default_image

5 years ago

July 12, 2019

बक्सिङले बनाएका ‘नागरिक’

77 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

कुनैपनि खेलाडीको लागि राष्ट्रिय टोलीमा रहेर अन्तर्राष्ट्रिय स्तरमा देशको प्रतिनिधित्व गर्नु सबैभन्दा ठूलो सपना हुन्छ । यसका लागि खेलाडीले राष्ट्रिय स्तरको च्याम्पियन बन्न निकै मिहिनेत गरेका हुन्छन् । तर केहि यस्ता पात्र पनि छन् जसले राष्ट्रिय च्याम्पियन बनेपनि अन्तर्राष्ट्रिय क्षेत्रमा भने नेपालको प्रतिनिधित्व गर्न पाएनन् । कारण उनी नेपाली भएर पनि नेपाली हुन सकेनन् । अर्थात नेपालमै जन्मे, हुर्केर खेलमा लागेका उनी नागरिकता नहुँदा नेपालको प्रतिनिधित्व गर्नबाट बन्चित रहे ।

सामान्यतया नेपाली खेलकुदका अधिकांश खेलमा विभागीय खेलाडी नै राष्ट्रिय च्याम्पियन बन्ने गरेका छन् । विभाग बाहिरका खेलाडीले नियमित प्रशिक्षण र स्तरीय सुविधा बिरलै प्राप्त गर्ने हुनाले पनि यस्तो भएको हो । विभागीय टोलीले सम्भावना बोकेका खेलाडीलाई विभागमा अनुबन्ध गरेर प्रशिक्षण गराउने हुनाले पनि खेलकुदमा विभागीय वर्चस्व कायम छ ।

स्थानीयस्तरमा नै मिहिनेत गरेर विभाग पस्ने र त्यहाँ स्तरीय प्रशिक्षण लिएपछि राष्ट्रिय च्याम्पियन बन्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने नेपाली खेलकुदको नियमजस्तो नै बनेको छ । तर त्यसमा केहि अपवाद पनि छन् । विभागमा सामेल नभएरै राष्ट्रिय च्याम्पियन बन्नेको संख्या पनि कम छैन । नक्सालका सुशील थापामगर त्यसै अपावादमध्यका एक हुन् ।

सुशीलले दुई वर्षअघि पुर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदको बक्सिङतर्फ ४९ केजी तौल समूहमा स्वर्ण पदक जिते । नेपाली बक्सिङको उर्वर क्षेत्र मानिने नक्साल बक्सिङ क्लबका उत्पादन उनले मध्यमाञ्चलको प्रतिनिधित्व गर्दै फाइनलमा त्रिभुवन आर्मी क्लबका सुवास विकलाई पराजित गरे । राष्ट्रिय च्याम्पियन बनेपछि उनले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने सपना बुने । तर नियतिले त्यसो हुन दिएन ।

कानुनअनुसार १८ वर्ष पुगिसके पनि उनले नेपाली नागरिकता भने पाएका थिएनन् । बुबा र आमा दुवैको नागरिकता नभएपछि उनी नागरिकताबिनै नेपालमा खेलिरहेका थिए । पछि बुबा बितेपछि भने समस्या झनै जटिल बन्यो । यसै त नागरिकता बनाउन समस्या त्यसपछि बुबा गुमाएको पिडा । राष्ट्रिय च्याम्पियन बनेपनि आफ्नो सपना पूरा नहुने भएपछि उनी झन्डै डिप्रेसनको शिकार बने ।

‘म एकदम डिप्रेस भइसकेको थिएँ । राष्ट्रिय च्याम्पियन थिएँ तर नागरिकताकै कारण नेपालको प्रतिनिधित्व गर्न नपाउने भएँ । मैले जितेको काम लागेन भन्ने नै भयो । राष्ट्रिय टोलीमा रहेपनि नेपालबाट खेल्न नपाउने भएपछि प्रशिक्षण गर्न पनि मन लाग्न छाड्यो,’ उनले भने ।

‘नक्सालको गुरुहरुले हार नमान्न भन्नुभयो । खेलमा मिहिनेत गर हामी यता सक्दो प्रयास गर्छौं भन्नुभयो । वहाँहरुको भनाइपछि केहि हौसला आयो । दिपक गुरु (महर्जन) र प्रकाश (थापामगर) गुरुले पनि राष्ट्रिय टोलीमा अझै हौसला बढाउनुभयो । त्यसपछि वहाँहरुले मलाई त्यहाँबाट माथि उठेर बक्सिङमा ध्यान दिन सहयोग गर्नुभयो,’ त्यसबेला २३ वर्षका सुशीलले थपे ।

२०६८ सालदेखि बक्सिङ खेलमा लागेका सुशील विद्यालयमा पढ्दै गर्दा साथिभाईले खेल्न थालेपछि उनीहरुसँगै खेलप्रति आकर्षित भएका थिए । उनले बक्सिङ खेलले नै यहाँसम्म ल्याउँछ भन्ने कहिल्यै सोचेका थिएनन् । नागरिकता नहुँदाको समस्याले उनलाई यति पिरोल्छ भन्ने थाहा थिएन । उनले बुबालाई पटक पटक नागरिकता बनाउन भनिरहे । तर १० कक्षा पढ्दै गर्दा बुबा बितेपछि उनलाई निकै गाह्रो भयो ।

‘ यसैपनि नागरिकता बनाउन कठिन थियो । बुबालाई बारम्बार भन्दापनि नभइरहेको अवस्थामा बुबा बितेपछि त म केहि गर्न सक्दिन जस्तो लाग्यो । नक्सालको गुरुहरुले बक्सिङमा ध्यान देउ, खेलबाट नै तिमीलाई सहयोग हुन्छ भन्नुभयो । मैले अब एकमात्र विकल्प यसलाई नै देखेर आफ्नो सम्पूर्ण मिहिनेत यसैमा लगाएँ,’ उनले भने, ‘सातौंमा च्याम्पियन बनेपछि भने नागरिकताको लागि प्रक्रिया सुरु भयो । नागरिकता नभएकै कारण अन्तर्राष्ट्रिय खेल गुमाउनु पर्यो ।’

त्यसअघि पनि नागरिकता नभएकै कारण उनले विभागीय टोलीमा स्थान बनाउन सकेका थिएनन् । २०६८ मा नोभिस च्याम्पियनसिपमा पहिलो खेल नै हारेका सुशीलले त्यसपछि निकै मिहिनेत गरे । आफ्नो खेल्ने शैली र स्किल उकास्न आफैं पनि प्रशिक्षण गरिरहे । २०७० सालमा दाङमा भएको जुनियर च्याम्पियनसिपमा स्वर्ण जितेपछि सुरु भएको उनको विजय यात्रा जारी रहयो । तर नागरिकताको समस्या अझैपनि कायम नै थियो । उनले यसबीचमा इन्टर भ्याली च्याम्पियनसिप, ललितपुर ओपन च्याम्पियनसिप, क्षेत्रीय प्रतियोगिता, लगायत थुप्रै प्रतियोगिता जिते र उत्कृष्ट खेलाडी पनि भए । बेस्ट बक्सर अफ द इयरको उपाधि समेत जितेका उनले बक्सिङ रिङभित्र जति मिहिनेत गरेपनि बाहिर भने सकारात्मक अवस्था थिएन ।

२०७४ भाद्र २८ गतेको दिन अन्तत: सुशीलले नेपाली नागरिकता प्राप्त गरे । नक्साल बक्सिङ क्लब, प्रशिक्षकहरु रमेशदास श्रेष्ठ, नविन तन्डुकार, दिपक महर्जन लगायतको पहल र बक्सिङ संघको समन्वयसँगै राष्ट्रिय खेलकुद परिषदका तत्कालिन सदस्य सचिवले जिल्ला प्रशासन कार्यालयमा पुगेर उनको प्रमाणीकरण गरेपछि उनले काठमाडौंबाट नागरिकता लिए । नागरिकता प्राप्त गरेको दिन निकै गर्व महसुस भएको उनले बताए ।

‘ नागरिकता प्राप्त गरेपछि निकै गर्व महसुस भयो । नेपालको लागि खेल्न पाउने भएपछि अर्कै महसुस हुने रहेछ । अब नेपालको लागि दक्षिण एसियाली खेलकुदमा प्रतिनिधित्व गर्ने अवसर पाएको छु । धेरै भन्दा धेरै मिहिनेत गरेर इतिहास रच्ने सक्दो प्रयास गर्नेछु,’ उनले भने ।

सुशीलले नागरिकता प्राप्त गरेको एक वर्षपछि आर्मीमा आबद्ध भए । त्यहाँ रहेर उनले नियमित राम्रो प्रदर्शन गरिरहे । गतवर्ष काठमाडौंमा भएको वीर गणेशमान बक्सिङ च्याम्पियनसिपमा उनी उत्कृष्ट बक्सर घोषित हुँदै मोटरसाइकल हात पारे । नेपाली बक्सिङमा सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता जितेपछि उनी झनै हौसिए । लगत्तै नेपालगन्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा पनि उनले स्वर्ण जिते ।

राष्ट्रिय च्याम्पियन बनेका सुशील आठौं सकिनेबितिक्कै पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थाइल्याण्ड प्रस्थान गरे । एसियन बक्सिङ च्याम्पियनसिपको ४९ केजी तौल समुहमा उनी दोस्रो चरणमा लाओसका खाम्साथोने खाम्पाओभानसँग पराजित भए । पहिलो सहभागिताको अनुभव संगाल्दै सुशील अहिले राष्ट्रिय टोलीसँग १३ औं दक्षिण एसियाली खेलकुदको तयारीका लागि पुन: थाइल्याण्ड प्रस्थान गरेका छन् । थाइल्याण्डमा प्रशिक्षण र एक प्रतियोगिता खेलेपछि टोली इन्डोनेसिया प्रस्थान गर्नेछ ।

सुशीलले १३ औं सागमा नेपालको लागि इतिहास रच्ने लक्ष्य राखेका छन् । ‘देशको लागि खेल्न पाएको छु । बक्सिङ खेलले नै मलाई यहाँसम्म ल्याएको छ अब देशको लागि इतिहास रच्ने लक्ष्य राखेको छु । यसका लागि गुरुहरुको निर्देशन र प्रशिक्षणलाई पछ्याउँदै निकै मिहिनेत गर्नेछु,’ उनले टुंग्याए ।

September 22, 2024

ब्रेन्टफर्डमाथि टोटेनहमको जित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा टोटेनहम ह्ट्सपरले शनिवार ब्रेन्टफर्डलाई ३-१ ले पराजित गरेको हो । घरेलु मैदानमा टोटेनहमको जितमा डोमिनिक सोलन्के, ब्रेनान जोनसन र जेम्स मेडिसनले समान १ गोल गरे। ब्रेन्टफर्डका लागि बार्यन एमबिमोले गोल गरे । खेलको पहिलो मिनेटमै ब्रेन्टफर्डका लागि बार्यनले दिलाएको अग्रतालाई जोगाउन सकेन। आठौं मिनेट घरेलु टोलीका सोलन्केले गोल गर्दै […]

September 22, 2024

अस्ट्रेलियाको लगातार दोस्रो जित

एजेन्सी – विश्वविजेता अस्ट्रेलियाले इङ्ग्ल्यान्डविरुद्धको ओडिआईमा लगातार दोस्रो जित निकालेको छ । ५ ओडिआई सिरिजका लागि अस्ट्रेलिया इङ्ग्ल्यान्ड भ्रमणमा छ । यो खेलमा जितपाछि अस्ट्रेलियाले सिरिजमा २-० को अग्रता बनाएको छ । लिड्समा २ सय ७१ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्ड ४०.२ ओभरमा २ सय २ रनमा अल आउट भयो । जेमी स्मिथले ६१ बलमा ४९, […]

September 21, 2024

पुलिस काभा महिला क्लब च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब काभा महिला क्लब च्याम्पियनसिपमा च्याम्पियन बनेको छ। माल्दिभ्सको मालेमा शनिवार उज्वेकिस्तानको हुमो भिसीलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो । पुलिस अपराजित रहँदै च्याम्पियन बन्न सफल रह्यो । पहिलो सेट २५-१६ ले जितेको पुलिसले दोस्रो सेट २५-२२ ले जितेको थियो । तेस्रो सेटमा २५-२३ को जित […]

Success

Thank you for your time.