3 years ago
December 16, 2021
सुबास हुमागाईं, काठमाडौं
सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत चौथो चरणको खेल समापन भइसकेको छ । हरेक टोलीले १३ खेल खेल्ने लिगको झन्डै एक चौथाई खेल सकिँदा साफ च्याम्पियनसिप २०२१ मा राष्ट्रिय टोलीमा रहेका खेलाडीको प्रदर्शनमा दर्शकहरुको विशेष नजर रहेको थियो ।
इतिहासमै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको टोलीका २३ खेलाडीमध्य कप्तान किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द विदेशी लिगमा खेल्दै आएका छन् । किरण यसै सिजन माल्दिभ्सको माजिया फुटबल क्लब तथा रोहित लामो समयदेखि इन्डोनेसियाको पर्सिजा जाकार्तामा अनुबन्धित रहेका छन् ।
फरवार्ड नवयुग श्रेष्ठ प्रि-सिजनको खेलका दौरान चोट बोकेपछि लिगमा उपस्थित छैनन् । उनले सम्भवत: यस सिजन लिगका कुनै खेल खेल्ने छैनन् । बाँकी रहेका २० खेलाडीले ए डिभिजन लिगमा आ-आफ्नो टोलीका लागि खेल्दै आएका छन् । अधिकांश राष्ट्रिय खेलाडीले आफ्नो स्तरअनुसार प्रदर्शन गर्दै आएका छन् । तर केहि खेलाडीका लागि भने लिग सोचेजस्तो हुन सकेको छैन । धेरै खेलाडीले लगातार सुरुवाती रोजाइमा खेलिरहेका छन् ।
प्रस्तुत छ हरेक खेलाडीको व्यक्तिगत तथ्यांक र प्रदर्शनबारे विश्लेषण :
दीप कार्की
पोजिसन : गोलरक्षक
क्लब : हिमालयन शेर्पा क्लब
खेल : ३
मिनेट : २९२
प्रदर्शन :
गोलरक्षक दीपले शेर्पाका लागि ४ मध्य ३ खेलमा खेलेका छन् । पहिलो खेलमा संकटासँग १-१ को बराबरी र दोस्रो खेलमा मनाङसँग १-० को हार बेहोर्दा टोलीमा रहेका उनी पुलिसविरुद्ध १-१ को बराबरीमा भने बेन्चमा रहे । चौथो खेलमा मच्छिन्द्रविरुद्ध ३-० को हारमा पनि उनले पोस्ट सम्हाले । हालसम्म केहि सुन्दर बचाउ गरेका उनको केहि निर्णयमा भने प्रश्न उठाउने ठाउँ छ । किशोर गिरी दोस्रो रोजाइमा रहेकाले पनि उनलाई सुरुवाती ११ मा स्थान बचाउन दबाब छ ।
विशाल श्रेष्ठ
पोजिसन : गोलरक्षक
क्लब : मच्छिन्द्र
खेल : ४
मिनेट : ३८८
प्रदर्शन :
मैदानको सबै कुनामा स्टार खेलाडीले भरिएको मच्छिन्द्रको लागि विशालले राम्रो प्रदर्शन गरेका छन् । कमै मात्र परिक्षण हुने गरेका विशालले आवश्यक परेको अवस्थामा राम्रो बचाउ गरेका छन् । ४ मध्य ३ खेलमा क्लिन सिट राखेका उनले लिगमा एक गोल मात्र खाएका छन् । लिगको पहिलो खेलमा एनआरटीका एरिक विष्टले गरेको सानदार फ्रिकिक प्रहार नै उनले खाएको एकमात्र गोल हो ।
अनन्त तामाङ
पोजिसन : डिफेन्डर
क्लब : थ्री स्टार
खेल : ४
मिनेट : ३८८
प्रदर्शन :
थ्री स्टारमा डिफेन्सको नेतृत्व गरिरहेका अनन्तले लिगमा पूरै समय खेलेका छन् । लिगमा आक्रमण र मिडफिल्ड कमजोर हुँदा थ्री स्टारले राम्रो प्रदर्शन नगरेपनि डिफेन्समा प्रश्न उठाउने सायदै ठाउँ छ । ४ मध्य २ खेलमा टोलीले क्लिन सिट राखेको छ । सेट पिसमा अनन्तले एक गोल समेत गरिसकेका छन् । उनको नाममा फ्रेन्ड्सविरुद्ध बराबरीमा एक पहेंलो कार्ड पनि छ ।
दीनेश राजवंशी
पोजिसन : डिफेन्डर
क्लब : मनाङ मर्स्याङ्दी
खेल : ४
मिनेट : ३९१
प्रदर्शन :
सम्भवत यसपटक लिगका उत्कृष्ट खेलाडी मध्यमा दीनेश पनि गनिन्छन् । मनाङका लागि सेन्टर डिफेन्समा खेलिरहेका उनले टोलीलाई सेट पिसमार्फत महत्त्वपूर्ण गोल समेत गरेका छन् । डिफेन्समा तीन क्लिन सिट राखेका उनले दुई गोल गरेका छन् । उनी जावलाखेलविरुद्ध १-० को जितमा निर्णायक गोल गरेपछि प्लेयर अफ द म्याच समेत घोषित भएका थिए ।
गौतम श्रेष्ठ
पोजिसन : डिफेन्डर
क्लब : त्रिभुवन आर्मी
खेल : ४
मिनेट : ३६६
प्रदर्शन :
गौतमले आर्मीको राइट ब्याक पोजिसनमा खेल्दै राम्रो प्रदर्शन गरेका छन् । आर्मीको आक्रमणमा समेत योगदान दिँदै आएका च्यासलविरुद्ध खेलमा जगजित श्रेष्ठका लागि सुन्दर असिस्ट समेत दिएका थिए । आर्मीका लागि ४ मध्य ३ खेलमा पूरा समय मैदानमा बिताएका उनले अनुभवी डिफेन्डर दिपक गुरुङलाई बेन्चमा नै सिमित राखेका छन् ।
सुमन अर्याल
पोजिसन : डिफेन्डर
क्लब : त्रिभुवन आर्मी
खेल : २
मिनेट : १४५
प्रदर्शन :
लिगको दोस्रो खेलमा चोट बोकेपछि सुमनले त्यसयता खेलेका छैनन् । लिगअघि नै ढाडको सामान्य समस्या बोकेका उनको दोस्रो खेलमा समस्या बल्झिएको थियो । उनले आउने खेलमा पुनरागमन गर्ने सम्भावना रहेको छ । सुमनको अनुपस्थितिमा आर्मीले टेकबहादुर बुढाथोकीलाई उक्त पोजिसनमा प्रयोग गरेको थियो ।
कमल थापा
पोजिसन : मिडफिल्डर
क्लब : हिमालयन शेर्पा
खेल : १
मिनेट : २४
प्रदर्शन :
चोटका कारण हिमालयन शेर्पाको टोलीमा पर्न संघर्ष गरिरहेका कमलले चौथो खेलमा बेन्चबाट मैदान प्रवेश गरेका थिए । शेर्पाको रणनीतिमा यसैपनि स्थान बनाउन कठिन देखिने उनलाई चोटले पनि पिरोलेको छ । शेर्पाको तीव्र गति र निरन्तर दबाब दिनुपर्ने शैलीमा उनलाई भिज्न कठिन हुने देखिन्छ । प्राविधिक रुपमा निपुण उनले मच्छिन्द्रविरुद्ध केहि समय बिताउँदा पनि मिडफिल्डमा संघर्ष नै गरे ।
नितिन थापा
पोजिसन : मिडफिल्डर
क्लब : मनाङ मर्स्याङ्दी
खेल : ४
मिनेट : २४८
प्रदर्शन :
युवा मिडफिल्डर नितिन थापाले मनाङका लागि सबै ४ खेलमा उपस्थिति जनाएका छन् । तर उनले कुनैपनि खेलमा पूरा समय मैदानमा बिताएका छैनन् । ३ खेलमा सुरुवात गरेका उनी सबै खेलमा परिवर्तन भए । दोस्रो खेलमा शेर्पाविरुद्ध उनी बेन्चबाट आएका थिए । मिडफिल्डमा चलायमान रहने उनले आक्रमणमा भने सिधा योगदान दिन सकेका छैनन् । भारतीय मिडफिल्डर दयानन्द सिंहको चोटसँगै अब उनीसँगै रुपेश केसी र विश्व अधिकारीमाथि जिम्मेवारी थपिनेछ ।
पुजन उपरकोटी
पोजिसन : मिडफिल्डर
क्लब : मनाङ मर्स्याङ्दी
खेल : ४
मिनेट : ३९१
प्रदर्शन :
साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका पुजनले आफ्नो राष्ट्रिय टोलीको लयलाई लिगमा पनि निरन्तरता दिएका छन् । राष्ट्रिय टोलीमा झैँ रक्षात्मक मिडफिल्डरको भूमिकामा अब्बल उनले मनाङमा आक्रमणमा पनि योगदान दिएका छन् । मनाङको लागि सेट पिसमा २ असिस्ट दिएका उनले आफूलाई हालसम्म कुनै कार्ड पनि प्राप्त गरेका छैनन् । हरेक मिनेट मैदानमा अनुशासित रहँदै टोलीको मेरुदण्ड बनेका पुजन लिगकै उत्कृष्ट प्रदर्शन गर्नेमा पर्छन् ।
सन्तोष तामाङ
पोजिसन : मिडफिल्डर
क्लब : त्रिभुवन आर्मी
खेल : ४
मिनेट : ३९५
प्रदर्शन :
सन्तोष तामाङबाट आर्मीले सधैं धेरै नै अपेक्षा राखेको छ । ४ खेलमा नै सुरुवात गर्दै २ असिस्ट प्रदान गरिसकेका उनको प्रदर्शन अझै शत प्रतिशत नरहेको प्रशिक्षक नविन न्यौपानेले बताउँदै आएका छन् । त्यसो त आर्मीको आक्रमण केहि फितलो हुनुमा सन्तोष पूर्ण रुपमा खेलमा नभिज्नु पनि हो । राष्ट्रिय टोलीमा निकै कम अवसर पाएका उनले आर्मीबाट आफूलाई सिद्ध गर्नुछ ।
सुजल श्रेष्ठ
पोजिसन : मिडफिल्डर
क्लब : मच्छिन्द्र
खेल : ४
मिनेट : ३८५
प्रदर्शन :
जुनसुकै पोजिसनमा पनि खेल्न सक्ने क्षमताले गर्दा सुजल नेपाली फुटबलमा सदाबहार खेलाडीका रुपमा चिनिन्छन् । यसपटक मच्छिन्द्रले पनि सुजलको यो क्षमतालाई भरपुर सदुपयोग गरेको छ । करिअरको अधिकांश समय लेफ्ट विंगमा बिताएका सुजल मच्छिन्द्रमा सेन्टर मिडफिल्डमा धेरै व्यस्त देखिन्छन् । टोलीको आवश्यकताअनुसार विंगमा पनि खेल्ने सुजलले निरन्तर आफ्नो स्तर अनुसार प्रदर्शन गरेका छन् । लिगको पहिलो खेलमा विजयी गोलमा असिस्ट समेत दिएका सुजलको नेतृत्वमा मच्छिन्द्र लिग जोगाउन प्रयासरत छ ।
आयुष घलान
पोजिसन : मिडफिल्डर
क्लब : थ्री स्टार
खेल : ४
मिनेट : २७४
प्रदर्शन :
लिगमा थ्री स्टारका लागि सबै ४ खेलमा उपस्थित आयुषले कुनै खेलमा पूरा समय मैदानमा बिताएका छैनन् । सामान्यतया उनको उमेरलाई हेरेर कम समय दिनुपर्ने भएपनि यसपटक उनको प्रदर्शन नै बिर्सनलायक छ । एपिएफविरुद्ध पहिलो रोजाइमा नपरेका उनले थ्री स्टारको आक्रमणमा सायदै उल्लेख्य योगदान दिन सकेका छन् । क्लबले उनको विकल्पमा खोज्न थाल्नुले नै आयुषले आफ्नो प्रदर्शनमा सुधार गर्नुपर्छ भन्ने सिधा संकेत हो ।
विशाल राई
पोजिसन : मिडफिल्डर
क्लब : मच्छिन्द्र
खेल : ४
मिनेट : ३५६
प्रदर्शन :
मच्छिन्द्रको मिडफिल्डमा जमेका विशालले लिगका सबै खेलमा सुरुवात गरेका छन् । प्रशिक्षक प्रवेश कटुवालले सुरुवाती दुई खेलमा उनी केहि थकित रहेका कारण पूरा समय नबिताएको बताएका थिए । तर नियमित उत्कृष्ट प्रदर्शन गरिरहेका उनले मच्छिन्द्रको उपाधि रक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पक्का छ । आक्रमणमा अन्तिम पास दिन माहिर उनले २ असिस्ट प्रदान गरिसकेका छन् ।
सुरज ज्यु ठकुरी
पोजिसन : मिडफिल्डर
क्लब : जावलाखेल
खेल : ४
मिनेट : ३२३
प्रदर्शन :
जावलाखेलको मिडफिल्डलाई चलायामन बनाइरहेका सुरज ज्यु ठकुरीको प्रदर्शन औसत रहेको छ । प्रशिक्षक किशोर केसीले आफ्नो रणनीतिमा सुरज भिज्न नसकेको गुनासो गरेपनि उनी जावलाखेलबाट उत्कृष्ट प्रदर्शन गर्नेमा पर्छन् । आक्रमणले राम्रो प्रदर्शन नगर्दा पनि उनको मिहिनेत नतिजामुखी हुन सकेको छैन । जावलाखेलले पहिलो अंक जोडेको खेलमा उनी प्लेयर अफ द म्याच पनि घोषित भएका थिए । ४ मध्य तीन खेल सुरुवात गरेका उनको प्रदर्शनमा जावलाखेलको अंक निर्भर हुने देखिन्छ ।
तेज तामाङ
पोजिसन : मिडफिल्डर
क्लब : पुलिस
खेल : ४
मिनेट : ३८४
प्रदर्शन :
राष्ट्रिय टोलीमा बक्स टु बक्स मिडफिल्डरको भूमिका निर्वाह गर्दै आएका तेज पुलिसको टिममा बढी रक्षात्मक भूमिकामा देखिँदै आएका छन् । सबै ४ खेलमा पूरा समय मैदान बिताएका उनले आफ्नो आक्रमणमा योगदान दिने क्षमता पहिलो खेलमा पनि प्रस्तुत गरेका थिए । सदाबहार तेजको प्रदर्शन राष्ट्रिय टोलीबाट पुलिससम्म पनि एकनासकै रहेको छ ।
सुमन लामा
पोजिसन : फरवार्ड
क्लब : पुलिस
खेल : ४
मिनेट : २८१
प्रदर्शन :
राष्ट्रिय टोलीमा नियमित स्थान बनाउँदै आएको सुमनबाट पुलिसले धेरै नै अपेक्षा राखेको थियो । प्रशिक्षक अनन्तराज थापाले सुमनबाट अपेक्षा अनुसार प्रदर्शन हुन नसकेको सार्वजनिक रुपमै बोलेका पनि छन् । लिगका ४ मध्य ३ खेलमा मात्र सुरुवात गरेका उनले पछिल्लो खेलमा पहिलो हाफ मात्र खेल्न पाए । मिहिनेतमा कुनै कमी नदेखिएपनि टोलीको रणनीति अबलम्बन र व्यावसायिकता पूरा गर्न नसकेको दुखेसो प्रशिक्षकले बताएका छन् ।
सुनिल बल
पोजिसन : फरवार्ड
क्लब : मच्छिन्द्र
खेल : ४
मिनेट : २९५
प्रदर्शन :
फरवार्डमा निकै प्रतिस्पर्धा रहेको मच्छिन्द्रमा सुनिलले आफ्नो छनोटलाई सिद्ध पारेका छन् । पहिलो खेलमा दुवै गोल गरेका उनले पछिल्लो जितमा पनि सुरुवाती अग्रता दिलाएका थिए । राम्रो प्रदर्शन गरेपनि तेस्रो खेलमा बेन्चबाट आएका उनले आक्रमणमा प्रभाव जमाउँदै आएका छन् । यसै सिजन मच्छिन्द्र आएका ३ गोलसहित संयुक्त रुपमा लिगको सर्वाधिक गोलकर्ता पनि हुन् ।
आशिष लामा
पोजिसन : फरवार्ड
क्लब : एपिएफ
खेल : ४
मिनेट : ३९२
प्रदर्शन :
राष्ट्रिय टोलीमा कमै अवसर पाएका आशिष लामाले एपिएफका लागि लिगको पहिलो खेलमा नै गोल गरेपनि टोलीलाई सकारात्मक नतिजा दिलाउन सकेका छैनन् । एपिएफका लागि सबै खेलमा पूरा समय मैदानमा बिताएका उनले टोलीको मिडफिल्डबाट अपेक्षित साथ नपाउँदा सोचेअनुसार प्रदर्शन गर्न सकेनन् । एपीएफले विदेशी खेलाडी थप्ने प्रक्रिया चालेसँगै आशिषबाट पनि नतिजामुखी प्रदर्शनको अपेक्षा गर्न सकिन्छ ।
अन्जन विष्ट
पोजिसन : फरवार्ड
क्लब : मनाङ मर्स्याङ्दी
खेल : ४
मिनेट : ३९१
प्रदर्शन :
मनाङको कप्तानी सम्हाल्दै आक्रमणमा अग्रणी भूमिका खेलिरहेका अन्जनले राम्रो प्रदर्शन गरिरहेका छन् । तथ्यांकमा उनको नाममा एक असिस्ट मात्र रहेका उनको मनाङको अग्रपंक्तिमा निकै प्रभाव रहने गरेको छ । प्रशिक्षक तोपे फुजाको आगमन र मनाङले घरेलु मैदानमा खेल्नु अन्जनको लागि सकारात्मक खबर हुन सक्छ । विदेशी फरवार्डद्वय ओलाडिपो आफिज र अडेलाजा सोमिडेले सुधारिएको प्रदर्शनले पनि उनलाई थप हौसला मिल्ने देखिन्छ ।
मनिष डाँगी
पोजिसन : फरवार्ड
क्लब : मच्छिन्द्र
खेल : ४
मिनेट : २३५
प्रदर्शन :
सुरुवाती दुई खेलमा बेन्चबाट मैदान प्रवेश गरेका मनिषले पछिल्ला दुवै खेल सुरुवात गरेका छन् । तर कुनैपनि खेलमा उनी पूरा समय मैदानमा बिताएका छैनन् । तीव्र गतिसँग बल बढाउन माहिर मनिषले आफ्नो क्षमताको छनक देखाएका छन् । तर प्रदर्शनमा एकरूपता नहुँदा उनले तीव्र प्रतिस्पर्धा रहेको अग्रपंक्तिमा नियमित सुरुवाती स्थान बनाउन कठिन छ ।
January 17, 2025
नेपालगञ्ज (हाम्रो खेलकुद)- नेपालगञ्जमा अर्को महिना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढेको आयोजक अन्तरालले जनाएको छ। बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्ज रंगशालामा हुनेछ । नेपालगञ्ज रंगशालामा आयोजना शुक्रवार गरिएको पत्रकार भेटघाटमा अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगिता प्रतियोगिता संचालनका लागि तयारी अघि बढेको […]
January 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबले एन्फा राष्ट्रिय महिला लिगको अन्तिम चरणमा लगातार छैटौं जित हासिल गरेको छ। एपिएफले शुक्रवार वालिङ नगरपालिकालाई १०-० ले हराएको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफको जितमा रश्मिकुमारी घिसिंङले ४, सरु लिम्बु र सविता राना मगरले समान २ तथा प्रीति राई र रेनुका नगरकोटेले समान १ गोल गरिन् । शीर्ष स्थानको […]
January 17, 2025
एजेन्सी – रियल म्याड्रिड कोपा डेल रे को क्वाटरफाइनलमा पुगेको छ। सेल्टा भिगोलाई बिहीवार ५-२ ले हराउँदै रियल अन्तिम आठमा पुगेको हो। घरेलु मैदानमा रियलले २-० को अग्रता जोगाउन नसक्दा जितका लागि थप समय सम्म कुर्नुपर्यो । इन्ज्युरी समयमा रियल सम्हालिन नसक्दा सेल्टा भिगोले बराबरी गोल फर्कायो । रियललाई जित दिलाउन एन्ड्रिकले २, केलियन एम्बाप्पे, […]