3 years ago
January 26, 2022
विजय नेपाली, पोखरा
कुमार थापा नेपाली फुटबलमा परिचित नाम हो । मनाङ मर्स्याङ्दी क्लबबाट क्लब फुटबलमा लामो समय खेल्दै थुप्रै उपाधि जितेका थापा आफ्नो समयका प्राविधिक रुपमा निपुण मिडफिल्डर मानिन्छन् । उनी राष्ट्रिय टोलीका पूर्व सदस्य पनि हुन् ।
घरेलु फुटबलका चर्चित र सफल खेलाडीमा उनी पर्छन् । मनाङमा उनको कप्तानीलाई अझै पनि स्मरण गरिन्छ । मनाङको सफल पुस्तालाई उनले नेतृत्व गरेका थिए । आहा! रारा गोल्डकपमा पनि उनको मिठो सम्झना जोडिएको छ । २०६० सालमा उनकै कप्तानीमा मनाङले आहा रारा गोल्ड कप जितेको थियो । त्यसपछि उनले खेलाडी वा कप्तानका रुपमा त्यो सफलता दोहोर्याउन पाएका छैनन् ।
कप्तानका रुपमा उपाधि जितेको झण्डै दुई दशक पछि उनले फेरि एक पटक उपाधि जित्ने अवसर पाएका छन् । तर, खेलाडीका रुपमा नभई प्रशिक्षकका रुपमा । उनी अहिले एपिएफ फुटबल क्लबका मुख्य प्रशिक्षक हुन् । ए डिभिजन क्लबको मुख्य प्रशिक्षकका रुपमा यो उनको डेब्यू सिजन पनि हो । सहिद स्मारक ए डिभिजन लिगको नवौं चरण (एक खेल बाँकी ) शीर्षस्थानका रहेको मछिन्द्र फुटबल क्लबलाई बुधबार पोखरा रंगशालामा ३–१ ले हराउँदै एपिएफ झण्डै डेढ दशक पछि फाइनल पुगेको छ । एपिएफले यसअघि २०६४ सालमा आहा राराको फाइनल खेलेको थियो ।
थापाकै भाषामा भन्ने हो भने उनले आहा राराको ट्रफी नदेखेको पनि १८ वर्ष पुगेछ । उनले खेलाडीको भूमिकामा आहा! राराको उपाधि उचालेको २०६० साल नै पहिलो र अन्तिम बन्न पुग्यो । तर आहा! राराको २० औं संस्करणमा उनले फरक भूमिकामा रहेर फेरी एकपटक ट्रफिको मुहार देख्न भएका छन् ।
‘ट्रफि नदेखेको पनि वर्षौं बितेछ । आशा छ यो वर्ष ट्रफी समात्नेछु,’ ओठमा मुस्काउन ल्याउँदै थापाले भने ‘मैले २०६० सालमा उपाधि उठाएको थिए। आजसम्म त्यो ट्रफी मैले फेरि समात्न पाएको छैन । ‘एपिएफबाट पनि एक सिजन आहा रारा खेलें तर ट्रफी उचाल्न सकिएन ।’
२०६३ मा उनले एपिएफको कप्तानका रुपमा आहा गोल्ड कप खेलको थिए । २०६४ सालको एपिएफ पहिलो पटक फाइनल पुग्दा भने टोलीमा थापा थिएनन् । शसस्त्र प्रहरी निरिक्षकको आन्तरिक तालिमका कारण टोली फाइनल पुग्दा उनको उपस्थिति हुन सकेन । त्यति बेला टोली अर्को विभागिय टोली नेपाल पुलिस क्लबसँग २–० ले पराजित भएको थियो ।
तेस्रो संस्करणको आहा गोल्ड कपदेखि सहभागिता जनाउन थालेको एपिएफले १० औं र ११ औं संस्करणमा भने भाग लिएन ।
अहिले अन्तर्राष्ट्रिय विश्रामको समयमा पारेर आयोजना भएको आहा गोल्डकपलाई भरपूर उपयोग गर्नेमा एपिएफ अग्रस्थानमा रहेको छ । यसपटक आहामा लगातार तीन खेल जित्दै फाइनल पुग्ने एपिएफ एक्लो टोली बनेको छ । एपिएफले शनिबार हुने फाइनलमा आहाको सर्वाधिक सफल टोली मध्येको एक मनाङ वा अर्को विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नुपर्नेछ । उपाधि उचाल्न सकेको खण्डमा एपिएफले पोखरा र आहामा इतिहास रच्नेछ ।
आहाका तीन खेल जित्नुअघि लिगमा एपिएफ पछिल्ला ६ खेलमा अपराजित रहेको छ । समग्रमा टोली ९ खेलमा अपराजित छ । यद्दपी लिग र नकआउट प्रतियोगिताको खासै तुलाना हुन्न । तर, थापाका लागि लिगको सुरुवात भने सन्तोषजनक रहेन । उनको टोलीले सुरुका लगातार तीन खेल गुमाएपछि दबाबमा परेको छ ।
आफूमाथि चर्को दबाब परेपनि सकेसम्म त्यसलाई उनले बाहिर ल्याउन खोजेनन् । तर पनि एपिएफले विदेशी खेलाडी नल्याउने हो भने लिगमा रेलिगसेन जोगाउन कठिन हुने लगातार बताए । उनको त्यो मागलाई एपिएफले पनि समय रहँदै सम्बोधन गर्यो । पहिलो र दोस्रो रोजाईका गोलकिपर चोटग्रस्त हुनु, तेस्रो रोजाईका गोलकिपर खेल्दा सातदोबाटो युथ क्लबसँग ४–१ ले पराजित भएपछि एपिएफको व्यवस्थापनले पनि विदेशी खेलाडीका लागि ढोका खोले जस्तो देखिन्छ । एएफसी क्लब लाइसेन्स लिएपछि व्यवसायिक फुटबललाई आत्मसात गर्नु हो र विदेशी खेलाडी पनि भित्राउन पर्छ भन्ने तर्क थापाको थियो । व्यवस्थापनले उनको मागको सम्बोधन गर्यो ।
‘हामी चर्को दबाबमा थियौं । विदेशी खेलाडी राख्नुपर्छ भन्ने मेरो सुरुदेखिको भनाइ थियो । अर्को विभाग आर्मीले नराखेकोले हामीका पनि राख्ने नराख्ने दुविधा थियो’, उनले स्मरण गरे, ‘तर प्रदर्शन कमजोर हुँदै गएपछि विदेशी राख्नुको विकल्प हामीसँग थिएन । मेरो भनाईलाई सञ्चारमाध्यमले पनि जस्ताको त्यस्तै राखेर सहयोग गर्यो । त्यसले पनि व्यवस्थापन विदेशी खेलाडी राख्न तयार भयो ।’
थापाले भने जस्तै तीन विदेशी खेलाडीको आमगमन पनि एपिएफले ९ खेल हारेको छैन । ‘हामीले जति तयारी गरेका थियौं । सुरुवाती खेलमा २५ प्रतिशत पनि खेल्न सकेका थिएनौं’, उनले भने, ‘जब विदेशी खेलाडी आए । हाम्रा खेलाडीको पनि मनोबल उच्च भयो । हामीले सबैले एकअर्कालाई विश्वास गर्यौं । त्यहि अनुसार नतिजा पनि निस्कियो ।’
यद्दपी लिगमा अझै पनि ढुक्क हुने अवस्था भने नरहेको उनी स्वीकार्छन । ‘हामीले लय समात्ने प्रयास गरेका छौं’, उनले भने, ‘तर लिगमा अझै ढुक्क हुने अवस्था छैन । बाँकी खेलमा पनि हामीले राम्रो नतिजा ल्याउनुपर्ने हुन्छ ।’
यो विश्रामको समयमा आहा गोल्ड कप आयोजनाले आफ्नो टोलीलाई फाइदा पुगेको पनि थापा मान्छन् । ‘यो ग्यापमा हामीले नियमित अभ्यास मात्र गर्दा मोनोटोनस पनि हुन सक्थ्यो’, उनले थपे, ‘आहाले हामीलाई अभ्याससँगै प्रतिस्पर्धाको माहोलको रुपमा लियौं । त्यसले गर्दा हाम्रा खेलाडीको प्रदर्शनमा अझै सकारात्मक प्रभाव परेको छ । जितले त्यसै पनि टोलीको हौसला बढाउँछ । विदेशी खेलाडी ल्याएपछि टोलीमा परेको सकारात्मक प्रभाव हाम्रा सबै खेलाडीमा देखिन्छ ।’
क्लब कठिन अवस्थामा हुँदा पनि आफूहरु नअत्तालिएको पनि थापाले स्मरण गरे । ‘हाम्रो प्रशिक्षण टोली उत्कृष्ट छ । यो खेलाडी, प्रशिक्षक र व्यवस्थापनको सामूहिक प्रयासबाट हामी यहाँ सम्म आएका छौं’, उनले भने, ‘फुटबल टोलीले लय समात्न समय लिन्छ । हामी त्यसको प्रक्रियामा नै छौं । हामी अझै राम्रो गर्न सक्छौं भन्ने आशा पलाएको छ ।’
थापा यसै लिगको सुरुवातबाट ५ वर्षपछि सक्रिय प्रशिक्षणमा फर्केका हुन् । २०७३ सालमा महिला राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थापाले लिगबाट एपिएफ पुरुष फुटबल टोलीको जिम्मेवारी सम्हालेका हुन् ।
सशस्त्र प्रहरी बलका निरीक्षक समेत रहेका थापाले २०६३ देखि २०७१ सम्म एपिएफबाटै खेले । त्यसअघि उनी मनाङमा थिए । महिला राष्ट्रिय टोलीको प्रशिक्षक रहँदा रहँदै उनले युरोपेली फुटबल महासंघ (युइएफए) ले सञ्चालन गरेको फुटबल व्यवस्थापन सम्बन्धी स्नातकोत्तर (एमए) तहको तीन वर्षे कोर्सका लागि छनोट भएका थिए । सन् २०१७ देखि २०१९ सम्मको त्यो कोर्सका लागि त्यति बेला छनोट हुने थापा एसियाका एक्लो थिए ।
यो पनि : एपिएफ डेढ दशकपछि आहा! राराको फाइनलमा
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]
December 17, 2024
हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]