default_image

2 years ago

September 17, 2022

बंगलादेशविरुद्ध महाभूकम्पले बिथोलेको ‘त्यो’ फाइनल

206 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

विसं २०७२ वैशाख ११ / सन् २०१५ अप्रिल २४ – शुक्रबार दशरथ रंगशालामा भएको सेमिफाइनलमा भारतलाई १-० लाई पराजित गर्दै नेपाल फाइनलमा । फाइनलमा उपाधिका लागि बंगलादेशसँग भिड्ने । प्रतियोगिता – एएफसी यू-१४ च्याम्पियनसिप २०१५ (साउथ एन्ड सेन्ट्रल रिजन)

विसं २०७९ भदौ ३१ / सन् २०२२ सेप्टेम्बर १६ – शुक्रबार दशरथ रंगशालामा भएको सेमिफाइनलमा भारतलाई १-० लाई पराजित गर्दै नेपाल फाइनलमा । फाइनलमा उपाधिका लागि बंगलादेशसँग भिड्ने । प्रतियोगिता – साफ महिला च्याम्पियनसिप २०२२

७ वर्षको अन्तरमा नेपालले दोस्रो पटक घरेलु मैदान दशरथ रंगशालामा भारतीय टोलीलाई पराजित गर्दै फाइनलमा यात्रा पक्का गरेको छ । २०७२ सालमा भारतको यू-१४ टोलीलाई सेमिफाइनलमा १-० ले नै पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको थियो । उक्त खेलमा नेपालका लागि निर्मला उपाध्यायले एकमात्र गोल गरेकी थिइन् । निर्मलाले दोस्रो हाफको सुरुवाती मिनेटमै गरेको गोल नै निर्णायक सावित भएको थियो । हाल निर्मला नेपाल पुलिस क्लबसँग आबद्ध छिन् । उनी प्रारम्भिक छनोटमा सहभागी भएपनि अन्तिम टोलीसम्म पर्न सकिनन् ।

सन् २०१५ को उक्त खेलमा नेपालको लागि आक्रमणमा निर्मला उपाध्यायसँग रेखा पौडेल उत्रिएकी थिइन् । रेखा हिजो भएको सेमिफाइनलमा भने बेन्चमा नै रहिन् । सरु लिम्बु र मन्जलीकुमारी योन्जनले ७ वर्षअघि भएको उक्त खेलमा नेपालका लागि सुरुवात गरेका थिए । हिजो सरुले पूरा ९० मिनेट खेल्दा मन्जली डेंगीका कारण बेन्चमै रहिन् । समूह चरणमा श्रीलंकाविरुद्ध डेब्यु गरेकी डिफेन्डर निशा थोकर पनि त्यसबेला यू-१४ टोलीमा सुरुवाती रोजाइमा खेलेकी थिइन् ।

सन् २०१५ मा नेपालको यू-१४ टोली

त्यसो त यू-१४ टोलीकी तत्कालिन कप्तान पुजा राना यसबेला सिनियर टोलीको पनि सुरुवाती रोजाइमा हुन्थिन् । तर बन्द प्रशिक्षणको समयमा चोट लागेपछि उनी टोलीबाट बाहिर रहिन् । प्रशिक्षणका दौरान खुट्टा भाँचिएपछि उनी अहिले खुट्टामा प्लास्टरसहित घरमै बसेर खेल हेरिरहेकी छिन् । उनलाई ठिक हुन अझै केही महिना लाग्नेछ ।

सिनियर टोलीका लागि राइट ब्याक भूमिकामा खेल्दै आएकी पुजाले गत वर्ष दशरथ रंगशालामा भएको बंगलादेशविरुद्धको दुवै मैत्रीपूर्ण खेलमा सुरुवाती रोजाइमा खेलेकी थिइन् । यसपटक पनि उनले साफमा उक्त जिम्मेवारी निर्वाह गर्ने देखिन्थ्यो, तर चोटका कारण उनी विश्राम लिन बाध्य भइन् ।

डिफेन्डर पुजा गत वर्ष बंगलादेशविरुद्ध खेलमा

पुजा फाइनल पुगेपछि आफूलाई ७ वर्षअघि रंगशालाको क्षण याद आएको बताउँछिन् । ‘मलाई त हिजो खेल जित्ने बितिक्कै पुरानो दिनको याद आयो । त्यसबेला भारतलाई हराएको क्षण सम्झेर खुसी भएँ । यसपटक पनि टोलीले जित्यो एकदम खुसी लाग्यो । आफू चोटका कारण मैदानबाहिर रहनु पर्दा भने दुख लागेको छ,’ पुजाले सुनाइन् ।

प्रतियोगिता आउन एक महिना भन्दा कम समय बाँकी रहँदा प्रशिक्षणका क्रममा घाइते भएकी पुजाको सम्पूर्ण उपचार खर्च एन्फाले बेहोर्ने उनले जानकारी दिइन् । फाइनलमा बंगलादेशसँग जितका लागि पनि उनले शुभकामना दिइन् । ‘यू-१४ को बेलामा भूकम्पका कारण खेल सरेको थियो । रंगशालामा हुनुपर्ने फाइनल ७/८ महिनापछि लगनखेलमा भयो । त्यसबेला नै भएको भए नतिजा राम्रो हुन्थ्यो, पछि हामी बंगलादेशसँग पराजित भयौं । यसपटक फाइनल रंगशालामा नै हुन्छ र टोलीले जित्छ नै । मेरो शुभकामना छ,’ पुजाले भनिन् ।

७२ साल वैशाख ११ गते शुक्रबार सेमिफाइनलमा भारतमाथि जित हासिल गरेको नेपाली टोलीले वैशाख १२ गते शनिबार हुनुपर्ने फाइनल खेल्न पाएको थिएन । नेपालले आयोजना गरेको एएफसी यू-१४ गर्ल्स रिजनल च्याम्पियनसिप २०१५ (साउथ एन्ड सेन्ट्रल) को तेस्रो स्थानको खेलका लागि इरान र भारत रंगशालामा वार्मअपको तयारी गरिरहँदा भूकम्प आएको थियो । दशरथ रंगशालामा त्यसबेला सेमिफाइनलमा पराजित अर्को टोली इरान र भारत दुवै ड्रेसिङ रुममा रहेका थिए । वार्मअप सेसनका लागि तयार रहँदै गर्दा भूकम्प आएपछि दुवै टोलीका खेलाडी मैदानको बीच भागमा आएर बसेका थिए ।

भूकम्प आएपछि मैदानमा भारतीय टोली

नेपाल र बंगलादेश फाइनल खेल्न टिम होटेल छाड्ने तयारीमा रहँदा भूकम्प आएको थियो । भूकम्पका कारण प्रतियोगिता स्थगित हुँदा तेस्रो स्थानको खेल रद्द र फाइनल स्थगित भएको थियो । डिसेम्बर २०१५ मा पुन: नेपालमा खेलाइएको खेलाइएको फाइनलमा बंगलादेश १-० ले विजयी रहेको थियो । रंगशाला प्रयोगमा नहुँदा लगनखेलस्थित आर्मीको मैदानमा फाइनल भएको थियो ।

त्यसबेला नेपाली टोलीका प्रशिक्षक किशोर केसी थिए भने बंगलादेशी टोलीका प्रशिक्षक अहिले सिनियर टोलीको नेतृत्व सम्हालिरहेका गोलाम रोब्बानी छोटोन नै थिए । सहायक प्रशिक्षक महबुबुर रहमान लिटु पनि साथमा छन् । त्यसबेला नेपालविरुद्ध फाइनल खेलेको यू-१४ टोलीका ८ सदस्य अहिले सिनियर टोलीमा रहेका छन् । बंगलादेशले यसै साता समूह चरणमा भारतलाई ३-० ले पराजित गर्दा प्लेयर अफ द म्याच चुनिएकी फरवार्ड कृष्णा रानी त्यसबेला टोलीको कप्तान रहेकी थिइन् ।

२०१५ मा बंगलादेशको यू-१४ टोली

नेपालले सन् २०१५ मा १-० ले फाइनल हारेपछि त्यसयता उमेर समूहमा बंगलादेशसँग सुखद नतिजा आत्मसात गर्न सकेको छैन । सन् २०१८ को यू-१८ मा फाइनलमा १-० ले पराजित नेपाल सन् २०२१ को यू-१९ मा गोलरहित बराबरी खेल्न सफल भएको थियो । नेपाली टोली सन् २०२२ मा भएको यु-१८ मा भने २-१ ले पराजित भयो । त्यस्तै यू-१५ उमेर समूहको साफ प्रतियोगितामा नेपालले हालसम्म सबै खेलमा हार बेहोरेको छ । नेपाल सन् २०१७ मा ६-० ले, २०१८ मा ३-० तथा २०१९ मा २-१ को हार बेहोर्न पुग्यो ।

सिनियर टोलीमा भने नेपालले हालसम्म बंगलादेशसँग हार बेहोर्नुपरेको छैन । हालसम्म दुई टोलीले सिनियर फुटबलमा ७ खेल खेल्दा नेपालले ५ जित र २ बराबरीको नतिजा निकालेको छ । गत वर्ष सम्पन्न दुई मैत्रीपूर्ण अन्तर्गत पहिलो खेल २-१ ले जितेको नेपाल दोस्रो खेलमा गोलरहित बराबरीमा रोकिएको थियो । साफ च्याम्पियनसिपमा भने नेपालले खेलेका सबै तीन खेलमा जित हासिल गरेको छ ।

सन् २०१५ मा प्रशिक्षक छोटोन बंगलादेशलाई प्रशिक्षण दिँदै

बंगलादेशको युवा देखि सिनियर सबै महिला टोलीमा प्रशिक्षक रहेका छोटोनले यसपटक प्रतियोगिता सुरु हुनुअघि आफ्नो टोलीले लामो समय सँगै रहेर खेलेकोले पनि फाइनल पुग्ने दावी गरेका थिए । उमेर समूहदेखि सँगै खेलेकाले टोलीको विकासमा सहयोग पुगेको उनको भनाइ थियो । छोटोनले भनेजस्तै बंगलादेशले यसपटक उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएको छ । प्रतियोगिता अवधिभर कुनै गोल नखाइ फाइनलमा स्थान पक्का गर्ने क्रममा टोलीले ४ खेलमा २० गोल गरिसकेको छ । कप्तान सविना खातुन एक्लैको नाममा ८ गोल छ ।

प्रदर्शनको आधारमा हेर्दा बंगलादेश प्रतियोगिताकै उत्कृष्ट टोली रहेको छ । विपक्षी प्रशिक्षकले पनि यो कुरा स्वीकार्दै आएका छन् । तर बंगलादेशले नेपालको सामना गरेको छैन । दुवै नेपाल र बंगलादेशले प्रतियोगिताका सबै खेल जितेका छन् । कुनै गोल खाएका छैनन् । इतिहास नेपालको पक्षमा छ भने बंगलादेश त्यो इतिहास बदल्न आतुर छ । हजारौं घरेलु समर्थकका बीच नेपाली टोली पनि पहिलो पटक साफ च्याम्पियन बन्ने लक्ष्यमा छ । नेपाललाई ७ वर्षअघि रंगशालामा खेल्न नपाएको फाइनल यसपटक खेल्ने अवसर मिलेको छ ।

March 15, 2025

फुटबलर आशिषलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र चिनियाँ क्लबसँगको‌ मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपपली आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले उक्त […]

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

Success

Thank you for your time.