3 years ago
December 2, 2021
सुबास हुमागाईं, काठमाडौं
‘बुबाले कर नगरेको भए सायद म आज यहाँसम्म हुन्न थिएँ । परिवारको निरन्तर साथले नै यो सब सम्भव भएको छ,’ त्रिभुवन आर्मी फुटबल क्लबका २१ वर्षीय मिडफिल्डर सेसेहाङ आङदेम्बेले आफ्नो खेल करिअरको सुरुवाती दिन सम्झन खोज्दा यसो भने । कारण, एन्फा एकेडेमी छनोटका लागि क्षेत्रीय छनोटको क्रममा झापाबाट नै बाहिरिएका सेसेहाङलाई छनोटमा प्रतिस्पर्धा गराउन पुन: काठमाडौं बुबाले नै ल्याएका थिए ।
दमक झापामा कक्षा ६ पढिरहेका सेसेलाई फुटबल खेल्न औधि मनपर्ने । बाटोतिर साथीसँग मात्र खेल्ने भएपनि उनी त्यति सानो उमेरमा राम्रै खेल्थे । सानो पोस्टमा खेलाइएको छनोटमा उनको खेल छनोटकर्ताका आँखामा परेनन । झापामा भएको उक्त क्षेत्रीय छनोटमा केहि ‘स्लो’ भएको भन्दै उनलाई अर्को चरणमा छनोट गरेनन् । फुटबलका क्रेजी उनको बुबा पूर्ण ध्वज आङदेम्बेलाई यो निर्णय चित्त बुझेन ।
सेसे अझैपनि त्यो निर्णयपछि बुबाको प्रश्न सम्झन्छन् । ‘छनोटमा नपरेपछि घरमा आएर ड्याडीले ‘काठमाडौं गएर सक्छस् त ?’ भनेर सोध्नुभयो । मैले सक्छु भनेपछि काठमाडौं आयौं । नभन्दै काठमाडौंमा भएको छनोटबाट म एन्फा एकेडेमीमा परें,’ उनले सुनाए, ‘त्यसबेला बुबाले काठमाडौं आउन नभनेको भए यहाँ हुने थिइनँ ।’
‘एकेडेमीमा सुरुवातमा त निकै गाह्रो भयो । कहिल्यै घरबाहिर टाढा नगएको मान्छे । काठमाडौं आएपछि १-२ महिना त घरको निकै याद आयो,’ उनले थपे, ‘ बिस्तारै साथी बढ्दै गए । म, अनिल (महर्जन) र भुषाल (असिम) एउटै कोठामा थियौं । बिस्तारै बानी पनि पर्दै गयो ।’
एन्फा यू-१६ मा छनोट हुँदा सेसेहाङसँगै राजन गुरुङ, राजिव लोप्चन, अभिषेक रिजाल र एरिक विष्ट
कक्षा ६ पढ्दै गर्दा एकेडेमी आएका सेसेले कक्षा १० सम्म एकेडेमीमै रहेर पढे । यसक्रममा सेसेले एकेडेमीबाट यू-१४ राष्ट्रिय टोलीबाट भने प्रतियोगिता खेल्न पाएनन् । सुनिल श्रेष्ठ प्रशिक्षक रहँदा नेपालमै भएको एएफसी यू-१४ प्रतियोगितामा सेसे टोलीमै परेनन् । त्यसपछि उपेन्द्रमान सिंहले टोली सम्हालेपछि भने यू-१६ टोलीमा पर्न सफल रहे । यू-१६ बाट भारतमा भएको सुब्रतो कपमा खेल्ने मौका भने मिलेन । त्यसपछि बंगलादेशमा भएको साफ यू-१६ र एएफसी यू-१६ छनोटमा भने सेसेले नियमित नै खेले ।
१२ वर्षको उमेर एकेडेमी आउँदासम्म सेसेलाई आफू मिडफिल्डर बन्छु भन्ने केहि थिएन । उनलाई मात्र फुटबल खेल्नु थियो । तर एन्फा आएपछि रोहित चन्दको खेलले मात्र नभएर व्यक्तिगत कथाले पनि उनलाई प्रभावित गर्यो । ‘रोहित दाइको म सानो हुँदादेखि नै फ्यान हुँ । वहाँको खेल्ने शैली पनि मनपर्ने अनि मिहिनेत त भन्नै परेन । व्यक्तिगत रूपमा पनि दाइलाई सुरुवातमा निकै कठिन भएको भन्ने थाहा थियो,’ सेसेले बेलिबिस्तार लगाए ।
‘एकेडेमी आएपछि दाइसँग अझ नजिक हुन पाइयो । दाइले धेरै कुरा सिकाउनुभयो पनि । वहाँको खेल्ने शैली मात्र नभएर व्यवहारले पनि प्रभावित गर्यो । दाइजस्तो खेल्नुछ भनेर लाग्न थाल्यो,’ उनले भने, ‘ मिडफिल्डर भएकाले वहाँकै शैली मनपर्ने । त्यहि भूमिकामा आफूलाई विकास गर्दै गएँ ।’
सेसे सम्मिलित नेपालले सन् २०१५ मा किर्गिस्तानमा भएको एएफसी यू-१६ को छनोटमा सुखद नतिजा निकाल्दै अर्को चरणमा प्रवेश गरेपनि नेपाल प्रतियोगिता खेल्नबाट भने बन्चित भयो । एएफसीले केहि खेलाडीको उमेर बढी भएको भन्दै नेपाललाई जरिवानासहित अन्तिम प्रतियोगिताबाट निष्काशन नै गर्यो । उक्त निर्णयसँगै एन्फाले पनि एकेडेमीका खेलाडीलाई फुकुवा गरिदियो ।
एएफसी यू-१६ खेल्ने सपना टुटेपछि एकेडेमी छाडेका खेलाडीले सिनियर टोलीतिर खेल्न थाले । आफ्नो ब्याचका खेलाडी बी डिभिजनमा प्रतिस्पर्धा गर्दा सेसेले भने ए डिभिजन टोली सरस्वतीबाट मोफसलको प्रतियोगिता खेल्न थाले । उनले ललित स्मृति यू-१८ प्रतियोगिताको पहिलो संस्करणमा सरस्वतीको कप्तानी पनि गरे ।
त्यसको अर्को सिजन सेसे आफ्नै ब्याचका खेलाडी रहेको त्रिभुवन आर्मी क्लबको टोलीमा सामेल भए । त्यो सिजन आर्मीले उपाधि पनि जित्यो । उमेर समूहको टोलीमा प्रभाव जमाएपछि उनले आर्मीको सिनियर टोलीमा पनि स्थान बनाए । सुरुवाती समय आर्मीको टोलीमा बेन्चमा नै सिमित रहेका उनले हेटौंडामा सम्पन्न सुमन भोम्जन स्मृति गोल्डकपमा राम्रो प्रदर्शन गरेपछि टोलीमा नियमित स्थान बनाउन थाले । त्यसयता उनी नै आर्मीको मिडफिल्डमा नियमित सदस्य बने ।
२०७५ सालको ए डिभिजनमार्फत शीर्ष श्रेणी लिगमा डेब्यु गरेका उनले पछि फर्केर हेर्नुपरेको छैन । सेसेसहित नेपाल यू-१८ टोलीले भुटानमा सम्पन्न साफ यू-१८ च्याम्पियनसिपको उपाधि पनि जित्यो । त्यसको अर्को सिजन सेसेले ए डिभिजन लिगको सबै खेलमा आर्मीका लागि पूरा समय मैदानमा बिताए ।
स्विडिस प्रशिक्षक योहान कालिनले सन् २०१९ मा विश्वकप तथा एसियन कप छनोटका लागि पहिलो पटक राष्ट्रिय टोलीमा बोलाएका थिए । सेसेको मानसपटलमा अझैपनि छनोटमा परेको दिनको सम्झना ताजा छ । काक्करभित्तामा भएको गोल्डकप खेलेपछि सेसे घरमा नै थिए । कुनै प्रतियोगिता नभएकाले टोली बिदामा थियो । एक्कासी काठमाडौंबाट फोन आयो, ‘राष्ट्रिय टोलीमा प्रशिक्षकले बोलाउनुभएको छ । छिटो भन्दा छिटो प्रशिक्षणमा सामेल हुनु ।’
सेसेले सुरुवातमा त उक्त खबर विश्वास नै गर्न नसकेको बताए । ‘सुरुमा त विश्वास गर्न नै गाह्रो भयो । राष्ट्रिय टोलीले प्रशिक्षक गरिरहेको थियो । सुरुमै टोली घोषणा हुँदा नाम थिएन । मलाई त त्यता ध्यान पनि थिएन । पछि प्रशिक्षक आफैंले मलाई बोलाउनुभएको रहेछ । राष्ट्रिय टोलीमा पर्ने सपना पूरा भएपछि धेरै सोच्नुपर्ने केहि थिएन । भोलिपल्ट नै काठमाडौं जाने तयारी गरें,’ उनले भने ।
काठमाडौं जाने भनेपनि उनको राष्ट्रिय टोलीको पहिलो प्रशिक्षण भने यादगार नै रहयो । उडान ढिला भएका कारण सोचेभन्दा निकै ढिलो काठमाडौं पुगेका उनलाई जसरी पनि प्रशिक्षण भ्याउनु थियो । उनले विमानस्थलबाट ट्याक्सी चढ्नेबितिक्कै त्यहीं बुट लगाएको बताए ।
‘सिधै पहिलो दिन नै प्रशिक्षण गर्ने सोच थियो । तर विमान ढिला भएपछि समयमा पुग्न कठिन भयो । काठमाडौं झर्नेबितिक्कै ट्याक्सी चढेर एन्फातर्फ लागें । धेरै नै ढिलो भएकाले ट्याक्सीभित्र नै बुट र जर्सी लगाएँ । केहि ढिला पुगेपनि प्रशिक्षण गरेको याद छ,’ उनले सुनाए ।
सेसे त्यसबेला टोलीमा त परेनन् तर उनले टोलीको प्रशिक्षणमा सहभागी भएर धेरै कुरा सिकेको अनुभव साटे । ‘राष्ट्रिय टोलीमा प्रशिक्षण गर्दाको अनुभव बेग्लै थियो । उमेर समूहमा विभिन्न प्रतियोगिता खेलेपनि राष्ट्रिय टोलीको प्रशिक्षणमा धेरै सिक्न पाइयो । अझ राष्ट्रिय टोलीमा पर्दा त सपना साकार भएजस्तै लाग्यो,’ उनले भने ।
नेपालले घरेलु मैदानमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्दापनि सेसे टोलीमा नै थिए । राष्ट्रिय टोलीबाट डेब्यु नै गर्न भने उनले डेढ वर्ष प्रतीक्षा गर्नुपर्यो । सन् २०२० नोभेम्बरमा बंगलादेशविरुद्ध उसकै भूमिमा भएको मैत्रीपूर्ण खेलबाट उनले सिनियर टोलीमा डेब्यु गरे । त्यसबेला प्रशिक्षक बालगोपाल महर्जन थिए । दर्शन गुरुङको स्थानमा ७३ औं मिनेटमा मैदान प्रवेश गर्दै सेसेले सिनियर टोलीका लागि पहिलो खेल खेलेका थिए । गोलरहित बराबरीमा सकिएको उक्त खेलपछि सेसे टोलीमा परेपनि मैदानमा उत्रने अवसर भने पाएका छैनन् ।
प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको आगमनपछि सेसेले प्रारम्भिक छनोटमा स्थान त बनाएका छन्, तर अन्तिम टोलीमा पर्न सकेका छैनन् । सेसेलाई प्रशिक्षक अलमुताइरीले आफूबाट के अपेक्षा राख्छन् भन्ने थाहा पनि छ ।
‘राष्ट्रिय टोलीमा निकै मिहिनेत गर्नुपर्छ । त्यो गरिरहेको छु । यससँगै मैले आफ्नो खेलका केहि पक्षमा सुधार गर्नुपर्ने पनि छ । त्यसका लागि पनि सधैं खटिरहेको छु । प्रशिक्षकले पनि मलाई भन्नुभएको छ,’ उनले थपे, ‘ अहिलेलाई मैले राष्ट्रिय टोलीमा पर्न/नपर्ने भन्दापनि कसरी आफूलाई अझ राम्रो बनाउने भन्ने नै सोचेको छु । आर्मीको टोलीमा आफूले कसरि थप राम्रो योगदान गर्न सक्छु भन्ने नै ध्यान दिइरहेको छु ।’
मैदानभित्र चलायमान देखिने सेसे मैदानबाहिर भने बिल्कुल फरक छन् । एकदम कम मान्छेमा खुल्ने उनी आफ्नो व्यवहारले खेलमा खासै असर नगर्ने बताउँछन् । सिमित साथी र परिवारमा रम्ने उनले आफूलाई खेल वरपर नै केन्द्रित राख्ने गरेका छन् । फुर्सदको समयमा पनि अन्य खेल हेर्न रुची राख्ने उनी आर्मीकै टिमसँग बस्दै आएका छन् ।
आफूले खेल्ने पोजिसन विगतमा खासै चर्चा नहुने भएपनि अहिले भने स्थिति परिवर्तन भएको सेसेले बुझेका छन् । आफ्नो खेललाई नजिकबाट नियाल्ने जमात बढ्दा मनोबल पनि उच्च हुने अनुभव उनले साटे । ‘पहिला डिफेन्सिभ मिडफिल्डबारे खासै चर्चा हुँदैन थियो । टोलीमा आवश्यक भएपनि धेरैले याद गर्दैनथे । अहिले आधुनिक फुटबलमा यसको महत्त्व बुझ्ने मान्छे धेरै छन् । आफ्नो खेललाई नियाल्ने र प्रतिक्रिया दिने हुँदा थप हौसला मिल्छ,’ उनले उत्साहित हुँदै सुनाए ।
यस सिजन राजधानीमा जारी ए डिभिजन लिगको सुरुवाती दुई चरणका सेसेले दुवै खेलमा प्लेयर अफ द म्याच उपाधि जितेका छन् । पहिलो खेलमा नेपाल पुलिससँग १-१ को बराबरी र दोस्रोमा लिग विजेता मछिन्द्रसँग गोलरहित बराबरीमा उनी उत्कृष्ट खेलाडी चुनिए । टोलीको नतिजा राम्रो नआउँदा व्यक्तिगत प्रदर्शनबारे कुरा गर्दा पनि सेसे खासै उत्साहित देखिएनन् ।
‘हाम्रो नतिजा राम्रो आएको छैन । मेरो खेल राम्रो भएपनि नतिजा नआउँदा राम्रो लागेको छैन । पहिलो खेलमा दुर्भाग्यवश बराबरी भयो । दोस्रोमा पनि खेल प्रतिस्पर्धात्मक नै थियो । हामीले नतिजा आफ्नो पक्षमा ल्याउन सकेनौं,’ उनले भने ।
सेसेको खेल्ने शैली पछिल्लो समय केहि परिवर्तन भएको देखिन्छ । विगतमा रक्षात्मक भूमिकालाई प्राथमिकतामा राख्दै केहि तल नै खेल्ने सेसे अहिले भने केहि बढी चलायमान देखिन्छन् । टोलीको आवश्यकता अनुसार नै आफ्नो शैलीलाई केहि परिस्कृत गर्दै लगेको उनी बताउँछन् ।
‘आर्मीमा सन्तोष दाईले नै आक्रमणमा अवसर सिर्जना गर्दै आउनुभएको छ । प्रशिक्षकले पनि मलाई केहि अघि खेल्दा टोलीलाई सहज हुने बताउनुभएको छ । त्यसैले पनि अवसर हुँदा टोलीको आक्रमणमा नै केहि सहयोग पुगोस् भनेर भूमिका अलि बदलिएको छ । आफूलाई सहज पनि लागिरहेको छ,’ उनले सुनाए ।
डिफेन्सको अगाडी ढालका रूपमा अडिग रहने सेसेले लिगको सुरुवाती दुई खेलमा गजबको प्रदर्शन गरेका छन् । सेन्टर मिडफिल्डमा रहेका सन्तोषसँग वन टु पास खेल्दै विपक्षी मिडफिल्ड चिर्ने मात्र होइन, आफ्नो क्षेत्रबाट विपक्षी डिफेन्सलाई समस्या निम्त्याउने पास पनि उनले निकालेको देख्न सकिन्छ । विगतमा आफूलाई रक्षात्मक रणनीतिमा बाँध्ने गरेका सेसेलाई केहि स्वतन्त्र भूमिकामा देख्न पाइएको छ । त्यस अनुसारको प्रतिफल पनि आर्मीले पाएको छ ।
विशेषगरी पुलिसविरुद्ध खेलमा अन्त्यतिर उनले खेलेको विशेष पासलाई विवादास्पद रुपमा अफसाइड दिँदा आर्मीले महत्त्वपूर्ण ३ अंक जोड्ने अवसर गुमाएको थियो । ८७ औं मिनेटमा आफ्नो हाफमा गोलरक्षक विकेश कुथु विपक्षी दुई फरवार्डबाट दबाबमा रहँदा सेसेले केहि तल झरेर गोलरक्षकलाई पास खेल्ने ठाउँ उपलब्ध गराउँदै दबाबमुक्त गरे । लगत्तै उत्कृष्ट टर्न गर्दै विपक्षीलाई बिट गरेर दोस्रो टचमा उनले आफ्नो हाफबाट बायाँ विंगमा दर्शनीय पास खेलाएका थिए । उक्त पासमा टेकबहादुर बुढाथोकीले आफूभन्दा अघि रहेका डिफेन्डर सन्तोष हेमरन र गोलरक्षक शत्रुघन चौधरीलाई जसोतसो बिट गरेपनि रेफ्रीले अफसाइडको सिठी फुकेका थिए ।
सेसे रेफ्रीको उक्त निर्णयले आर्मीलाई निकै घाटा हुने बताउँछन् । ‘अब रेफ्रीको निर्णय थियो । हामीले पनि मान्नु परिहाल्यो । तर त्यो निर्णयले हामीले ३ अंक प्राप्त गर्न सकेनौं । पुलिसविरुद्ध खेल जित्न नसक्दा निकै नराम्रो लागेको छ । मछिन्द्रसँग बराबरी त ठिकै थियो, पुलिसविरुद्ध जित्नुपर्ने खेल थियो,’ उनले भने ।
सेसेको करिअरमा उतारचढावको पानामध्य नेपाल सुपर लिग (एनएसएल) ले एउटा नमिठो छाप छोडेको छ । खेलाडी अक्सनमा क्याटगोरी ए मा रहेका सेसेलाई आफूलाई कुनै टोलीले लिन्छ वा लिंदैन भन्ने निकै तनाव थियो । ‘यसै तनाव भइरहेको थियो । अझ अक्सन सुरु भएपछि ए श्रेणीका कतिपय खेलाडी नाबिक्दा निकै गाह्रो भयो । बुटवलले खरिद गरेपछि भने ढुक्क भएँ,’ उनले सुनाए ।
अक्सनमा धनगढी एफसी र बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुँदा बुटवलले १ लाख ३० हजारमा उनलाई टोलीमा सामेल गरेको थियो । तर लिगमा भने उनले सोचेजस्तो प्रदर्शन गर्न सकेनन् । बुटवलले खेलेका ७ खेलमध्य तीन खेल बेन्चमा नै सिमित उनले कुनैपनि खेलमा पूरा समय खेल्न पाएनन् । सुरुवात गरेका चारै खेलमा उनलाई प्रशिक्षक राजुकाजी शाक्य र सनोज श्रेष्ठले ६० मिनेट नपुग्दै निकालेका थिए ।
बुटवलले मिडफिल्डमा सेसेहाङसँगै घानाका विलियम ओपोकुलाई खेलाउने गर्थ्यो । आक्रमणमा थप खेलाडी राख्नुपर्ने भएपछि ओपोकु एक्लैलाई सेन्टरमा खेलाउँदै सेसेको स्थानमा सुमन लामा र दीपेश आलेमगरलाई फरवार्डको रुपमा उतारेका थिए । नियमित पूरा समय खेल्ने बानी परेका सेसेलाई यसले निकै नराम्रो असर परेको थियो । एक खेलमा त उनी बेन्चमा फर्केर आँशु बगाएका पनि देखिन्थे ।
त्यसबेलाको स्मरण गर्दै सेसेले आफू उक्त टोलीमा प्रशिक्षकको रणनीति अनुसार खेल्न नसकेको हो कि भन्ने आँकलन लगाए । ‘मैले कहिले पनि त्यस्तो अवस्थाको सामना गर्नुपरेको थिएन । सायद मेरो उक्त टोलीमा खेल्ने शैली नै मेल खाएन होला । प्रशिक्षकले भनेझैं खेलेको जस्तो लागेको थियो । तर खै के मिलेन । त्यो बेलामा निकै गाह्रो भएको थियो,’ उनले सुनाए ।
त्यसो त सेसे सम्मिलित यू-२३ टोलीले पनि गत महिना ताजिकिस्तानमा खराब नतिजाको सामना गर्नुपर्यो । तर स्तरको हिसाबमा नेपाल ती टोलीभन्दा धेरै पछि रहेको उनी बताउँछन् । ‘ताजिकिस्तानमा विपक्षी टोली निकै बलिया थिए । हामीले सक्दो प्रयास गरेका हौं । म आफैं पनि फरक पोजिसनमा खेल्नुपरेको थियो । तर हामीभन्दा माथिल्लो स्तरको टोली रहेकाले नै नतिजा त्यस्तो आएको हो,’ उनले भने । एएफसी यू-२३ एसियन कपको उक्त छनोटमा नेपालले लाबनन, इरान र आयोजक ताजिकिस्तानसँग कुल १४ गोल खाएको थियो ।
सेसे उक्त नतिजालाई बिर्सेर पुन: लिगमा होमिएका छन् । व्यक्तिगत रुपमा सुरुवात राम्रो भएपनि टोलीको नतिजाबाट भने उनी खुसी छैनन् । तर आर्मीसँग लिगमा अझै समय रहेको उनी बताउँछन् । प्रशिक्षक नविन न्यौपाने र टोलीले लिग उपाधिको दौडमा पुनरागमन गर्ने विश्वास सेसेले राखेका छन् ।
‘मलाई आर्मीमा खेलाउन प्रशिक्षकको भूमिका निकै महत्त्वपूर्ण छ । मैले कस्तो खेल्ने भन्ने वहाँले निर्देशन दिएपछि नै खेल्ने हो । मेरो शैली र क्षमता अनुसार नै निर्देशन दिएको कारण सफल पनि भएको छु । व्यक्तिगत रुपमा पनि वहाँ निकै सहज हुनुहुन्छ,’ सेसेले सुनाए ।
अघिल्लो सिजन आर्मी अन्तिम खेलमा मछिन्द्रसँग पराजित हुँदै लिग उपाधि जित्नबाट बन्चित भएको थियो । आजपनि अघिल्लो लिग भन्ने बितिक्कै सेसेलाई त्यसै खेलको झझल्को आउँछ । ‘अघिल्लो सिजन भन्ने बितिक्कै त्यहि खेल र गोल याद आउँछ । हामी इतिहास रच्नबाट निकै नजिक थियौं । तर त्यो दुर्भाग्यपूर्ण गोलले सबै बदलियो । अब त्यो गोललाई सुधार गर्नुछ । लिग उपाधि जित्नुछ,’ उनले भने ।
आर्मीले लिग उपाधि जित्न तयारी गर्ने क्रममा सिजनको सुरुवात नहुँदै आफ्नो मुख्य फरवार्ड नवयुग श्रेष्ठलाई गुमाएको थियो । नवयुग घाइते हुँदा यू-२३ टोलीसँग ताजिकिस्तान रहेका सेसेले लिग कठिन हुने आँकलन गरिसकेका थिए । सुरुवाती दुई खेलमा अर्का फरवार्ड सुदिल राई पनि गुमाएपछि थप कठिन हुने उनले बुझेका छन् । तर आर्मीले अझैपनि लिगमा दाबेदारी कायम राख्ने उनको विश्वास छ ।
आर्मीमा आबद्ध अन्य खेलाडीझैं उनी भर्ती भने भएका छैनन् । व्यावसायिक फुटबलरका रुपमा नै आर्मीबाट खेल्ने उनले हाललाई अन्य केहि सोचेका छैनन् । ‘अघिल्लो सिजनको अधुरो सपना यसपटक पूरा गर्नुछ । अहिलेलाई आर्मी भन्दा अरु केहि सोचेको छैन । आर्मीमै भर्ती हुने सोच पनि छैन । लिग जित्ने लक्ष्य लिएर आएको छु, त्यो त पूरा गर्नुपर्यो नि । अझै ११ खेल बाँकी छ, हामीले अंक जोड्ने खेल अब सुरु हुन्छ,’ उनले हाँस्दै भने ।
January 17, 2025
नेपालगञ्ज (हाम्रो खेलकुद)- नेपालगञ्जमा अर्को महिना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढेको आयोजक अन्तरालले जनाएको छ। बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्ज रंगशालामा हुनेछ । नेपालगञ्ज रंगशालामा आयोजना शुक्रवार गरिएको पत्रकार भेटघाटमा अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगिता प्रतियोगिता संचालनका लागि तयारी अघि बढेको […]
January 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबले एन्फा राष्ट्रिय महिला लिगको अन्तिम चरणमा लगातार छैटौं जित हासिल गरेको छ। एपिएफले शुक्रवार वालिङ नगरपालिकालाई १०-० ले हराएको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफको जितमा रश्मिकुमारी घिसिंङले ४, सरु लिम्बु र सविता राना मगरले समान २ तथा प्रीति राई र रेनुका नगरकोटेले समान १ गोल गरिन् । शीर्ष स्थानको […]
January 17, 2025
एजेन्सी – रियल म्याड्रिड कोपा डेल रे को क्वाटरफाइनलमा पुगेको छ। सेल्टा भिगोलाई बिहीवार ५-२ ले हराउँदै रियल अन्तिम आठमा पुगेको हो। घरेलु मैदानमा रियलले २-० को अग्रता जोगाउन नसक्दा जितका लागि थप समय सम्म कुर्नुपर्यो । इन्ज्युरी समयमा रियल सम्हालिन नसक्दा सेल्टा भिगोले बराबरी गोल फर्कायो । रियललाई जित दिलाउन एन्ड्रिकले २, केलियन एम्बाप्पे, […]