default_image

3 years ago

March 4, 2022

अक्सनमा पोखरा बलियो, अधिकांश विदेशीकै भरमा

275 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि शुक्रबार राजधानीमा एक कार्यक्रममाझ अक्सन सम्पन्न भयो । प्रतियोगिताको नियम अनुसार सहभागी १० टोलीले ए, बि र श्रेणीका १५-१५ खेलाडी टोलीमा अनुबन्धन गरे ।

भाग्यले साथ दिएपछि पोखरा थन्डर्सले अक्सनबाट नै बलियो टोली निर्माण गर्ने अधार बनाएको छ । शुक्रबार सम्पन्न अक्सनमा १५ नेपाली खेलाडी अनुबन्ध गर्दा पोखरा कागजमा अन्य टोलीभन्दा बलियो देखिएको छ । अक्सनको १५ खेलाडी, ५ विदेशी खेलाडी, २ ट्यालेन्ट हन्ट र एक मार्कीसहित यसपटक २३ खेलाडीसहितको टोलीले एनएसएलमा प्रतिस्पर्धा गर्नेछन् ।

एनएसएलले खेलाडीलाई ३ श्रेणीमा वर्गीकरण गरेको थियो । ए श्रेणीका खेलाडीको सुरुवाती मूल्य १ लाख ५० हजार तथा अधिकतम ३ लाख ५० हजार रुपैयाँ थियो । यसपटक ए श्रेणीको खेलाडीका लागि गोल्डेन बजर थिच्न प्रावधान पनि ल्याइएको थियो । हरेक टोलीले अक्सनका दौरान एक खेलाडीका लागि यो प्रयोग गर्न पाएका थिए । खेलाडीको नाम आउने बितिकै जुन टोलीले पहिला गोल्डेन बजार थिच्छ, त्यसै टोलीले अधिकतम मूल्य तिरेर खेलाडी अनुबन्ध गर्ने थियो ।

त्यस्तै बी श्रेणीका खेलाडीको सुरुवाती मुल्य १ लाख र अधिकतम मूल्य १ लाख ५० हजार तथा सी श्रेणीका खेलाडीले ५० हजार देखि १ लाखसम्म पाए । यसपटक ट्यालेन्ट हन्टबाट २ खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ । अक्सनपछि अनुबन्ध गर्न पाइने यस श्रेणीमा टोलीले आफ्नै क्षेत्रको मात्र खेलाडी अनुबन्ध गर्न पाउने बताइएको छ ।

समग्रमा अक्सनमा टोलीहरुको प्रदर्शन यस्तो रहयो :

भाग्यले साथ दिँदा बलियो बनेको पोखरा

पोखराले अक्सनमा एक मात्र गोलरक्षकको रुपमा अन्जल श्रेष्ठलाई १ लाख रुपैयाँमा भित्र्यायो । विदेशी खेलाडीका रुपमा गोलरक्षक अनुबन्ध गर्ने हिसाबले टोलीले यो रणनीति लिएको थियो । निकै भाग्यमानी ठहरिएको पोखराले ९ खेलाडी गोलाप्रथामा नै हासिल गरेको थियो । टोलीले गोल्डेन बजरको रुपमा अनुबन्ध गरेको दीनेश राजवंशीको लागि पनि धनगढी र झापाको चुनौतीलाई केहि मिलिसेकेन्डले पछि पारेको थियो ।

मार्की खेलाडी सुजल श्रेष्ठ र प्रशिक्षक नविन न्यौपाने सम्मिलित टेबल आफ्नो रोजाइको खेलाडी कुर्न संयमित देखियो । अन्य टोलीको तुलनामा सुरुवातमा खेलाडी कम अनुबन्धित भएपनि पोखराले आफ्नो सुचिमा रहेको खेलाडी कुर्यो । र भाग्यले पनि साथ दियो ।

टोलीले मिडफिल्डमा मणि कुमार लामा, कमल थापा मगर, रोशन राना मगर, एरिक विष्ट, जय गुरुङ र अभियान प्रधानलाई अनुबन्ध गरेको छ । डिफेन्समा दीनेश राजवंशी र छिरिङ गुरुङसँगै सनम सोदेम्बा लिम्बु, चेतन कुमार थारु र सकल रेग्मी छन् । आक्रमणमा रुमेश बर्तौला, दीपक सिंह ठकुरी, टेकबहादुर बुढाथोकी टोलीमा छन् । टोलीको समिकरण हेर्दा लेफ्ट ब्याक र सेन्टर ब्याक तथा आक्रमण कमजोर देखिन्छ । विदेशी खेलाडीका रुपमा एक गोलरक्षक, एक सेन्टर डिफेन्स र दुई फरवार्ड टोलीले अनुबन्ध गर्न सक्छ ।

टिम : अन्जल श्रेष्ठ, रुमेश बर्तौला, मणि कुमार लामा, कमल थापा मगर, रोशन राना मगर, दीनेश राजवंशी (गोल्डेन बजर), छिरिङ गुरुङ, दीपक सिंह ठकुरी, सनम सोदेम्बा लिम्बु, चेतन कुमार थारु, एरिक विष्ट, अभियान प्रधान, जय गुरुङ, टेकबहादुर बुढाथोकी, सकल रेग्मी

सन्तुलनको खोजीमा विराटनगर

दीप कार्कीलाई गोल्डेन बजर दबाएर अनुबन्ध गरेको खुसीले नै विराटनगर सटिक लक्ष्यसहित अक्सनमा आएको आँकलन गर्न सकिन्थ्यो । तर गत संस्करणझैं यसपटक भाग्यले साथ नदिँदा टोली खासै खुसी हुने अवस्था छैन । गत सिजन अक्सनबाट नै उत्कृष्ट टोली निर्माण गरेको विराटनगरले विदेशी खेलाडी थप्दै बलियो प्रदर्शन गरेको थियो । तर प्लेअफ पनि पुग्न सकेको थिएन ।

यसपटक विष्णु गुरुङलाई क्लबमा भित्र्याएको विराटनगरले संकटाबाट वैकल्पिक गोलरक्षक रोहित कार्कीलाई मात्र लियो । यसले पनि प्रशिक्षकभन्दा क्लबले आफ्नै रणनीतिलाई प्राथमिकतामा राखेको बुझिन्छ । ए श्रेणीबाट विसलिस्ट पुगेपछि प्रदीप लामा भित्र्याएको विराटनगरले आवास लामिछानेलाई २ लाख ६० हजार खर्चियो । अक्संमा औसत टोली निर्माण गरेपछि विदेशी खेलाडीमा धेरै जिम्मेवारी पर्ने देखिन्छ । यसबाहेक तिनै खेलाडीबाट टोलीको सन्तुलन त मिलाउनु छ नै ।

टिम : मनिष डाँगी, दीप कार्की (गोल्डेन बजर) , मिलन राई, आवास लामिछाने, सरोज तामाङ, रोहित कार्की, अन्जन राई, असोक खवास, दोर्जे तामाङ, यदु सिलवाल, बुद्धिमान राई, विजय धिमाल, प्रकाश बुढाथोकी, निरकुमार राई, प्रदीप लामा

औसत नामले बलियो वीरगंज

निकै ढिलो मार्की खेलाडी पक्का गरेको वीरगंजको अक्सनअघि कुनै चाल देखिएको थिएन । मार्कीका रुपमा आएका देवेन्द्र तामाङमाथि ठूलो जिम्मेवारी थियो र उनले प्रशिक्षक सुलभ जंग राणासँग राम्रो समन्वय गर्दै टोली निर्माण गरे । वीरगंजले नाम चलेको भन्दापनि जिम्मेवारी अनुसार खेलाडी छान्दै अनुबन्ध गरेको छ ।

गोल्डेन बजर दबाउन केहि हतार गरेको भएपनि समग्रमा वीरगंज कागजमा राम्रो निर्माण भएको छ । विदेशी खेलाडी अनुबन्धन गर्दा आक्रमणमा विशेष ध्यान दिनुपर्ने देखिएको छ । मिडफिल्डमा भने टोलीले नेपाली खेलाडीबाट नै राम्रो आधार खडा गरेको छ ।

टिम : विश्वास श्रेष्ठ, शिव गुरुङ, सुभाष गुरुङ, मानबहादुर तामाङ (गोल्डेन बजर), मनिष थापा, एकराज बुढाथोकी, टिकेन्द्र सिंह थापा, राजीव गुरुङ, सुरज जिउ ठकुरी, विमल राना, सुदीप गुरुङ, रेजिन सुब्बा, सुर्य अधिकारी, अभिषेक गुरुङ, विजय श्रेष्ठ

पुलिसकै स्वादको बुटवल लुम्बिनी

प्रशिक्षक अनन्त थापा र व्यवस्थापक रविन श्रेष्ठको उपस्थितिले होला, बुटवल लुम्बिनीले अक्सनबाट लिएका १५ मध्य ६ खेलाडी नेपाल पुलिस क्लबका नै छन् । अझ सुरुवाती ७ अनुबन्धन मध्य ४ खेलाडी पुलिसकै थिए । सुमन अर्याललाई गोल्डेन बजरमा अनुबन्ध गर्दा बाजी मारेको बुटवल त्यसपछि भने केहि सेलाएको थियो । पुलिसको पहिलो रोजाइमा पक्का नरहेका सौजन राई, कपिल ढकाल, बुद्ध बल तामाङ, अजित भण्डारी लगायत खेलाडीले टोली केहि कमजोर मान्न सकिन्छ ।

विशाल श्रेष्ठ मार्कीका रुपमा रहेको टोलीले गत सिजन औसत प्रदर्शन गरेको थियो । यसपटक गत सिजनभन्दा केहि कमजोर रहेको बुटवलले विदेशी खेलाडीमा आक्रमण सम्हाल्ने राम्रा खेलाडी अनुबन्ध गर्न जरुरि छ । दर्शन गुरुङको आगमनले केही राहत भएपनि प्रशिक्षक अनन्त थापाले पहिलो सिजनमा विशेष रणनीति बुन्नु पर्छ ।

टिम : अजित भण्डारी, सुमन अर्याल (गोल्डेन बजर), अभिषेक लिम्बु, आशिष राई, रवी पासवान, सौजन राई, कपिल ढकाल, दर्शन गुरुङ, हेमन्त थापामगर, विवश चौधरी, सरोज दाहाल, संजित श्रेष्ठ, युद्ध शाही, बुद्ध बल तामाङ, क्रितिश रत्न छुन्जु

पुजनको प्रतिक्षामा पिरोलिएको धनगढी

धनगढी एफसीले अक्सन प्रवेश गर्नुअघि नै गत सिजन टोलीमा रहेका दीनेश राजवंशी वा पुजन उपरकोटीलाई गोल्डेन बजरमा प्रयास गर्ने सोच बनाएको थियो । दीनेशलाई अनुबन्ध गर्न केही मिलिसेकेन्डले चुकेपछि पुजनका लागि प्रतीक्षामा रहेको धनगढीले लामो प्रतीक्षापछि अन्तिम गोल्डेन बजरको रुपमा उनलाई पायो । यसबीचमा थुप्रै पटक टोली गोलाप्रथामा अभागी सावित भयो ।

शिशिर लेखिलाई भित्र्याएर सुखद सुरुवात गरेको धनगढी मिडफिल्डमा पुजन र मार्की विशालको उपस्थितिले बलियो बनेको छ । गोलरक्षकमा राजु योगी भित्र्याएको धनगढीले गोलरक्षकमा विदेशी खेलाडी ल्याउने देखिन्छ । नवयुग श्रेष्ठलाई विसलिस्टबाट लिँदै आक्रमणमा नेपाली खेलाडी प्रयोग गर्ने जमर्को प्रशिक्षक युगलकिशोर राईले गरेका छन् ।

टिम : शिशिर लेखि, सिमान्त थापा, अमृत श्रेष्ठ, प्रशान्त अवस्थी, रवी थिङ, सुसान श्रेष्ठ, दिलन लोक्तान, राजु योगी, रुपेश केसी, प्रवेश कुँवर, टंक बस्नेत, पुजन उपरकोटी (गोल्डेन बजर), आकाश बुढामगर, पाल्साङ लामा, नवयुग श्रेष्ठ

अक्सनमा चिप्लिएको चितवन

अक्सन टेबलमा मार्की खेलाडीबिना उत्रिएको एकमात्र टोली चितवनले सुरुवात नै राम्रो गर्न सकेन । त्रिदेव गुरुङमाथि गल्तीले गोल्डेन बजर दबाएर ३ लाख ५० हजार रुपैयाँ तिर्दै पहिलो खेलाडी भित्र्याएको चितवनले एकै पोजिसनमा तीन खेलाडी अनुबन्ध गर्यो । टेबलमा एक आपसमा समन्वयकै कमी देखिएको चितवन हरेक खेलाडी अनुबन्धपछि निकै उत्साहित देखिन्थ्यो ।

बि श्रेणीका उत्कृष्ट मध्यका संजोक राई अनुबन्धनले केही राहत भएपनि विदेशी खेलाडीको आवश्यकता सर्वाधिक धेरै चितवनलाई नै पर्ने देखिन्छ । सबै पोजिसनमा नेपाली खेलाडी रहेकाले पनि अब टोली सन्तुलन मिलाउन प्रशिक्षण टोलीका नेता तोपे फुजालाई सहज हुने छैन ।

टिम : त्रिदेव गुरुङ (गोल्डेन बजर), अशोक बराल, लक्ष्मण रुचाल, विश्वास उदास, आयुष घलान, भुवन बस्नेत, राजन गुरुङ, संजोक राई, विशाल बस्नेत, टोप बहादुर राना, पासाङ लामा, राजबाबु थापा, प्रदीप लम्साल, जर्जप्रिन्स कार्की

बजरमा चुकेको झापा

अक्सनमा पहिलो पटक सहभागी झापा एफसीसँग यसको अनुभव लिइसकेका मार्की अन्जन विष्ट थिए । त्यसै अनुसार टोलीले स्थानीय खेलाडी र टोलीको आवश्यकता राम्रो सन्तुलन गर्दै लगेको थियो । सेसेहाङ आङदेम्बे गोलाप्रथाबाट लिएपछि झापाको टेबल हेर्दा लाग्थ्यो, टोलीले गोलपछि खुसी मनाइरहेको थियो । तर ठिक विपरित स्थिति, निशान खड्कामा गोल्डेन बजर दाबेपछि देखियो ।

लेफ्ट ब्याकका रुपमा अमित तामाङ र रन्दिप पौडेल अनुबन्ध गरेको झापाले निशान खड्काको लागि गोल्डेन बजर दबायो । झापाली खेलाडी निशान अनुबन्धनमा भने टेबलमा सबै एक अर्कालाई हेरी मात्र रहे । लगत्तै सन्तोष तामाङको अनुबन्धले त्यसमा केही मल्हम त लगायो । समग्रमा गोलरक्षकमा विदेशी खेलाडी अनुबन्ध गर्ने अवस्था देखिएको झापा राम्रो टोली बनेको छ ।

टिम : उत्सव राई, लाकेन लिम्बु, ऋतिक खड्का, अमित तामाङ, आशिष लामा, रन्दिप पौडेल, सेसेहाङ आङदेम्बे, कमल श्रेष्ठ, निशान खड्का (गोल्डेन बजर), सन्तोष तामाङ, देव लिम्बु, रन्जन विष्ट, विकि तामाङ, विपिन कँडेल, जनक कोइराला

साविक विजेताको आश्चर्यलाग्दो रणनीति

काठमाडौं रेजर्सले अक्सनको सुरुवातमा नै पछिल्लो सिजन टोलीमा रहेका आशिष गुरुङलाई ए श्रेणीमा अधिकतम रकम खर्चेर गोलाप्रथामा अनुबन्ध गर्यो । लाग्थ्यो, टोलीले आफ्नो पुराना खेलाडीलाई प्राथमिकतामा राख्यो । तर त्यसपछि अन्य टोलीले प्रयास नै नगरेका खेलाडी न्युनतम रकममा लिँदै काठमाडौंले आश्चर्यमा पार्यो ।

सुनिल बललाई गोल्डेन बजर दबाएर पुन: आक्रामक बोली लगाउने संकेत दिएको काठमाडौंको टेबल खासै चलायमान देखिएना । अक्सनमा सबैभन्दा कम बोली लगाउने टिम काठमाडौंले विदेशी खेलाडीका रुपमा आक्रमणमै ध्यान दिने देखिन्छ । कागजमा हेर्दा गत सिजनको उपाधि जोगाउन टोलीलाई कठिन हुन सक्छ ।

टिम : आशिष गुरुङ, राजीव लोप्चन, कुलदिप कार्की, पुजन होना, राजेन्द्र रावल, आशिष शाक्य, विराज महर्जन, मनिष सेडाइ, सुनील बल (गोल्डेन बजर), नरेन्द्र चौधरी, श्यामबाबु क्याप्छाकी, जगजित श्रेष्ठ, दीपक गुरुङ, सुमन लामा, रोशन पहरी

औसत खेलाडीमा घुमेको ललितपुर

विमल घर्तीमगर मार्की खेलाडीसहित आएको ललितपुर सिटीले मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाललाई टेबलमा राखेको थियो । तर ललितपुरको अधिकांश प्रयास भने औसत खेलाडीमा नै सिमित रहयो । टोलीका सबै १५ खेलाडी सुरुवाती ११ का लागि एक अर्कासँग प्रतिस्पर्धा गर्न योग्य देखिन्छन् ।

गोल्डेन बजरमा गोलरक्षक विशाल सुनारलाई अनुबन्ध गरेको ललितपुरले सनिश श्रेष्ठमाथि ३ लाख ५० हजार खर्चियो । गत सिजन टोलीमा रहेका डोना थापा, मिक्छेन तामाङ र नविन लामा पनि फिर्ता ल्यायो । मछिन्द्रको व्यवस्थापन टोलीका सदस्य रहेका ललितपुरले आन्द्रेस नियालाई अनुबन्ध गरिसकेको छ । आक्रमणमा विदेशी खेलाडी पुन: निर्णायक बन्ने देखिन्छ ।

टिम : प्रशान्त तामाङ, नविन गुरुङ, डोना थापा, दिवा उराउ, किशोर गिरि, रुप बहादुर लामा, विशाल सुनार (गोल्डेन बजर), विकास तामाङ, सनिश श्रेष्ठ, बुद्ध चेम्जोङ, विमल पाण्डे, नविन लामा, राजेश परियार, मिक्छेन तामाङ, जीवन गुरुङ

इलामेली स्टार बिनाको इलाम

अक्सनअघि नै नवयुग श्रेष्ठ खेल्ने नखेल्ने चर्चा सबैमाझ थियो । पहिलो चरणमा नवयुग अनसोल्ड गएपछि इलामले यसपटक स्थानीय भन्दा खेलाडीको योजना सहित आएको आँकलन गर्न सकिन्थ्यो । छिरिङ गुरुङ र दर्शन गुरुङ भित्र्याउने प्रयास असफल रहेपछि विवेक बस्नेत अब इलामको प्रतिनिधि रहनेछन् । टोलीले गौतम श्रेष्ठमा बजर प्रयोग गरेर उक्त पोजिसनमा भने बलियो पकड बनाएको छ ।

लयमा रहेका गोलरक्षक अभिषेक बराललाई न्युनतम रकममा पाउनु सुखद रहयो । विसलिस्टमा प्रशिक्षक मेघराज केसीसँग खेलेका निरज चौधरी छान्नुले पनि टोलीको रणनीतिमा प्रशिक्षक केसीकै बढी प्रभाव परेको प्रष्ट हुन्छ । ए डिभिजनको नवप्रवेशी सातदोबाटो युवा क्लबलाई लिगमा उत्कृष्ट सुरुवात दिलाएका मेघराज केसी यसपटक एनएसएलमा पनि सोही प्रयास दोहोर्याउन चाहन्छन् । अक्सनमा आफ्नो क्लबका मुख्य खेलाडी साथ लगेका उनले विदेशी खेलाडीमा कस्तो रणनीति चाल्छन, त्यो हेर्न बाँकी नै छ ।

टिम : दिवाकर चौधरी, विवेक बस्नेत, अशोक थापा, करण रावत, युवराज खड्का, दीपेश आले मगर, दीपेश घले, आशिष राई, निशान्त थापा, जीवन गुरुङ, गौतम श्रेष्ठ (गोल्डेन बजर), अभिषेक बराल, साजन राई, निरज चौधरी, हेमन्त श्रेष्ठ

March 30, 2025

प्यालेस र फरेस्ट एफए कपको सेमिफाइनलमा

एजेन्सी – क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्ट शनिवार एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । एबेरेची इजेको एक गोल र एक असिस्टको मद्दतमा प्यालेसले फुलहमलाई ३-० ले हरायो । अर्को खेलमा गोलकिपर माट्ज सेल्स फरेस्टका लागि नायक बने। जसले उनले ४-३ को पेनाल्टी सुटआउट जित्न दुई बचाउ गरे। ब्राइटनसँगको खेल ०-० को बराबरीमा सकिएपछि टाइब्रेकर […]

March 30, 2025

बायर्नको अर्को जित

एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]

March 30, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]

Success

Thank you for your time.