default_image

5 years ago

April 12, 2020

गौरिका र भलिबल छाएको वर्ष कोरोनाको छायाँ

115 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

दुई दशकयता नेपाली खेलकुदले सफलता र आयोजनाका हिसाबले महत्त्वपूर्ण उपलब्धी हासिल गरेको वर्षको अन्त्य भने कोरोना भाइरस कोभिड १९ को छायाँमा परेको छ । भौतिक पूर्वाधारको पूर्ननिर्माण समयमा नहुँदा पटक-पटक सर्दै अन्ततः मंसिरमा नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजना गर्न सफल भयो । त्यति मात्र होइन सागको ३५ वर्षे इतिहासमा पदकका हिसाबले नेपालले ५१ स्वर्ण पदकसहित २ सय भन्दा बढी पदक जितेर सबैभन्दा ठूलो सफलता हासिल गर्‍यो।

तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) को पहिलो (सन् १९८४) र आठौं (१९९९) संस्करण नेपालले आयोजना गरेको थियो । आठौं आयोजनाको २० वर्षपछि नेपाल यसको १३ औं संस्करण आयोजना गर्न सफल भएको थियो । त्यति बेला ३१ स्वर्ण पदकसहित पदक तालिकाको स्थानमा रहेको नेपालले यसपटक त्यो भन्दा बढी पदकसंख्याका साथ पुनः दोस्रो स्थान प्राप्त गर्न सफल भयो ।

यद्दपी त्यतिबेला १२ खेलको तुलनामा  यसपटक २६ खेल आयोजना भएका थिए । १३ औं सागका हरेक सफलताका पछाडि आ आफ्नै कथा व्यथा रहेपनि अन्ततः ती सबै सफलताले नेपालीलाई खुसी दिन सफल भएको छ । ५ अर्ब खर्च गरेर सम्पन्न सागको समिक्षा र आर्थिक पाटो केकस्तो रह्यो, समय क्रममा त्यसको समिक्षा पनि होला नै ।

तर, एक महिना यता कोभिड १९ को महामारीले विश्वलाई चपेटामा पारेको छ । १ लाख भन्दा बढीको मृत्यु भइसकेको छ भने १५ लाख भन्दा बढी संक्रमित भएका छन् । त्यस्तो कुनै क्षेत्र छैन जसमा कोरोनाका कारण असर नपारेको होस् । मानव जीवनकै संकट घडीमा अन्य विषयले धेरै महत्व राख्दैन । संक्रमणका हिसाबले नेपालमा त्यति असर नगरेपनि त्यसको असार भने अन्य क्षेत्र जस्तै खेलकुद क्षेत्रमा पनि छ । खेलकुद गतिविधि ठप्प छ । बैशाखदेखि फागुन सम्मको ११ महिनाका खेलकुदका उपलब्धी र आयोजनाका हिसाबले हेर्ने हो भने नेपाली खेलकुद इतिहासको सफल वर्ष भन्दा फरक पर्दैन ।

१३ औं साग अघि पनि नेपाली खेलकुदमा यो वर्ष उल्लेख घटनाक्रम रहे । वैशाखको सुरुवातमै प्रदेश ५ त्यसमा पनि मुख्यतः बाँके जिल्लामा आठौं राष्ट्रिय खेलकुदको आयोजना, राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवका रुपमा रमेशकुमार सिलवालको नियुक्ती, नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन फुकुवा, नेपाल महिला टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय सफलता हासिल गर्ने गर्ने क्रममा एभिसी सेन्ट्रल जोनमा स्वर्ण पदक, ५ वर्षयता पहिलो पटक रेलिगेसनसहितको सहिद स्मारक ए डिभिजन लिग, नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचन सम्पन्न भएको थियो । यी सबै घटना क्रमले नेपाली खेलकुदलाई अझै अघि बढ्न पक्कै मद्दत गर्ने आशा गर्न सकिन्थ्यो ।

तर, वर्षको अन्त्यमा आइपुग्दा विश्व खेलकुदसँगै नेपाली खेलकुदमा अन्यौलता छाएको छ । कोरोनाको महामारीको तत्कालिन असर कहिले सम्म र यसले दीर्घकालमा कति सम्म असर गर्छ अहिले भन्न सकिने अवस्था छैन । तत्कालिन रुपमा देखिएको मध्ये दशरथ रंगशालामा चैत १३ र १८ गते हुने चाइनिज ताइपे र अष्ट्रेलियासँगको विश्वकप छनोटको खेल स्थागित भएको छ । त्यस्तै घरेलु क्रिकेटको सफल फ्रेन्चाइज क्रिकेट एभरेष्ट प्रिमियर लिग चैत १ गतेबाट सुरु हुनुपर्ने अन्तिम समयमा आएर अनिश्चितकालका लागि स्थागित भएको छ । मोसफलका दर्जन भन्दा बढी नकआउट फुटबल प्रतियोगिता रोकिएको छ । कोरोनाको असरले नेपाली खेलकुदलाई आर्थिक रुपमा कति घाटा भयो त्यसको आकंलन अहिले सम्म भएको छैन ।

आठौं राष्ट्रिय खेलकुद (वैशाख ५–११ गते)

राखेपको नेतृत्वको एकमत नहुँदा नहुँदै पनि अन्ततः वैशाख मा प्रदेश ५ मा आठौं राष्ट्रिय खेलकुद आयोजना भएको थियो । तत्कालिन सदस्य सचिव केशवकुमार विष्टले कुनै पनि हालतमा आठौं आयोजना गरि छाड्ने दृढता र स्थानियस्तरमा तत्कालिन मध्यपश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीको सक्रियताले आठौं आयोजनाले मुर्त रुप लिएको थियो । चैतको अन्त्यबाट सुरु भएको आठौं झन्डै २ साता चलेको थियो । जुन राष्ट्रिय खेलकुद इतिहासमा सर्वाधिक लामो दिनको आयोजना थियो ।

सामान्यता एक सातासम्म राष्ट्रिय खेलकुद आयोजना हुने गर्थ्यो । चैत अन्तिमबाट सुरु भएको आठौंको उद्घाटन वैशाख ५ गते भएको थियो भने ११ गते समापन भएको थियो । देश संघियतामा गएपछिको पहिलो पटक आयोजना भएको राष्ट्रिय खेलकुद पहिलो पटक धेरै जिल्लामा आयोजना भएको थियो । उद्घाटन र समापन बाँकेको नेपालगन्जमा भएपनि प्रदेश ५ का अन्य जिल्लामा आठौंका विभिन्न खेल आयोजना हुँदा कतिपय नयाँ पूर्वाधार बने भने कतिपय जिल्लाका संरचना पूर्नर्मिाण भएका थिए ।

अबको चुनौति भनेको नयाँ बनेका र पूर्ननिर्माण गरिएको संचरनाको प्रयोग तथा संरक्षण नै रहेको छ । पहिला विकास क्षेत्र र अहिले प्रदेश खेलकुदलाई समृद्ध बनाउने, त्यहाँ संस्कारको विकास गर्ने र भौतिक पूर्वाधार सम्पन्न गर्दै जाने उद्देश्यका साथ राष्ट्रिय खेलकुद आयोजना भएपनि त्यसले अपेक्षा अनुसारको सफलता प्राप्त गरेर नगरेकोमा भने राखेपले समिक्षा गरेको पाइदैन ।

राखेप सदस्य सचिवमा सिलवालको नियुक्ती (असार २३ गते)

प्रधानमन्त्री केपी शर्मा ओलीका निकटका रमेश सिलवाल असार २३ गते राखेपको सदस्य सचिव नियुक्त भएका थिए । तत्कालिन सदस्य सचिव विष्टले दोहोराउन प्रयास गरे पनि उनी सफल हुन सकेनन् । प्रधानमन्त्रीसँगको सम्बन्धकै कारण सिलवालले सदस्य सचिवको दौडमा रहेका अरुलाई पछि पारेका थिए । पार्टी भित्र कमजोर रहेको अवस्थामा मदन भण्डारी स्पोर्टस फाउन्डेसनमार्फत ओलीलाई खेलकुदमा क्रियासिल बनाउनेमा सिलवालको भूमिका महत्वपूर्ण थियो ।

शिक्षा क्षेत्रमा लामो समयदेखि आबद्ध रहँदै आएका सिलवाल हिसान र गोल्डेन गेट कलेजका अध्यक्ष पनि हुन् । अप्ठेरो समयमा लगाएको गुण तिर्ने क्रममा ओलीले सिलवाललाई सदस्य सचिव बनाएको भन्नेहरुको मत खेलकुदमा बलियो छ । नेपाल क्रिकेट संघ (क्यान) को विभिन्न पदमा रहेर अनुभव बटुलिसकेका सिलवाल नेपाली खेलकुदमा नयाँ नाम भने थिएनन् । यद्यपी उनी सदस्य सचिव बन्नका लागि भने नेपाल भलिबल संघको सिफारिसको व्यवस्था मिलाउनुपरेको थियो । उनकै सक्रियतामा १३ औं सागको आयोजना भएको थियो । प्रधानमन्त्रीसँगको सम्बन्धकै कारण उनी साग आयोजनाका लागि आवश्यक बजेट ल्याउन सफल भएको मानिन्छ ।

एनओसीमा जीवनरामको निरन्तरता (भदौ २८ गते )

दुई पटक राखेप सदस्य सचिव हुँदै एनओसीको यात्रा तय गरेका जीवनराम श्रेष्ठ अर्को चार वर्षका लागि अध्यक्ष निर्वाचित भएका छन् । लामो समयसँगै सहकार्य गरेका करातेका पुरेन्द्रविक्रम लाखेले श्रेष्ठको साथ छाडेर अर्का अध्इक्षका अर्का प्रत्यासी उमेशलाल श्रेष्ठको क्याम्पबाट महासचिवमा उम्मेदवारी दिए । तर, त्यसले पनि जीवनरामको यात्रामा फरक परेन । जीवनरामले चाहेजस्तै कार्यसमिति चयन भएको छ ।

संघिय सांसद समेत रहेका जीवनरामको नेपाली खेलकुदमा बलियो पकड रहेको फेरि एक पटक प्रमाणित भएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको अध्यक्ष रहँदै नेपालमै १३ औं साग आयोजना गर्दै जीवनरामले आफ्नो कार्यकाललार्य सुखद बनाउन सफल भएका छन् । संघिय सांसद समेत रहेका कारण उनले खेलकुदको नयाँ ऐनका लागि समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

क्यानको निर्वाचन पछि निलम्बन फुकुवा (निर्वाचन असोज १०, फुकुवा असोज २७ गते)

आन्तरिक विवादका कारण नेपाल क्रिकेट संघ (क्यान) ले झन्डै चार वर्ष अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को निलम्बन खप्नु परेको थियो । आइसिसीकै निगरानीमा नेपालको अन्तर्राष्ट्रिय सहभागिता त रोकिएन तर स्थानिय रुपमा भने क्रिकेटको संरचना लगभग ध्वस्त भयो । ३ फ्रेन्चाइज लिग र स्थानिय केहि प्रतियोगिता बाहेक क्रिकेट विकासका आधारभूत कुनै काम हुन सकेन । असोज १० गते मा निर्वाचनसँगै नेपालको क्रिकेटले पुनः संस्थागत संरचना पाउने आशा पलाएको थियो ।

त्यसको केहि समय पछि असोज २७ गते आइसीसीले सशर्त नेपालमाथिको निलम्बन फुकुवा गर्यो । संयोग नै मान्नुपर्छ आइसीसीले निलम्बन फुकुवा गरेको भोली पल्टै एक दशक देखि राष्ट्रिय टोलीको नेतृत्व गर्दै आएका पारस खड्काले कप्तानी पद त्यागे । पारस कप्तान हुँदा उपकप्तान रहेका ज्ञानेन्द्र मल्ल नयाँ कप्तानका रुपमा नियुक्त भएका थिए । क्रिकेट टोलीको प्रदर्शन भने औसत रह्यो ।

सेन्ट्रल जोनमा स्वर्ण पदक ( कात्तिक २३–२८ गते)

२ वर्षअघि अर्थात २०७४ जेठमा  भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएको  हो । नेपाल भलिबल संघ पछिल्लो सात आठ वर्षदेखि व्यवस्थित रुपमा चलिरहेको छ । योजनाबद्ध आन्तरिक प्रतियोगिता, प्रशिक्षण, चुस्त व्यवस्थापनका कारण भलिबल विस्तारै उकालो चढ्न थालेको छ । तीन वर्षअघि पुरुष टोलीले पहिलो अन्तर्राष्ट्रिय पदक जित्ने क्रममा सेन्ट्रल जोनमा कास्य पदक जितेको थियो । महिला टोलीले त्यो भन्दा ठूलो सफलता दिलाउने क्रममा यो वर्ष बंगलादेशमा आयोजना भएको सेन्ट्रल जोनमा स्वर्ण पदक जितेको थियो ।

केहि सिनियर खेलाडीलाई हटाएर नयाँ खेलाडीलाई मौका दिँदा चर्को आलोचना खेपेको संघले महिला टोलीको सफलतासँगै स्यावासी पाएको थियो । यो वर्ष नै संघले पुरुषतर्फको सेन्ट्रल जोन आयोजना गर्दा घरेलु टोली सेमिफाइनल पनि पुग्न भने सकेन । सागमा पनि महिला टोलीले पहिलो पटक रजत पदक जितेको थियो । भारतलाई कडा टक्कर दिएको नेपालले अन्तत ३–२ ले गुमाएको थियो । सागमा पुरुषतर्फ पनि नेपालको प्रदर्शन फितलो बन्यो ।

१३ औं साग – ऐतिहासिक सफलता (मंसिर १५–२४ गते)

भौतिक पूर्वाधारका हिसाबले नेपालका लागि साग आयोजना जति चुनौतीपूर्ण थियो त्यत्तिकै उच्च प्रदर्शनका लागि पनि दबाब थियो । २० वर्षअघि स्वदेशमा आयोजना भएको आठौं संस्करणपछि सागमा नेपालको प्रदर्शन झन् झन् खस्कदै गएको थियो । सफल आयोजनाका लागि उच्च प्रदर्शनका लागि दबाबकाबीच नेपाली खेलाडीले पहिलो दिनबाट उच्च प्रदर्शन गर्न थाले । जसका कारण नेपालले ३५ वर्ष साग इतिहासमै सबैभन्दा सफलता नतिजा निकाल्यो ।

मंसिर १५ देखि २४ गते सम्म भएको १३ औं सागमा नेपालले ५१ स्वर्ण पदक ६० रजत र ९५ कास्य पदक जितेको थियो । सागमा समावेश २६ मध्ये १ खेल बाहेक सबैमा नेपालले पदक जितेको थियो । पौडीकी गौरिका सिंहले ४ वटा स्वर्ण पदक जित्दा तेक्वान्दोकी आयशा शाक्य, करातेका मण्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङले दोहोरो स्वर्ण पदक जितेका थिए । नेपालका लागि कुस्तीमा , भारोत्तोलन, ट्रायथोलन र एथलेटिक्समा पनि महिलाले पहिलो पटक स्वर्ण पदक जितेका थिए ।

फुटबल टोली फेरि पनि स्वर्ण पदक जित्न सफल भएको थियो । सुजल श्रेष्ठको कप्तानीमा भुटानलाई हराउँदै नेपाल विजेता बन्न सफल भएको हो । महिला टोलीले फेरि पनि रजत पदकमा चित्त बुझाउँदामहिला भलिबल टोलीले पहिलो पटक रजत पदक जितेको थियो । क्रिकेटमा पनि दुवै टोलीले रजता पदक जिते । बास्केटबलतर्फ नेपालले सबै ४ टोलीले पदक जितेको थियो । सागमा नेपालले प्राप्त गरेको सफलता अपेक्षा भन्दा ठूलो थियो । तर अहिले सम्म पनि सरकारबाट घोषित पुरस्कार भने खेलाडी पाउन सकेका छैनन् ।

५ अर्ब खर्च गरेर आयोजना भएको सागले नेपाललाई केहि नयाँ भौतिक पूर्वाधार दिएको छ । पोखरामा रंगशालाको पूर्ननिर्माण अघि बढेको छ भने २०७२ को भूकम्पले क्षति भएको दशरथ रंगशलाको पनि पूर्न निर्माण सम्पन्न भएको छ । यदि साग आयोजना हुन्थेन भने अहिले पनि रंगशाला तयार नहुने सम्भावना छ । भिआइपीतर्फ प्यारापिटको छाना अन्तिम समयमा पुगेर मात्र जडान हुँदा पटक पटक साग आयोजनामा शंका थियो । जसो तसो प्यारापिटको छाना त लाग्यो तर त्यो दीर्घकालसम्म जाने सम्भावना भने कम देखिएको छ ।

नेपाली खेलाडीले जुन सफलता दिलाए २० वर्षपछि नेपालले पदक तालिकामा दोस्रो स्थान लाएपछि आयोजनाको व्यवस्थापनमा भएका चुक पनि सामान्य लागे । थुप्रै कमजोरीलाई सागको सफलताले छोपिदिएको छ । तर, अहिले सम्म पनि राखेपले सागको खर्च सार्वजनिक भने गर्न सकेको छैन । साग आयोजनाका दौरान ठूलो भ्रष्टाचार भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दाको चाङ नै छ । पहिलो पटक काठमाडौं बाहिर पनि सागका खेल आयोजना भए । कास्की पोखरामा ८ खेल जनकपुरमा कुस्ती आयोजना हुने यसपटकको सागको सुखद पक्ष मान्न सकिन्छ ।

फुटबलको ए डिभिजन लिग (मंसिर २८– फागुन ३ गते)

अखिल नेपाल फुटबल संघ (एन्फा) मा नयाँ नेतृत्व आएसँगै गत वर्षबाट ए डिभिजन लिग पाँच वर्ष पछि आयोजना भएको थियो । तर घरेलु फुटबलको इतिहासमै पहिलो पटक विना रेलिगेसनको लिग आयोजना गर्दा एन्फाले चर्का आलोचना खेप्नुपरेको थियो । यसपटक भने रेलिगेसनसहितको लिग आयोजना हुँदा सरस्वती क्लब बी डिभिजनमा घटुवा भएको छ । मछिन्द्र क्लब पहिलो पटक ए डिभिजन लिग च्याम्पियन बनेको छ ।

लिग इतिहासमै पहिलो पटक मिलेमतोको प्रस्ताव गरेको आरोपमा सरस्वती क्लबका कप्तान दीपेश श्रेष्ठ प्रतिबन्धमा परेका छन् । तर, एन्फा नेतृत्वले जसरी फुटबल विकासका लागि भन्दा पनि आयोजनाका लागि आयोजना गरेको भन्दै आलोचना भने खपिरहेको छ । लिगमा दर्शक घटेपछि एन्फाले विभिन्न अफर र पुरस्कार राख्दै दर्शकका लागि आकर्षित गर्न खोजे पनि त्यसले खासै प्रभाव पारेको देखिएन ।

महिला लिग आयोजनाको एन्फाले तयारी गरेपनि अन्ततः कोरोनाकै कारण अनिश्चित कालका लागि स्थागित भएको छ । अर्को नयाँ नेतृत्व भएको दुई वर्ष पुग्नै लाग्दा एन्फा नेतृत्वमा विवाद सुरु भएको छ । एउटै प्यानलबाट निर्वाचित भएका अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङबीचको विवादले एन्फाले गति लिने शंका उठ्न थालेको छ ।

ब्याडमिन्टनमा प्रिन्सले जगाएको आशा

विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले जारी गरेको वरीयतामा प्रिन्स शीर्ष ७ मा उक्लन सफल भए । प्रिन्सको यो अहिलेसम्मकै उत्कृष्ट वरियता हो । प्रिन्सले ११ प्रतियोगिता खेल्दै १०४०० अंक जोडेका छन् । विश्व जुनियर र्याङकिङको शीर्ष ७ भित्र पर्नु नेपाली खेलाडी र नेपाली ब्याडमिन्टनको लागि नयाँ इतिहास हो ।

प्रिन्सले पछिल्लो केहि वर्षयता जुनियर ब्याडमिन्टनमा उच्च प्रदर्शन गरे । प्रिन्सले यसै महिना दुई अन्तर्राष्ट्रिय जुनियर प्रतियोगिता खेल्दै प्रि–क्वाटरफाइनल सम्मको यात्रा तय गरेका थिए । प्रिन्सले डच जुनियर इन्टरनेसनल तथा जर्मन जुनियर सिरिजमा प्रि–क्वाटरफाइनल सम्मको यात्रा तय गरे । उनले पछिल्ला ७ खेलमा ५ जित र दुई हारको नतिजा निकालेका छन् । डच जुनियर इन्टरनेसनलमा प्रिन्सले ३ खेल खेल्दा २ मा जित र एक हार बेहोरे । जर्मन सिरिजमा ४ खेलमा प्रिन्सले ३ जित र १ हारको नतिजा निकाले ।

१६ वर्षीय प्रिन्स डाँफे इंग्लिस बोर्डिङ स्कुल जावलाखेल ललितपुरमा ९ कक्षामा अध्ययनरत छन् । विश्व जुनियर वरीयतामा शीर्ष १० मा पर्न प्रिन्स र उनको परिवारको अथक मिहेनत रहेको छ । उनको यही अथक मिहेनतले उनले नेपाली ब्याडमिन्टनले विश्वमा बलियो उपस्थिति जनाउन सक्ने संकेत दिएको छ । त्यसका लागि नेपाल ब्याडमिन्टन संघले उनी जस्ता प्रतिभावान खेलाडीलाई पहिचान गरेर राम्रो एकेडेमीमा राख्न सके अझै सफलता हात पार्न सक्नेछ ।

समग्रतामा नेपाली खेलकुदका लागि २०७६ वर्ष सुखद र सफल मान्न सकिन्छ । तर, वर्षको अन्त्यमा देखिएको यो कोरानाको संक्रमणले नयाँ वर्षमा कति असर गर्छ त्यो भने अहिले आँकलन गर्न सकिने अवस्था छैन । सम्भवतः नेपाली खेलकुदलाई मात्र होइन विश्व खेलकुदलाई नै उठ्नका लागि केहि समय पक्कै लाग्नेछ ।

November 25, 2024

राष्ट्रिय बीच भलिबल सिन्धुपाल्चोकको सुकुटेमा हुने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय बीच भलिबल प्रतियोगिता माघमा सिन्धुपाल्चोकको सुकुटेमा हुने भएको छ। नेपाल भलिबल संघको संयोजन, जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको आयोजना तथा व्यवस्थापनमा माघ १ गते देखि ५ गतेसम्म प्रतियोगिता आयोजना हुने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। त्यो बीच भलिबल महिलातर्फको सातौं र पुरुषतर्फको आठौं संस्करण हुनेछ। […]

November 25, 2024

एनपिएलका लागि टिकट दर सार्वजनिक

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टिकट दर सार्वजनिक गरिएको छ । आयोजक नेपाल क्रिकेट संघ(क्यान)ले एनपिएलका लागि सोमवार साधारण र भिआईपी गरि दुई किसिमको टिकट दर सार्वजनिक गरेको हो । एनपिएलको उद्घाटन खेलमा साधारण तर्फ रु ३ सय तथा भिआइपि तर्फ ७ सयका दरले टिकट सार्वजनिक गरेको छ । अन्य […]

November 25, 2024

डेविस कपमा सफल टेनिस टोली सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- डेविस कपको अघिल्लो चरणमा बढुवा भएको नेपाली पुरुष टेनिस टोलीलाई सोमवार सम्मान गरिएको छ । नेपाल टेनिस संघले टोलीलाई सम्मान गरेको हो। टेनिस संघकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मुल र सदस्य निरेश श्रेष्ठले टोलीलाई सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच सम्मान गरे । नोभेम्बर १८ देखि २३ तारिखसम्म बहराइनको मानामामा भएको डेविस कप […]

Success

Thank you for your time.