default_image

2 years ago

December 22, 2022

एन्फा र क्लब : चलखेलमा व्यस्त, फुटबल अस्तव्यस्त

426 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

लिग फुटबल हरेक देशको फुटबल गतिविधिको मेरुदण्ड मानिन्छ । देशको फुटबल समृद्धि र सफलता मापन गर्न लिग फुटबलको अवस्था परिसूचकको रुपमा पनि लिइन्छ । सामान्यतया फुटबल संस्कृति बसेको देशमा लिग फुटबलको तालिका एकनासको हुन्छ, र त्यसकै अधिनमा रहेर अन्य गतिविधिको लागि योजना बुनिन्छ । तर नेपालको हकमा भने लिग फुटबलकै अस्तित्व यतिबेला संकटमा परेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ नेतृत्व पाएको आज ६ महिना पूरा भएको छ । यसबीचमा विविध कारणले ए डिभिजन लिगको मिति पटक पटक सरेको छ । यसले न क्लबलाई घाटा भएको छ, न एन्फालाई नै । लिग स्थगनको प्रत्यक्ष असर परेका खेलाडी र प्रशिक्षक यतिबेला पलायन र फुटबलबाट बाहिरिने विकल्प रोज्न बाध्य छन् । नयाँ नेतृत्वको आगमनपछि मात्र झन्डै २ दर्जन राष्ट्रिय खेलाडी विदेशिएका छन् । ए डिभिजन र तल्लो श्रेणी लिगका खेलाडीको त लेखाजोखा नै छैन ।

नेपालमै रहेका राष्ट्रिय खेलाडीहरुको पनि आर्थिक अवस्था निकै कमजोर भइसकेको छ । नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्दै पदक समेत जितेका खेलाडी यतिबेला टोल कप खेल्दै आफ्नो जिविकोपार्जन धान्न बाध्य हुनुपरेको छ । जब आर्थिक रुपमा दैनिकी धान्न गाह्रो हुन्छ, मैदानको स्तर र प्रतियोगिताको पुरस्कार राशी गौण हुने रहेछ ।

अझ राष्ट्रिय टोलीका खेलाडी यतिबेला स्थानीय प्रतियोगितामा लुकेर खेल्नुपरेको छ । लुकेर यो हिसाबमा, स्थानीय प्रतियोगितामा टिम फोटो खिच्ने बेलामा राष्ट्रिय खेलाडी उपस्थित हुँदैनन् । स्थानीय खेलाडी राखेर टिम फोटो खिचेपछि राष्ट्रिय खेलाडी खेल्ने समयमा मात्र मैदान पस्छन् । टिम फोटो सामाजिक संजालमा देखिने हुँदा उनीहरु आफ्नो स्तरबारे सर्वत्र चर्चा नहोस् भन्ने चाहन्छन् ।

त्यसो त केहि महिनाअघि छिमेकी भारतमा हुने स्थानीय प्रतियोगिता खेल्न राष्ट्रिय टोलीका खेलाडी गएका थिए । फुटबल खेलाडीको‌ नियति – खेपको‌ भर र पलायनको डर प्रकाशित भएपछि थप दर्जन खेलाडी विदेशिएका छन् । अझै पनि लिग नहुने हो भने पलायन हुनेको संख्या बढ्ने निश्चित छ । कतिपय खेलाडी लिग सुरु हुने प्रतीक्षा गर्दै पलायनलाई पछि धकेलिरहेका थिए । तर पुन: एकपटक एन्फा र क्लबबीच लिगका लागि क्लब दर्तामै सहमति हुन नसक्दा खेलाडीको आशामा तुसारापात भएको छ ।

एकातर्फ ए डिभिजन क्लबले एन्फाले लिग आयोजनाका लागि आवश्यक तयारी पूरा नगरेको बताएको छ । यता एन्फा भने आफू लिग आयोजनाका लागि तयार रहेको र क्लबको मागअनुसार आर्थिक जिम्मेवारी पूरा गर्नेमा विश्वस्त रहेको बताएको छ । क्लब र एन्फाबीच पुष १४ गते अर्को बैठक बस्दैछ । उक्त बैठकमा लिगको सुरुदेखि अन्त्यसम्मको सम्पूर्ण ‘प्याकेज’ मा निर्णय हुने एन्फा महासचिव किरण राईको दावी छ ।

यता यसअघि एन्फाकै नेतृत्वमा रहेका क्लबका पदाधिकारी भने वर्तमान नेतृत्वले लिगको गाम्भीर्यता नै नबुझेको शंका गर्छन् । लिगका लागि आवश्यक तयारीमा कमी रहेको र यो अवस्थामा लिग आयोजना गर्नु घातक हुने उनीहरुको बुझाइ छ । यसमा पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पा र पूर्व महासचिव इन्द्रमान तुलाधर अग्रपंक्तिमा देखिन्छन् भने लिगको हेभीवेट मानिएका मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबसँगै न्यू रोड टिम (एनआरटी) पनि सक्रिय रुपमा बढेका छन् ।

एन्फाले क्लबसँग लिग संचालनबारे स्पष्ट छलफल नहुँदै नेपाल सुपर लिग (एनएसएल) सँगको परिमार्जित सम्झौतामा हस्ताक्षर गर्ने निर्णय घातक सावित हुन पुगेको छ । ए डिभिजन क्लबलाई तयारी स्वरूप दिने भनिएको प्रति क्लब १५ लाख रुपैयाँको व्यवस्था गर्न एन्फाले एनएसएलसँग सम्झौता गर्न हतारो गरेको आँकलन पनि रहेको छ । त्यसैले अध्यक्ष पंकजविक्रम नेम्वाङको अनुपस्थितिमै सम्झौता भएको थियो ।

एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टकी अध्यक्ष आश्रयता कार्की चौधरीले सम्झौता भएकै दिन सम्झौता अनुसार पहिलो वर्षको रकम दिएको एन्फाले जनाएको थियो । तर उक्त सम्झौतामा एन्फाको तर्फबाट हस्ताक्षर गर्ने अध्यक्ष नेम्वाङ नै उपस्थित थिएनन् । सम्झौतामा उनको हस्ताक्षर बिना नै रकम प्राप्त गर्नुले एनएसएलले एन्फालाई विश्वास गरेको देखिन्छ । तर ए डिभिजन लिगको टुंगो नलाग्दासम्म एनएसएल हुने/नहुने यकिन भन्न सकिने अवस्था छैन ।

वर्तमान नेतृत्वले एनएसएल सँग ८ वर्षका लागि सम्झौता गरेको छ । विगतको सम्झौताको तुलनामा ‘क्लब र एन्फा’ को हितमा भएको दावी वर्तमान नेतृत्वले गरेको छ । तर पछिल्लो पटक आफू प्रतिपक्षमा हुँदा कार्यकालभन्दा लामो सम्झौता गरेकोमा विरोध जनाउने समूह आफैं एनएसएलसँग लामो सम्झौता गर्न पुगेको पछिल्लो कार्यसमितिका सदस्यको दुखेसो । पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पाको भनाइ मान्ने हो भने एनएसएलको विरोध गर्ने समूह आज एनएसएलसँग सम्झौता गर्न पुगेको छ ।

एन्फा नेतृत्व लिग गर्नेमा दृढ छ, तर लिग कसरी गर्ने स्पष्ट हुन सकेको छैन । लिगको प्रमुख प्रायोजक, लिगको खेल हुने मैदानबारे एन्फाले आन्तरिक रुपमा तयारी गरेको र बाहिर नदेखिएको महासचिव किरण राई बताउँछन् । यता क्लब भने एन्फाले लिग खेलाउन आर्थिक स्रोत नजुटाएसम्म आफू लिगमा होमिन नसक्ने बताउँछ ।

डेढ वर्षअघि वर्तमान नेतृत्व प्रतिपक्षमा थियो, र वर्तमान प्रतिपक्ष नेतृत्वमा । स्थिति यस्तै थियो, एक अर्कालाई दोषारोपण र सार्वजनिक रुपमा आलोचना । तर जसोतसो लिग फुटबल गतिविधि भएको थियो, र खेलाडी खेल्न पाएका थिए । लिग नहुँदा विकल्पमा एनएसएल आयोजना थियो । मोफसलका प्रतियोगिताकै भरमा पनि खेलाडी बाँचेका थिए ।

तर अहिले खेलाडीले न लिग खेल्न पाएका छन्, न मोफसल नै । एन्फाले मोफसलकै प्रतियोगिता आयोजना गर्न पनि स्वीकृति नदिएको अवस्था छ । न ए डिभिजन क्लबले खेलाडी अनुबन्ध गरेका छन्, न मोफसल प्रतियोगिता छ । क्लब र एन्फाको रस्साकस्सीमा खेलाडी, प्रशिक्षक र रेफ्री लगायत प्राविधिक जनशक्ति चेपुवामा छन् ।

कुनै समय प्रतिपक्षमा बसेर पारदर्शीता र स्थायित्वको हुँकार लगाउने समूह नेतृत्वमा छ । तर निर्वाचनअघि कागज र भाषणमा रहेका नारा त्यसमै सिमित छन् । यथार्थमा आएको छैन वा ल्याउन दिइएको छैन । प्रतिपक्षलाई जतिनै दोष दिएपनि नेतृत्वले फुटबलको राम्रो/नराम्रो सबै पक्षको जिम्मेवारी लिनैपर्छ । यसैपनि एन्फाभित्र कुर्सीमा बसेर ‘फुटबल’ मा काम गर्नेलाई त्यति समस्या छैन जति खेल नहुँदा ‘चुल्हो नबल्ने’ समूहलाई छ ।

February 23, 2025

‘लयमा फर्कदै छु’- साम्बा

काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित।‌ साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]

February 23, 2025

फाइनल अघि नेपालले म्यानमारलाई बराबरीमा रोक्यो

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]

February 23, 2025

बंगलादेशको काउर्न बाजार भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]

Success

Thank you for your time.