default_image

2 years ago

September 4, 2022

इतिहास रच्न आतुर नेपाल : टोलीभित्र अभावसँगै आन्तरिक प्रतिस्पर्धा

244 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाली महिला राष्ट्रिय फुटबल टोली मंगलबारदेखि सुरु हुने छैटौं साफ च्याम्पियनसिपमा नेपाली महिला फुटबलकै पहिलो उपाधि जित्ने लक्ष्यमा हुनेछ । यसअघि पटक पटक फाइनलमा पुगेर पनि उपाधिबाट विमुख भएको नेपाली टोलीलाई दशरथ रंगशालामा स्वर्णीम इतिहास रच्ने अवसर छ ।

खेलाडीसँगै प्रशिक्षक कुमार थापा पनि इतिहासमा नाम लेखाउन मिहिनेत गरिरहेका छन् । यसअघि चौथो संस्करणमा गलत कारणका लागि इतिहास लेखाएका उनी यसपटक सुखद नतिजाको अपेक्षा गरिरहेका छन् । सन् २०१६ मा भारतको सिलिगुडीमा भएको साफ च्याम्पियनसिपमा टोलीको प्रशिक्षण सम्हालेका थापाले नेपाललाई फाइनलमा पुर्याउन सकेका थिएनन् । नेपालले हालसम्म एकपटक मात्र फाइनल पुग्न नसकेको त्यसै प्रतियोगिता थियो ।

एएफसी ए लाइसेन्स प्राप्त गरेपछि एन्फाले थापालाई सन् २०१६ मा राष्ट्रिय महिला टोलीको प्रशिक्षकको जिम्मेवारी दिएको थियो । त्यसअघि विभागीय टोलीका सिमित खेलाडी जम्मा गरेर महिला राष्ट्रिय टोलीको छनोट हुँदै आएकोमा थापाले फरक प्रयोग गर्दै टोलीको वृहत छनोट गरे । त्यसबेला विभागमा आबद्ध रहेपनि टोलीबाहिर रहेका केही राम्रा खेलाडी र उमेर समूह प्रतियोगितामा प्रभाव जमाएका जिल्लाका युवा खेलाडी समेट्दै उनले खुला छनोट गरे ।

त्यसअघि १२ औं साग खेलेका २० खेलाडी र थप ५२ गरी कुल ७२ खेलाडी सम्मिलित छनोटबाट उनले टोलीलाई नयाँ रुप दिए । झन्डै डेढ महिना प्रशिक्षणपछि अन्तिम टोली तयार पार्दा ६ नयाँ खेलाडीले अन्तिम टोलीमा स्थान बनाए । नेपालले साफ खेल्नुअघि मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल पनि खेल्यो । उक्त खेलमा थापाले टोलीमा रहेका ६ खेलाडीलाई नै डेब्युको अवसर दिए ।

मलेसियाविरुद्ध खेल महिला टोलीले घरेलु मैदानमा खेलेको पहिलो अन्तर्राष्ट्रिय खेल थियो । उक्त खेलमा १-० को जित दर्ता गर्दै टोली भारत प्रस्थान गर्यो । समूह चरणमा प्रशिक्षक थापाले टोलीमा रहेका सबै २० खेलाडी प्रयोग गर्दै सबै तीन खेलमा जित निकाले । समूह विजेता बनेपनि नेपालले सेमिफाइनलमा अर्को समूहको उपविजेता भारतको सामना गर्नुपर्यो । त्यसअघि पटक पटक भारत फाइनलमा तगारो बन्दै आएकोमा नेपालका लागि २०१६ को साफ यात्रा सेमिफाइनलमा सकियो ।

प्रशिक्षक थापाले त्यसबेला भारतविरुद्ध खेलको स्मरण गरे । ‘हामीलाई थाहा थियो भारतलाई हराएको भए उपाधि जित्न सकिन्थ्यो । हामीले प्रयास गरेका पनि हौं । तर आफ्नै गल्तीले हार्न पुग्यौं । यसपटक त्यो हार बिर्साएर इतिहास लेख्ने अवसर हामीसँग छ । म मात्र होइन, महिला फुटबलमा लामो समय खेलेका खेलाडीलाई करिअर सार्थक बनाउने अवसर हो यो,’ उनले भने ।

थापाले सन् २०१६ मा डेब्यु दिएका खेलाडी अहिले टोलीको मुख्य भूमिकामा छन् । थापाले त्यसबेला हेरेको टोलीबाट केही खेलाडीले सन्न्यास घोषणा गरिसके त केहि अन्तिम टोलीमा पर्न सकेनन् । थापाको पुनरागमनसँगै राष्ट्रिय टोलीमा विविध कारणले पुनरागमन गरेका खेलाडी पनि छन् । यसपटक थापाले तीन नयाँ अनुहारलाई पनि टोलीमा समेटेका छन् ।

गोलरक्षकमा तीव्र प्रतिस्पर्धा

नेपाली महिला राष्ट्रिय फुटबल टोलीमा यसपटक तीनै गोलरक्षक एक आपसमा कोहि भन्दा कम छैनन् । तीन विभागका गोलरक्षक एपिएफकी एन्जिला तुम्बापो सुब्बा, आर्मीकी अन्जना रानामगर र पुलिसकी उषा नाथ टोलीमा रहेका छन् । सन् २०१४ देखि टोलीमा खेल्दै आएकी एन्जिला यसअघि पहिलो रोजाइको रुपमा खेल्दै आएकी छिन् । तर उनको पछिल्लो प्रदर्शनमा गिरावट आउनु र अन्य दुई गोलरक्षकको उदयले यसपटक प्रशिक्षक थापालाई पहिलो रोजाइको गोलरक्षक छनोट गर्न निकै कठिन हुनेछ ।

प्रशिक्षणका दौरान उषा नाथ, अन्जना रानामगर र एन्जिला तुम्बापो सुब्बा । (बायाँबाट)

ठूला प्रतियोगितामा जाँदा प्रशिक्षकले सामान्यतया एक गोलरक्षकलाई मुख्य गोलरक्षकको जिम्मेवारी दिने प्रचलन छ । गोलरक्षण आफैंमा निकै गम्भीर पोजिसन रहेकाले पनि यो पोजिसन अन्यजस्तो खेलाडी परिवर्तन गरिरहने पोजिसन होइन । थापाले सन् २०१६ मा समूह चरणको तीन खेलमा तीन फरक गोलरक्षकलाई सुरुवात गराएका थिए । सेमिफाइनलमा भने उनले एन्जिलालाई जिम्मेवारी दिएका थिए । उक्त खेलमा नेपाल ३-१ ले पराजित हुँदा एन्जिलाको प्रदर्शन बिर्सनलायक रहयो ।

यसैपनि कमै मात्र विपक्षीविरुद्ध नेपाली गोलरक्षकको काम आउने गर्छ । विशेषगरी साफ क्षेत्रमा बंगलादेश र भारतविरुद्ध नेपाली गोलरक्षकले बल बचाउनुपर्ने अवस्था रहने गरेको थियो । तर पछिल्लो केही वर्षयता भने स्थिति बदलिएको छ । बंगलादेशले गत वर्ष नेपालमा मैत्रीपूर्ण खेल खेल्दा एन्जिला र अन्जना दुवैले १-१ खेल सुरुवात गरेका थिए । त्यसबेला एन्जिलाले पहिलो खेलमा गोल खाँदा अन्जना क्लिन सिट राख्न सफल भएकी थिइन् ।

अन्जनाले त्यसअघि साफ यू-२० च्याम्पियनसिपमा पनि टोलीको कप्तानी गर्दै उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनको प्रदर्शनबाट प्रभावित भएर तत्कालिन गोलरक्षक प्रशिक्षक श्रीप्रकाश वैद्यले उनलाई पुरस्कृत समेत गरेका थिए । त्रिभुवन आर्मी क्लबका लागि पनि अन्जनाले राम्रो प्रदर्शन गर्दै आएकी छिन् । उनले महिला लिगको पहिलो चरणमा सबै ७ खेलमा सुरुवात गरेकी थिइन् । यता एन्जिलाले भने ७ मध्य ५ खेलमा मात्र पहिलो रोजाइमा खेलेकी थिइन् । उषाले पनि पुलिसका लागि सबै खेलमा पोस्ट सम्हालेकी थिइन् ।

डिफेन्समा सिमित विकल्प

युवा डिफेन्डर पुजा राना प्रशिक्षणका क्रममा घाइते हुँदा नेपाललाई डिफेन्समा केही असर पर्नेछ । राइट ब्याक पोजिसनमा खेल्दै आएकी पुजाको अनुपस्थितिले अब अमृता जैशीले उक्त पोजिसनमा खेल्ने देखिएको छ । अनुभवी अमृता सेन्टर डिफेन्समा पनि खेल्न सक्छिन् । उनको विकल्पका रुपमा टोलीमा विमला विक रहेकी छिन् । करिअरको सुरुवातमा सेन्टर डिफेन्समा खेलेकी उनी दुवै पोजिसनमा खेल्ने क्षमता राख्छिन् ।

सेन्टर डिफेन्समा गीता राना नेपालको मुख्य खेलाडी हुन् । डिफेन्स मात्र नभएर खेलको स्तर र टिममा पोजिसन अनुसार महत्त्व हेर्ने हो भने नेपालको नतिजा गीताको प्रदर्शनमा अडेको छ भन्दा फरक नपर्ला । विपक्षी आक्रमणलाई निस्तेज पार्न खप्पिस उनले आफ्नो गति र उचाइले सेट पिसमा आक्रमण र डिफेन्स दुवै तर्फ प्रभाव पार्ने गर्छिन् । उनलाई पुनम जर्घा मगरले साथ दिने सम्भावना छ ।

अनुभवी पुनम मुटुको समस्याका कारण टोलीबाहिर रहेपनि शल्यक्रिया पछि फिट भएर आएकी छिन् । अर्को विकल्पका रुपमा निशा थोकर पनि टोलीमा छिन् । उमेर समूहमा राम्रो खेलेपनि घरेलु फुटबलमा एपिएफमै बसेर निकै ढिलो अवसर पाएकी उनले आफ्नो समय कुर्नुपर्ने देखिन्छ ।

लेफ्ट डिफेन्समा नेपाली टोलीले धेरै टाउको दुखाउनुपर्ने छैन । चोटबाट फर्केर उच्च लयमा रहेकी हिराकुमारी भुजेल आक्रमण र डिफेन्स दुवैमा प्रभाव जमाउँदै आएकी छिन् । एपिएफबाट खेल्दै आएकी उनी टोलीमा पक्का खेल्ने कम खेलाडीमध्यमा पर्छिन् । युवा समिक्षा घिमिरेपनि उक्त पोजिसनमा खेल्न सक्छिन् । उनी चोटबाट पुनरागमन गर्दै पहिलो पटक सिनियर टोलीमा परेकी हुन् ।

मिडफिल्डमा ‘नम्बर ६’ को अभाव

नेपाली राष्ट्रिय महिला टोलीले यसपटक ४-४-२ को फर्मेसनमा खेल्ने सम्भावना रहेको छ । प्रशिक्षक थापाले यसअघि एपिएफमा रहँदा पनि यसै सिस्टम प्रयोग गरेका थिए । दुई सेन्टर मिडफिल्डको भूमिका निर्वाह गर्न नेपाली टोलीमा सहि खेलाडी भने नहुने देखिएको छ । आक्रामक भूमिकामा खेल्ने खेलाडीको संख्या बढी रहँदा रक्षात्मक मिडफिल्डको जिम्मेवारी निर्वाह गर्न भने खेलाडी नै छैनन् ।

फुटबलमा नम्बर ६ अर्थात् डिफेन्सिभ मिडफिल्ड खेल्ने खेलाडी यसपटक टोलीमा छैनन् । त्यसो त महिला फुटबलमा लामो समयदेखि यो पोजिसनको अभाव खड्केको छ । विगतमा आक्रामक खेलशैलीका लक्ष्मी पौडेल र सजना रानाले यस पोजिसनमा खेलेपनि उनीहरु शारीरिक रुपमा निपुण रहेकाले रक्षात्मक रुपमा यो भूमिकालाई न्याय दिन सकेका थिए । युवा टोलीमा सरस्वति हमाल यस पोजिसनका लागि शारीरिक र खेल शैलीको हिसाबमा पोख्त भएपनि उनले सोचेजस्तो प्रगति गर्न सकेकी छैनन् ।

राष्ट्रिय टोलीको कप्तानी गर्दै आएकी रेनुका नगरकोटे घिसीङ घाइते हुनुले पनि टोलीमा मिडफिल्डको समस्या बढेको हो । मिडफिल्डमा बल खोस्नेदेखि बल वितरणमा पोख्त रेनुकाको अनुपस्थिति निकै खड्कने देखिन्छ । आर्मीकी दीपा राई सोही पोजिसनमा अनुभवी छिन् । तर चोटपछि आफ्नो स्वभाविक लयमा खेल्न नसकेकी उनीबाट शत प्रतिशत प्रदर्शन अपेक्षा गर्ने ठाउँ छैन । इन्दिरा राई लामो समय घरेलु फुटबलमा रहेर राष्ट्रिय टोलीको वरपर छिन् । तर उनले नियमित रुपमा राष्ट्रिय टोलीको जिम्मेवारी निर्वाह गर्न पाएकी छैनन् । इन्दिराको रुपमा प्रशिक्षक थापासँग रक्षात्मक भूमिकामा प्रयोग गर्ने विकल्प छ ।

आक्रमण र रक्षात्मक रणनीतिको दोधारमा खेलाडी

सेन्टर मिडफिल्डमै अर्को विकल्पका रुपमा युवा खेलाडी दीपा शाही पनि छिन् । तर आक्रमणमा निकै चुस्त देखिने उनलाई रक्षात्मक जिम्मेवारी सुम्पने हो भने उनको प्रदर्शनमा कमी आउने डर पनि छ । सरु लिम्बुको हकमा पनि त्यस्तै हुने देखिन्छ । कुनै समय सावित्राको अनुपस्थितिमा आक्रमण नै सम्हालेकी उनी नम्बर १० पोजिसनमा खेल्न फिट खेलाडी हुन् । फरवार्डभन्दा ठिक पछाडी मिडफिल्ड र आक्रमण जोड्ने उनको भूमिका ४-४-२ सिस्टममा धरापमा पर्ने देखिन्छ ।

त्यसो त नयाँ सिस्टममा अर्की स्टार प्रिती राईलाई पनि आफ्नो उत्कृष्ट प्रदर्शन गर्न कठिन हुन सक्छ । उत्कृष्ट बल नियन्त्रण क्षमता रहेकी उनलाई सेन्टर मिडफिल्डमा उतार्दा उनीबाट सोचेजस्तो रक्षात्मक जिम्मेवारी निर्वाह नहुन सक्छ । छोटो कदकी उनी विपक्षी डिफेन्सलाई समस्या दिन सक्छिन् तर विपक्षी मिडफिल्डबाट बल खोस्ने जिम्मेवारी दिंदा उनलाई आफ्नै फरवार्डबाट पनि साथ चाहिने हुन्छ ।

विंगमा अन्तरिक प्रतिस्पर्धा

विंगमा नेपालसँग खासै चिन्ता लिनुपर्ने अवस्था छैन । मन्जली योन्जन, विमला चौधरी र अनिता बस्नेत विंगरको भूमिका निर्वाह गरिरहेका छन् । यी तीनमध्य दुईले सुरुवात गर्ने सम्भावना छ । बायाँ विंगमा मन्जलीको प्रभाव रहँदै आएपनि पछिल्लो समय उनी लयमा छैनन् । अनिता पनि सन् २०१६ को साफ च्याम्पियनसिपजस्तो खेल्न सक्ने छैनन् । दुवै खेलाडीलाई घरेलु मैदानमा आफूलाई सिद्ध गर्ने अवसर छ ।

बायाँ विंगमा विमला नेपाली टोलीबाट पछिल्लो समय उच्च प्रदर्शन गर्ने खेलाडीमा पर्छिन् । आर्मीबाट खेल्दै आएकी उनको गतिले रोक्न विपक्षी डिफेन्सलाई सहज हुने छैन । अनिता केसी दुवै विंगमा खेल्ने विकल्पका रुपमा छिन् । उनी आवश्यक परे आक्रमणमा पनि थपिन सक्छिन् । प्रिती पनि विंगमा खेल्ने विकल्पको रुपमा रहेकी छिन् ।

आक्रमणमा बलियो नेपाल

मुख्य फरवार्डको दुई पोजिसनका लागि नेपालसँग ४ खेलाडी छन् । दक्षिण एसियाली स्टार फरवार्ड सावित्रा भण्डारीसँगै रेखा पौडेल, रश्मीकुमारी घिसिङ र नवप्रवेशी अमिशा कार्कीमध्य एकले सुरुवात गर्ने देखिन्छ । चोटबाट फर्केपछि घरेलु लिगमा एपिएफ र भारतमा पुगेर गोकुलम केरालाका लागि खेल्दै सावित्राले आफू तयार रहेको उदाहरण प्रस्तुत गरिसकेकी छिन् । सन् २०१४ यता टोलीमा रहेकी उनले साफ जित्ने सपना पूरा गर्न आफ्नो उत्कृष्ट प्रदर्शन गर्नुपर्ने छ ।

रेखाले एपिएफ छोडेर पुलिस गएपछि नियमित खेल्न पाएकी छिन् । सन् २०१६ मै बन्द प्रशिक्षणमा चोट बोकेर बाहिरिएपछि ओरालो लागेको उनको करिअरले बिस्तारै लय समातेको छ । सन् २०१५ मा एएफसी यू-१४ प्रतियोगिता खेल्दा दशरथ रंगशालामा जमेकी रेखालाई आफ्नो करिअरलाई उडान भराउने अर्को अवसर जुरेको छ ।

आर्मीबाट खेल्दै आएका युवा फरवार्डद्वय रश्मी र अमिशा पनि सुरुवाती स्थानका लागि संघर्ष गर्नेछन् । कम मिहिनेत गर्ने भन्दै आलोचना खेप्दै आएकी रश्मीले पछिल्लो समय निकै मिहिनेत गरेको उनको शारीरिक परिवर्तनले पनि बताउँछ । साफअघि प्रशिक्षणमा चुस्त देखिएको उनी पाएको अवसर सदुपयोग गर्न लालयित छिन् ।

उपमेयर कप र राष्ट्रिय लिगबाट चर्चामा आएकी अमिशाले विभागीय टोलीमा प्रवेशपछि आफ्नो खेल थप सुधार गरेकी छिन् । उमेर समूहमा राम्रो प्रदर्शन गर्दै राष्ट्रिय टोलीको बाटो बुनेकी उनलाई पहिलो पटकमै इतिहास रच्ने अवसर छ । प्रशिक्षक थापाले सबै खेलाडीले अवसर पाउने वाचा गरेकाले उनी त्यो अवसरलाई खेर जाने नदिने लक्ष्यमा हुनेछिन् ।

प्रशिक्षक थापाको परिक्षा

प्रशिक्षक कुमार थापाले महिला टोलीको जिम्मेवारी दोस्रो पटक सम्हाल्दैछन् । तर पहिलो पटकभन्दा यसपटक उनीमाथि दबाब धेरै हुनेछ । यसपटक मैत्रीपूर्ण खेलविना प्रतियोगिता खेल्न लागेका उनीसँग समूह चरणमा पनि दुई खेल मात्र छ । कुनै एक खेलमा दुभाग्यपूर्ण नतिजा आयो भने पनि त्यसको नतिजा अप्रत्याशित हुन सक्छ । प्रयोग गर्ने विकल्प भन्दापनि उनी सुरुवातमा उत्कृष्ट ११ उतार्न तल्लिन हुनेछन् ।

दोस्रो अवसरमा उपाधिको लक्ष्य बनाएका उनले समूह चरणमा भुटान र श्रीलंकाको सामना गर्दैछन् । वरीयता र टोलीको स्तर हेर्दा भुटान केही सुधारिएको छ । यद्यपि स्तरको हिसाबमा नेपाल यी दुईभन्दा धेरै माथि छ । सेमिफाइनलमा अर्को समूहबाट कुन टोली आउँछ भन्न सकिने अवस्था छैन । त्यसैले पनि समूहको दुई खेलबाट आफ्नो उत्कृष्ट ११ तयार पारेर जुनसुकै टोली सामना गर्न नेपाल तयार हुनुपर्छ । टोलीमा भएको अभावलाई खेलाडीले मैदानभित्र प्रभाव जमाएर प्रशिक्षकको रणनीतिमा खरो उत्रनुपर्छ ।

नेपाली टोली :

गोलरक्षक – एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ

डिफेन्डर – हिराकुमारी भुजेल, अमृता जैसी, गिता राना, पुनम जर्घा मगर, निशा थोकर, समिक्षा घिमिरे, विमला विके

मिडफिल्डर– विमला चौधरी, मन्जली कुमारी योन्जन, प्रिती राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी

फरवार्ड– अमिशा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ

January 7, 2025

गोर्खा ब्वाइज फर्साटिकर कपको क्वाटरफाइनलमा

सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी १२ औं फर्साटिकर कप–२०८१ मंगलवार बुटवलको गोर्खा ब्वाइज क्लब विजयी हुँदै अन्तिम आठमा प्रवेश गरेको छ । फर्साटिकर युवा क्लबको आयोजना सञ्चालित प्रतियोगिताको चौथो दिन समूह ‘बी’ मा गोर्खा ब्वाइजले पाल्पा न्यु युथ युनियनलाई ३-१ ले पराजित गरेको हो । गोर्खा ब्वाइजका मनिष तामाङले २ र अनुज गैरेले १ गोल […]

January 7, 2025

पुलिस शीर्षस्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई २-०ले हराउँदै लिगको शीर्षस्थानमा उक्लिएको छ। ३ खेलमा पुलिसको ७ अंक पुगेको छ। एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले आठौं मिनेटमा अग्रता बनायो। बिर्सना चौधरीको पासमा कप्तान नीरू थापाले चेस्ट कन्ट्रोल गरेर हानको भलि प्रहार गोलमा परिणत भयो। पहिलो जितको […]

January 7, 2025

प्रधानमन्त्री ओलीद्वारा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियन च्याम्पियन्सिप कराते र काभा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कृत गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयद्वारा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल सरकार, मन्त्रिपरिषद्को मंसिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको […]

Success

Thank you for your time.