2 years ago
July 31, 2022
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू–२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले आज प्रतियोगिताको साविक विजेता भारतको सामना गर्दैछ । नेपाल लगातार तेस्रो जित दर्ता गर्दै फाइनलमा पुग्ने लक्ष्यमा रहँदा भारत त्यसमा तगारो बन्न चाहन्छ ।
भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपाल र भारतबीच खेल साँझ ७:१५ बजे सुरु हुनेछ । त्यसअघि दिउँसो ४:१५ बजे माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् । श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ भने माल्दिभ्सको अंक गणितीय सम्भावना जीवित छ ।
सानदार सुरुवात गरेको नेपाल घरेलु टोली भारतलाई रोक्दै फाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । भारतलाई हराउन सके नेपाल एक खेल बाँकी छँदै फाइनलमा पुग्नेछ । नेपालको जितले भारतको फाइनल पुग्ने सम्भावना पनि बन्द हुनेछ । नेपाल र भारतको खेल बराबरी भएको अवस्थामा पनि नेपाल फाइनल पुग्ने सम्भावना रहन्छ तर त्यसका लागि नेपालले अन्तिम खेलमा बंगलादेशलाई हराउनुपर्ने हुन्छ वा भारतको नतिजा कुर्नुपर्छ । भारतले नेपाललाई पराजित गरेको अवस्थामा भने नेपाल र बंगलादेशको खेल सेमिफाइनल सरह हुनेछ । फाइनल समिकरणका लागि अन्य खेलको नतिजा पनि हेर्नुपर्ने हुन्छ ।
भारत च्याम्पियनसिपको साविक विजेता हो भने नेपाल सबैभन्दा सफल टोली हो । त्यसैले यी दुई टोली एकआपसमा भिड्दा खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । जुनसुकै स्तरको खेल भएपनि नेपाल र भारतबीचको खेल सबैका लागि विशेष हुने गर्दछ ।
भारत पहिलो खेलमा बंगलादेशसँग २–१ ले पराजित हुँदा दोस्रो खेलमा श्रीलंकालाई ४–० ले पराजित गर्दै जितको लयमा फर्किएको छ । नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ४–० र बुधबार भएको खेलमा श्रीलंकालाई ३–० ले हराएको थियो ।
नेपालले दुई खेलमा ७ गोल गर्दा एक गोल पनि बेहोरेको छैन । मनग्य नकर्मी र कृतिश रत्न छुन्जुले समान दुई तथा कप्तान आयुष घलान, दिपेश गुरुङ र सुगम सुवालले समान एक गोल गरेका छन् ।
खेलको अघिल्लो दिन प्रशिक्षक केसीले नेपाली टोली योजना बनाएर आएकाले अन्य खेलजस्तै भारतको खेलका लागि पनि तयार रहेको बताए । ‘नेपालबाट आउँदा नै हामी सबै ४ टोलीसँग खेल्न आएका हौं । नेपाल हुँदा नै हामीलाई तेस्रो खेल भारत र चौथो बंगलादेशसँग खेल्ने भन्ने थाहा थियो । हाम्रो टिमले एकजुट भएर मिहिनेत गरेको छ,’ उनले भने, ‘त्यो अनुसार प्रदर्शन हुनेमा ढुक्क छु । हामी विना योजना आएको पनि होइन । त्यसैले सबै चार टिमलाई बलियो प्रतिस्पर्धीको रुपमा लिएको छु र सबैलाई हराउने गरी मिहिनेत गर्नुपर्छ ।’
यसअघि यू-१९ र यू-१८ शीर्षकमा भएको यस प्रतियोगिताको सुरुवाती दुई संस्करण नेपालले जितेको थियो । तेस्रो संस्करणमा भने नेपाल समूह चरणबाट नै बाहिरिएको थियो । प्रशिक्षक केसी उमेर समूहमा सबै टोली उस्तै रहेको बताउँछन् । ‘उमेर समूहमा दक्षिण एसियाको सबै टोली उस्तै छन् । कहिलेकाहीं तलमाथि देखिने हो । खास फरक छैन,’ उनले भने ।
फुटबलमा भारतसँग नेपालको खेल प्रतिस्पर्धात्मक रहने गर्छ । सिनियर फुटबलमा भारत हावी भएपनि उमेर समूहमा भने मिश्रित नतिजा आउने गरेको छ । यसपटक नेपालसामु फाइनलमा स्थान पक्का गर्ने अवसर त छ नै, भारतको लागि प्रतियोगितामा कायम रहन थप दबाब छ । प्रशिक्षक केसी समर्थकका लागि खेल विशेष रहेपनि टिमका लागि अर्को एउटा खेल रहेको बताउँछन् ।
‘भारतसँगको खेलमा हाम्रो लागि साँध जोडिएको हुनाले समर्थकले केही विशेष रुपमा हेर्नुहुन्छ । वहाँहरुको चाहना पनि त्यही अनुरुपको हुन्छ,’ केसीले थपे, ‘हामीले फुटबलमा आफूले जानेको सिकेको खेलमा प्रयोग गरेर विपक्षीलाई हराउने प्रयास गर्छौं । अरुले के सोच्छ भन्दापनि हामीले राम्रो प्रदर्शनका साथ जित हासिल गर्न चाहन्छौं ।’
नेपालले यस खेलका लागि तीन दिन विश्राम पाएको थियो । तर खेलको अघिल्लो दिन शनिबारको प्रशिक्षणमा टोलीका दुई महत्त्वपूर्ण खेलाडी कृतिश रत्न छुन्जु र सुगम सुवालले प्रशिक्षण गरेनन् । सामान्य ज्वरोका कारण उनीहरु विश्राममा थिए । प्रशिक्षक केसीले भारतविरुद्ध खेलअघि कुनै चोटको समस्या नरहेको बताए । ‘हामी भारत आएदेखि नै टिममा चोटको कुनै समस्या छैन । तुलनात्मक रुपमा गर्मी छ तर खेलाडी भएपछि गर्मी सहनु पर्छ । हामी नेपालबाट हिडेको अवस्थामा नै अहिले पनि छौं,’ उनले भने ।
भारतका मुख्य प्रशिक्षक सणमुगम वेन्कटेशले अबका सम्पूर्ण खेल महत्वपूर्ण रहेको बताएका छन् । उनले नेपालसँग पनि जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिने बताएका छन् । ‘अब हामी पछाडि फर्केर निराश हुनुहुन्न, बंगलादेशसँगको खराब नतिजा हामीले बिर्सिनुपर्छ । हामीले श्रीलंकासँगको खेलमा उत्कृष्ट प्रदर्शन गरेका हौं । यो खेल हाम्रो लागि निकै महत्वपूर्ण थियो,’ उनले भने, ‘अब हामी नेपालको सामना गर्न पूरा तयार छौं । त्यहीअनुसार तयारी गरेका छौं । नेपालमाथि जित निकाल्छौं भन्नेमा विश्वस्त छु ।’
नेपालविरुद्ध पनि आफूहरूले उत्कृष्ट रणनीति बनाउँदै जित्नकै लागि मैदानमा उत्रने उनको भनाइ छ । ‘नेपालसँगको खेलपछि भारतले मंगलबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । यी दुवै खेलमा जित निकाल्ने तरिकाले खेल्नुपर्छ,’ उनले थपे ।
राउन्ड रोविन लिगको तीन चरणको खेल जारी रहँदा बंगलादेश तीन खेलमा तीन जितसहित ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । नेपाल दुई खेलमा दुई जितसहित ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । भारत दुई खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहँदा माल्दिभ्स र श्रीलंकाले अंकको खाता खोल्न सकेका छैनन् । श्रीलंका भने बाहिरिएको छ ।
नेपाले राउन्ड रोविन लिगको अन्तिम खेलमा मंगलबार बंगलादेशको सामना गर्नेछ । राउन्ड रोविन लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि २० साउनमा प्रतिस्पर्धा गर्नेछन् ।
December 19, 2024
हिमाल खरेल, बिर्तामोड कप्तान अञ्जन विष्टको ह्याट्रिकको एनआरटी झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले बिहीवार काठमाडौं जिल्ला लिग विजेता चित्लाङ एफसीलाई ५-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । योसँगै जारी प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । खेलको १३ औं मिनेटमा एनआरटीले अग्रता लियो । कप्तान […]
December 19, 2024
एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]
December 19, 2024
एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं मिनेटमा पोस्टको […]