2 years ago
November 11, 2022
सुबास हुमागाईं, काठमाडौं
फिफा विश्वकप २०२२ अर्को साताबाट कतारमा सुरु हुँदैछ । फिफा विश्वकपको २२ औं संस्करण आयोजनाको जिम्मेवारी पाएको कतार पहिलो पटक विश्वकप खेल्दैछ । १२ वर्षअघि आयोजनाको जिम्मेवारी पाएको कतारले त्यसयता खेल संरचना निर्माणमा निकै मिहिनेत गरेको छ ।
कतारले विश्वकप आयोजनाका लागि थुप्रै संरचना निर्माण गरेको छ । विश्वकप आयोजना हुने भएपछि नै लुसेल सहर खडा भएको हो । यसबीचमा कतारको नाम थुप्रै विवादमा पनि जोडियो । एक समय कतारले आयोजना नै गर्न नपाउने भन्ने प्रश्न पनि थियो । तर अन्तत: विश्वकप कतारले आयोजना गर्ने भएको छ । कतारमा हुने फिफा विश्वकपको २२ औं संस्करणबारे उत्साहित हुने २२ कारण यसप्रकार छन् :
२२. इरान र अमेरिकाको खेल
विश्व राजनीति र कूटनीतिमा अमेरिका र इरानको सम्बन्ध पानी बाराबार जत्तिकै छ । तर यसपटक दुवै टोली विश्वकपको एकै समूहमा परेका छन् । इरान र अमेरिकाको खेल मैदानभित्र जति प्रतिस्पर्धात्मक हुन्छ, मैदान बाहिर त्योभन्दा बढी चासोका साथ हेरिनेछ ।
२१. अफ्रिकी राष्ट्रले जगाएको आशा
विश्वकप इतिहासमा हालसम्म कुनैपनि देशले सेमिफाइनलमा स्थान बनाएका छैनन् । तर युरोपेली फुटबलमा ठूला टोलीका लागि खेल्दै आएका खेलाडी सम्मिलित अफ्रिकी राष्ट्रहरु यसपटक नयाँ इतिहास रच्न आतुर छन् । सेनेगल, मोरक्को, अल्जेरिया, घाना लगायत देश कतारमा हेर्नलायक हुनेछन् ।
२०. समूह चरणमै पूर्व विजेता भिड्ने
विश्वकपको हरेक खेल उत्साहजनक हुन्छ । तर समूह चरणमा दुई पूर्व विजेता र उपाधि दावेदार भिड्नु दुर्लभ मानिन्छ । यसपटक सन् २०१० को विजेता स्पेन र सन् २०१४ को विजेता जर्मनीले समूह चरणमा भिड्नेछन् ।
१९. फ्रान्सको उपाधि रक्षा
फ्रान्सको विश्वकपमा प्रदर्शन उतार चढावले भरिपूर्ण रहेको छ । पछिल्लो संस्करण उपाधि जितेको टोलीले यसपटक कस्तो खेल्छ हेर्न फुटबल जगत उत्सुक छ । तुलनात्मक रुपमा पछिल्लो संस्करणभन्दा यसपटक फ्रान्सको टोलीमा बढी अनुभव छ ।
१८. एडिडासको अल-रिहला बलको चर्चा
सन् २०१० मा दक्षिण अफ्रिकामा भएको जाबुलानी बल निकै चर्चामा रहेको थियो । त्यसपछिको दुई संस्करणमा बललाई लिएर खासै चर्चा भएको थिएन । यसपटक अल-रिहला बलको डिजाइन र निर्माण निकै पृथक रहेकाले समर्थकमाझ चर्चामा छ । बलभित्र नै विशेष टेक्नोलोजीको प्रयोगले भिडियो असिस्टेन्ट रेफ्रीलाई सहयोग मिल्नेछ । यसको प्रदर्शन कस्तो हुन्छ, त्यसका लागि विश्वकपकै प्रतीक्षा गर्नुपर्छ ।
१७. २६ खेलाडीको टोली
सामान्यतया फुटबलको अन्तर्राष्ट्रिय प्रतियोगितामा २३ सदस्यीय अन्तिम टोली हुने गर्दछ । तर पछिल्लो समय कोरोना संक्रमणका कारण फिफाले २६ सदस्यीय टोली घोषणा गर्न पाउने नियम बनाएको छ । यसले टोली छनोटमा प्रशिक्षकलाई केहि सहज भएको छ ।
१६. रोमान्चक घानाको पुनरागमन
सन् २००६, २०१० र २०१४ मा घानाले नतिजा दिन नसकेपनि घानाले निकै रोमान्चक माहोल बनाएको थियो । पछिल्लो पटक रुसमा भएको विश्वकपमा भने घाना छनोट भएको थिएन । यसपटक भने घानाले अन्य राष्ट्रबाट खेल्दै आएका केहि स्टार खेलाडी समेट्दै बलियो टोली कतारमा ल्याउँदैछ ।
१५. विश्वकप नै नखेलेको कतारको ‘बेजोड’ आयोजना
कतार पहिलो पटक फिफा विश्वकपमा प्रतिस्पर्धा गर्दैछ । आयोजकको रुपमा कतारले विश्वकपमा सहभागिता जनाउन पाएको छ । कतारले १२ वर्षअघि जिम्मेवारी पाएसँगै आयोजनाको पक्षमा कुनै कमी नराख्ने बताएको थियो । यसपटक कतारको मैदानभित्र खेलभन्दा मैदानबाहिर आयोजनाका लागि प्रतीक्षा रहेको छ ।
१४. एकै सहरमा विश्वकप महोत्सव
कतारले विश्वकप आयोजना गर्दा ८ रंगशाला प्रयोग हुनेछ । सबै ८ रंगशाला दोहा सहरकै आसपासमा निर्माण गरिएको छ । पछिल्ला संस्करणजस्तो हरेक रंगशाला एक आपसमा मेट्रोबाट जोडिएको छ । ओलम्पिकमा एक सहरजस्तो यसपटक विश्वकपको सबै खेल एकै सहरमा हुनेछ ।
१३. नेदरल्यान्ड्सको विश्वकपमा पुनरागमन
सन् २०१४ को सेमिफाइनलमा अर्जेन्टिनासँग हारेको नेदरल्यान्ड्सले रुसमा भएको २०१८ को संस्करणमा स्थान बनाउन सकेन । यसपटक छनोटमा सानदार प्रदर्शन गर्दै डच टोलीले विश्वकपमा पुनरागमन गरेको छ ।
१२. रेफ्रीलाई थप टेक्नोलोजीको साथ
यसपटक फिफा विश्वकपमा भिडियो असिस्टेन्ट रेफ्रीलाई थप सहयोग मिल्नेछ । विश्वकपमा प्रयोग हुने अल रिहला बलमै विशेष यन्त्र रहेकाले अफसाइड मापनमा निकै सहयोग पुग्नेछ । यसबाहेक फिफाले यसपटक नयाँ युगमा प्रवेश गरेको भन्दै खेलाडीको प्रदर्शन मापनमा पनि विशेष प्रयोग गर्ने जनाएको छ ।
११. ३२ राष्ट्र सम्मिलित अन्तिम विश्वकप
सन् २०२२ को विश्वकप ३२ राष्ट्र सहभागी हुने अन्तिम विश्वकप हुनेछ । सन् २०२६ मा अमेरिका र मेक्सिकोमा हुने विश्वकपमा ४८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । फिफाले त्यसपछिको संस्करणमा पनि ४८ राष्ट्र नै सहभागी हुने बताएको छ । त्यसैले ३२ राष्ट्रको बेजोड प्रतिस्पर्धा हुने यो नै अन्तिम विश्वकप हुनेछ ।
१०. विश्वकपमा महिला रेफ्री
फिफाले यसपटक विश्वकपमा महिला रेफ्रीलाई पनि समावेश गरेको छ । पुरुषको विश्वकपमा यसपटक तीन महिला रेफ्रीले खेलमा जिम्मेवारी निर्वाह गर्नेछन् । जापानकी योशिमी यामशिता, रुवान्डाकी सलिमा मुकासंगा र फ्रान्सकी स्टेफानी फ्रापार्ट यसपटक कतारमा हुनेछन् ।
९. पहिलो ‘विन्टर’ विश्वकप
फिफा विश्वकपको इतिहासमा पहिलो पटक जाडो महिनामा विश्वकप हुँदैछ । जुन-जुलाईमा विश्वकप आयोजना हुँदै आएकोमा कतारको गर्मीकै कारण विश्वकप नोभेम्बर-डिसेम्बरलाई सारिएको हो । यसले युरोपेली फुटबलमा लिग तालिकामा निकै असर पनि पर्यो । तर अन्य राष्ट्रले भने विश्वकप अनुसार आफ्नो लिग तालिका परिवर्तन गर्दै राम्रो तयारी पनि गरेका छन् । ठूला राष्ट्रलाई भने लिगको बिचमा विश्वकप हुँदा चोटले पनि सताएको छ ।
८. स्पेनी मिडफिल्डको नयाँ युग
स्पेनले सन् २०१० मा विश्वकप जित्दा बार्सिलोनाका मिडफिल्डरद्वय जाभी र इनिएस्टाले सानदार प्रदर्शन गरेका थिए । यसपटक लुइस इनरिकेसँग नयाँ युगको मिडफिल्ड साथ रहेको छ । युवा खेलाडी पेड्री र गाभी यसपटक विश्वकपमा छाप बसाउन प्रयासरत छन् । जाभी र इनिएस्टासँगै खेलेका सर्जियो बुस्केट्स अहिले पनि यी युवा खेलाडीलाई साथ दिन उपस्थित हुनेछन् ।
७. सनको नेतृत्वमा कोरिया
प्रिमियर लिगमा गोल्डेन बुट विजेता ह्युङ मिन सनले सन् २०१८ मा जर्मनीलाई समूह चरणबाट घर पठाउन उत्कृष्ट प्रदर्शन गरेका थिए । यसपटक चोटको डर भएपनि सनले आफू विश्वकपमा उपलब्ध रहेको बताएका छन् । एसियाले सनबाट निकै अपेक्षा गरेको छ ।
६. वेल्सबाट बेलको पहिलो विश्वकप
ग्यारेथ बेल आफ्नो करिअरको अन्त्यतिर छन् । तर वेल्सबाट पहिलो पटक विश्वकप खेल्दा बेल आफ्नो उच्च प्रदर्शन गर्ने प्रयासमा हुनेछन् । क्लब फुटबलमा एकपछि अर्को सफलता हासिल गरेका उनीबाट वेल्सले ५६ वर्षपछि विश्वकपमा फर्कंदा यादगार प्रदर्शनको अपेक्षा गर्नेछ ।
५. मैदानभित्र ‘सरप्राइज’ दिन तयार कतार
कतारले पहिलो पटक विश्वकप खेल्दैछ । कतारका खेलाडी विश्वका शीर्ष लिगमा पनि खेलेका छैनन् । तर कतारलाई सहज लिन सकिने अवस्था भने छैन । घरेलु वातावरणमा खेलिरहेको कतारले एसियन कपको उपाधि जित्दै आफूलाई विश्वकपका लागि योग्य रहेको संकेत दिएको छ । अन्य राष्ट्रका खेलाडी आ-आफ्नो क्लबमा व्यस्त रहँदा कतार भने विश्वकपका लागि तम्तयार अवस्थामा छ ।
४. हरेक खेलमा ५ खेलाडी परिवर्तनको नियम
फिफा विश्वकपको इतिहासमा पहिलो पटक एकै खेलमा ५ खेलाडी परिवर्तन गर्न पाइने नियम यसपटक लागु हुँदैछ । यसले टोलीहरुलाई आफ्नो रणनीति परिवर्तन गर्न निकै सहज हुनेछ । युरोपका शीर्ष लिगमा पनि यो परिवर्तनले खेलको स्तर उकासिएको विश्लेषकहरुको बुझाइ छ । यसपटक ५ खेलाडी परिवर्तन गर्न पाइने नियमले पनि केही परिवर्तन हुनेछ ।
३. बेल्जियमको स्वर्णीम युगलाई अन्तिम अवसर
बेल्जियमको स्वर्णीम युगलाई विश्वकप जित्ने यो अन्तिम अवसर हुनेछ । स्टार खेलाडी केभिन डे ब्रुएन, इडेन हाजार्ड, थिबाउट कोर्टुवा, जान भर्टोन्घन, टोबी एल्डरवेरल्ड लगायत खेलाडी ३० वर्ष पार भइसकेका छन् । त्यसैले बेल्जियम नयाँ युगमा अघि बढ्नुअघि रोबर्टो मार्टिनेजबाट उपलब्धि हासिल गर्न चाहन्छ ।
२. विश्वकपको अनुभव बटुल्दै युवा स्टार
क्लब फुटबलमा चर्चित केहि युवा खेलाडी विश्वकपमा पहिलो पटक खेल्दैछन् । विश्व सामु आफूलाई चिनाउने र राष्ट्रका लागि योगदान दिने यस अवसरमा खेलाडी उत्रन आतुर छन् । यसपटक जुड बेलिंघम, फिल फोडेन, जमाल मुसियाला, भिनीसियस जुनिअर, रोड्रीगो, पेड्री, गाभी लगायत खेलाडी विश्वकप अनुभव बटुल्दै हुनेछन् ।
१. मेस्सी र रोनाल्डोको अन्तिम विश्वकप
पछिल्लो डेढ दशक विश्व फुटबलमा व्यक्तिगत अवार्डमा वर्चस्व जमाएका लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवैले जित्न बाँकी एकमात्र उपाधि विश्वकप हो । राष्ट्र र क्लबबाट अन्य सबै उपाधि जितेका यी दुई विश्वकप जित्दै आफूलाई सर्वकालीन महान खेलाडीका रुपमा उभ्याउन चाहन्छन् । सम्भवत: मेस्सी र रोनाल्डोको यस युगमा को उत्कृष्ट थियो भन्ने छिनोफानो यसै विश्वकपको उपाधिले गर्न सक्छ ।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]