिग विगतको तुलनमा कम स्तरको रहेको स्वीकारेका थिए । ‘मैदानमा दुई टोली उत्रिएपछि जित वा हार स्वभाविक हो । लिगको अन्त्यमा एउटा टोली च्याम्पियन पनि बन्छ । तर हाम्रो लिगको स्तर कहाँ छ भन्ने महत्त्वपूर्ण हुन्छ । हेर्न आउने दर्शक मात्र होइन, तपाईं हामीले पनि मैदानमा धेरै जनालाई मिस गरिरहेका छौं,’ उनले भने ।
‘यसपाली नेपाली फुटबल ट्रान्जिसन फेजमा छ । यो समय खेलाडी, क्लब र आयोजक सबैलाई प्रोत्साहन गर्नुपर्ने अवस्था छ । नेपाली फुटबल बचाउनुपर्ने अवस्था छ । तर जानी जानी गल्ती गर्नेलाई हामीले सहयोग गर्नु हुँदैन । अन्जानमा गल्ती हुनेलाई बिर्सनुपर्छ तर जानाजान गल्ती गर्नेले फुटबललाई घाटा गर्छ,’ केसीले थपे ।
प्रशिक्षक केसीले क्लब फुटबलको स्तर घट्दा यसले राष्ट्रिय टोलीमा पनि असर गर्ने बताएका थिए । ‘क्लब फुटबलमा उच्च स्तरमा खेलिरहेका खेलाडी एक्कासी धेरैले छोड्दा लिगमा असर गर्छ । र यसले लिगको सबै क्लवलाई मात्र होइन राष्ट्रिय टोलीमा प्रभाव पार्छ । राष्ट्रिय टोली निर्माणमा नै समस्या हुन्छ । त्यसैले अहिले उपलब्ध खेलाडीलाई राम्रो वातावरण दिएर फुटबलको भविष्य राम्रो बनाउन हामी लाग्नुपर्छ,’ केसीले भने ।
नेपालमा प्रशिक्षकहरुलाई लिगका खेलका लागि तयारी गर्ने पर्याप्त समय नै छैन । तर यो समस्या लिग मात्र होइन, मोफसलका प्रतियोगितामा पनि छ । क्लबहरु आर्थिक कारण देखाएर नै एकै समयमा तीन ओटासम्म मोफसल प्रतियोगिता खेल्छन् । पूर्व र पश्चीममा लगातार दुई दिन खेलेको उदाहरण पनि प्रशस्त छन् । खेलाडीले पनि क्लबमा अनुबन्ध गरेपछि खेल्नुपर्ने बाध्यता छ । एन्फाले लिग तालिका समायोजनसँगै मोफसलको प्रतियोगितालाई नियममा बाँध्न नसक्दा अन्तत: असर नेपाली फुटबलको स्तरमा परेको छ ।
लिगको तालिका अनुसार अब खेलाडीले १ दिनको अन्तरमा पनि ए डिभिजनको खेल खेल्नुपर्ने अवस्था छ । साफ च्याम्पियनसिप नजिकिएको अवस्थामा २ महिनामा २१ खेल खेल्न पक्कै खेलाडीलाई सहज हुँदैन । नतिजाका लागि कडा प्रतिस्पर्धा भइरहेको अवस्थामा क्लबहरु राष्ट्रिय टोलीमा खेल्ने खेलाडीलाई विश्राम दिनेबारे सोच्न पनि सक्दैनन् । यसले अन्तत: नेपालले जुन-जुलाईमा खेल्ने साफ च्याम्पियनसिपमा प्रत्यक्ष असर पार्ने पक्का छ ।
लगातार लिग खेलेर थकित भएको अवस्थामा प्रशिक्षक अनेसेले खेलाडीसँग लामो तयारी गर्न पाउने देखिदैन । प्रारम्भिक टोली घोषणा गरेर आफ्नो योजना अनुसार तयारी गर्न पनि उनीसँग समय छैन । इटालियन प्रशिक्षकले यो अवस्था बुझेर नै केहि खेलाडीलाई विदेशी लिग पठाउने सोच राखेका हुन् । तर नेपालमा लिग चलिरहेको अवस्था र भारत लगायत अन्य देशमा लिग विश्राममा रहेकाले त्यो सम्भावना पनि छैन ।
पछिल्लो संस्करण उपविजेता बनेको नेपालको यसपटक साफ जित्ने लक्ष्य अवश्य हुनेछ । खेलाडी उत्पादन गरेर राष्ट्रिय टोलीको बाटो बनाउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने लिगले यसपटक विपरित दिशा लिने देखिएको छ । यो सब हुँदापनि लिगको अवस्था देखेर तर्सिएका अनेसेसँग यसलाई स्वीकार गरेर अघि बढ्नुको विकल्प पनि छैन ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]