default_image

3 years ago

December 26, 2021

भारतीय फरवार्डबाट धोका पाएको थ्री स्टारको आक्रमण

159 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

६ खेलमा ओपन प्लेबाट जम्मा १ गोल ! लिग सुरु हुनुअघि उपाधि दाबेदार मानिएको रुस्लान थ्री स्टारले जारी लिगमा ६ खेल खेल्दा ओपन प्लेमा मात्र १ गोल गर्न सकेको छ । त्यो एक गोल फ्रेन्ड्स क्लबविरुद्ध खेलको अन्तिम समयमा मिक्छेन तामाङले गरेको बराबरी गोल थियो । फ्रेन्ड्सका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई मिक्छेनले गोलमा परिणत गरेका थिए ।

थ्री स्टारले खेलेका पछिल्ला तीनै खेल गोलरहित बराबरीमा सकिएका छन् । गोलरक्षक प्रिसो र डिफेन्डर अनन्त तामाङको उत्कृष्ट प्रदर्शनका आधारमा क्लबले लगातार क्लिन सिट राखेको छ । तर आक्रमणमा कमजोर प्रदर्शन गरेकै कारण क्लबले तीन अंक जोड्न सकेको छैन । लिगको पहिलो खेलमा च्यासल युवा क्लबलाई ३-० ले पराजित गर्दै थ्री स्टार लिगको पहिलो चरणमा शीर्षस्थानमा थियो । उक्त खेलमा तीनै गोल सेट पिसमा निस्किएको थियो । त्यसयता क्लबले फ्रेन्ड्सविरुद्ध मात्र गोल गरेको छ ।

समग्रमा थ्री स्टारले ६ खेलमा ४ गोल गर्दा फरवार्डले कुनै गोल गर्न सकेका छैनन् । क्लबले भारतबाट दुई फरवार्ड ल्याएर खेलाएको छ तर दुवै फरवार्डको प्रदर्शन बिर्सनलायक छ । विदेशी कोटामा पनि भारतीय खेलाडीमा भर गरेको थ्री स्टारले ६ खेलमा ७ अंक मात्र जोड्दा उपाधि होडबाट निकै टाढा देखिएको छ । लिगमा कागजी रुपमा आफूभन्दा कमजोर टोलीसँग जित हासिल गर्न नसकेको थ्री स्टारले अंक तालिकामा आफूभन्दा माथि रहेको आर्मी र सातदोबाटोसँग मात्र खेलेको छ ।

त्यसो त क्लबले स्तरीय विदेशी फरवार्ड अनुबन्ध गर्न नसक्नु पनि आक्रमण नचल्नुको कारण हुन सक्छ । क्लबले विदेशी फरवार्डका रुपमा अनुबन्ध गरेका दुवै भारतीय खेलाडीबाट क्लबलाई एक प्रकारको धोका भएको छ । क्लबसँग लिग सुरु हुनुभन्दा केहि दिन अघि अनुबन्धित भएका फरवार्ड लाल रम्माविया चोटबाट पुनरागमन गरेको क्लबले केहि पछि मात्र थाहा पायो ।

गत सिजन मेघराज केसी प्रशिक्षक रहँदा लिगको पछिल्लो भागमा उनले राम्रो प्रदर्शन गरेका थिए । त्यसैलाई आधार मानेर क्लबले उनलाई अनुबन्ध गरेको थियो । तर उनी सुरुवाती खेलमा जम्न नसकेपछि उनमा म्याच फिटनेसकै कमी महसुस भएको थियो । च्यासलविरुद्ध ८० मिनेट मैदानमा बिताएका लालले दोस्रो खेलमा सातदोबाटोविरुद्ध ४८ मिनेट मात्र मैदानमा बिताए । तेस्रो खेलमा बेन्चबाट मैदान छिर्दै ३१ मिनेट खेलेका उनले पछिल्ला दुई खेल बेन्चमै बसे । आर्मीविरुद्ध त उनको नाम बेन्चमा पनि अटाएन ।

यता अर्का भारतीय फरवार्डबाट पाएको धोकाबारे शीर्ष श्रेणी फुटबल पछ्याउने जो कोहि आश्चर्यमा पर्न सक्छन् । लिग सुरु हुनुभन्दा झन्डै एक महिनाअघि शेम मार्टन च्यासलमा थिए । च्यासलको रक्षात्मक मिडफिल्ड सम्हाल्न आएका उनले क्लबसँग प्रशिक्षण गर्दै पूर्वमा एक प्रतियोगिता समेत खेले । च्यासलकै जर्सीमा आर्मीविरुद्ध मैत्रीपूर्ण खेलमा पनि राम्रो प्रदर्शन गरे । तर भारतमा सन्तोष ट्रफी खेल्न फर्केपछि उनको स्थानमा च्यासलले उनकै क्षेत्रको विजय पोनुरंगमलाई अनुबन्ध गर्यो । विजयले च्यासलबाट सबै ६ खेल सुरुवात गर्दै रक्षात्मक मिडफिल्ड नै खेलेका छन् ।

थ्री स्टारले शेमलाई अनुबन्ध गर्दै न्यु रोड टिम (एनआरटी) विरुद्ध डेब्यु दियो । एक महिनाअघि रक्षात्मक मिडफिल्डरको भूमिकामा नेपाल आएका शेम यसपटक फरवार्ड भन्दै थ्री स्टारको आक्रमण सम्हाले । खेलपछि प्रशिक्षक रविन्द्र शिलाकारले उनलाई नयाँ वातावरणमा भिज्न केही समय लाग्न सक्ने बताए । तर शेम फरवार्ड नभएर मिडफिल्डर भएको खेलपछि मात्र उनले थाहा पाए ।

आर्मीविरुद्ध खेलपछि मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले पनि यो स्विकारे । ‘शेमलाई स्ट्राइकर भनेर ल्याएको तर उनी एट्याटिक मिडफिल्ड रहेछन्, ‘प्रशिक्षक श्रेष्ठले भने, उनलाई भिज्न गाह्रो भइरहेको छ।’

शेम आफू भने फरवार्ड पनि खेल्न सक्ने बताउँदै आएको क्लब स्रोतले जनायो । तर पहिलो खेलमा ६० मिनेट टिकेका उनले दोस्रो खेलमा ५६ मिनेट मात्र बिताउनुले धेरै प्रष्ट पार्छ । त्यसो त एनआरटीविरुद्ध खेलमा खेलाडीको पोजिसन हेर्ने हो भने फरवार्डको रुपमा खेलेका मार्टनको औसत पोजिसन थ्री स्टारका अर्का फरवार्ड र दुई विंगरभन्दा धेरै पछाडी छ । उनका लागि नेपालको वातावरण नयाँ नभएर खेल्ने स्थान नै नयाँ भएको हो कि भन्ने आँकलन पनि गर्न सकिन्छ ।

आर्मीविरुद्ध बराबरीपछि मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले क्लबले विदेशी खेलाडी अनुबन्ध गर्ने प्रयासमा रहेको बताए । ‘हामीले विदेशी फरवार्ड अनुबन्ध गर्ने प्रयासमा छौं । राम्रो खेलाडी अनुबन्ध गर्न खर्च पनि गर्नुपर्छ । नेपालमा त अब विदेशी खेलाडी बाँकी पनि छैनन् । सम्भवत अर्को खेलमा विदेशी खेलाडी आउँछन् होला,’ श्रेष्ठले भने ।

प्रशिक्षक श्रेष्ठले विदेशी खेलाडी अनुबन्ध गर्न क्लबले संयमता अपनाएको पनि बताए । ‘हामीले विदेशी फरवार्ड अनुबन्ध गर्न हतार नगरेका हौं । केही खेलाडी ट्र्यालमा पनि आएका थिए, तर हामीले अनुबन्ध गरेनौं । सिधै खेलाउन पनि गाह्रो छ, कस्तो छन् त हेर्नै पर्यो,’ उनले भने ।

क्लबले हाल सन्जोक राई र विजय भुजेेेललाई पनि फरवार्डको जिम्मेवारी दिँदै आएको छ । तर दुवै जनाले गोलको खाता खोल्न सकेका छैनन् । सन्जोक अधिकांश समय विंगर वा दोस्रो फरवार्डको भूमिकामा खेलेका छन् । चोटका कारण सुरुवाती खेलमा उपस्थित नरहेका विजयले पाएको अवसर सदुपयोग गर्न सकेका छैनन् ।

प्रशिक्षक श्रेष्ठले बताएझैं क्लबले अर्को खेलमा विदेशी फरवार्ड अनुबन्ध गर्ने सम्भावना छ ‌‌। उनी आउने बितिकै क्लबमा भिज्न समय लाग्न सक्छ । अब उपाधि दौडमा फर्कन क्लबको गणितीय सम्भावना मात्र बाँकी होला । तर क्लबले आफ्नो स्तर अनुसार खेल प्रदर्शन गर्न आक्रमण चुस्त पार्नैपर्छ । त्यसमा क्लब व्यवस्थापनसँगै प्रशिक्षण टोलीको पनि जिम्मेवारी रहनेछ ।

March 14, 2025

टोटनहम र लियोन युरोपा लिगको अन्तिम आठमा

एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

Success

Thank you for your time.