2 years ago
February 6, 2023
सुबास हुमागाईं, काठमाडौं
सहिद स्मारक ए डिभिजन लिग सुरु हुन एक महिना भन्दा कम समय बाँकी छ । १४ ओटै ए डिभिजन क्लब यतिबेला टोली निर्माणको अन्तिम चरणमा छन् । तर राष्ट्रिय टोलीबाट खेलिसकेका झन्डै ३ दर्जन खेलाडी पलायन भएका कारण टोली निर्माण गर्न क्लबहरुलाई केहि कठिनाइ भइरहेको छ ।
तीन पटक लिगको मिति स्थगित भएपछि वर्तमान राष्ट्रिय टोलीमा रहेका खेलाडीले नै पलायनको बाटो रोजे । ए डिभिजन लिग नहुनु, मोफसलका शीर्ष प्रतियोगितालाई एन्फाले स्वीकृति नदिनु र नयाँ रुपको नेपाल सुपर लिग (एनएसएल) पनि स्थगित हुँदा खेलाडीहरु देश छोड्ने निर्णय लिन बाध्य भए । लामो कसरत पछि लिग हुने छाँटकाँट देखिँदा क्लबहरु बजारमा स्तरीय खेलाडी भने पाउन सकिरहेका छैनन् ।
ए डिभिजन लिगमा यसपटक ४ विदेशी खेलाडी समावेश गर्न पाउने नियम रहेको छ । विगतमा ४ विदेशीमध्य ए दक्षिण एसियाली खेलाडी हुनुपर्ने नियमलाई परिवर्तन गरेर ४ मध्य एक एसियाली खेलाडी हुनुपर्ने बनाइएको थियो । लिग संचालनको छलफलका क्रममा केहि महिना अघि क्लब र एन्फाबीच भएको बैठकमा विदेशी खेलाडीको कोटा बढाउनेबारे चर्चा भएको थियो । त्यसबेला कोटा बढाउने वा नबढाउने भन्ने मतदान हुँदा ७-७ मत बराबरी भएपछि ४ खेलाडी नै रहेको थियो ।
तर त्यसयता लगातार खेलाडी पलायनको सिलसिला बढेपछि अधिकांश क्लबहरु अहिले कोटा थप्ने पक्षमा छन् । विभागीय क्लबबाहेक अन्यले मौखिक रुपमा कोटा थप्नेबारे एन्फासँग सल्लाह पनि गरिसकेका छन् । क्लबहरु लिखित रुपमा एन्फासमक्ष कोटा बढाउने मागसहित प्रस्तुत हुने तयारीमा छन् । यसपटक ५ खेलाडी विदेशी राख्ने र त्यसमध्य कम्तिमा १ एसियाली र १ दक्षिण एसियाली कोटा छुट्याउनेबारे छलफल भएको बुझिएको छ । यसका लागि एन्फाको लिग संचालन समितिले निर्णय गर्नुपर्नेछ ।
एन्फा महासचिव किरण राईले गत साता भएको पत्रकार सम्मेलनमा नेपालमा लिग खेल्न खेलाडीको कमी नहुने धारणा राखेका थिए । ‘लिग खेल्न खेलाडी नपुग्ने हुँदैन । होला स्तरमा कमी आउला, तर खेलाडी नै नहुने भन्ने हुँदैन । म यहीबाट विदेशमा जानुभएका खेलाडीलाई पनि लिग खेल्नका लागि फर्कन आग्रह गर्छु,’ उनले भनेका थिए ।
तर क्लबहरु नै विदेशी खेलाडीको कोटा बढाउनुपर्छ भन्ने अवस्थामा पुगेपछि एन्फाले यसबारे कार्यसमितिमा छलफल गर्ने देखिन्छ । विगतको तुलनामा यसपटक ए डिभिजनका प्रतिनिधि कार्यसमितिमा छैनन् । त्यसैले पनि लिग संचालन समिति र सहभागी क्लबबीचको छलफल नै यसमा निर्णायक हुने देखिन्छ ।
लिगमा लामो समयदेखि आवद्ध रहेका प्रशिक्षक मेघराज केसी विदेशी खेलाडीको कोटा थप्दा खेलको स्तरमा सुधार आउने भएपनि यो दीर्घकालीन समाधान नरहेको तर्क राख्छन् । ‘अहिलेको अवस्थामा खेलाडी पलायन भएका कारण विदेशी खेलाडीको कोटा थप्नु राम्रो सुनिन्छ । यसले खेलको स्तरमा सुधार पनि ल्याउला । तर यो दीर्घकालीन समाधान पक्कै होइन,’ उनले थपे, ‘अहिले एक विदेशी थप्ने भनौला, भोली अर्को थपौं भन्न सक्छन् । यसरी समस्या सुल्झदैन । हामीले खेलाडी कमी भएको समस्या थप अवसर दिएर, मोफसलमा भएका प्रतियोगिताबाट नयाँ खेलाडी खोजेर समाधान गर्नेतर्फ पनि ध्यान दिनुपर्छ ।’
गत सिजन सातदोबाटो युवा क्लबमा प्रशिक्षक रहेका केसी पुन: पाटने क्लब थ्री स्टार फर्केका छन् । खेलाडी पलायन हुनुमा खेलाडी आफैं भन्दापनि राज्यको बढी जिम्मेवारी रहने उनको बुझाइ छ । ‘खेलाडी पलायन हुनु उनीहरुको बाध्यता हो । अहिलेको वातावरणमा उनीहरुले आफ्नो व्यक्तिगत निर्णय लिए । यसमा आ-आफ्नो तर्क हुन सक्छ । तर उनीहरुलाई यहाँ बस्ने वातावरण सिर्जना गर्ने दायित्व राज्यको होइन र?,’ केसीले प्रतिप्रश्न गरे ।
‘राज्य भन्नाले सरकार, एन्फा र सम्बन्धित निकाय सबै हुन् । खेलाडीले खेल्ने नै वातावरण पाएन भने यहाँ के गर्ने ? जीविकोपार्जन त गर्नैपर्यो । यस्तै वातावरण रहयो भने त हामीले पनि फुटबल छाड्ने अवस्था आउन सक्छ । सबै पक्षले गम्भीर भएर सोच्ने समय आइसकेको छ,’ केसीले थपे ।
एएफसीको नियम अनुसार हाल एसियाको क्लब प्रतियोगितामा हरेक टोलीले ४ विदेशी खेलाडी खेलाउन पाउँछ । जसमध्य कम्तिमा १ जना एसियाको हुनुपर्छ । तर विश्व फुटबलका अन्य लिगमा विदेशी खेलाडी समावेश गर्न दिइएको छुटलाई ध्यानमा राख्दै एएफसीले पनि विदेशी खेलाडीको कोटा थप्ने तयारी गरिरहेको छ । २०२३-२४ सिजनबाट हरेक टोलीले ६ विदेशी खेलाडी राख्न पाउनेछन् जसमा एक अनिवार्य एसियाली खेलाडी हुनुपर्नेछ ।
त्यसो त विदेशी खेलाडी मात्र राख्दा देशको फुटबलमा प्रतिकुल असर पर्ने डर हुन्छ । त्यसैले पनि विश्वभरका लिगमा देश अनुसार विभिन्न नियम राख्ने प्रचलन रहेको छ । प्रिमियर लिगमा कम्तीमा ८ खेलाडी इंग्ल्यान्डकै हुनुपर्ने (एकेडेमीबाट आएमा बेलायतको पनि मान्य हुने) नियम छ । विदेशी खेलाडी समावेश गर्दा विशेष नियम राख्ने चलन अनुसार चीनले आफ्नो लिगमा गोलरक्षक पोजिसनमा विदेशी खेलाडी राख्न नपाइने नियम बनाएको छ ।
यसबाहेक भारतको आइएसएलमा ६ खेलाडी अनुबन्ध गर्न पाइने भएपनि एक खेलमा अधिकतम ४ खेलाडी मात्र उतार्न पाइन्छ । विदेशी खेलाडी कोटामा कडाइ गर्नुले नै भारतीय लिग र भारतीय टोलीको स्तरमा परिवर्तन आएको देखिन्छ ।
लिग च्याम्पियन मछिन्द्रका कप्तान सुजल श्रेष्ठ पनि नेपालमा खेलाडी पर्याप्त रहेकाले विदेशी खेलाडी थप्नु समाधान नरहेको बताउँछन् । ‘विभागीय टोलीबाहेक ११ टोलीले नियमित विदेशी खेलाडी राख्छन् । अझै एक विदेशी कोटा थप्ने हो भने ११ जना नेपाली खेलाडीले अवसर नपाउने भए नि । अब अहिले बी र सी डिभिजन खेलेका खेलाडी ए डिभिजनमा आउने वातावरण बनेको छ, समय लाग्ला तर हामीले उनीहरुलाई अवसर दिनुपर्छ,’ उनले भने ।
सुजल विदेशी कोटा थप्दा पैसा हुने क्लबलाई मात्र फाइदा पुग्ने र खेलाडी पलायन भएको अवस्थामा अब बल्लतल्ल हुन लागेको लिगमा नेपालमै उपलब्ध खेलाडी प्रयोग गर्नुपर्ने बताउँछन् । ‘अब विदेशी खेलाडी थप्ने हो भने त पैसा हुने क्लबलाई मात्र फाइदा पुग्छ । मलाई लाग्छ नेपालमा खेलाडीको कमी छैन, तर अवसर दिनुपर्ने आवश्यकता हो । पक्कैपनि राष्ट्रिय टोलीमा खेलेका खेलाडी नै पलायन हुँदा लिगको स्तर घट्छ भन्ने डर होला । तर हामीले अवसर नै दिएनौं भने त कसरी खेलाडी तयार पार्ने,’ सुजलले थपे ।
ए डिभिजनको नवप्रवेशी खुमलटार युवा क्लबले यसपटक खेलाडी अनुबन्धनमा आक्रामक सुरुवात गर्यो । नेपालमा प्रमाणित गरिसकेका विदेशी खेलाडी मेसुके अोलोमोउ र स्टेफन बिनोङलाई भित्र्याएको क्लबले नेपाली खेलाडी पनि अनुबन्ध गरेको छ । उमेर समूहमा राष्ट्रको प्रतिनिधित्व गरेका खेलाडी खुमलटारको रोजाइमा परेका छन् ।
क्लबका अध्यक्ष मणिराज विष्ट क्लबले ए डिभिजनमा आएपछि क्लबले उपाधि जित्ने महत्वाकांक्षा राखेको बताउँछन् । ‘हामी जुन डिभिजनमा खेल्दा पनि पहिलो हुने लक्ष्य लिएर अघि बढ्यौं । अब शीर्ष लिगमा आएपछि त्यसै अनुसार तयारी गरेका छौं । अरुभन्दा केहि अघि खेलाडी अनुबन्ध गरेको भएर आक्रमक देखिएको होला । तर हामी लिग जित्ने नै लक्ष्यमा छौं,’ विष्टले भने ।
विष्टले विदेशी खेलाडी कोटा थप्नेबारे अझै दुविधा रहेको स्विकारे । ‘हामी अष्ट्रेलिया पुगेका खेलाडी फर्काउने प्रयास पनि गरिरहेका छौं । अब कति सम्भव हुन्छ हेरौं । लिग त सकेसम्म राम्रो भएको हेर्ने इच्छा हो । अन्य क्लबमा पनि विदेशी कोटा थप्ने चर्चा छ, अब सबै मान्छन् भने हामी पनि नाइ भन्दैनौं,’ उनले थपे ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]