default_image

3 years ago

June 2, 2022

ललित स्मृति यू-१८ नहुँदा पुस्ता नै विलय

189 views

0 Bookmark

उत्सव शाक्य, काठमाडौं

उमेर समूहमा पछिल्लो समय नेपालको प्रदर्शन सम्झनलायक छैन । कुनै समय एएफसी छनोट पार गरेर अन्तिम प्रतियोगिता खेल्दै आएको नेपाली टोली अहिले उमेर समूहको छनोट प्रतियोगितामा गोल गर्न नै संघर्षरत छ । घरेलु फुटबलमा उमेर समूहका प्रतियोगिता नहुनु नै त्यसको मुख्य कारण हो भन्नेमा सायदै दुइमत होला ।

एन्फाले केहि वर्षअघिसम्म कोका कोलाको मुख्य प्रायोजनमा अन्तर विद्यालय राष्ट्रिय स्तरको प्रतियोगिता गर्दै आएको थियो । त्यसपछि २०७५ सालमा नयाँ कार्यसमिति आगमनसँगै क्विक्सको प्रायोजानमा प्रतियोगिता भव्य आयोजना भयो । तर पछिल्ला तीन वर्षयता भने आयोजना हुन सकेको छैन । कोरोना महामारीकै कारणले अन्तर विद्यालय प्रतियोगितासँगै ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता पनि आयोजना भएको छैन ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मा कार्यवाहक अध्यक्ष रहँदा निधन भएपछि ललित कृष्ण श्रेष्ठको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको थियो । २०७२ साल जेष्ठ ३० गते भैंसीपाटी स्थित नवनिर्मित निवासमा बिजुलीको झट्का लागेर उनको स्वर्गारोहण भएको थियो । नेपाली फुटबलमा उनले पुर्याएको योगदानको सम्मान गर्दै पहिलो वार्षिक पुण्य तिथिमा तत्कालिन अध्यक्ष नरेन्द्र श्रेष्ठको कार्यसमितिले प्रतियोगिता गर्ने निर्णय गरेको थियो ।

ग्रासरुट फुटबलको विकास गर्ने योजनाका साथ ‘ए’ डिभिजन क्लबको यु-१८ टोलिले सहभागी गराउदै ललित स्मृति यु-१८ फुटबल प्रतियोगिता संचालन भएको थियो । सो प्रतियोगिता नेपालको एक मात्र अधिकारिक क्लब स्तरको उमेर समूह फुटबल प्रतियोगिता हो । दशकअघि नेपाल बैंकको प्रायोजानमा यू-१४ उमेर समूहको प्रतियोगिता पनि भएको थियो । तर त्यसले पनि निरन्तरता पाएन ।

२०७३ सालमा भएको पहिलो संस्करणको ललित स्मृति यु-१८ फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लुम्बिनी फुटबल क्लबलाई टाई ब्रेकरमा ३-१ ले हराउँदै विजयी भएको थियो । त्यसबेला २०७२ सालको राष्ट्रिय लिगमा सहभागी टोलीले यु-१८ टिम निर्माण गरेर प्रतियोगिता खेलेका थिए ।

त्यसैगरि २०७४ सालमा भएको दोस्रो संस्करणको प्रतियोगितामा आर्मी उपाधि रक्षा गर्न सफल भयो । हाल राष्ट्रिय टोलीको मिडफिल्डमा देखिने एरिक विष्टले फाइनलमा संकटा क्लबविरुद्ध गरेको सानदार फ्रिकिक मार्फत गोल उपाधि दिलाउन निर्णायक सावित भयो ।

२०७५ र २०७६ मा भएको तेस्रो तथा चौथो संस्करणमा ब्रिगेड बोइज क्लबले क्रमश: विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबलाई समान १-० ले हराउँदै उपाधि पक्का गर्यो । त्यसयता ललित स्मृति यु-१८ फुटबल प्रतियोगिता हुन सकेको छैन ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को कारण देखाउँदै एन्फाले प्रतियोगिता संचालन गरेको छैन । हाल कोभिड-१९ को रोकथाम केहि हदसम्म भइसकेको र नेपालमा अन्य सबै फुटबल गतिविधिहरु संचालनमा आइसके पनि सो प्रतियोगिता संचालनको कुनै पनि संकेत एन्फाले दिएको छैन । एन्फा निर्वाचन नजिकिंदै जाँदा एन्फामा फुटबल गतिविधिमा खासै ध्यान जान सकेको छैन ।

एन्फाका लिग निर्देशक संजिव मिश्र एन्फा कार्यसमितिको निर्देशन र क्लबले चाहने हो भने प्रतियोगिता संचालन गर्न सकिने बताउँछन् । ‘लिग समितिबाट हामी तयार छौं भन्नुपर्छ । सामान्यतया प्रतियोगिता जेष्ठ अन्तिम सातामा हुने हो । अहिले एन्फा र क्लब दुवै निर्वाचनको माहोलमा रहेकाले तयारी हुन नसकेको होला । हामी लिग समिति भने एन्फा र क्लब तयार हुन्छ भने प्रतियोगिता गर्न सक्ने अवस्थामा छौं,’ उनले जानकारी दिए ।

सन् २०२० मा एसियाली फुटबल महासंघले एन्फालाई ग्रासरुट फुटबलमा गरेको गतिविधिको प्रशंसा गर्दै एएफसी ग्रासरुट चार्टरको कास्य सदस्यता प्रदान गरेको थियो । जिल्ला स्तरमा ग्रासरुट क्याम्प संचालन गर्ने घोषणा र सुरुवाती कार्यान्वयन गरेको एन्फाले त्यसयता ठोस ग्रासरुटका कार्य सन्चालनमा ल्याएको छैन । ग्रासरुट विकासलाई लक्षित गरेर आयोजना गरिएको एकमात्र आधिकारिक प्रतियोगिता पनि हुने नहुने अन्योलमा छ ।

एन्फाले गत साता मात्र यु-२० साफ च्याम्पियनसिप र यु-२० एएफसी प्रतियोगितामा सहभागी हुन जेष्ठ २० गते देखि खेलाडी छनोट कार्यक्रमको आयोजना गरेको छ । यू-१८ लिगको लागि समयमा तयारी सुरु हुन्थ्यो भने यस प्रतियोगिताका लागि पनि खेलाडी छनोट गर्ने आधार बन्न सक्थ्यो । एक पटकलाई प्रतियोगिताको स्वरूप परिवर्तन गर्ने विकल्प पनि रहन सक्थ्यो । तर अहिलेको अवस्थामा युवा फुटबल लक्षित प्रतियोगिता शुन्य छ ।

धेरै युवा खेलाडीले आफ्नो योग्यता देखाउने र आफ्नो व्यावसायिक फुटबल जीवन सुरु गर्न मद्दत पुर्याउने ललित स्मृति यू-१८ प्रतियोगिता बारे एन्फाको कुनै चासो देखिएको छैन । एन्फा नेतृत्व अहिले चुनावी माहोलमै रमाइरहेको देखिन्छ । यु-१८ टोली हुँदै शीर्ष डिभिजन लिग खेलेका र राष्ट्रिय टोलिमा समेत स्थान बनाएका खेलाडीको संख्या पनि प्रशस्त छ ।

कुनै समय एन्फा एकेडेमीकै खेलाडीमा भर परेको घरेलु फुटबल क्लबलाई ललित स्मृति प्रतियोगिताले खेलाडी छनोटको विकल्प दिएको थियो । अहिले भने एन्फाको वेवस्ताले फुटबल विकासमा मद्दत पुर्याउने उक्त प्रतियोगिता र यू-१८ उमेर समूहको एक पुस्ता नै आफ्नो कौशल देखाउनबाट बन्चित भएको छ ।

December 19, 2024

लिभरपुल,आर्सनल र न्युक्यासल सेमिफाइनलमा

एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्‍यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]

December 19, 2024

रियल म्याड्रिडले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं‌ मिनेटमा पोस्टको […]

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

Success

Thank you for your time.