2 years ago
July 7, 2023
भूपेन्द्र जिसी, काठमाडौं
नेपाली महिला भलिबलमा न्यु डायमन्ड उर्वर भूमिको रुपमा लिइन्छ । प्रशिक्षक कुमार राईले प्रशिक्षण दिएका खेलाडीबिना नेपाली महिला भलिबलको आधुनिक इतिहास अपुरो नै हुन्छ । रमिला तन्डुकार, रेश्मा भण्डारी हुँदै प्रतिभा माली र कृपा अधिकारीसम्म पुगेको यो विरासतलाई अहिले प्रगति नाथ र रिमा कुँवरले थामेका छन् ।
यो डेढ दशक लामो यात्राका क्रममा एक नाम घरेलु भलिबलमा दशकभर चर्चित रहेपनि राष्ट्रिय टोलीमा भने आएन । र अब त्यो नाम घरेलु भलिबलमा पनि खेलाडीको रुपमा नआउने भएको छ । न्यु डायमन्डकी कप्तान तथा क्विक्क स्पाइकर ललिता नाथले सक्रिय खेलाडी जीवनबाट बिदा लिने निर्णय गरेकी छिन् ।
घरेलु भलिबलमा न्यु डायमन्डलाई उपाधि दिलाउन नेतृत्व गर्दै व्यक्तिगत विधामा पनि उत्कृष्ट सावित ललिताले राष्ट्रिय टोलीबाट खेल्ने सपना पुरा भएन । आफ्नो सपना पूरा नभएपनि उनी खेल जीवनबाट सन्तुष्ट छिन् । र उनी अपेक्षा गरेको समयभन्दा अघि नै सन्न्यास लिँदै आउने पिँढीका खेलाडीलाई स्थान दिन चाहन्छिन् ।
खेलकुदलाई करिअर मान्ने कुनैपनि खेलाडीको पहिलो लक्ष्य नै राष्ट्रिय टोलीबाट खेल्ने हुन्छ । राष्ट्रिय टोलीमा स्थान बनाउन पहिला घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नुपर्छ । राष्ट्रिय प्रतियोगितामा लगातार राम्रो प्रदर्शन गर्दा पनि सिनियर टोलीमा अवसर नपाउन सक्छन् । त्यसको मुख्य कारण टिममा उक्त खेलको भूमिका आवश्यकता कम हुनु हो ।
तर घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै टिममा आवश्यकता हुँदापनि सिनियर टोलीमा नपर्ने खेलाडी बिरलै हुन्छन् । नेपाली महिला भलिबलमा ललिता त्यसको एक उदाहरण हुन् । नेपाली घरेलु भलिबलमा लगातार सानदार प्रदर्शन गरेपनि कहिल्यै सिनियर टोलीको बन्द प्रशिक्षणसम्म पर्न सकिनन् ।
भलिबल त्यस्तो खेल जसमा राम्रो प्रदर्शनसँगै शारीरिक उचाई पनि त्यतिनै आवश्यक पर्दछ । उचाईको कारण धेरै प्रतिभाशाली खेलाडी आफ्नो करिअरमा सफलताको शिखर चुम्न सक्दैनन् । उत्कृष्ट क्षमता र घरेलु भलिबलमा लगातार राम्रो प्रदर्शनका बाबजुद शारीरिक उचाईकै कारण उनको नेपालको जर्सीमा खेल्ने सपना पूरा हुन सकेन ।
२०६८ सालदेखि महिला भलिबल खेल्न थालेकी उनले एकदशक सम्म लगभग सबै खेलमा उत्कृष्ट प्रदर्शन गरिन् । तर कहिल्यै उनले सिनियर टोलीमा स्थान बनाउन सकिनन् । अब ललिताले आफ्नो सक्रिय खेलाडी जीवनबाट विश्राम लिने निर्णय लिएकी छिन् ।
शनिबारदेखि सुरु हुने सातौं प्रधानमन्त्री कप एनभिए लिगबाट न्यू डायमण्ड क्लबको कप्तानी स्पाइकर प्रतिभा मालीले गर्नेछिन् । ललिता यसै प्रतियोगिताबाट फरक भूमिकामा पनि देखिनेछिन् । अब उनले सहायक प्रशिक्षकको रुपमा काम गर्नेछिन् ।
‘खेलाडी जीवनबाट विश्राम लिँदा दु:ख पनि लागेको छ । र खुसी पनि छु । नयाँ पुस्तालाई एउटा प्लेटफर्म छोडेको छु । अब उनीहरुले राम्रो गर्छन् भन्नेले खुसी लागेको छ’, ललिताले भनिन् ।
आफ्नो शारीरिक उचाइकै कारण राष्ट्रिय टोलीको छनोटमा कहिल्यै नपर्दा भने दुःख लागेको उनी बताउँछिन् । ‘सबैको सपना त राष्ट्रिय टिमबाट खेल्ने हुन्छ । मेरो पनि थियो । तर उचाइकै कारण त्यो पूरा हुन सकेन । तर उचाई भएकाले खेलेर देशको लागि राम्रो गरुन् भन्ने हो । सिनियर टोलीबाट खेल्न नपाउँदा दुःख त लागी नै हाल्छ नि’, ललिताले भनिन् ।
ललिता आफूलाई भलिबल खेल सुरु गर्दानै हाइटको कारण नपर्ने थाहा हुँदा आफ्नो खेलाडी जीवनबाट एकदमै सन्तुष्ट भएको बताउँछिन् । ‘म भलिबलबाट एकदम सन्तुष्ट छु । मैले खेल सुरु गर्दादेखि उचाइकै कारण राष्ट्रिय टोलीमा पर्दिन भनेर थाहा थियो । आफ्नो सन्तुष्टिको लागि मात्रै खेलेको थिए । त्यहिँ भएर म खुसी छु’, उनले भनिन् ।
न्यू डायमण्ड नेपाली महिला भलिबलमा खेलाडी उत्पादन गर्ने कारखानाको रुपमा चिनिन्छ । प्रशिक्षक कुमार राईले न्यु डायमण्डबाट राष्ट्रिय टोलीसम्म झन्डै एक दर्जन खेलाडी दिएका छन् । ललिता त्यो सूचीमा पर्न त सकिनन् तर न्यू डायमण्डबाट भने उनले आफ्नो छाप छोडेकी छिन् । न्यु डायमन्डले घरेलु भलिबलमा उपाधि जित्दा क्विकरको रुपमा उनले आफूलाई प्रमाणित गरेकी चुन । उनले आफ्नो करिअर अवधिभर न्यु डायमन्डकै जर्सी लगाइन् ।
‘म न्यू डायमण्डबाट खेल्दा भाग्यमानी नै सम्झिन्छु । कुमार सर जस्तो प्रशिक्षकसँग सिक्ने मौका पाए । नेपालका सबै शीर्ष खेलाडीसँगै खेल्न पाउनु एउटा सौभाग्य पनि हो । न्यू डायमण्ड जस्तो क्लबबाट खेल्न पाउँदा आफूलाई भाग्यमानी नै सम्झिन्छु’, उनले भनिन् ।
ललिता खेल नखेले पनि भलिबलबाट टाढा हुन नसक्ने बताउँछिन् । ‘खेल नखेले पनि । मेरो स्वाथ्यले साथ नदिएपनि । भलिबलबाट टाढा हुन सक्दिन । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा भलिबलमै रहेर काम गर्नेछु’, उनले भनिन् ।
ललिताले क्लबका लागि लामो समय खेलिन् । उनले आफ्नो पोजिसनमा थुप्रै विधागत अवार्ड पनि जितिन् । उचाइमा होचो भएपनि उफ्रने शैली र सेटरहरुसँग राम्रो समन्वय गर्दा ललिताको खेल निकै राम्रो रहेको थियो । सेटर कृपा अधिकारी र ललिताको समन्वयमा न्यु डायमन्डले राम्रो छाप छोडेको थियो । तर उनले राम्रो खेलेपनि बाहिरबाट उचाइका कारण राष्ट्रिय टोलीमा पर्दैन भन्ने चर्चा हुन्थ्यो । उनलाई आफ्नो उचाइ कारण कहिले काहीँ रिस पनि उठ्थ्यो ।
‘कहिले काहिँ आफैंलाई देखेर रिस उठ्दथ्यो । मेरो मात्रै किन उचाइ कम भएको होला ? अझ कम उचाइ भएर पनि किन क्विकर खेलेको होला ? अझ जम्प जस्तै हाइट भइदिएको भए त पक्का सिनियर टोलीमै परिन्थ्यो जस्ता कुरा खेल्थे’, उनले भनिन् ।
को हुन् ललिता नाथ ?
रुकुम पश्चिम घर भएकी ललिताको जन्म २०५४ साल पुष २७ मा बुबा कृष्ण र आमा देवीनाथको कोखबाट भएको हुन् । उनी घरको एकमात्रै सन्तान हुन् । उनको बाल्यकाल दुई तीन वर्ष सम्म मात्रै रुकुममा बित्यो । उनी दुई तीन वर्षको हुँदा परिवार दाङ बसाइँ सरेको थियो । त्यसैले बाल्यकाल रुकुममा बिताएको उनलाई खासै याद छैन ।
ललिताको जान्ने बुझ्ने हुँदा काठमाडौं आइपुगेकी थिइन् । सात वर्षकै उमेरमा उनी काठमाडौं आएर मामासँग बसेर पढ्न थालिन् । पहिला उनले ब्राइट फ्युचर स्कुलमा पढ्थिइन् । कक्षा सातदेखि न्यू डायमन्ड पुगिन् ।
न्यु डायमन्डबाट उक्त समय क्लबमा रमिला तण्डुकार जस्ता नाम चलेका खेलाडी खेल्ने गर्दथे । प्रतिभा माली, कृपा अधिकारी, सलिना श्रेष्ठ, पनामिका राई लगाएका साना साना खेलाडी खेलेको देख्दा ललितालाई पनि खेलौं खेलौं जस्तो लाग्न थाल्यो । त्यहि देखेर उनी पनि भलिबलमा आकर्षित भइन् । सुरुवात देखि खेलकुदमा रुचि राख्ने उनी केहि समय कराँते पनि सिकेकी थिइन् ।
ललिताले भलिबल खेल्न सुरु गर्दा उमेर १३/१४ वर्षको थियो । त्यसपछि विस्तारै न्यु डायमण्डबाट खेल्दै घरेलु भलिबलमा एउटा राम्रो पहिचान बनाइन् । उनले न्यु डायमण्डबाट खेल्दै नेपालमा जित्न बाँकी भलिबल प्रतियोगिता सायदै होला । २०७२ सालमा उनले ढोरपाटनमा उदीयमान खेलाडी हुँदै स्कुटर जितेकी थिइन् । क्विक स्पाइकरको कुरा गर्दा त्यो समय ललिताको नाम सबैभन्दा अघि आउँथ्यो ।
नेपालमा पछिल्लो समय भलिबल खेलाडीकै रुपमा करियर विकल्प बनाउने सम्भावना देखिन थालेको छ । राष्ट्रिय टोलीबाट खेल्ने खेलाडीको तलब र भत्ता केहि छैन । तर घरेलु प्रतियोगिताबाट केहि आशालाग्दो कमाइ भने गर्न थालेका छन् । अझ ललिताको समयमा त्यो पनि थिएन । भलिबलको प्यासनले उनलाई कहिल्यै छाड्न मन लागेन । जब उनी कोर्टमा खेल्न जान्थिन् तब सबै कुरा भुलेर उत्कृष्ट प्रदर्शन गर्थिन् ।
‘खेल खेलेर नेपालमा त्यस्तो लाइफ सेटल हुन्छ भन्ने चाहिँ हुँदैन थियो । आत्मसन्तुष्टिको लागि नै खेल्ने हो । बल खेल्दा मनलाई आनन्द लाग्थ्यो । सबैभन्दा खुसी नै त्यहिँ थियो । खेलेर पैसा कमाउँछु भन्ने सोच त थिएन । तर अहिले चाहिँ खेलाडीहरुलाई भलिबल खेलेर राम्रै आम्दानी हुने खालको वातावरण बन्न थालेको छ’, उनले भनिन् ।
कुमार राइ नेपाली भलिबलका एक सर्वाधिक सफल प्रशिक्षक हुन् । कुमार ललित निडर स्वभावकी खेलाडी भएको बताउँछन् ।
‘ललिता स्पोर्ट्सम्यानसिप भएको जोशिलो खेलाडीमा पर्छ । त्यतिको जोशिलो खेलाडी अरु छैन । ललिता जस्तो जोशिलो खेलाडी मैले अहिले सम्म पाएको छैन’, प्रशिक्षक राईले भने ।
त्यसैमा उनले थपे, ‘पहिला रमिला तण्डुकार थियो । रमिलाले कप्तानी छाडेपछि ललितालाई दिएका दियौं । ललिताले राम्रोसँग टिम सम्हालिन् । पटक्कै डर त्रास नभएको खेलाडी थिइन् । नर्भस नहुने खेलाडी थिइन् ।’
वर्तमान नेपाली महिला भलिबलकी सुपर स्टार प्रतिभा मालीले ललिताको कप्तानीमा पाँचवर्ष खेलिन् । यी दुई खेलाडीले सुरुवातदेखीनै संगै न्यू डायमन्डबाट खेले । ललिता जस्तो क्विकर आफूले नदेखेको माली बताउँछिन् ।
‘हामी सबै जना उस्तै व्यवहार गथ्यौं । सबै जना साथी जस्तै थियौं । वहाँले मात्रै होईन सबैले नयाँ खेलाडीलाई साथ र सहयोग गर्दथे । अहिले भन्दा पाँच वर्ष पहिला झनै क्विक हुनुन्थ्यो’, मालीले भनिन् ।
त्यसैमा उनले थपिन्, ‘क्विक हान्नेमा ललिता दिदी जस्तो कोहि थिएन । कुनैकुनै बल पुलिसको कोपिला रानाले हानेको देखेको छु । नत्र अहिलेसम्म वहाँ जस्तो कोहि देखेको छैन । अरु खेलाडीहरु अलिकति डराएर खेल्थे । ललिता दिदि जशिलो हुनुन्थ्यो । टिममा वहाँको अभाव पक्कै महसुस हुनेछ ।’
ललिताले २६ वर्षको उमेरमै भलिबलबाट विश्राम लिएकी छिन् । नयाँ पुस्ताका खेलाडीलाई मौका दिने सहि समय भएको उनी बताउँछिन् । अलि चाँडै विश्राम लिए जस्तो लाग्दैन भन्ने प्रश्नमा जवाफ दिँदै भनिन्, ‘चाँडै भन्दा पनि १२/१३ वर्ष त भलिबल खेली नै हालियो । समय परिस्थीति सबै हेर्नुपर्छ ।’
‘नयाँ खेलाडी राम्रो नभएको भए र टिमलाई आफ्नो आवश्यकता भएको भए छुट्टै कुरा हुन्थ्यो । मैले खेल्दा एकजना युवा खेलाडीले मौका पाउँदैन । मैले खेल्ने भनेको घरेलु प्रतियोगिता मात्रै हो । म भन्दा अब लामो समयसम्म राष्ट्रिय टोलीबाट खेल्न सक्ने खेलाडीलाई अवसर दिए भने देशको लागि केहि गर्न सक्छन् ।’
ललिता भलिबलले आफूलाई सबथोक दिएको बताउँछिन् । ‘भलिबल खेलेर ललिता नाथ नाम पाएँ । यति धेरै दर्शकको माया पाएँ । मान, सम्मान, इज्जत भलिलबाट मैले सबैथोक पाएँ ‘, उनले भनिन् ।
आफू सधैं भलिबलमा हुने उनी बताउँछिन् । ‘म खेल्न छाडेपनि अहिले न्यू डायमण्डमै रहन्छु । दर्शकहरुले जसरी आजको दिनसम्म माया गर्नु भएको छ आगमी दिनमा पनि त्यसरी नै माया गर्नुहोला । न्यु डायमण्डको लागि भन्ने केहि शब्दनै छैन । आज म जहाँ छु त्यो न्यू डायमण्ड, कुमार सर र सबै खेलाडीको साथले गर्दा हो । सबैलाई धन्यवाद भन्न चाहन्छु’, ललिताले भनिन् ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]