default_image

2 years ago

October 12, 2022

फुटबलरका पीडा – प्रदेशले टोलीमा राखेन, एनआरएनएबाट खेल्न नियमले मिल्दैन

221 views

0 Bookmark

सुबास हुमागाईं, विराटनगर

राष्ट्रिय पुरुष फुटबल टोलीका केही खेलाडीले नवौं राष्ट्रिय खेलकुद गुमाउने देखिएको छ । राष्ट्रिय खेलकुदको छनोट प्रतियोगिता चलिरहँदा राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका खेलाडी प्रदेशले टोलीमा नराख्दा राष्ट्रिय खेलकुद नै खेल्न नपाउने अवस्थामा पुगेका हुन् ।

प्रदेश १ बाट राष्ट्रिय खेलकुद खेल्न पाउने आशमा बसेका राष्ट्रिय टोलीका केहि खेलाडी नवौंको आयोजना गण्डकी प्रदेशको पोखरामा नै छन् । तर आफ्नो प्रदेशले टोलीमा नराखेपछि गैर आवासीय नेपाली संघ (एनआरएनए) बाट खेल्ने आशा राखेका उनीहरु नियम अनुसार भने त्यसरी खेल्न पाउँदैनन् । प्रदेश १ ले आफ्नो टोली घोषणा गर्दा राष्ट्रिय टोलीमा रहेको खेलाडीलाई टोलीमा समेटेन ।

अन्य प्रदेशले भने प्रदेश छनोटमा उपस्थित हुन नसकेका राष्ट्रिय खेलाडीलाई टोलीमा राखेको छ । त्यसको बलियो उदाहरणका रुपमा बागमती प्रदेश रहेको छ । बागमतीमा अधिकांश खेलाडी राष्ट्रिय टोली वा उमेर समूहबाट खेलिसकेका खेलाडी छन् । बागमती प्रदेशले अन्जन विष्ट, विशाल श्रेष्ठ, सुनिल बल लगायत राष्ट्रिय खेलाडी समेट्दै बलियो टोली तयार पारेको छ। टोलीले राष्ट्रिय टोलीका पूर्व कप्तान विराज महर्जन र मिडफिल्डर विक्रम लामालाई पनि समावेश गरेको छ ।

यस्तै गण्डकीले पनि राष्ट्रिय टोलीका गोलरक्षक दीप कार्कीलाई टोलीमा राखेको छ । विभागीय टोलीको हकमा पनि उनीहरुका राष्ट्रिय खेलाडी टोलीमा हुने नै भए । तर प्रदेश १ ले भने छनोटमा सहभागी नभएको कारण देखाउँदै राष्ट्रिय खेलाडीहरुलाई टोलीमा राख्न आवश्यक ठानेन । जिल्लाबाट नै राष्ट्रिय खेलाडीको नाम नपठाएपछि प्रदेश टोलीमा उनीहरुको नाम नपरेको हो । नेपाली फुटबलमा उत्कृष्ट खेलाडी उत्पादन गरेको झापा जिल्लाबाट नै राष्ट्रिय खेलाडीको नाम प्रदेशसम्म पुगेन ।

प्रदेश १ बाट राष्ट्रिय टोलीबाट खेलिसकेका विशाल राई (झापा), अनन्त तामाङ (झापा), सुजल श्रेष्ठ (धनकुटा), पुजन उपरकोटी (झापा), निशान खड्का (झापा) लगायत खेलाडी अहिले एनआरएनएको टिमबाट खेल्ने तयारीमा छन् । तर राष्ट्रिय खेलकुदको नियम अनुसार भने खेलाडीले आफ्नो प्रदेश, विभाग र गैर आवासीय खेलाडी बाहेक अन्यबाट खेल्न पाउँदैनन् । प्रदेशका खेलाडीले आफ्नै प्रदेश र एनआरएनएबाट गैर आवासीय नेपाली संघका सदस्यले मात्र खेल्न पाउनेछन् । विमल घर्तीमगर र कमल श्रेष्ठ पनि एनआरएनए टोलीमा खेल्न प्रतीक्षारत छन् ।

नवौं राष्ट्रिय खेलकुदको प्राविधिक उपसमितिका सचिव प्रचण्ड शर्माका अनुसार गैर आवसीय संघ नेपालको सदस्यता प्राप्त गरेकाले मात्र एनआरएनए टोलीबाट खेल्न पाउँछन् । ‘अहिले नै केही कारवाही हुन्छ भन्ने होइन । तर खेलका दौरान वा खेलपछि प्रोटेस्ट पर्यो भने हामीले छानविन गर्छौं । सदस्य नै नभएको संस्थाबाट राष्ट्रिय खेलकुद खेल्न पाइन्न । अन्य प्रदेशको नियम यहाँ पनि लाग्छ,’ उनले भने ।

राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन निर्देशिकाले पनि शर्माको भनाइलाई पुष्टि गर्छ । निर्देशिकामा उल्लेख छ ‘गैर आवासीय नेपाली संघ (एन.आर.एन.ए) टिम” भन्नाले गैर आवासीय नेपाली खेलाडीहरूबीच छनौट भई आएको टिम सम्झनु पर्छ ।‘
यता एनआएनएको विधानमा भने गैर आवासीय नेपाली बन्न नेपाली मुलको विदेशी नागरिक वा दुई वर्षभन्दा बढी दक्षिण एसियाली राष्ट्रभन्दा बाहिर बसेको हुनुपर्ने छ ।

एनआरएनएको विधानमा ‘गैरआवासीय नेपाली भन्नाले नेपाली मुलको विदेशी नागरिक वा दुई वर्ष भन्दा बढि नेपाल सरकारबाट खटिइ विदेशस्थित नेपाली नियोगमा बहाल रहेको, विदेश स्थित शिक्षण संस्थामा अध्ययन गरिरहेको नेपाली नागरिक र दक्षिण एसियाली सहयोग संगठन (सार्क) अन्तर्गतका मुलुकहरु बाहेकका अन्य देशहरुमा पेशा, रोजगारी वा व्यवसाय गरी बसोवास गर्ने नेपाली नागरिकलाई जनाउँदछ । यसै अनुच्छेदमा उल्लेखित ‘नेपाली मूलका विदेशी नागरिक’ भन्नाले कुनै व्यक्ति साविकमा स्वयम् वा निजको बाबु, आमा, बाजे, वा बज्यै नेपालको नागरिक रहि पछि सार्कको सदस्य मुलुक बाहेक अन्य मुलुकको नागरिकता लिएको व्यक्तिलाई जनाउँदछ ।‘ भनेर उल्लेख गरिएको छ ।

एनआरएनएले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बुझाएको पुरुष फुटबलको सुचिमा रहेका खेलाडी नेपाल नआउने भएपछि अन्य प्रदेशको टोलीमा नपरेका खेलाडीलाई समेट्दै टोली बनाएको हो । बेलायतबाट आउने भनेका १२ फुटबल खेलाडी आन्तरिक विवादका कारण नआउने यसअघि नै सार्वजनिक भइसकेको छ । अन्य १० खेलाडी भने विदेशबाट नवौं खेल्न आएको बताइएको छ । पोखरामा रहेर टोलीले केही दिन यता प्रशिक्षण पनि गरिरहेको छ । तर राष्ट्रिय खेलाडीलाई आफ्नो टोलीबाट खेल्न पाउने नपाउने दुविधा नै छ ।

एनआरएनए टोलीका प्राविधिक निर्देशक स्वयम्भुराज डंगोलले बिहीबार पत्रकार सम्मेलन गरेर टोलीबारे जानकारी दिने बताए । उनले हाल अन्य खेलाडी पनि पोखरा जाने क्रममा रहेकाले पत्रकार सम्मेलनमार्फत सबै जानकारी दिने जानकारी दिए ।

प्रदेश टोलीमा नपरेपछि एनआरएनए बाट खेल्ने आशा राखेका खेलाडीले भने खेल्ने नखेल्ने दुविधा हुँदा दुःख लागेको बताए । प्रदेश १ को टोलीमा नपरेका एक राष्ट्रिय खेलाडीले भने, ‘हामी राष्ट्रिय खेलकुद खेल्न चाहन्छौं । आफ्नो प्रदेशले वास्ता नगरेपनि एनआरएनले बोलाएपछि खेल्न पाइने आशा बढेको हो । अहिले खेल्ने वा नखेल्ने भन्ने दुविधामा छौं ।’

राष्ट्रिय खेलकुदको उद्घाटन शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने राखेपले यसअघि नै जानकारी गराइसकेको छ । ७ प्रदेश, ३ विभाग र एनआरएनए गरि ११ टोलीले खेलाडीले ३६ प्रतिस्पर्धात्मक र २ प्रदर्शनी खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

पुरुष फुटबलतर्फ एनआरएनएले विहीबार पहिलो खेल प्रदेश १ विरुद्ध खेल्ने तालिका रहेको छ । एनआरएनएको समूहमा प्रदेश १ र गण्डकी रहेका छन् । एनआरएनएले दोस्रो खेल असोज ३० गते गण्डकीसँग खेल्नेछ । यस समूहको विजेताले समूह सी को विजेतासँग खेल्नेछ ।

February 23, 2025

‘लयमा फर्कदै छु’- साम्बा

काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित।‌ साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]

February 23, 2025

फाइनल अघि नेपालले म्यानमारलाई बराबरीमा रोक्यो

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]

February 23, 2025

बंगलादेशको काउर्न बाजार भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]

Success

Thank you for your time.