default_image

2 years ago

December 4, 2022

मेस्सीको उच्च प्रदर्शनसँगै अर्जेन्टिना क्वाटरफाइनलमा

236 views

0 Bookmark

सुबास हुमागाईं, कतार

दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना अष्ट्रेलियालाई हराउँदै फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

हमद बिन अली रंगशालामा अर्जेन्टिनाले २-१ को जितका साथ क्वाटरफाइनलमा नेदरल्यान्ड्ससँग भेट पक्का गरेको हो । कप्तान मेस्सीले आफ्नो हजारौं खेलमा सुरुवाती गोलसहित उत्कृष्ट प्रदर्शन गरेपछि अर्जेन्टिनाको जित सम्भव भएको थियो । मैदानमा ४५ हजार दर्शकसामु पहिलो हाफमा मेस्सीकै गोलमा अग्रता लिएको अर्जेन्टिनाका लागि दोस्रो हाफमा जुलियन अल्भारेजले गोल थपे । अन्त्यतिर अष्ट्रेलियाले गोल थपेपनि उक्त गोल नतिजा बदल्न पर्याप्त रहेन ।

निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले सुरुवाती समय रक्षात्मक खेल प्रस्तुत गरे । निकै समय लिएर आक्रमण गर्ने क्रममा अधिकांश समय बल आफ्नै हाफमा खेलिएको थियो । अष्ट्रेलियाले अग्ला कदका खेलाडीको फाइदा उठाउँदै लामो बल खेल्दै डिफेन्स लाइन बिट गर्न खोजेको थियो । तर अर्जेन्टिनाको पेनाल्टी क्षेत्रतिर बल पुर्याउन नसक्दा अधिकांश आक्रमण प्रयास सफल हुन सकेन ।

अर्जेन्टिनालाई खेलको मध्य भागमा खेल्न नदिने हिसाबले मिडफिल्ड बलियो पारेको अष्ट्रेलियाको रणनीति ३५ मिनेटसम्म मात्र टिक्यो । खेलको सुरुवातदेखि कम्तीमा एक खेलाडीबाट मार्क भएका मेस्सीलाई खुला छोड्नु निर्णायक भयो । मेस्सीेेले पेनाल्टी क्षेत्र बाहिरबाट सुरु गरेको आक्रमण उनी आफैं दुइ पासपछि भित्र पसेर फिनिस गरे ‌‌।

खेलको ३५ अ‍ौं मिनेटमा अर्जेन्टिनाले मेस्सीको गोलमा सुरुवाती अग्रता बनायो । मेस्सी आफैंले पेनाल्टी क्षेत्र बाहिरबाट पास खेल्दै सुरु गरेको मुभ गोलमा परिणत भयो । निकोलस अ‍ोटामेन्डीले पेनाल्टी क्षेत्रभित्र रोकेको बलमा मेस्सीको प्रहार डिफेन्डरको खुट्टा मुनि हुँदै गोलरक्षक पार भएको थियो ।

दोस्रो हाफ सुरु भएपछि अर्जेन्टिनाले मिडफिल्डर गोमेजको स्थानमा डिफेन्डर लिसान्द्रो मार्टिनेज प्रवेश गरायो । विंगब्याकलाई आक्रमणमा प्रयोग गर्दै अर्जेन्टिनाले लगातार बल आफैंसँग राख्ने प्रयास गरेको थियो ।

खेलको ५८ अ‍ौं मिनेटमा अर्जेन्टिनाले गोलरक्षक म्याट रायनको गल्तीको फाइदा उठाउँदै अग्रता दोब्बर पार्यो । जुलियन अल्भारेजले गोलरक्षकबाट फुस्किएको बलमा सहजै गोल गरे । रायनले ६ यार्ड बक्सभित्र क्लिअरेन्स गर्न ढिलो गरेपछि रोड्रीगो डे पलले उनलाई दबाब दिएका थिए । त्यस क्रममा अल्भारेजले फुस्किएको बललाई पोस्टतर्फ पठाएर २-० ले अघि बढाए ।

७७ अ‍ौं मिनेटमा क्रेग गुडविनले अष्ट्रेलियाका लागि गोल फर्काए । यस खेलमा बेन्चमा रहेका उनले मैदान प्रवेश गरेको १५ मिनेटपछि गोल गरे । क्लियर हुन नसकेको बललाई उनले २५ यार्ड टाढाबाट गरेको प्रहार एन्जो फर्नान्डेजलाई लाग्दै गोल भएको थियो ।

७९ अ‍ौं मिनेटमा अष्ट्रेलिया खेल बराबरी गर्ने स्वर्णीम अवसरबाट चुक्यो । अजिज बेहिचले मिडफिल्डबाट पेनाल्टी क्षेत्र भित्रसम्म पाँच डिफेन्डर कटाएर गर्न लागेको प्रहार मार्टिनेजले बचाए । उनले अन्तिम समयमा उत्कृष्ट ट्याकल गर्दै पक्का देखिएको गोल बचाएका थिए ।

८८ अ‍ौं मिनेटमा अर्जेन्टिनाले जित पक्का गर्ने अवसर सदुपयोग गर्न सकेन । मेस्सीले डिफेन्स लाइन बिट गरेर दिएको पासमा लौटारो मार्टिनेजले गल्ती गरे । वन भर्सेस वनको अवस्थामा उनले पोस्टभन्दा निकै माथि प्रहार गरे ।

इन्ज्युरी समयको अन्तिम मिनेटमा अष्ट्रेलियाको बराबरी गोलसामु गोलरक्षक मार्टिनेज बाधक बने । गारांग कोलले वन भर्सेस वनको स्थितिमा गरेको प्रहारमा उनले उत्कृष्ट बचाउ गर्दै जित पक्का गरे ।

क्वाटरफाइनलमा अर्जेन्टिनाल नेदरल्यान्ड्सको सामना गर्नेछ । आजै भएको राउन्ड अफ १६ चरणको पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई ३-१ ले पराजित गरेको थियो ।

July 7, 2024

ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलबाटै बाहिरियो!

एजेन्सी – उपाधि दावेदार ब्राजिल कोपा अमेरिका २०२४ को क्वाटरफाइनलबाट नै बाहिरिएको छ । अमेरिकाको फिनिक्समा भएको कवातर उरुग्वेले टाइब्रेकरमा जित हासिल गर्दा ब्राजिल बाहिरिएको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो । टाइब्रेकरमा उरुग्वेले ४-२ को जित दर्ता गर्यो । ब्राजिलका लागि एडर मिलिसाओ र डग्लस लुइजले […]

July 7, 2024

नेदरल्याण्ड्स युरोको सेमिफाइनलमा

एजेन्सी – टर्की विरुद्ध पुनरागमन जित दर्ता गर्दै नेदरल्याण्ड्स युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । बर्लिनमा भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा नेदरल्याण्ड्सले २-१ को जित दर्ता गरेको हो । टर्कीले खेलको ३५औं मिनेटमा खेलमा आग्रह लिएको थियो । आर्डा गुलेरको क्रसमा समेत अकायदिनले हेडर मार्फत गोल गर्दै खेलमा टर्कीलाई अग्रता दिलाएका थिए […]

July 7, 2024

स्विट्जरल्यान्डलाई टाईब्रेकरमा हराउँदै इङ्ल्यान्ड युरोको सेमिफाइनलमा

एजेन्सी – इङ्ल्यान्डको युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । डसेलडोर्फमा भएको तेस्रो क्वाटरफाइनल खेलमा स्विट्जरल्यान्डलाई टाईब्रेकरमा ५-४ ले हराउँदै इङ्ल्यान्डको सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समय पनि १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शूटआउटले निर्धारण भएको थियो । शूटआउटमा स्विट्जरल्यान्डका मानुएल आकान्जीको प्रहार इङ्ल्यान्डको गोलरक्षक जोर्डन पिकफोर्डले […]

Success

Thank you for your time.