6 years ago
April 16, 2019
सुबास हुमागाईं, नेपालगन्ज
सुष्मा तामाङले बक्सिङ ग्लोभ्स समातेको ३ वर्ष मात्र पुगेको छ । काठमाडौंस्थित नक्साल बक्सिङ क्लबमा प्रशिक्षण गर्दै आएकी सुष्मा १७ वर्षको कलिलो उमेरमै राष्ट्रिय च्याम्पियन बन्न सफल भएकी छिन् । मंगलबार खजुरास्थित ज्ञानोदय माविको प्राङ्गणमा भएको महिला लाइट फ्लाईवेट (४६-४८) केजी तौल समूहमा विभागीय टोली आर्मीकी ललिता महर्जनलाई पराजित गर्दै प्रदेश ३ को प्रतिनिधित्व गरिरहेकी सुष्माले स्वर्ण पदक जितिन् ।
विभागीय टोलीको वर्चस्व रहँदै आएको बक्सिङमा हालसम्म सुष्मा स्वर्ण जित्ने प्रदेशकी एक्ली खेलाडी हुन् । पहिलो चरणमा एपीएफकी सावित्री तामाङलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेकी सुष्माले सेमिफाइनलमा भने विपक्षी खेलाडीले वाकओभर दिएपछि सिधै फाइनलमा प्रतिस्पर्धा गर्ने पाइन् । फाइनलमा आर्मीकी ललितामाथि पूरै समय हावी देखिएकी सुष्माको समर्थनमा ठूलो संख्यामा रहेका दर्शकले साथ दिएका थिए । जित दर्ता गर्दा उनको अनुहारको चमक र खुसी गजबको थियो ।
सुष्माको जित पक्का भएपछि अन्य प्रदेशका खेलाडी र प्रशिक्षकमा पनि खुसीको छनक देखिन्थ्यो । उनको आफ्नै प्रशिक्षकले त उनलाई बोकेरै ड्रेसिङ रुमसम्म लागे । त्यहाँ पुगेपछि आफ्ना सहकर्मी खेलाडीहरुले पनि उनलाई बधाई दिए । खेल सकिएको आधा घण्टा भइसक्दा पनि सुष्मा राम्रोसँग बोल्न सकिरहेकी थिइनन् । उनको फोनको घन्टी निरन्तर बजिरहेको नै थियो ।
फाइनल जितेपछि कस्तो लागिरहेको छ भन्ने प्रश्नमा सुष्माले एकै सासमा भनिन्, ‘ मेरो यो पहिलो राष्ट्रिय खेलकुद हो । पहिलो सहभागितामा नै स्वर्ण जितेको छु । एकदम खुसी लागिरहेको छ । ‘
राष्ट्र्रिय खेलकुदको पहिलो खेलमा नै विभागीय टोलीसँग खेल्नपर्दा केहि डर रहेको भने सुष्माले स्विकारिन् । ‘पहिलो खेल नै एपीएफसँग थियो । केहि डर पक्कै लागेको थियो । तर मैले आँट गरेर खेले । जित दर्ता गरेपछि कडा मिहिनेतको नतिजा पाएजस्तो लाग्यो,’ उनले थपिन्, ‘ फाइनलमा पनि अवसर थियो भन्ने थाहा थियो । गुरुहरुले मिहिनेत गर भनेर हौसला दिइरहनुभएको थियो । फाइनल जितेपछि एकदम खुसी लाग्यो । धेरै खुसी ।’
सुष्माले सिनियर स्तरमा खेलेको यो तेस्रो प्रतियोगिता हो । यसअअघि खेलेका दुई प्रतियोगितामध्य सुष्मा पहिलो प्रतियोगितामा एपीएफकी खेलाडीसँग पराजित भएकी थिइन् भने अर्कोमा तौल नाप्दा अयोग्य घोषित भएपछि तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भइन् । यसपटक भने खेलेका दुवै खेलमा विभागीय प्रतिद्वन्द्वीलाई परास्त गर्दै सुष्माले स्वर्ण जितिन् ।
परिवारबाट खेलमा लाग्न सहयोग पाएकै कारण यहाँसम्म पुग्न सहज भएको सुष्माले बताइन् । ‘ मलाई परिवारले निकै साथ दिनुहुन्छ । मैले पढाइलाई पनि सँगै लगेको छु । प्रशिक्षकसँगै सिनियर दाइहरुले पनि खेलमा लाग्न निकै हौसला बढाउनुहुन्छ । मेरो लागि भनेर आफ्नो समय खर्चनुभएको छ,’ उनले भनिन् ।
सुष्माले प्रशिक्षण गर्ने नक्साल बक्सिङ क्लबका प्रशिक्षक रमेशदास श्रेष्ठले आफूले खेलेर जित्दा भन्दापनि धेरै खुसी भएको अभिव्यक्ति दिए । ‘ म त अहिले आफूले खेलाडी हुँदा जितेको भन्दा बढी खुसी छु । हिजोको दिनमा मैले आफ्नो क्षेत्रको लागि खेल्थें अहिले उनले प्रदेशको लागि खेलाडी जितिन् । हामीले आफ्नो जन्मथलोको लागि खेलेर जितेका हौं । अब यसैगरी देशको लागि पदक जित्नुपर्छ भन्ने लक्ष्य राखेका छौं,’ श्रेष्ठले भने ।
सुष्माले छोटो समयमा नै निकै राम्रो खेल प्रदर्शन गरेको र पदकको हकदार भएको बताए । ‘सुष्मा प्रशिक्षण गर्न आएको ३ वर्ष भयो । उनले सानो उमेरमा नै राष्ट्रिय खेलकुद खेल्ने अवसर पाइन् । अहिले युवा समूहमा खेल्ने उमेरमा सुष्माले सिनियर स्तरमा स्वर्ण जितेर आफ्नो प्रतिभा सिद्ध पारेकी छिन्,’ उनले थपे ।
क्लबका लागि भने सुष्मासँगै अन्य खेलाडीले पनि यसपटक आठौंमा पदक जितेका छन् । सुष्माकै दिदि कुसुम तामाङ पनि बक्सिङ खेलाडी हुन् । राखेप च्याम्पियनसिपमा ५७ केजी तौल समूहमा स्वर्ण जितेकी कुसुमले विश्व च्याम्पियनसिपमा पनि नेपालको प्रतिनिधित्व गरिसकेकी छिन् । आठौंमा भने उनले स्वर्ण जित्न सकिनन् । उनको स्वर्णको भोक बहिनी सुष्माले पूरा गरेकी छिन् ।
कलिलो उमेरमा नै ठूलो सफलता हात पारेकी सुष्माले आउने दिनमा क्लबको लागि नै खेल्ने सोच बनाएकी छिन् । प्रदेशको टोलीमा सफल खेलाडीलाई विभागले खिचातानी गरेर अनुबन्धन गर्ने नेपाली खेलकुदको परम्परा नै रहेको छ । कतिपय खेलाडी यसबाट लाभान्वित हुन्छन् त कति यसै विभागमा नै अड्किन्छन् । सुष्माले भने सकेसम्म क्लबको लागि नै खेल्ने सोच बनाएकी छिन् ।
प्रशिक्षक श्रेष्ठ भने पारिवारिक भविष्यलाई हेर्दा विभाग जानु खेलाडीको बाध्यता रहेको बताउँछन् । क्लबस्तर प्रतियोगिता निकै कम हुने र राष्टिय स्तरमा खेल्दा प्रदेश टोलीलाई सहभागी गराइने हुँदा क्लबहरु प्रशिक्षण गर्नमा मात्र सिमित भएका छन् । उनले परिवारको लागि भएपनि विभागमा जानुपर्ने बताए । ‘हामीले क्लबमा रहेर प्रशिक्षण गर्ने हो । उनको पारिवारिक अवस्था पनि कमजोर नै छ । विभागले इच्छा देखाएको खण्डमा नकार्न निकै कठिन देखिन्छ । उनीजस्तो राम्रो खेलाडीलाई विभागमा थुप्रै अवसर हुनेछ,’ श्रेष्ठले थपे ।
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 26, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]