2 years ago
February 10, 2023
भुपेन्द्र जि.सी.,काठमाडौं
छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा मंगलबार होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले नेपाल एपिएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जित्यो । न्यू डायमण्डलाई पहिलो पटक उपाधि जिताउन स्पाइकर प्रतिभा मालीले सानदार प्रदर्शन गरिन् । र उनी नै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिइन् ।
प्रतिभाले उत्कष्ट प्रदर्शन गर्दै उपाधि मात्रै जिताइनन् त्यो भन्दा बढी मन छुने काम गरिन् । समर्थक र खेलाडीहरु न्यू डायमण्डले पहिलो पटक उपाधि जितेकोमा रमाउनु अघि खेल दौरान त्यो मन छुने खेल भावना धेरैले याद नै गरेनन् ।
एपिएफकी स्पाइकर निरुता ठगुन्ना चौथो सेटमा घाइते हुन पुगिन् । खेलमा एपिएफ २१–२० ले अघि थियो । प्रतिभाले प्रहार गरेका स्पाइक एपिएफकी मनिषा तामाङले राम्रो बचाउ गर्दै उठाएपछि सरस्वती चौधरीले निरुतालाई स्पाकइको लागि बल दिएकी थिइन् । निरुताले स्पाइक प्रहार गर्दा न्यू डायमण्डकी युवा खेलाडी सुमित्रा रेग्मीले राम्रो ब्लक गरिन् । ब्लक बल उठाउन खोज्दा निरुता दायाँ खुट्टाको तिघ्रामा समस्या आयो । निरुता कोर्टमा थचक्क बसिन् ।
त्यसपछि उठ्नै सकिनन् । उठ्न धेरै प्रयास गरिन्, तर खुट्टाले साथ दिएन । त्यो समयमा खेल चलिरहेको थियो । अन्य खेलाडीको ध्यान खेलमा थियो । प्रतिभाले उत्कृष्ट स्पाइकमा न्यू डायमण्डलाई २१–२१ को बराबरीमा पुर्याइन् । कोर्टमा निरुता उठ्ने प्रयास गरेपनि बल्ल तल्ल उठिन् तर सम्हाल्न सकिनन् । खुट्टा खोच्याउँदै निरुता बाहिर आउन खोजिन् । त्यो पिडा निरुताको अनुहारमा स्पष्ट देखिएको थियो । त्यो बेला सम्म न्यू डायमण्डका खेलाडीलाई निरुता घाइते भन्ने थाहा थिएन । अंक जोडपछि टिम हडलमा थिए ।
जब हडलबाट निस्केर प्रतिभाले निरुता घाइते भएको देखिन् तुरुन्तै आफ्नो बेन्चमा रहेका फिजियो लोकेन्द्र कुँवरलाई त्यहाँ जान संकेत गरिन् । प्रतिभाले ताली बजाएर ध्यान केन्द्रित गर्दै फिजियोलाई निरुता भएको ठाउँमा जान इशारा गरेकी थिइन् । त्यो खेल भावनाले साच्चै महान खेलाडीको संकेत देखाएको थियो ।
ब्लुक्रस अस्पतालको मेडिकल टिमकी एक चिकित्सक कोर्टमा आएको केहि सेकेन्डममै लोकेन्द्र त्यहाँ पुगे । उनले अवस्था हरेर र उपचारमा सहयोग गरे । फाइनल खेल । त्यसमा पनि एपिएफकी प्रमुख खेलाडी घाइते हुँदा न्यू डायमण्डलाई उपाधि जित्न सहज हुन सक्थ्यो । तर प्रतिभाले यो कुनै कुरा वास्ता गरिनन् । उत्कृष्ट खेल भावना देखाउँदै उपचारमा सहयोग गर्न आग्रह गरिन् ।
कोर्टमा दुई मिनेटको उपचारपछि निरुता साथीहरुको साहारामा बाहिर निस्किइन् । कोर्ट बाहिर पनि फिजियो उपचार जारी राखे । पछि उनलाई थप उपचारको लागि ब्लु क्रस अस्पताल लगिएको थियो । निरुता घाइते भएको आठ मिनेटपछि एपिएफले सेट २६–२४ ले जित्दै खेललाई २–२ को बराबरी अवस्थामा पुर्याएको थियो । निरुता नहुँदा स्वभाविक रुपमा टिम रणनीति र प्रदर्शनमा असर गर्यो । टोलीका अन्य खेलाडीमा त्यसको मानसिक प्रभाव पनि पर्ने नै भयो । अन्तिम तथा निर्णायक पाँचौं सेट ९–१५ ले गुमाउँदा सबै ६ संस्करणको फाइनल खेलेको एपिएफ पहिलो पटक उपाधि जित्न असफल रह्यो ।
‘अब उ पनि खेलाडी नै हो । निरुता हामीसँगै खेलेको खेलाडी हो । उसलाई सहयोग गर्ने कोही थिएन । त्यति बेला मलाई आफ्नै चोट पनि अलिकति याद आयो । पक्कैपनि त्यो मानवता नै हो । एपिएफ टोलीको साथमा फिजियो थिएन । त्यहाँ उसलाई पिडा भइरहेको थियो । यदि म फिजियो भएको भए मैले नै गएर ठिक गर्दिन्थे’, प्रतिभाले भनिन् ।
प्रतिभा आफूलाई सुरुमा निरुता लडेको थाहा नभएको बताइन् । उनले थपिन् ‘मलाई उ लडेकै थाहा थिएन । एकछिन खेल ढिलो जस्तो भयो । किन भनेर हेर्दा उ त घाइते भएको रहेछ । के भएको थियो थाहा छैन । कसरी लड्यो त्यो पनि देखिन । पछि देख्ने बितिक्कै दाई (लोकेन्द्र कुँवर) लाई जानु भनेर पठाइदिए ।’
प्रतिभालाई चोटको पीडा कस्तो हुन्छ राम्रोसँग थाहा छ । २०७६ माघ १० गते पाँचौ आरबीबी–एनभीए राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपको फाइनलमा एपिएफविरुद्ध खेल्नेक्रममा प्रतिभाको दायाँ घुँडाको लिगामेन्टमा गम्भिर चोट लागेको थियो । त्यहिँ चोटको कारण उनले झण्डै एक वर्ष कोर्ट बाहिर रहनुपर्यो। प्रतिभा त्यो क्षण झुक्केर पनि सम्झिन चाहन्नन् ।
‘मेरो बेला कोहि फिजियोथेरापिष्ट नै थिएन । मेडिकल टिम थियो । तर खेलाडीलाई तत्काल फिजियो चाहिन्छ । आइस लगाइदिनु भएको थियो । फिजियोथेरापिष्टले अझ उत्कृष्ट गर्न सक्नुहुन्थ्यो जस्तो लागेको थियो । हिजो हामीसँग पनि आइस प्याक थिएन । मलाई लाग्छ दाईले गर्न सक्ने गर्दिनुभयो होला । फिजियो दाइले पछि त्यस्तो गम्भीर चोट होईन भनेपछि राहत महसुस भएको थियो’, प्रतिभाले भनिन् ।
‘विपक्षी भन्दैमा उ घाइते होस् । उ घाइते भएपछि जित्छु भन्ने मानसिकता भने छैन । आफ्नो विपक्षी घाइते भयो भनेपछि खुशी हुनु हुँदैन सबैमा जस्तो लाग्छ’, प्रतिभाले भनिन् ।
यता निरुताले आफ्नो अवस्था सामान्य रहेको बताएकी छिन् । ‘बल उठाएपछि म उठ्नै सकिन । लक भए जस्तो भयो । खुट्टा टेक्नै सकिन । खेल्दा त्यस्तो कहिल्यै भएको थिएन । त्यति बेला त ठूलै चोट लागे जस्तो लागेको थियो । धन्न त्यस्तो केहि देखिएन’, निरुताले आफ्नो चोटबारे भनिन् ।
निरुताले बिहीबार पुन चिकित्सकलाई देखाएपछि चोटबारे सम्पूर्ण जानकारी पाउने छिन् । ‘हिड्दा अलि अलि गाह्रो छ । अलि अलि दुखाई छ । डक्टरले आइसिङ गर्न भन्नुभएको छ, त्यहि गर्दैछु’, उनले भनिन् ।
फिजियो र प्रतिभाले आफूलाई खेलपछि पनि म्यासेज गरेको निरुताले बताइन् । ‘प्रतिभाले ईशारा गरेको मैले देखिन । तर मलाई मनमा भने लागेको थियो । साँझमा मलाई प्रतिभा र फिजियो दाईले पनि म्यासेज गर्नु भएको थियो’, उनले भनिन् ।
न्यू डायमण्डका फिजियो लोकेन्द्रले यता आफ्नो खेलाडी हेरिरहेको हुँदा नगएको बताए । ‘मैले यता अर्को खेलाडी हेरिराहेको थिएँ । मेरो टिममा मात्रै ध्यान केन्द्रित थियो । त्यहाँ त हस्पिटलको छ । त्यहाँ मेडिकल टिम हुँदा त्यसरी जान मिल्छ वा मिल्दैन मलाई थाहा पनि थिएन । आ-आफ्नो फिजियो होला भन्ने थियो । पुगेपछि मैले सक्दो सहयोग गरें’, लोकेन्द्रले भने ।
त्यसैमा थपे, ‘त्यहाँ त मेडिकल टिम छ । भोलीको दिन आयोजकले म जदा केहि भन्ने हो कि भन्ने पनि हुन्छ । प्रतिभाले भनेपछि मलाई जान सजिलो भयो । आयोजकको बारे मलाई थाहा थिएन । खास सबै टोलीमा आ–आफ्नो फिजियो हुन पर्ने हो । त्यो नियम हो । मेडिकल टिमले हेरि राखेको थियो । मैले मेरो हातले गर्न सक्ने सेवा गरे ।’
एपिएफका मुख्य प्रशिक्षक महेश चौधरी निरुता नहुँदा टोलीलाई ठूलो घाटा लागेको बताउँछन् । ‘निरुता नहुँदा असर त परि हाल्छ नि । फाइनलमा सरस्वती भन्दा निरुतानै चलेको थियो । त्यसैले हामीलाई त धेरै असर पर्यो’, चौधरीले भने ।
त्यसैमा उनले थपे, ‘पाँचौं सेटमा हामीले पुजालाई प्रयोग गरेका थियौं । पुजाले पनि खेल्न सकेन । निरुता हुँदा हामीले जित्ने सम्भावना थियो । हामी निर्णायक सेटमा पुगेका थियौं । निरुता नहुँदा हामीलाई ठूलो घाटा लाग्यो । निरुताको अवस्था अहिले सामान्य नै छ ।’
सबैको प्रयासमा त्यो प्रतियोगितामा पहिलो पटक उपाधि जितेको प्रतिभाले बताइन् । ‘ सबै जनाको प्रयासले नै यहाँसम्म पुग्यौं र हामीले उपाधि जित्न सफल भएका छौं’, प्रतिभाले भनिन् ।
‘दबाब लियो भने खेल बिग्रिने हो । बीचबीचमा दबाब लिँदा खेल बिग्रिन्छ । त्यसको लागि अनुभव आवश्यक पर्दछ । लगातार खेल हुँदा अनुभव त राम्रो नै भएको छ । तर विश्राम समय अलिकति पुगेको छैन । हामीले जुन गल्ती गरेका छौं त्यो सुधार गर्ने समय पनि पाएका छैनौं । हामीले मात्र होईन सबै टोलीको अवस्था त्यस्तै छ । सुधार गर्न विश्राम समय पाए अझ राम्रो प्रदर्शन गर्न सक्छौं’, उनले भनिन् ।
माघ १ गते सम्पन्न एनभिए क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबविरुद्ध फाइनल खेलेपछि प्रतिभा दुई हप्ता न्यू डायमण्डको टोली बाहिर थिइन् । माल्दिभ्सको राष्ट्रिय क्लब च्याम्पियनसिप वेम्कोलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गर्दै विदेशी खेलाडीतर्फ सर्वोत्कृष्ट चुनिएकी थिइन् । तर प्रतिभा माल्दिभ्समा खेल्दा यता न्यू डायमण्डले सिक्किम र पोखरामा टाइगर कप गरि दुई प्रतियोगिता खेल्यो । सिक्किममा उपाधि जित्दा पोखरामा भने तेस्रो भएर फर्केको थियो ।
प्रतिभासँगै अभ्यास गर्न नपाउँदा टोलीको रणनीतिमा असर परेको बताउँछिन् । ‘त्यहिँ भएर हाम्रो टोलीमा रणनीति मिलेको थिएन । विश्राम समय पनि पुगेको थिएन । हामीले अभ्यास राम्रोसँग गरेका थिएनौं । हाम्रो टिम भावनाले यहाँसम्म खेलेको हो । अरु टिममा खेलाडीहरु घाइते हुँदा हाम्रो लागि फाइदा जस्तै भयो’, प्रतिभाले थपिन् ।
प्रतिभा उत्कृष्ट प्रदर्शन मात्रै होईन सिंगो टोलीको जिम्मेवारी नै बोकेर हिँडेकी हुन्छिन् । समर्थकहरु उनलाई सामाजिक सञ्जालमा प्रतिभाले न्यू डायमण्डको टोली खुकुराले चल्ला बोकेर हिँडेजस्तै हिँडेको समेत बताउने गर्दछन् । प्रतिभा समर्थकको त्यस्तो प्रतिक्रिया सुन्दा खुशी लाग्ने बताउँछिन् ।
‘खुशी लाग्छ । तर समर्थकहरुले भने जस्तो पनि होइन । उनीहरुले पनि आ–आफ्नो ठाउँबाट मिहिनेत गरि राखेको हुन्छ, उनले भनिन्,‘ मैले केहि भनेर उनीहरु मोटिभेट हुन्छ भने किन नभन्ने त । गल्ती सबैको हुन्छ । विश्वकपमा पनि उत्कृष्ट खेलाडीहरुको पनि खेल बिग्रिन्छ । बिग्रिने बित्तिक्कै आत्तिनु हुँदैन । अर्को राम्रो गर भनेर खेलाडीलाई सम्झाई राखेको हुन्छु ।’
भलिबलमा आउन चाहाने खेलाडीका लागि पनि प्रतिभा प्रोत्साहित गर्छिन् । ‘म के भन्न चाहन्छु भने आँट गर्यो भने । आफ्नो मानसिक सोच म खेल्छु र मैले खेल्नुपर्छ भन्ने हुनुपर्छ । खेलेर राष्ट्रको नाम राख्न सकिन्छ भनेर त्यसरी लाग्यौं भने हामीले केहि गर्न सक्छौं । राष्ट्रको सहयोगपनि हामीलाई त्यतिकै चाहिन्छ । सबैकुरा भनेको मानसिकता हो । सकारात्मक मानसिकताले गछौं भन्ने सोचले हामी जे पनि गर्न सक्छौं । आँट गर्नुहोस् पक्कैपनि राम्रो हुन्छ।’
प्रतिभा नेपाली महिला भलिबल इतिहासले पाएको उत्कृष्ट खेलाडी मध्ये एक हुन् । जब उनले स्पाइक प्रहार गर्छिन् त्यो जो कोहीलाई हेरौं हेरौं लाग्छ । उनको शक्तिशाली स्पाइक उठाउन सहज छैन । नेपालले पछिल्ला तीन वर्षमा प्राप्त गरेका तीन सफलतामा उनको भूमिका महत्वपूर्ण रह्यो ।
तीन वर्षअघि एक महिनाको अन्तरमा एभिसी सेन्ट्रल जोनममा च्याम्पियन हुँदा, १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो पटक रजत जित्दा होस् वा यो वर्ष एभिसी सेन्ट्रल जोनको उपाधि रक्षा गर्दा होस् उनी टोलीको केन्द्रबिन्दुमा थिइन्।
प्रदर्शनबाट समर्थकको मन जित्न सफल प्रतिभाले खेल भावना पनि त्यतिनै राम्रो देखाएकी छिन् । प्रतिभा साँच्चै भलिबलकी उदाहरणीय र प्रेरणादायी खेलाडी हुन् । प्रतिभाको क्षमता, प्रदर्शन, नेतृत्व, स्वभाव र खेल भावना जति प्रसंशा गरेपनि कमनै हुन्छ ।
January 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डरद्वय कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय लिग(आईएल) टि ट्वान्टीको पहिलो खेलमा मौका पाएनन् । दुवै टोलीको आइतवार पहिलो खेल थियो । दीपेन्द्र र कुशलले प्लेईङ-११ मा मौका पाएनन् । कुशल आबद्ध डेजर्ट भाईपर्सले अबुधावी नाइट राइडर्सलाई पराजित गरेको थियो । डेजर्टले नाइटराईडर्सलाई ७ विकेटले पराजित गरेको थियो […]
January 13, 2025
एजेन्सी- साविक विजेता म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा पुगेको छ। जोसुआ जिरकेजीले पेनाल्टीमा निर्णायक गोल गरेपछि आइतवार युनाइटेडले आर्सनललाई टाइब्रेकरमा ५-३ ले हराएको हो । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । ब्रुनो फर्नान्डेजले ५२ औं मिनेटमा युनाइटेडका गोल गरेका थिए । ग्याब्रिएल मागल्हेसले ६३औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काएका […]
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज बागमती युथ क्लबले त्रिभुवन आर्मी क्लबको समाना गर्दैछ। आर्मी जारी लिगमा बागमतीलाई तेस्रो पटक दाउमा रहनेछ। आर्मीले दोस्रो चरणमा बागमतीलाई ३-० शुन्य र अन्तिम चरणको पहिलो लेगमा भने २-० ले हराएको थियो। पछिल्लो जितमा विमला बिक र सपना लामाले गोल गरेका थिए। विभागीय टोली आर्मी, […]