default_image

3 years ago

July 17, 2022

एन्फा सिइओ नियुक्तीको प्रस्ताव पेचिलो बन्ने सम्भावना !

221 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ कार्यसमिति निर्वाचित भएको झण्डै एक महिनामा सोमबार दोस्रो बैठक बस्दैछ । असार ६ को निर्वाचन पछि असार ९ गते बसेको बैठकले महासचिव, कोषाध्यक्ष र वैदेशिक विभाग प्रमुख नियुक्त गरेको थियो । हतारमा गरिएको नियुक्तीका बारेमा कार्यसमिति पदाधिकारी नै असन्तुष्ट रहेको सार्वजनिक भइसकेको छ ।

यस्तो पृष्ठभूमिमा सोमबारका लागि तय बैठकमा विविध बाहेक १७ वटा एजेण्डा छन् । महासचिव किरण राईले असार २४ गते विविधसहित १२ बुँदे एजेण्डा पदाधिकारी र सदस्यहरुलाई इमेलमार्फत पठाएका थिए । पछि उपाध्यक्षद्वय दीपक खतिवडा एउटा र दीर्घबहादुर (कुमार) केसीले ५ वटा एजेण्डा थप गर्न माग गरेपछि एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ त्यसलाई बैठकमा प्रस्तुत गर्न तयार भएका छन् । त्यसैका आधारमा सोमबार छलफल हुने महासचिव राईले यसअघि नै बताइसकेका छन् ।

उपाध्यक्ष खतिवडाले एन्फाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) र प्रवक्ता नियुक्तीको एजेण्डा थप गर्न माग गरेका थिए । खतिवडाले निर्वाचन अघि कै सहमतिका आधारमा एसियाली फुटबल महासंघ (एएफसी) का पूर्व कर्मचारी गौरव थापालाई सिइओ र प्रवक्तामा एन्फाको पूर्व केन्द्रिय सुरेश शाहको नाम आफूले प्रस्ताव गर्ने बताएका छन् ।

गौरव भ्रष्टाचार अभियोगमा फिफाबाट प्रतिबन्धमा परेका एन्फाका पूर्व अध्यक्ष गणेश थापाका छोरा हुन् । एएफसीमा लामो समय गरेको कामको अनुभवकै आधारमा गौरवको नाम प्रस्ताव गर्न लागेको खतिवडाले प्रष्ट पारेका छन् । ‘उहाँले एएफसीमा लामो समय विभिन्न भूमिकामा रहेर काम गर्नु भएको थियो ,’ खतिवडाले भने,‘ त्यो अनुभव नेपाली फुटबलमा लगाउन सके त्यसले फुटबल विकासमा टेवा पुग्नेछ । उहाँलाई प्रस्ताव गर्नुको मुख्य कारण अनुभव नै हो । अन्य कुनै कारण छैन ।’

थापाकै कार्यसमितिमा केन्द्रिय सदस्य रहेका शाह लामो समयदेखि फुटबलमा आबद्ध रहेकाले प्रवक्तामा प्रस्ताव गर्ने खतिवडाले बताए । खतिवडाले अनुभवकै आधारमा प्रस्ताव गर्न लागेको भनिएपनि निर्वाचनमा सहयोग गरेकै कारण थापाले छोरालाई सिइओ बनाउन दबाब बढाएको बताइएको छ । एन्फाले सुरुमा एजेण्डामा समावेश नगरेपछि खतिवडाले सिइओ र प्रवक्ताको एजेण्डा थप्न माग गरेका थिए ।

खतिवडा अध्यक्ष नेम्बाङकै प्यानलबाट उपाध्यक्ष निर्वाचित भएका थिए । सोही प्यानलबाट निर्वाचित उपाध्यक्ष दावा लामाले भने सिइओ नियुक्तीका लागि हतार गर्न नहुने तर्क गर्छन् । ‘हामीले पहिलो बैठकमै हतारमा गरेको निर्णय विवादित बनेको छ । कुनै पनि नियुक्ती वा महत्त्वपूर्ण विषयमा गम्भिर छलफल गरेर मात्र निर्णयमा पुग्न पर्दछ,’ उनले भने,‘ हतारमा गरिने निर्णयले विवादमा बढाउने काम गर्छ । हामीले फुटबल विकासका लागि काम गर्ने हो न कि कसैको नियुक्तका लागि मात्र । एन्फाले अन्य थुप्रै विषयमा महत्वपूर्ण लिनुपर्नेछ ।’

खतिवडाको प्रस्ताव पेचिलो बन्ने सम्भावना पनि देखिएको छ । गौरव थापालाई सिइओ र सुरेश शाहलाई प्रवक्ताका रुपमा प्रस्तुत गर्ने तयारी भइरहेको आफूले पनि सुनेको उल्लेख गर्दै लामाले भने,‘ मसँग भने यो विषयमा कुनै छलफल भएको छैन । गौरव क्षमतवान होलान् । उनलाई फुटबलमा काम गरेको अनुभव पनि होला । त्यसको हामीले सम्मान गर्छौ । तर, त्यो भन्दैमा हतारिएर नियुक्त गर्नुपर्छ भन्ने छैन । बृहत छलफल र तयारीपछि मात्र नियुक्त गर्नुपर्छ । नभै हुँदैन भनेर दबाब दिने अवस्था बन्यो भने नोट अफ डिसेन्ट लेख्छु ।’

लामाले सिइओमा गौरव थापा नै किन भन्ने प्रश्न पनि गरेका छन् । ‘गौरवको अनुभव होला । तर सिइओका लागि अरु पनि क्षमतावान व्यक्ति नेपालमा हुन सक्छन् । पदपूर्ती समिति गठनको लागि पहिले नै एजेण्डा सेट भइसकेको छ,’ उनले थपे,‘ समिति गठन गरौं । त्यसले सिइओको लागि खुला आव्हान गरोस् । त्यसमा गौरव पनि इच्छुक हुन् भने दर्खास्त हाल्न सक्छन् । गणेश थापाको छोरा भएकै कारण नियुक्त दिनु पर्ने वा उनकै छोरा भएर दिन नहुने भन्ने केहि छैन । नेपालको फुटबल विकास महत्त्वपूर्ण हो । कसैको पनि नियुक्ती विधि र नियमसंगत हुनुपर्दछ ।’

उपाध्यक्ष लामाले फुटबलमा काम गर्न चाहनेले स्वयंसेवकका रुपमा पनि केहि समय काम गर्नुपर्नेमा जोड दिएका छन् । ‘एन्फाको आर्थिक अवस्था सन्तोषजनक छैन । त्यो सबैलाई थाहा छ । त्यसमा आर्थिक भार पर्नेगरि अहिले हतारिनु उपयुक्त हुँदैन’, उनले भने,‘ फुटबलमा काम गर्न चाहनेले छ महिना वर्ष दिन स्वयंसेवकको रुपमा काम गर्न आव्हान गर्नुपर्ने देख्छु । अनि भविष्यमा तिनैमध्येबाट क्षमतावानलाई नियुक्त गर्न पनि सकिन्छ नि ।’

सात वर्षअघि फिफाले गणेश थापामाथि छानविन थालेपछि गौरवले एएफसीबाट राजीनामा गरेका थिए । एएफसीका पूर्व अध्यक्ष मोहम्मद विन हामामले गौरवकै खातामा १ लाख अमेरिकी डलर पठाएको छानविनमा खुलेको थियो । पछि फिफाले त्यसलाई र अर्को आर्थिक कारोवारलाई आधार मानेर गणेश थापालाई भ्रष्टाचारको अभियोग लगाएको थियो ।

फिफाले उनलाई २१ लाख रुपैयाँ जरिवानासहित १० वर्षको प्रतिबन्ध लगाएको थियो । अहिले पनि उनको प्रतिबन्ध अवधि जारी छ । एन्फाको पछिल्लो निर्वाचनमा थापा खुला रुपमा नदेखिएपनि नेम्बाङ प्यानललाई जिताउन सक्रिय रहेको सोही समूहबाट विजयीहरुले स्विकारेका छन् ।

निर्वाचनको महिना दिन नपुग्दै एन्फामा तीन वटा गुट रहेको चर्चा सुरु भएको छ । जसमा अध्यक्ष नेम्बाङ, पूर्व अध्यक्ष थापा र निर्वतमान कर्मा छिरिङ शेर्पा समूह रहेको बताइन्छ । उपाध्यक्ष लामा भने निर्वाचन अघि समूह बन्नुलाई स्वभाविक मान्दै भन्छन्, ‘विचार मिल्ने सबै एकै ठाँउमा हुनु स्वभाविक हो । तर निर्वाचन पछि हामी सबै एउटै कार्यसमितिमा छौं । देशको फुटबलको हितमा काम गर्ने हो । कुनै समूहको पृष्ठपोषण गर्ने छुट छैन । हिजो जे कुराको विरोध गरेर हामी आयौं आज आफै गर्ने हो भने हामीमा के अन्तर रह्यो र ?’

एन्फाको कार्यसमितिले पूर्णता नपाउँदै महत्वपूर्ण निर्णय हुने सम्भावना छ । २१ मध्ये २ खुला सदस्यको पुनः निर्वाचन गर्न बाँकी रहेको छ । असार ६ गते भएको निर्वाचनबाट अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, २ महिलासहित १३ सदस्य निर्वाचित भएका थिए । खुला सदस्यमा बाँकी २ सदस्यका लागि ४ जना मत बराबर भएपछि त्यसको निर्वाचन विशेष साधारण सभामा गरिने एन्फाले जनाएको थियो ।

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

March 12, 2025

च्याम्पियन्स लिग- बार्सिलोना क्वाटरफाइनलमा

एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]

Success

Thank you for your time.