5 years ago
December 5, 2019
‘स्वर्ण सधैं विशेष नै हुन्छ, अझ त्यसमाथि स्वर्णसँगै इतिहास पनि रच्न पाउनु । भयो, त्यसको बयानै गर्नु परेन ।’
तेक्वान्दोका सक्षम कार्कीले बुधबार ग्यरोगीतर्फ स्वर्ण जित्दै दक्षिण एसियाली खेलकुदमा नेपालको लागि स्वर्णको शतक पूरा गरे । अर्थात १ सयौं स्वर्ण जिते । नेपालमा जारि १३ औं दक्षिण एसियाली खेलकुदमा २९ औं स्वर्ण जितेका उनले फाइनलमा पाकिस्तानका वकर अली खानलाई सहजै पराजित गरेका थिए । पदक वितरण समारोहपछि टिम होटेलमा सक्षमसँग वार्तालापका दौरान उनले बोलेको पंक्ति थियो यो । अन्तर्वार्ताका क्रममा ‘स्वर्ण पदक त विशेष होला नि ? ‘ भन्ने प्रश्न भुइमा खस्न नपाउँदै उनले दिएको उत्तर थियो यो ।
उनले अझ थपे, ‘ यो त अझ सयौं स्वर्ण । अब त म सबैलाई सयौं स्वर्ण जित्ने मै हो भनेर चिनाउन पाउने भएँ । चिनाउनु पनि नपर्ला कि, अब त आफैं पनि चिन्न सक्छन् ।’ यो भनिसक्दा सक्षमको अनुहार फेरी धपक्क बलिसकेको थियो । हँसिलो मुहार र मिजासिला स्वभावका सक्षमले स्वर्ण जित्ने धेरैले आशा राखेका थिए । अपेक्षाअनुसार उनले सहज रुपमा स्वर्ण जिते पनि ।
सक्षमले आफ्नो मिहिनेत र लगावले स्वर्ण जितेका थिए । उनको भाग्य नै भन्नुपर्छ, उक्त पदक नेपालको लागि १ सयौं पदक हुन पुग्यो । नेपाली खेलकुद इतिहासको पन्नामा स्वर्णसँगै नाम लेखाएका उनले सयौं स्वर्णको रुपमा अमिट छाप छोडेका छन् । सुरुवातमा यो तथ्य थाहा पाउँदा अचम्म लागेको बताउने सक्षमको मुहारमा त्यसपछि बेग्लै चमक देख्न सकिन्थ्यो । प्रतियोगिताको तेस्रो दिनसम्म प्रतिस्पर्धाको लागि कुर्नुपर्दा दवावमा रहेपनि पदक जित्ने उनमा आत्मविश्वास भने थियो ।
विगतमा चोटका कारण मुख्य प्रतियोगितामा सहभागिता जनाउन नपाएका सक्षम पटक पटक तेक्वान्दोबाट टाढिने मनस्थितिमा पुगिसकेका थिए । भर्खर २३ वर्ष पुगेपनि उनले ३ पटक शल्यक्रिया नै गराएका छन् । टिनएजर हुँदा नै सन् २०१४ को एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने अवसर पाएका उनले चोटका कारण खेल्न पाएनन् । सन् २०१६ को दक्षिण एसियाली खेलकुदमा सक्षम रजत पदकमा सिमित भए । गत वर्ष इन्डोनेसियामा भएको एसियाली खेलकुदमा पनि घाइते भएपछि उनले खेल्न पाएनन् ।
मुख्य प्रतियोगिताको मुखैमा आएर चोट लाग्नु उनको लागि निकै कठिन रहयो । उनले खेल नै छाड्ने की भन्ने सम्म सोचिसकेका थिए । लगातार चोट र त्यसमाथि मार्सल आर्ट्सको खेल । घरबाट त उनलाई खेल छोड्न भनेर दवाव थिएन, तर पनि मनले मानेको थिएन । चोटको बेलामा पनि प्रशिक्षक दीपक विष्टले उनीमाथि राखेको विश्वासले सक्षमलाई प्रेरणा दियो ।
‘ म चोट लागेर घर बस्दा पनि दीपक गुरुले बेला बेलामा फोन गर्नु हुन्थ्यो । अवस्था के कस्तो छ भनेर सोध्नु हुन्थ्यो । एक पटक मात्र होइन, मेरो तीन पटक त शल्यक्रिया नै भएको छ । सानो चोट होस् या ठूलो, गुरुले मेरो लागि निकै समय खर्चनु भएको छ । वहाँले आफ्नो खेलाडी हुँदाको अवस्था सुनाएर पनि मलाई फर्कन प्रेरित गर्नुभयो,’ उनले सुनाए ।
‘म एक सामान्य खेलाडीको लागि गुरुहरुले यस्तो समय दिनुहुन्छ । दीपक गुरु मात्र होइन अन्य गुरुहरुले पनि हाम्रो प्रशिक्षणमा निकै समय खर्चनुभएको छ । यो विश्वासलाई मैले नतिजा दिएर नै न्याय दिन सक्छु भन्ने लाग्यो । घरबाट पनि मलाई सधैं सहयोग नै भएको छ । सफल खेलाडी बन्न परिवारको साथ अति नै आवश्यक छ । मैले आफ्नो परिवारबाट सधैं साथ पाएँ,’ सक्षमले थपे ।
बुधबार प्रतियोगिताको खेल हेर्न सक्षमको परिवार नै तेक्वान्दो हल पुगेको थियो । पदक जितेपछिको माहोल बताउन आग्रह गर्दा उनी केहि अक्मक्किए, ‘ विहानै बाबा-ममी हलमा आउनुभएको थाहा थियो । मैले खेल भएकोले बोल्न भने पाएको थिईंन । जब पदक जितेर बाहिर निस्किएँ, परबाट बाबा आउँदै हुनु हुन्थ्यो । नजिक गएर बाबालाई हेरें । बाबाले ‘ल बधाई छ!’ भनेर अंगालो हाल्नुभयो । अनि ममी पनि आएर पछाडीबाट अंगालोमा जोडिनुभयो । त्यो क्षण सम्झंदा अहिले पनि अर्कै महसुस हुन्छ । अझै पनि खुसी लागिरेहेको छ । ‘
सक्षमले आफ्नो भविष्य तेक्वान्दोकै वरपर देखेका छन् । उमेर र स्वास्थ्यले साथ दिएसम्म खेलाडीका रुपमा खेल्ने उनले त्यसपछि प्रशिक्षकका रुपमा अगाडि बढ्ने योजना बुनेका छन् । ‘ मैले जानेको तेक्वान्दो हो । यसलाई नै आउने दिनमा अगाडी बढाएर लाग्ने योजना छ । अझ धेरै खेल्ने उमेर नै छ । यो पदक त केवल सुरुवात मात्र हो भन्ने लिएको छु,’ उनले थपे, ‘ मेरो लक्ष्य एसियाली खेलकुद खेल्नु थियो, जुन चोटका कारण सम्भव भएन । सागको स्वर्ण जित्नुलाई मैले मुख्य लक्ष्य बनाएको थिएँ, जुन आज हासिल गरेको छु । अबको लक्ष्य एसियाली खेलकुद खेल्नु हो ।’
यति भन्ने बितिकै उनले खेलकुदमा लागेर नै जीवन गुजारा चलाउन नेपालको वर्तमान अवस्थामा कठिन रहेको भने स्वीकारे । सागको पूर्वसन्ध्यामा एथलेटिक्सकी तुलसा खत्री विदेशिनु परेको कटु सत्यलाई उनले सम्झिए । ‘साग सुरु हुनुअघि जस्तो लाग्छ । हामीले प्रशिक्षण सकिएपछि केहि समयका लागि मोबाइल पाएका थियौं । एथलेटिक्सको एकजना खेलाडी प्रशिक्षण नै छोडेर विदेश जानुभएछ । त्यो थाहा पाउँदा एकदम नराम्रो लाग्यो । वहाँले आफ्नो परिस्थिति कै कारण त्यस्तो कठिन निर्णय लिनुभयो होला । वहाँले यहाँसम्म आएको मिहिनेत यसै त पक्कै छोड्नुभएन,’ उनले थपे ।
‘नेपालबाट विदेश खेल्न जाने बेलामा पनि कति खेलाडी लुकेको खबर आउँछ । कोहि पनि रहरले त्यहाँ लुक्दैन । सबैको आ-आफ्नो बाध्यता हुन्छ । गलत हो भन्ने थाहा हुँदाहुँदै पनि खेलाडी पलायन हुनुको विकल्प देख्दैनन् ।’
स्वर्ण पदकले २३ वर्ष सक्षमको जीवनमा थुप्रै परिवर्तन आउला नआउला, त्यो पछिको कुरा । स्वर्णको असली वजन थाहा पाउन समय लाग्ने बारे उनलाई थाहा छ । अहिले भने उनी कम्तिमा पनि यसमा खुसी छन् की अब उनले स्वदेशमै बस्ने एउटा कारण पाएका छन् । ‘ आशा गरौँ अब फेरी मैले विदेश जाने बारे सोच्न पनि नपरोस् । मलाई कहिल्यै नेपाल छोडेर कतै जाउँ जस्तो लागेको छैन । म जहाँ छु त्यो मेरो घर परिवार र तेक्वान्दो परिवारको कारण छु,’ उनले थपे, ‘ मेरो परिचय, मेरो वर्तमान र मेरो भविष्य सबै यहिं छ । मलाई विदेश जाने सल्लाह पनि मेरो राम्रो सोचेर नै आएको हो । तर अब मैले नेपालमै बस्ने कारण पाएको छु । यो पदकले मेरो भविष्य मोड्नेछ ।’
नेपालको वर्तमान अवस्थामा राज्यबाट आफूले पाएको सहयोग र साथबाट सक्षम खुसी छन् । उनले खेलाडीको लागि रोजगारी सुनिश्चितता हुने हो भने पनि धेरै राम्रो नतिजा आउने बताउँछन् । ‘ राज्यले जे जति गरेको छ, नेपालको अवस्था हेर्दा त्यो ठिक छ । म आफैं अहिले विभागीय टोली आर्मीमा आबद्ध छु । सायद आर्मीको साथ नहुँदो हो त म कहाँ हुन्थें मलाई थाहा छैन । हरेक खेलको अवस्था त्यहि छ,’ उनले भने ।
‘ विभागबाहिर पनि प्रतिभावान खेलाडी छन् । उनीहरुको पनि हामीजस्तै क्षमता भएका छन्। तर खेलमा लागिरहने वातावरण छैन । निरन्तर प्रशिक्षण गर्न सबैको पारिवारिक अवस्थाले साथ नदिन सक्छ । दैनिक जीवनयापनकै लागि भएपनि खेलाडीलाई रोजगारी सुनिश्चितता गर्नुपर्छ । कम्तिमा खेलमा लागिरहन आधार त दिनुपर्छ,’ सक्षमले थपे ।
उनले आफ्नो अवस्थालाई उदाहरण दिंदै वर्तमान अवस्थाको चित्रण गरे । ‘ मेरो लागि परिवारबाट पूर्ण साथ छ । मलाई खेलमा लाग्न कुनै कठिनाइ छैन । हिजोको दिनसम्म म सामान्य खेलाडी थिएँ । मैले यो सफलता हासिल नगरेको भए कहिलेसम्म तेक्वान्दोमा निरन्तरता दिन्थें थाहा छैन । मेरो उमेरको अन्य साथी अधिकांश विदेशमा छन् । मलाई पनि कहिले त जाउँ कि क्या हो भन्ने नि भयो । मेरो दिदी पनि विदेशमा हुनुहुन्छ, सामान्य सल्लाह हुँदा नेपालमा खासै केहि छैन जस्तो पनि लाग्थ्यो,’ उनले भने ।
‘ अब मैले स्वर्ण जितेपछि म नेपालमै बस्छु भन्नेमा प्रष्ट छु । मेरो परिवारले यसलाई कसरि हेरेको छ थाहा छैन । बाबा-ममीले कहिले पनि कुनै दवाव दिनुभएको छैन । दिदीले भने भविष्यबारे सोच भनेर भन्नु हुन्थ्यो । अब मेरो लागि भविष्य नेपालमै छ,’ उनले थपे, ‘अब एसियाली च्याम्पियनसिपमा हाम्रो वरीयतामा पनि फरक पर्छ । त्यसमा विशेष ध्यान दिनेछु । त्यसपछि लक्ष्य एसियाली खेलकुद खेल्ने हो । दुई पटक खेल्न नपाएको पिडा बिर्साउनु नै छ ।’
१३ औं सागमा स्वर्ण जितेपछि हाम्रोखेलकुद डट कमका सुबास हुमागाईंसँग गरेको कुराकानीमा आधारित
December 24, 2024
सुबास हुमागाईं, काठमाडौं यो तथ्यांक सरसर्ती हेर्दा कुनै तीव्र गतिको बलरको तथ्यांक जस्तो लाग्ला, तर बायाँ हाते स्पिनर ललित नारायण राजवंशीले नेपाल प्रिमियर लिगका दौरान जनकपुर बोल्ट्सबाट खेल्दा गरेको प्रदर्शन हो यो । जनकपुरले सुदूरपश्चिम रोयल्सलाई फाइनलमा ५ विकेटले हराउँदै उपाधि जित्दा बलिङमा ललितको प्रदर्शन गजबको थियो । फाइनलमा टस जितेर ब्याटिङ रोजेको सुदूरले २ […]
December 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- केडिया ग्रुपले फागुनमापुरुष भलिबलको फ्रेन्चाइज लिग गर्ने भएको छ। केडिया ग्रुपले मंगलवार पत्रकार सम्मेलन गर्दै लिगमा ६ टोलीको सहभागिता रहने जानकारी दिएको छ। सिंगल राउन्ड रोबिन लिगपछि पहिलो र दोस्रो हुने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। लिग चरणमा १५ र फाइनल गरी कुल १६ खेल हुनेछन् । लिग नौ दिनसम्म चल्नेछ। […]
December 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- युएईमा भएको २८औं संस्करणको फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल अन्तर्गत यु-२१ तर्फको उपाधि विजेता नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यलाई नेपाल गल्फ संघले सम्मान गरेको छ। राजधानीमा मंगलवार आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले सदभावलाई सम्मान पत्र र ७५ हजार रुपैयाँ सहित सम्मान गरे। नेपाली […]