default_image

3 years ago

January 18, 2022

अब्दुल्लाहको आक्रामक रणनीतिमा जगजितको करिअर सार्थक पार्ने प्रयास

226 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

मिडफिल्डर जगजित श्रेष्ठ ४ वर्षपछि नेपाली राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गर्ने लक्ष्यमा छन् । लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका जगजित ए डिभिजन लिग खेल्न नेपाल फर्केका थिए । लिगमा त्रिभुवन आर्मी फुटबल क्लबबाट प्रभावशाली प्रदर्शन गरेसँगै प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जगजितलाई प्रारम्भिक छनोटमा समेटेका हुन् ।

जगजितको खेल्ने शैली हालको नेपाली टोलीसँग मेल खान्छ । प्राविधिक रुपमा निपुण उनी विंगरको भूमिकामा खेल्छन् । नेपालले हाल खेल्दै आएको ४-३-३ को फर्मेसनमा जगजित दुवै विंगमा खेल्न सक्छन् । बायाँ खुट्टा बढी चल्ने जगजितको क्रसिङ मात्र होइन, कट इन गरेर पोस्टतर्फ प्रहार गर्ने शैली पनि अब्बल छ । बल कन्ट्रोल उत्कृष्ट रहेका उनको चनाखो फुटबल सेन्सका कारण फरवार्डको पछाडी नम्बर १० को भूमिकामा पनि प्रयोग गर्ने विकल्प पनि रहन्छ ।

प्रशिक्षक अलमुताइरीले मंगलबार भएको पहिलो दिनको प्रशिक्षणमा जगजितलाई दायाँ विंगरको रुपमा प्रयोग गर्ने जमर्को गरेको संकेत छ । उनलाई विपक्षी राइट ब्याकलाई पोजिसनबाट बाहिर ल्याउँदै सहकर्मीलाई स्पेस बनाउने, आफैं कट इनको लागि अवस्था सिर्जना गर्ने पक्षमा अब्दुल्लाह केन्द्रित देखिन्थे । अब्दुल्लाहले जगजितको क्षमतालाई मध्यनजर गर्दै टोलीमा समेटेको आभास प्रशिक्षण ड्रिल र उनीमाथि खर्चेको समयले पनि प्रष्ट पारेको थियो ।

जगजित आफैंले पनि अन्य विदेशी प्रशिक्षकको तुलनामा अब्दुल्लाह आफ्नो रणनीतिलाई लिएर कडा रहेको अभिव्यक्ति दिए । ‘प्रशिक्षक अब्दुल्लाह एकदम प्रोफेसनल र सिधा व्यक्ति पाएँ । हामीले आक्रामक रणनीतिमा गर्नुपर्ने कार्यलाई लिएर सिधा भन्नुहुन्छ । विदेशी प्रशिक्षक आफ्नो रणनीतिलाई लिएर कडा नै हुनुहुन्थ्यो, प्रशिक्षक अब्दुल्लाह थप कडा रहेको पाएँ । हामीलाई बिस्तारै बिस्तारे सिकाइरहनुभएको छ । मलाई रणनीतिक पक्षमा प्रशिक्षण देखेर एकदम खुसी लागेको छ,’ उनले थपे ।

जगजित पछिल्लो पटक जापानी प्रशिक्षक ग्योतोकु कोजी राष्ट्रिय टोलीमा रहँदा टोलीमा परेका थिए । सन् २०१७ मा फिलिपिन्सविरुद्ध भएको एसियन कप छनोटको खेलमा उनी टोलीमा समावेश भएका थिए । अनिल गुरुङले संन्यास लिएको उक्त खेलमा प्रशिक्षक कोजीले झन्डै डेढ वर्षपछि टोलीमा समेटेपनि जगजित मैदान उत्रन भने पाएका थिएनन् ।

जगजितले त्यसअघि सन् २०१५ मा भारतको केरलामा भएको साफ च्याम्पियनसिपमा खेलेका थिए । उनी समूह चरणका दुवै खेलमा मैदान उत्रेका थिए । जगजितले सन् २०१६ को सुरुवातमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेका थिए । उनी बंगबन्धु गोल्डकप जित्ने टोलीका पनि सदस्य थिए ।

अष्ट्रेलियाबाट यस सिजन लिग खेल्न आएका जगजितले राम्रो प्रदर्शन गरेका छन् । सुरुवातमा आर्मीको टोलीमा भिज्न समय लागेका उनी टोलीका महत्त्वपूर्ण खेलाडीका रुपमा स्थापित भएका छन् । पछिल्लो खेलमा फ्रेन्ड्सविरुद्ध ३-१ को जित हासिल गर्दा जगजित तीनै गोलमा आबद्ध थिए । उनी खेलको प्लेयर अफ द म्याच पनि घोषित भएका थिए । यो उनको दोस्रो प्लेयर अफ द म्याच उपाधि हो ।

जगजित आफैं आर्मीको टोलीमा प्रदर्शन जम्दै गएको बताउँछन् । ‘आर्मीको टिममा सुरुमा मलाई भिज्न केही कठिन भयो । नेपाल आउनेबितिक्कै खेलेको हुनाले पनि मौसमका कारण केही अस्वस्थ महसुस गरेको थिएँ । आर्मीको खेल्ने शैली फरक रहेकाले केहि कठिनाइ भएको थिए । अझैपनि हामीले पूर्ण रुपमा कम्बिनेसन बनेको छैन । तर पहिलाभन्दा सुधार भएको छ । दोस्रो स्थानसम्म आउन सक्छौं होला,’ उनले भने ।

जगजितले पहिलो दिनको प्रशिक्षणपछि राष्ट्रिय टोलीमा फर्कन पाउँदा खुसी लागेको बताए । ‘एकदम खुसी लागिरहेको छ । वातावरण निकै परिवर्तन भएको छ । प्रशिक्षकको तरिका पनि प्रोफेसनल छ । एकदम मजा आइरहेको छ,’ उनले भने ।

जगजितले आफू अन्तिम टोलीमा परेको अवस्थामा टोलीका लागि योगदान गर्न सक्ने अपेक्षा रहेको बताए । ‘हामी बल पाएपछि आक्रमणमा ध्यान दिइरहेका छौं । मेरो आफ्नो खेल्ने शैली पनि त्यहि नै हो । यदि अन्तिम टोलीमा परें भने मैले आफ्नो योगदान दिन सक्छु जस्तो लाग्छ,’ उनले थपे ।

जगजितले आफ्नो लागि यो टोलीमा पर्ने अन्तिम अवसर रहेको पनि बताए । ‘मैले यो अवसरलाई एकदम सकारात्मक रुपमा लिएको छु । धेरै वर्षपछि एउटा अवसर आएको छ । मेरो लागि यो अन्तिम अवसर हुन सक्छ । मेरो करिअरलाई सार्थकता दिने अवसर पनि हो,’ जगजितले प्रष्ट पारे ।

जगजितले राष्ट्रिय टोलीबाट सन् २०११ मा भएको भुटानविरुद्ध मैत्रीपूर्ण खेलमा डेब्यु गरेका थिए । दोस्रो खेलमा नै उत्तर कोरियासँग रातो कार्ड पाएका उनले रिसाहा खेलाडीको पहिचान बनाएका थिए । युवा अवस्थामा घरेलु फुटबलमा पनि मैदानभित्र उतारचढाव खेपेका उनले पछिल्लो समय भने आफू परिवर्तन भएको देखाएका छन् । त्यसो त आर्मीका प्रशिक्षक नविन न्यौपानेले पनि जगजित फेरिएर आएको अभिव्यक्ति दिएका थिए ।

आर्मीको आक्रमणमा लगातार प्रभाव छाड्दै आएका जगजितले आर्मीका लागि २ गोल र २ असिस्ट दिएका छन् । तथ्यांक हेर्दा उनले हरेक दुईमध्य औसत एक खेलमा गोल वा असिस्ट प्रदान गरेको तथ्यांक छ । तर जगजितको प्रदर्शन तथ्यांक मात्रले पनि प्रष्ट पार्दैन । बल राखेर आक्रमणमा अघि बढ्न मन पराउने उनले विपक्षी डिफेन्सलाई पटक पटक समस्या दिने गरेका छन् ।

अलमुताइरीको मागअनुसार प्रदर्शन गर्न सके जगजितको मौरिसस विरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीमा पर्ने प्रयास सफल हुन सक्छ । जसरी जगजितले आफ्नो करिअरले सार्थक बनाउने प्रयासको रुपमा यसलाई लिएका छन्, उनले त्यसका लागि मिहिनेत गर्नेमा दुइमत छैन । क्षमता हेर्दा अलमुताइरीको रणनीतिमा उनी फिट हुन समस्या छैन । तर प्रशिक्षणमा उनको प्रदर्शन र उक्त पोजिसनमा अन्य खेलाडीले कत्तिको चुनौती पेस गर्छन्, त्यसले पनि उनको भविष्य तय गर्नेछ ।

February 24, 2025

लिभरपुलसँग सिटी पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]

February 24, 2025

रियल म्याड्रिडको जित

एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल‌ जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]

February 23, 2025

‘लयमा फर्कदै छु’- साम्बा

काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित।‌ साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]

Success

Thank you for your time.