1 year ago
October 2, 2023
सुबास हुमागाईं, हाङ्गचौ
नेपाली महिला राष्ट्रिय कबड्डी टोलीले सोमबार हाङ्गचौस्थित साओसान ग्वाली स्पोर्ट्स सेन्टरमा बंगलादेशलाई पराजित गर्दै इतिहास रच्यो ।
एसियाली खेलकुदको पहिलो सहभागिताको पहिलो खेलमा नै जित हासिल गर्नु सहज हुँदैन । तर भाग्यले साथ दिएको कबड्डी टोलीलाई समूह चरणमा इरान र बंगलादेश प्रतिद्वन्द्वी पर्यो । त्यसो त एसियन गेम्सको सुरुवातमा कबड्डीबाट नेपालले पदकको खाता खोल्नुपर्ला भन्ने सायद कबड्डी टोली आफैंले पनि सोचेको थिएन । तर नेपालका अन्य खेल र खेलाडी एकपछि अर्को गर्दै बाहिरिंदा निराशा बढ्दै गयो ।
समूह चरणको ड्र निकाल्दा नेपाल र बंगलादेश तीन टोली सम्मिलित एकै समूहमा परेपछि एसियन गेम्सस्थित एथ्लेट भिलेजमा कबड्डीको पदक सम्भावनाबारे चर्चा सुरु भएको थियो । कबड्डी टोलीलाई पनि आफ्नो उपस्थिति ऐतिहासिक बनाउने राम्रो अवसर मिल्यो । सोमबार खेलको सुरुवातदेखि नै नेपालले बंगलादेशलाई दबाबमा राख्यो ।
पहिलो हाफमा नेपालले बंगलादेशलाई एक पटक अलआउट गर्दै ३ बोनससहित कुल २१ अंक जोड्न सफल भयो । विशेषगरी रेडर अन्जना राईको निडर प्रदर्शन नेपालको अग्रता बढाउन महत्त्वपूर्ण रह्यो । खेल अवधिभर बेन्चबाट प्रशिक्षक पार्वती राई र विष्णुदत्त भट्टले खेलाडीलाई संयम रहन आग्रह गरे ।
दोस्रो हाफमा अग्रतासहित भित्र पसेको नेपाल केहि रक्षात्मक रणनीतिसहित खेल्न थाल्यो । जोखिम नलिइ आक्रमण गर्ने र विपक्षीको रेडमा झम्टन जाँदा खेलाडीबीच समन्वय प्रशंसनीय थियो । यस जिम्मेवारीमा कप्तान मेनुका राजवंशी र मनमती विष्ट लगातार आफ्ना सहकर्मीसँग बोलिरहेका थिए ।
दोस्रो हाफमा बंगलादेशलाई एकपटक अलआउट गरेको नेपालले १ बोनससहित कुल १६ अंक जोड्दै ३७-२४ को जित हासिल गर्यो । नेपाल खेल अवधिभर कुनै समय पनि अलआउट भएन र रक्षात्मक रणनीतिमा बलियो देखियो ।
यस जितसँगै कबड्डीबाट पदक आउने सम्भावना निकै बलियो छ । समूहमा तीन टोलीमात्र हुनु र पहिलो खेलमा नै जित हासिल गर्दा नेपाल सेमिफाइनलमा पुग्ने सम्भावना बलियो भएको हो । सेमिफाइनलमा पराजित हुने टोलीले पनि कास्य पदक पाउने भएपछि नेपाल पदकविहिन हुन नपर्ने देखिएको हो ।
भाग्यले साथ दिएको कबड्डी टोलीले आफ्नो मिहिनेतले पहिलो खेल जित्यो । तर एसियाली खेलकुद खेल्न आउँदासम्मको यात्रा भने सहज थिएन । नेपालमा उचित प्रशिक्षण स्थल नपाएको टोलीले अन्तिम एक महिना भने भारतमा गएर प्रशिक्षण गर्न पाएको थियो । त्यो पनि संघकै प्रयासमा ।
नेपाल सरकारले पदक सम्भावनाका आधारमा विभाजन गरेको प्राथमिकतामा कबड्डी टोलीको नाम ‘अन्य खेल’को सूचीमा परेको थियो । राष्ट्रिय खेलकुद परिषदले पदकको सम्भावना निकै कम रहेकाले प्राथमिकतामा नराखेको कबड्डीले नेपालमा एक समय सिमेन्टको भुइँ र रंगशालाको ट्रयाकमा पनि प्रशिक्षण गर्यो ।
संघकै पहलमा अन्तिम तयारी स्वरुप भारतको हरियाणामा टोली प्रशिक्षण गर्न पुग्यो । तर पर्याप्त बजेटको व्यवस्थापन नहुँदा त्यहाँ धर्मशालामा रहेर टोलीले तयारी गर्नुपर्ने भयो । यो अवास्थाबाट पदक नजिक पुगेपछि प्रशिक्षक पार्वती राई खेलाडीको अथक मिहिनेतले गर्दा नै नेपाली टोली यो अवस्थासम्म आइपुगेको बताउँछिन् ।
‘यी खेलाडीले दिन रात मिहिनेत गरेका छन् । गर्मी होस् या पानी कहिल्यै हाम्रो कडा प्रशिक्षणमा केहि नभनी मिहिनेत गरे । आज त्यसको प्रतिफल पाएका छन् । युवा अवस्थामा हामीले भनेको नमान्न पनि सक्थे, तर कहिल्यै प्रशिक्षण नगरौं भनेको सुनिएन,’ राईले भनिन् ।
कप्तान मेनुका राजवंशीले पनि नेपालमा प्रशिक्षण गर्ने ठाउँ राम्रो नभएपनि देशको लागि जसरी पनि जित्नुपर्छ भन्ने अठोटका साथ प्रतिस्पर्धामा उत्रिएको बताइन् । ‘हामीलाई नेपालमा प्रशिक्षण गर्न निकै समस्या थियो । भारतमा एक महिना प्रशिक्षण गर्दा खेलमा सुधार भयो । तर त्यहाँ धर्मशालामा बसेर हामीले कडा मिहिनेत गर्यौं,’ उनले भनिन् ।
‘हामीले देशको लागि पदक जित्ने अवसर पाएपछि जसरी पनि जित्नुपर्छ भन्ने थियो । म मात्र होइन, हरेक खेलाडी र टिमका सदस्यले जित्छौं भनेर नै आएका थियौं । यो जितले निकै खुसी दिएको छ । १५ वर्ष लामो करिअर सार्थक भएको महसुस भएको छ,’ कप्तान राजवंशीले भनिन् ।
प्रशिक्षक राई आफैं कबड्डी खेलमा आफ्नो जीवन समर्पण गरेकोमा यो जितले निकै खुसी दिएको बताउँछिन् । ‘मेरो जीवन समर्पण भएको यस क्षेत्रमा सफलता हासिल गरेका छौं । एसियाली खेलकुदमा कबड्डी खेल्न पाउला भन्ने सोचेको थिएन । यो अवसर पाएपछि हामीले प्रमाणित गर्नु थियो । यो जितले निकै खुसी दिएको छ,’ राईले थपिन् ।
नेपालको मुख्य रेडर अनुजा कुलुङ राई टोलीले आफूमाथि गरेको विश्वासमा खरो उत्रन सकेकोमा हर्षित थिइन् । ‘हामीले जसरी पनि जित्नु थियो । दिदीहरुले विहानदेखि नै आज तिम्रो भरमा हो भन्नुभएको थियो । सुरुवातदेखि आफ्नो जिम्मेवारी निभाएँ र जित हासिल गर्यौं । सबैको एकमुष्ट प्रयासले जितसम्म पुग्यौं,’ उनले भनिन् ।
६ वर्षअघि आर्मीमा भर्ती भएकी उनले विभागबाट खेल्न थालेको एक दशक नाघिसकेको छ । सुरुवातमा करारमा रहेकी २४ वर्षीय अन्जना अब नेपालमा कबड्डीले प्राथमिकता पाउने आशामा छिन् ।
कप्तान मेनुका राजवंशीले पनि सरोकारवाला निकायलाई कम्तिमा प्रशिक्षण गर्ने स्थान उपलब्ध गराइदिन अनुरोध गरिन् । ‘हामी नेपालमा हुँदा प्रशिक्षण गर्ने ठाउँ थिएन । रंगशालाको ट्रयाकमा पनि खेल्नुपर्यो । हामीलाई प्रशिक्षण गर्ने कभर्ड हल मात्र बनाइदिनुस । क्रिकेट, भलिबललाई हेर्ने नजर जस्तै हामीलाई पनि हेरिदिनुस,’ उनले भनिन् ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]