2 years ago
March 23, 2023
सुबास हुमागाईं, काठमाडौं
नेपाली राष्ट्रिय फुटबल टोलीले नवनियुक्त प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेको नेतृत्वमा विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा प्रधानमन्त्री थ्री नेसन्स कपको पहिलो खेलमा बुधबार नेपालले लाओसलाई २-० ले हराएको हो ।
नेपालका लागि पहिलो हाफमा अनन्त तामाङ र दोस्रो हाफमा नवयुग श्रेष्ठले गोल गरेका थिए । अनन्तले नविन लामाको कर्नरबाट हेडरमार्फत गोल गरेका थिए । त्यस्तै नवयुगले गोलरक्षकले खेलेको लामो पासलाई लाओसको हाफको मध्यभागमा नियन्त्रण गर्दै भलीमार्फत दर्शनीय गोल गरे । दुवै गोलबाहेक नेपाली टोलीले विपक्षी गोलरक्षकलाई कमै चुनौती दियो । दोस्रो हाफमा आयुष घलानले सुवर्ण अवसर खेर फाल्दा अग्रता बढ्न सकेको थिएन ।
नेपालले खेलको सुरुवातमा केहि आक्रामक मुभ निर्माण गरेको थियो । मिडफिल्डबाट लेफ्ट विंगमा रहेका आयुषबाट पेनाल्टी क्षेत्रभित्र प्रवेश गर्ने नेपालको पटक पटकको प्रयास पेनाल्टी क्षेत्र भित्र भने पुग्न सकेन । राइट विंगमा भरत खवासले लगातार दबाब सिर्जना गरेपनि बलमा हुँदा भने खास प्रभाव जमाउन सकेनन् । त्यसैले पनि दोस्रो हाफमा प्रशिक्षक अनेसेले मनिष डाँगीलाई उनको स्थानमा खेलाए ।
नेपालले खेल अवधिभर नै विपक्षीसँग बल हुँदा आफ्नो डिफेन्सिभ सेपमा बढी ध्यान दियो । काउन्टर अट्याकमा केहि छरितो हुने प्रयास गरेपनि खेलाडीबीच समन्वय अभाव हुँदा त्यसले राम्रो प्रतिफल दिन सकेन । खेलपछि प्रशिक्षक अनेसे आफैंले पनि पर्याप्त समय नभएको र खेलाडीहरुले सोचेजस्तो छरितो खेल्न नसकेको बताए ।
डिफेन्समा अनन्त तामाङ र रोहित चन्दको जोडी पुन: एकपटक बलियो प्रदर्शन गर्न सफल रहयो । कप्तान किरण चेम्जोङसम्म कमै मात्र बल गयो । तर लाओसले पटक पटक गरेको प्रयासमा कप्तान किरण चनाखो देखिन्थे । विंग ब्याकमा भने प्रशिक्षक अनेसेले नयाँ प्रयोग गरे । सनिश श्रेष्ठलाई डेब्यु दिँदा विकास खवासले लेफ्ट ब्याकमा खेले । दुवै खेलाडी क्लब फुटबलमा सेन्टर ब्याकमा पनि खेल्ने गर्छन् । रक्षात्मक रुपमा निकै भरपर्दा यी दुवै आक्रमणमा भने खास व्यस्त हुन पाएनन्, वा भनौं गएनन् ।
मिडफिल्डमा नेपालले बल पोसेसन राख्न नसक्नुमा खेलाडीबीच समन्वयको अभाव प्रष्ट देखिन्थ्यो । सामान्यतया खेलिने वन-टु पास साटफेरमा पनि खेलाडीबीच तालमेल नमिलेको देखिन्थ्यो । त्यसबाहेक आफ्ना आक्रमणका खेलाडीले बनाएका रन बिहाइन्डमा योजना अनुसार पास खेलिएको थिएन । प्रशिक्षक अनेसेले मात्र २ दिन पूर्ण प्रशिक्षण भएकाले आजको खेलमा प्रदर्शन भन्दापनि नतिजा सुखद पाटो रहेको अभिव्यक्ति दिए ।
‘हामी लामो समयपछि एकसाथ आयौं । २ दिनको पूर्ण प्रशिक्षणमा आएको नतिजा हो यो । मेरो लागि पहिलो खेलको नतिजा मेरो यात्राका लागि पनि महत्त्वपूर्ण थियो । हामी ट्रान्जिसन र काउन्टर अट्याकमा केहि सुस्त देखियौं । टोलीमा धेरै युवा खेलाडी छन् त्यसैले सुधार गर्ने ठाउँ छ,’ उनले भने ।
अनेसेले खेलाडीबाट अपेक्षा गरेअनुसार नतिजा आएको बताए । ‘रणनीतिको हिसाबले मैले सोचेजस्तो प्रदर्शन भएको छ । काउन्टर अट्याकमा केहि सुधार गर्न आवश्यक छ । आक्रमणमा दायाँ र बायाँ दुवैबाट दबाब दिनुपर्छ । यो सबै हामी आउने दिनमा काम गर्नेछौं र अब अर्को खेलअघि पनि समय छ,’ उनले भने ।
खेलको प्लेयर अफ द म्याच अनन्त तामाङले पनि टोलीमा सुधारको आवश्यकता रहेको बताए । ‘आज त्यति सन्तोषजनक प्रदर्शन थिएन । हामीसँग तयारीका लागि पर्याप्त समय पनि थिएन । टोलीमा नयाँ खेलाडी भएकाले पनि केहि असहज भएको हो । विपक्षीले बल पोसेसन धेरै राख्दा हामी रक्षात्मक रुपमा साँघुरो भएर खेल्यौं,’ उनले भने ।
भुटानविरुद्ध खेलअघि टोलीले अझै मिहिनेत गर्नुपर्ने अनन्तको बुझाइ छ । ‘हामीले आक्रमणमा खासै समस्या दिन सकेको छैनौं । त्यसका लागि खेलाडीबीच समन्वय गर्न जरुरि छ । हामीसँग अब अर्को खेलअघि समय पनि छ । भाग्यवश हामीले आज दुई गोल गर्यौं, तर यसले पुग्दैन । तर बल पोसेसन राख्ने र आक्रमणमा सुधार गर्न आवश्यक छ,’ उनले भने ।
लाओसका प्रशिक्षक माइकल वाइसले पनि नेपालले सतर्क भएर खेल्दै काउन्टर अट्याकमा बढी ध्यान दिएको बताए । ‘घरेलु टोली भएपनि अलि सतर्क भएर खेल्यो । आक्रमण गर्न काउन्टर अट्याकमा बढी भर परेको थियो । नेपालको प्रशिक्षकका लागि राम्रो सुरुवात हो, तर आज हामी कम्तिमा बराबरीको हकदार थियौं,’ उनले भने ।
‘त्यसो त हामीले एक दिन प्रशिक्षण गरेर यो प्रदर्शन गरेका छौं । हामीले पाएको अवसर प्रयोग गर्न सकेनौं । यता नेपालको प्रदर्शन राम्रो भन्न सकिन्न । हामी पनि अब फाइनल पुगेर फेरी नेपालको सामना गर्न चाहन्छौं,’ वाइसले थपे ।
प्रशिक्षक अनेसेले ए डिभिजनको प्रदर्शनलाई आधार मान्दै टोली छनोट गरेका थिए । यसक्रममा उनले आफैं मैदान पुगेर देखेका खेलाडीलाई प्राथमिकतामा राखेको बताएका थिए । लाओसविरुद्ध उनले उतारेको सुरुवाती ११ मा पनि अनुभवी खेलाडीकै बाहुल्यता थियो । तर उनले आफ्नो योजनासँगै बिस्तारै टोलीमा परिवर्तन गर्ने भने आशा गर्न सकिन्छ ।
खेलको दोस्रो हाफमा मनिष डाँगीलाई प्रयोग गरेका अनेसेले दोस्रो हाफ चल्दा थप तीन खेलाडीलाई डेब्यु दिए । उनले पहिलो पटक पत्रकार सम्मेलनमा नै युवा खेलाडीमा अनुभवको कमी रहेकाले त्यसलाई प्राथमिकतामा राख्ने बताएका थिए । सोहिअनुसार अनेसेले आज लगातार खेलाडी परिवर्तन गर्दै नयाँ अनुहारलाई अन्तर्राष्ट्रिय अनुभव दिए ।
आक्रामक फुटबल खेल्ने बताएका अनेसेले आज टोलीलाई काउन्टर अट्याक र रक्षात्मक रुपमा बलियो रहन बताएका थिए । अझ अग्रता लिएपछि नेपालको खेल शैलीले पनि नेपाल गोल थप्नभन्दा अग्रता जोगाउन केन्द्रित रहेको प्रष्ट देखिन्थ्यो । नयाँ टोलीलाई आफ्नो योजनामा ढाल्न अनेसेसँग पर्याप्त समय छ । भुटानविरुद्ध मंगलबार हुने खेलअघि टोलीले ५ दिन प्रशिक्षण गर्नेछ । विहीबारलाई भने उनले विश्राम दिने निर्णय लिएको जानकारी दिएका छन् ।
पहिलो खेलमा सुखद नतिजाले आफ्नो यात्रालाई राम्रो सुरुवात मिलेको अनेसेले बताएका छन् । उनले टोलीले आफूले अपेक्षा गरे अनुसार रणनीति अपनाएको पनि बताए । अनेसेको भनाइ मान्ने हो भने भुटानविरुद्ध नेपालले आफ्नो खेलशैलीमा परिवर्तन गर्ने अपेक्षा सकिन्छ । पूर्ण रुपमा योजना अबलम्बन नहुँदा जित दिलाएका अनेसे अब भने आफ्नो योजना अनुसार उत्रने सुरमा हुनेछन् । लाओसविरुद्ध गरिएको प्रयोग र प्रदर्शनको नतिजाले भुटानविरुद्ध अनेसेको असली प्रदर्शन देखिने अपेक्षा रहेको छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]