default_image

3 years ago

January 16, 2022

‘मान्छे त्यहि हुँ, बानी व्यहोरा परिवर्तन भएको छ’

401 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड विमल घर्तीमगरले चोटबाट पुनरागमन गर्ने क्रममा सहिद स्मारक ए डिभिजन लिगमा प्रभावशाली प्रदर्शन गरिरहेका छन् । मछिन्द्रको आक्रमण सम्हालिरहेका विमलको उत्कृष्ट प्रदर्शनमा टोलीले आइतबार ब्रिगेड ब्वाइज क्लबमाथि ४-० को फराकिलो जित निकाल्यो ।

विमलले खेलको ५६ औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई सुरुवाती अग्रता दिलाएका थिए । रेजिन सुब्बाको एक्रोब्याटिक प्रहार पोस्टबाट विपरित दिशामा जाँदा विमलले भारतीय गोलरक्षक गुरप्रित सिंहसँग ५०/५० को अवस्थामा हेडरमार्फत गोल गरेका थिए । त्यसको ५ मिनेटपछि नै विमलले मछिन्द्रको अग्रता दोब्बर पारे । यसपटक देवेन्द्र तामाङको लामो पासमा विमलले डिफेन्डर बर्टरान्ड एबोडेलाई पछि छाड्दै पुन एकपटक गोलरक्षकविरुद्ध संयमित फिनिस गरे ।

६६औं मिनेटमा विमलको प्रहारलाई गोलरक्षक गुरप्रितले उत्कृष्ट डाइभमा पञ्च गर्दै बचाउँदा उनी ह्याट्रिकबाट चुके । ७६औं मिनेटमा गोलरक्षक गुरप्रित अघि बढेको अवस्थामा विमल र रेजिन एक आपसमा झुक्किन पुग्दा अन्तिममा विमलको प्रहार पोस्टतर्फ जान सकेन ।

८४औं मिनेटमा विमलले मछिन्द्रको अग्रता बढाउन असिस्ट प्रदान गरे । उनको लो क्रसमा रेजिनले कुल फिनिसिङको नमुना पेश गर्दै ३-० को अग्रता दिलाएका थिए । विमलले खेलको प्लेयर अफ द म्याच बन्दै १० हजार रुपैयाँ पनि जिते । यससँगै विमलले लिगको ८ खेलमा आफ्नो गोलसंख्या ३ गोल पुर्याएका छन् ।

चोटबाट भर्खर पुनरागमन गरेका कारण विमलले लिगका सुरुवाती खेलमा भने धेरै समय मैदानमा बिताएका थिएनन् । खेलाडीको करिअरमा निकै गम्भीर मानिने एसीएल (एन्टेरिएर क्रुसिएट लिगामेन्ट) को शल्यक्रिया गरेका विमलले कतारमा नै ग्राउन्ड रिह्याब समेत गरेका थिए । मैदानमा फर्कन हरियो झन्डा पाएपछि मैदान फर्केका विमलले मछिन्द्रसँग अनुबन्धित भएपनि आफ्नो समय लिए ।

त्यसो त प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पनि विमललाई नजिकबाट हेरेको बताएका थिए । राष्ट्रिय टोलीलाई साफ च्याम्पियनसिपमा उपविजेता बनाएर नेपाल फर्कने क्रममा प्रशिक्षक अलमुताइरीले विमलले कुनै हतार गर्न नहुने बताएका थिए । उनले विमलसँग भेटघाट गरेको तस्बिर पनि सामाजिक संजालमा राखेका थिए ।

विमलले चोटबाट फर्केपछि सुरुवाती दुई खेल बेन्चबाट मैदान प्रवेश गरेका थिए । एनआरटी विरुद्ध १० मिनेट खेलेका उनले आर्मीविरुद्ध २९ मिनेट खेले । त्यसपछि जावलाखेलविरुद्ध पूरा समय बेन्चमा बसेका उनले लिगको चौथो खेलमा भने गोल गर्न सफल भए । हिमालयन शेर्पाविरुद्ध १६ मिनेट मैदानमा बिताएका उनले खेलको इन्ज्युरी समयमा गोल गरे । आन्द्रेस नियाको कटब्याकमा गोल गर्दै विमलले सुखद पुनरागमनको संकेत देखाए ।

त्यसपछि संकटाविरुद्ध खेलमा ६७ मिनेट खेलेका विमलले लगातार दुई खेल सुरुवात गरे । लिगको उपाधि होड तथा एएफसी कप छनोटमा मछिन्द्रलाई टक्कर दिइरहेको मनाङ र पुलिसविरुद्ध विमलले पूरा ९० मिनेट मैदानमा बिताए । फ्रेन्ड्सविरुद्ध प्रशिक्षक प्रवेश कटुवालले विमललाई बेन्चमा राखेपनि पहिलो हाफमा नै विदेशी खेलाडी नुर्लानलाई निकाल्दै मैदान प्रवेश गराएका थिए ।

ब्रिगेड ब्वाइजविरुद्ध पनि पूरा ९० मिनेट बिताएका विमलले २ गोल र १ असिस्टको सानदार प्रदर्शन गरे । राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सुरु हुने सातामा नै यस किसिमको प्रदर्शनले उनको राष्ट्रिय टोलीमा पुनरागमनको सम्भावनालाई बलियो पार्न सक्छ । त्यसो त प्रशिक्षक अब्दुल्लाह अलमुताइरी यसअघिका खेलमा मैदानमै आएर खेल हेर्ने गरेपनि यस साता भने टिभीबाट नै खेल हेर्दै आएका छन् ।

विमल आफैंले बिबिसीविरुद्ध खेलपछि आफू बिस्तारै खेलमा फर्कन सफल भएको बताए । ‘रिकभरीको कुरा गर्दा मा बिस्तारै फर्कंदै छु । सुरुको खेलमा १५ मिनेट खेल्दै आएकोमा अहिले ९० मिनेट खेल्न सक्ने भएक छु । त्यस्तो समस्या केहि पनि छैन,’ उनले भने ।

‘मेरो कमब्याक भन्दापनि हामी मछिन्द्र क्लबले जित हासिल गरेका छौं । म भन्दापनि टोलीको प्रदर्शनले गर्दा नै मेरो राम्रो कम्ब्याक हुन सकेको हो,’ उनले थपे ।

राष्ट्रिय टोलीमा कमब्याक गर्नेबारे पनि विमलले सकारात्मक अभिव्यक्ति दिए । ‘मलाई बन्द प्रशिक्षणमा बोलाउनुभएको छ । आफूले सक्दो राम्रो प्रयास गर्नेछु । राष्ट्रिय टोलीमा पुनरागमन गर्न चाहन्छु,’ उनले भने ।

उनले आफूमा परिवर्तन आएको हो भन्ने प्रश्नमा भने हाँस्दै जवाफ दिए, ‘म मान्छे त त्यहि नै हो, बानी व्यहोरा परिवर्तन भएको छ ।’

भिडियो हेर्नुहोस :

May 2, 2025

चितवनको विजयी सुरुवात

रविन्द्र वाइवा, मकवानपुर हेटौंडामा शुक्रवार सुरु मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चितवनले गोल्डकपमा विजयी सुरुवात गरेको हो । निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेलको नतिजा टाइब्रेकरबाट लिएको हो । चितवनको लागि अनिता गुरुङले दोस्रो […]

May 2, 2025

खेलकुदका‌ लागि एपिएफ क्लबको‌ सहयोग

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालको हिमाली सीमावर्ती क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले ग्रासरुट स्पोर्ट्स प्रोग्रामअन्तर्गत मनाङ जिल्लाका लागि नेपाल एपिएफ क्लबमार्फत १ लाख रुपैयाँ प्रदान गरेका छन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ। साथै, यसबाट राज्यलाई आवश्यक खेलकुद जनशक्ति उत्पादनमा पनि […]

May 2, 2025

ब्रेन्टफोर्डसँग नटिङ्घम फरेस्टको हार

एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ‌। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो।‌ सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]

Success

Thank you for your time.