default_image

3 years ago

April 5, 2022

‘सामूहिक प्रयास’ मा चर्च ब्वाइजको ए डिभिजन यात्रा

301 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

सामाजिक क्लबका रुपमा २०६६ सालमा स्थापना भएको चर्च ब्वाइज युनाइटेड ‘बी’ डिभिजनको च्याम्पियन बन्दै ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ । सी डिभिजन छनोट खेलेको २ वर्षमै चर्च ब्वाइज ए डिभिजन श्रेणीमा उक्लिएको हो ।

‘सी’ डिभिजनमा उक्लेकै सिजन बी डिभिजनमा बढुवा भएको चर्च ब्वाइजले यस सिजन उत्कृष्ट प्रदर्शन गर्दै २ खेल बाँकी रहँदै बढुवा पक्का गरेको हो । १२ औं खेलमा बाँसबारीमाथि फराकिलो जित दर्ता गरेपछि चर्च ब्वाइजले उपाधिसहित ‘ए’ डिभिजनको यात्रा तय गरेको हो । त्यसो त ‘सी’ डिभिजनमा उक्लन भने टोलीले ५ पटकको प्रयासपछि मात्र सफल भएको थियो । तीन पटक त टोली छनोटको सेमिफाइनलमा नै रोकिएको थियो ।

‘सी’ छनोट खेल्नुअघि नै टोलीले मोफसलको गोल्डकपमा भने आफ्नो पहिचान बनाइसकेको थियो । पूर्वमा हुने स्थानीय देखि राष्ट्रिय स्तरको गोल्डकपमा सहभागी भएका अधिकांशमा फाइनल पुग्ने चर्च ब्वाइजले आधा भन्दा बढीमा उपाधि जितेको छ । अध्यक्ष रुवेन राईका अनुसार मोफसलका ६० जति प्रतियोगिता खेल्दा झन्डै ३ दर्जन उपाधि टोलीले जितिसकेको छ ।

क्लबका संस्थापक अध्यक्ष समेत रहेका राई क्लबको स्थापनाकालदेखि नै टोलीमा आबद्ध छन् । उनी आफैं टोलीको व्यवस्थापन हेर्दै आएका छन् । हाल १६ सदस्यीय कार्यसमितिले वार्षिक शुल्क उठाएर क्लब संचालन गर्दै आएका छन् । यसबाहेक क्लबले स्वेच्छिक व्यक्तिगत अनुदान पनि लिने गरेको छ । पछिल्लो समय विभिन्न कर्पोरेट हाउसले पनि प्रायोजन गर्दै क्लबको आर्थिक अवस्था बलियो हुँदै गएको अध्यक्ष राई बताउँछन् ।

‘हामीले सुरुवातमा व्यक्तिगत सदस्यबाट शुल्क उठाएर संचालन गरेका हौं । मोफसलका प्रतियोगितामा पुरस्कार जितेको रकम पनि टोलीमा नै खर्चन थाल्यौं । डिभिजन लिग खेल्न थालेपछि प्रायोजन पनि पाउन थालेका छौं । अब ‘ए’ डिभिजन पुगेपछि केहि कर्पोरेट हाउसबाट सहयोग गर्ने भन्नुभएको छ,’ राईले सुनाए ।

क्लबले ‘ए’ डिभिजनसम्म यात्रा गर्दा ४ खेलाडी भने सी डिभिजन छनोटदेखि लगातार टोलीको साथमा रहे । कप्तान सनम राईसँगै डिफेन्डर अनोश मगर, मिडफिल्डर साइमन लिम्बु र फरवार्ड कुवेर न्यौपाने ‘सी’ डिभिजनमा छनोट गर्दादेखि नियमित टोलीमा छन् । यसपटक यी चारले नियमित खेल्दै क्लबको बढुवामा महत्त्वपूर्ण भूमिका निर्वाह गरे । यसबाहेक क्लबले ‘ए’ डिभिजन अनुभव बोकेका योगेश गुरुङ, विवेक पौडेल, विकास थुलुङ र अनिल धामीलाई क्लबमा अनुबन्ध गर्यो ।

यसै सिजन क्लबले अनुबन्ध गरेका आशिष चापागाईले पनि आक्रमणमा निर्णायक भूमिका खेले । उनले झापाको स्थानीय प्रतियोगिता र भारतको गोल्डकपमा गरेको प्रदर्शनबाट प्रभावित भएर अनुबन्ध गरेको राईले जानकारी दिए । राईले खेलाडी अनुबन्धमा क्लबलाई निरज बस्नेतले ठूलो सहयोग गरेको बताए ।

‘यो सामुहिक प्रयासले नै सफल भएको हो । निरज भाइ (बस्नेत) ले टोली बनाउन निकै मिहिनेत गरेका छन् । डिभिजनमा खेल्दा मात्र होइन मोफसलदेखि नै टोली निर्माणमा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरे,’ राईले सुनाए । मोफसलका प्रतियोगितामा निरज आफैंले पनि क्लबका लागि उपाधि जितेका छन् ।

संकटा क्लबबाट ‘ए’ डिभिजन लिग खेलेका निरज गत महिना न्युजिल्यान्ड प्रस्थान गरे । उनी क्लबको सुरुवाती खेलहरुमा मैदान नै पुगेर टोलीको समर्थन गरिरहेका थिए । न्युजिल्यान्ड पुगेपछि पनि उनी सामाजिक संजालमा क्लबबारे नै लेखिरहेका भेटिन्छन् ।

राईले क्लबको प्राविधिक पक्षमा विक्रम लामाको साथको पनि खुलेर प्रशंसा गरे । ‘विक्रमले सुरुवातदेखि नै प्राविधिक पाटो हेर्दै आएका छन् । उनले टोलीको प्रशिक्षण हेर्ने र प्रशिक्षण टोलीलाई नै एकसाथ बनाए । यसपटक पनि टोलीको सुरुवातदेखि नै उनी हामीसँग थिए,’ अध्यक्ष रुवेनले भने । प्रशिक्षणमा कविराज राई र रमेश दंगाल टोलीसँग यसै सिजन आबद्ध थिए । त्यसअघि संजिव बुढाथोकी क्लबको प्रशिक्षकका रुपमा थिए । उनी जिल्ला फुटबल संघमा आबद्ध भएपछि क्लबले विकल्प खोजेको थियो ।

चर्च ब्वाइज नाम भएपछि धर्मसँग जोडेर हेर्नेको संख्या पनि छ । मछिन्द्र, बौद्ध, सरस्वती जस्तै क्लबको नाम धर्म नभएर विशुद्ध फुटबल विकास मात्र रहेको राईले बताए । ‘हामीले विशुद्ध फुटबल उद्देश्य बोकेर आएका हौं । चर्च ब्वाइज त नाम मात्र हो । हामी गाउँ गाउँबाट लुकेको प्रतिभालाई स्थान दिन चाहन्छौं । खेलाडीको वृत्तिविकासमा योगदान दिन चाहन्छौं,’ उनले सुनाए ।

विगतमा आर्थिक रुपमा ए डिभिजनका नवप्रवेशी क्लबलाई कठिनाई भएको विषयमा सोध्दा राईले क्लबलाई ए डिभिजनमा टिक्न कुनै समस्या नहुने बताए । ‘हामी दीर्घकालीन सोचसहित आएका हौं । हामीले जति अनुभव गरेका छौं, ए डिभिजनमा टिक्न समस्या हुँदैन । हामीसँग ए डिभिजन खेलेका र व्यवस्थापन हेरेका व्यक्ति हुनुहुन्छ । मैदान भित्र र बाहिर साथ छ,’ उनले थपे, ‘अन्य कर्पोरेट हाउसहरु पनि सहकार्य गर्न इच्छुक छन् । अहिले नै किट स्पोन्सरमा ५ लाख पायौं । आर्थिक रुपमा अन्य संस्थाले पनि साथ दिने भएको छ । आउने दिनमा आर्थिक श्रोत जोड्न सक्छौं ।’

क्लब ए डिभिजन चढ्दाका खेलाडीलाई निरन्तरता दिने प्रयास गर्ने राईले बताए । ‘हामी अहिलेका खेलाडी राख्ने प्रयास गर्नेछौं । वहाँहरुको माग अनुसार सम्बोधन गर्न सकिन्छ भने हामी पक्कै साथ रहनेछौं । अन्य क्लबबाट कस्तो प्रस्ताव आउँछ हामी खेलाडीलाई निर्णय गर्न दिन्छौं । हामी सकेसम्म माथि चढेको टोलीलाई साथ नै राख्ने प्रयास गर्नेछौं,’ उनले थपे ।

ए डिभिजनमा चढेपछि क्लबले खेलाडीका लागि एन्फासमक्ष आफ्नो भनाइ पनि राख्ने बताए । ‘मैले गरेको अध्ययन अनुसार लिग सुधार गर्न धेरै ठाउँ छ । विगतको तुलनामा यसपटक व्यक्तिगत पुरस्कार कटौती गरिएको छ । खेलाडीको हौसला बढाउने पक्षलाई घटाउने होइन, बढाउनु पर्छ । खेलाडी प्रोत्साहन गर्न थप योजना ल्याउनुपर्छ । खेलाडी र फुटबल विकासका लागि हामीले आफ्नो भनाइ निरन्तर राख्नेछौं,’ उनले प्रष्ट पारे ।

सामुहिक प्रयासले ए डिभिजन पुगेको क्लबले आउने दिनमा यसै अनुरुप अघि बढ्ने प्रतिवद्धता राईले सुनाए । ‘यो एकल प्रयासले सम्भव कुरा होइन । जसरी खेलाडी छनोट, व्यावस्थापन र प्रशिक्षणमा तालमेल थियो, यसैलाई निरन्तरता दिनेछौं । आर्थिक पक्षमा पनि हामीलाई सहयोग आउने विश्वास छ । ए डिभिजनमा पनि हामी आफ्नो स्तर देखाएर निरन्तर खेल्न चाहन्छौं,’ अध्यक्ष राईले टुंग्याए ।

February 24, 2025

रियल म्याड्रिडको जित

एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल‌ जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]

February 23, 2025

‘लयमा फर्कदै छु’- साम्बा

काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित।‌ साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]

February 23, 2025

फाइनल अघि नेपालले म्यानमारलाई बराबरीमा रोक्यो

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]

Success

Thank you for your time.