6 years ago
July 22, 2019
हाम्रो खेलकुद टिम, काठमाडौं
‘एज इज जस्ट अ नम्बर’ अर्थात् उमेर मात्र एक संख्या हो । खेलकुदमा यो भनाइलाई परिभाषित गर्ने हो भने तपाईंको खेल्ने क्षमता र दक्षता छ भने उमेर एक संख्यामै सिमित रहन्छ । यस भनाइलाई कागजमा मात्र सिमित नराखेर वास्तविक जीवनमा अबलम्बन गरेका थुप्रै उदाहरण छन् । अझ खेलकुदमा यसका असिमित उदाहरण अहिले पनि व्याप्त छन् ।
खेलाडीले आफ्नो खेल जीवनमा सधै एकनासमा खेल्न सक्दैन । करिअरमा उतार चढाव आउनु स्वभाविक हो । शारीरिक, मानसिक वा अन्य कारणले पनि खेलाडीको प्रदर्शनमा प्रभाव पारेकै हुन्छ । सबै ठिक हुँदा पनि खेलाडीको प्रदर्शन बिग्रन सक्छ । खेलाडीको प्रदर्शनमा उतारचढाव आउनु नियमित प्रक्रिया जस्तै हो । सबै खेलाडीको प्रदर्शन गर्ने क्षमता र दक्षता एकै किसिमको हुँदैन ।
विशेषत उमेर ढल्कँदै गएपछि उक्त खेलाडीको प्रदर्शनमा गिरावट आउन थाल्छ । त्यसैले सँगसँगै विकल्पमा अर्को खेलाडी तयार पार्दै जानुपर्दछ । कुनै खेलाडीको खेल जीवन छोटो हुन्छ त कसैको निकै लामो । तर यो पक्का छ की हरेकले खेल जीवनबाट अलग हुने समय आउछ । खेल पनि पुराना पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण भइरहन्छन्, हुनुपर्दछ । यसले नै खेलकुदलाई जोगाइ राख्छ ।
यसका मतलब सिमित उमेर पुगेपछि खेलाडीले खेल्न सक्दैनन् अथवा खेल्ने मौका दिनु हुँदैन भन्ने होइन । खेल र खेलाडी अनुसार फरक फरक स्थिति आउन सक्छ । फुटबलमा सामान्यतया ३० औं वसन्त पार गरेपछि खेलाडी करिअरको उत्तरार्द्धतर्फ उन्मुख भएको बुझिन्छ । तर केहि यस्ता खेलाडी छन् जसले ४० वर्षको उमेरमा पनि विश्वस्तरीय प्रदर्शन गरिरहेका छन् ।
जापानको शीर्ष डिभिजन टोली योकोहोमाले केहि साताअघि मात्र ५२ वर्षीय कजुयुशी मिउरा र ४२ वर्षीय सुन्शुके नाकामुरालाई अनुबन्ध गर्यो । दुवै खेलाडी शीर्ष डिभिजनमा पहिलो रोजाईमा नै खेल्ने गर्दछन् । नेपालकै परिपेक्षमा पनि स्क्वास खेलाडी हिराबहादुर थापाले ४९ वर्षको उमेरसम्म नियमित खेले । अन्य यस्ता थुप्रै उदाहरण विश्व खेलकुद र नेपाली खेलकुदमा पाइन्छ ।
पछिल्लो समय नेपाली खेलकुदमा राष्ट्रिय खेलको चिनारी पाएको भलिबलको महिला राष्ट्रिय टोलीलाई लिएर यस्तै विवाद उत्पन्न भयो । नेपाल भलिबल संघले भावी योजनालाई सोचेको भन्दै जेठ १५ गते १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि २५ सदस्यीय प्रारम्भिक टोली घोषणा गर्यो । पुरानो टोलीको ७ खेलाडी मात्र सम्मिलित गर्दै संघले आश्चर्यजनक निर्णय सार्वजनिक गर्यो । संघले गठन गरेको ५ सदस्यीय छनोट समितिले कप्तान र उपकप्तान समेतलाई प्रारम्भिक टोलीमा समेटेनन् ।
छनोट गरेको २५ सदस्यीयमा टोलीमा अरुणा शाही, रेश्मा भण्डारी, प्रतिभा माली, सरस्वती चौधरी, कमला पुन, हीरा केसी र उषा विष्ट मात्रै अहिलेको टिमका पुराना खेलाडी हुन् । बाँकी सबै नयाँ अनुहार छन् । कप्तान विनिता बुढाथोकी, उपकप्तान मन्जु गुरुङसहित अनुभवी खेलाडी नेविका चौधरी र कोपिला उप्रेती टोलीमा अटाएनन् । गतवर्ष आर्मी पुगेकी कृपा अधिकारी र मनिषा चौधरी पनि टोलीमा परेनन् ।
घरेलु भलिबलमा दबदबा जमाइरहेका यी खेलाडीहरु बढी उमेर भएको र चोट लाग्ने संभवानाका कारण फालिएको भन्ने छनोट सम्बद्ध स्रोतले जानकारी दिएको छ । त्यसो त आठौं राष्ट्रिय खेलकुदलाई आधार मानेर प्रतियोगिताको खेलाडी छनोट सम्पन्न गरिएको भनियो । तर उक्त प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेका एपीएफकी विनिता, पुलिसकी कोपिला र गण्डकीकी मन्जुसँगै प्रदेश ३ तथा घरेलु भलिबलमा न्यु डायमन्डको कप्तानी सम्हालेकी ललिता नाथ पहिलो चरण छनोटमा बोलाइएनन् । उक्त प्रतियोगितामा बिरलै कोर्ट प्रवेश गरेका खेलाडी भने टोलीमा छन् ।
छनोटमा केही खेलाडी मात्र यस्ता छन् जसले नियमित रुपमा घरेलु भलिबलमा उच्च प्रदर्शन गरिरहेका छन् । अन्तिम टोलीको छनोटमा पर्न पनि राम्रो खेल्ने भन्दापनि औसत भलिबल खेल्ने खेलाडीको प्रतिस्पर्धा हुने देखिन्छ । घरेलु प्रतियोगिता खेल्न जाँदा प्रदेश टोलीको वैकल्पिकमा रहेर पनि कोर्ट प्रवेश गर्न नपाएका केहि खेलाडीहरु उचाइका आधारमा टिममा समावेश छन् । केही खेलाडी भर्खर भलिबल सिक्दैछन् । संघले यसलाई दीर्घकालीन रुपमै टिम बलियो बनाउने योजनाको रुपमा अगाडी सारेको छ , र त्यो स्वभाविक हो । तर दक्षिण एसियाली खेलकुदजस्तो प्रतिष्ठित प्रतियोगिताको तयारीमा योग्य खेलाडी छनोट नहुनु भने जायज छैन ।
राष्ट्रिय टिममा उत्कृष्ट भन्दा पनि उत्कृष्ट खेलाडीबीचबाट प्रतिस्पर्धा भएर छानिनु पर्दछ । छनोट समितिले पनि खेलाडीको प्रदर्शनलाई आधार मान्दै उत्कृष्ट मध्येको पनि उत्कृष्ट खेलाडी छनोट गरेर टिममा प्रशिक्षण गराउनुपर्ने हो । तर, प्रारम्भिक चरणमा खेलाडीहरुको प्रशिक्षण हेर्दा अधिकांश खेलाडीको लागि यो भलिबलको प्रारम्भिक ज्ञान सिक्ने थलो बनेको छ । योग्य खेलाडी निराश बन्दै दुखेसो पोखिरहँदा सिकारु अवस्थाका खेलाडी प्रशिक्षणमा संघर्ष गरिरहेका छन् ।
संघले नै नेपालमा आयोजना हुने सागको लागि साउन १ गतेबाट प्रशिक्षणमा राखेको छ । तोकिएको मितिअनुसार साग आउन ४ महिनाको समय पनि बाँकी नरहँदा यि नयाँ खेलाडीबाट कस्तो अपेक्षा गर्ने । उनीहरुलाई सिक्न समय लाग्छ नै । उनीहरु सागका लागि योग्य होलान् त ? यसले प्रशिक्षणमा रहेका योग्य खेलाडीको मनोबल कस्तो पार्ला ? प्रशिक्षणमा खेलाडीबीच समन्वयमा कस्तो असर पर्ला ? वर्तमान नै भुलेर भविष्यको बारे सोच्ने संघको यो कदमले दिर्घकालिन रुपमा कस्तो असर गर्ला ? प्रश्नै-प्रश्न खडा भएको छ ।
सागअन्तर्गत महिला भलिबलमा नेपालले कांस्य पदक जित्दै आएको छ । यसअघिका तीन संस्करणमा नेपाल लगातार तेस्रो हुँदै आएको छ । अब नेपालको लक्ष्य कांस्य भन्दा चढ्नु हो । यो टोलीले दीर्घकालीन रुपमा केही गर्नेमा आशावादी रहँदा घरेलु भुमिमा नेपाल पदकविहिन हुने हो कि भन्ने शंका गर्ने अवस्था बनेको छ ।
एकैपटक अनुभवी खेलाडीहरु फाल्दा संघले उनीहरुको बारेमा पनि ध्यान दिनुपर्ने हो । कप्तान विनिता र उपकप्तान मन्जुले घरेलु भुमिमै आयोजना हुने सागबाटै सन्न्यास लिने सोच राखेको भएपनि अब त्यो पुरा नहुने अवस्था बनेको छ । उनीहरु एकैपटक फालिंदा खेलाडीहरुलाई नरमाइलो महसुस त पक्कै भयो । त्योभन्दा बढी राष्ट्रको लागि योगदान गर्न सक्ने अवस्थामा आफूभन्दा कमजोर खेलाडी पर्नु र आफू छनोटमा नै नपर्नुले त्यसमा पिडा थपेको छ ।
विनिताले खेलाडी छनोटको आधार र मापदण्डमा नै प्रश्न गरेकी छिन् । ‘खेलाडी छनोट खेलाडीले गरेको प्रदर्शनको आधारमा गरिने हो कि बेन्चमा बसेको आधारमा गर्ने हो ? मैले बुझ्न सकिन । हामीलाई उमेरको आधारमा हटाइएको भन्ने सुनेको छु । संघले दीर्घकालीन रुपमा सम्झिएर खेलाडी छनोट गर्नु राम्रो पक्ष हो ’ उनले भनिन्, ‘यो भन्दैमा भर्खर सिक्दै गरेकाहरुलाई सिधै टोलीमा समावेश गर्ने होइन । अहिले टिममा रहेका १५ जनाभन्दा बढी राम्रा खेलाडी बाहिर छन् । खेलाडी छनोटमा म कुनै तुक देख्दिन । सेलेक्सन गरे, कस्ता खेलाडी परे भन्ने त सबैलाई छर्लङ्ग छ ।’
उनले मनिषा चौधरी, मनिषा तामाङ, नेविका चौधरी, मन्जु गुरुङ, पुजा चौधरीजस्ता खेलाडीलाई प्रारम्भिक चरणमै पछार्ने कस्ता खेलाडी रहेछन् उनीहरुबाट नेपालमै आयोजना हुने १३औं साग हेर्ने इच्छा रहेको बताइन् ।
यता मन्जुले प्रारम्भिक चरणमै नपर्दा बेइज्जत र अपमान गरिएको महसुस भएको बताइन् । ‘मैले मलाई टिममै पार्नुपर्छ भनेको छैन । राम्रो खेलाडीलाई स्थान दिनुपर्ने मात्रै भनेको हो । हामी २५ जनाभित्रै नपर्ने भएका थियौं होला त ? साग आउन ४ महिनाको मात्रै अवधि छ । नयाँ खेलाडीहरु यसबीचमा फिट हुने कुरा सुनेको छु । यो अवधिमा हामी पनि फिट हुन सक्ने थियौ होला ’ मन्जुले भनिन्, ‘जुनियर बहिनीहरुलाई मौका दिनु राम्रो हो । संघले लगानी गरेका छन् । हामीले पनि भलिबललाई लगानी गरेका छौं । १५ वर्षको हाम्रो मिहेनत र लगानी खेर गएको अनुभुति भएको छ ।’
पुरुष राष्ट्रिय टोलीका कप्तान इम बहादुर रानाले पनि यस विषयमा दुखेसो पोखे । ‘म पनि पुरुष राष्ट्रिय भलिबल टोलीको कप्तान । मेरो पनि उमेर ढल्कदैछ । अब २-३ वर्षपछि म पनि उमेरकै आधारमा फालिने होकी भन्ने डर छ । तर, त्यस्तो परिस्थिति नआओस् ।’ उनले महिला टोलीकी कप्तान र उपकप्तान अझै पनि टिमको भरपर्दा खेलाडी रहेको बताए । ‘विनिता अझै पनि टिमको एक्लो लिफ्टर थिइन् । उनको अहिल्यै विकल्प बनिसकेको छैन’, उनले भने,‘ कृपा अधिकारी आएकी थिइन् । तर, उनी आर्मीको आन्तरिक प्रशिक्षणमा रहेकाले भलिबलबाट टाढै छन् । विकल्प हेरेर नै खेलाडी छनोट गर्नुपर्ने हो ।’
अहिले महिला भलिबलको टोली छनोटको दुरावस्थाले छनोट समितिलाई चौतर्फी प्रश्न उब्जिएको छ । संघ र समिति आफ्नो निर्णयमा अडिग छन् । राष्ट्रिय स्तरको भलिबलमा नै टोलीमा नपरेका खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि राष्ट्रिय टोलीमा पर्नुले खेलाडी मात्र नभएर आम समर्थकलाई पनि आश्चर्यमा पारेको छ । भुत र वर्तमानलाई चटक्कै भुलेर भविष्यको पछाडी दौडिएको समितिले यसबारे गम्भीर रुपमा सोच्न आवश्यक छ ।
संघको चुनाव त ४ वर्षमा आउला र छनोट समिति नै बदलिएला, तर दशकभन्दा बढी समय भलिबलमा व्यतित गरेका खेलाडीहरुको बाँकी जीवन भने खेललाई नै धिक्कार्दै जाने डर छ । त्योभन्दा बढी, भर्खर भलिबल प्रवेश गरेका खेलाडीमा अनावश्यक दबाब सिर्जना गर्दै क्षमताभन्दा बढी अपेक्षा गरिएको छ । केहि सिमितले यो दबाब थेग्न सक्लान, तर योग्य खेलाडी हुँदाहुँदै सिकारुलाई समेट्ने निर्णयको नतिजा भने समयले नै बताउनेछ ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]