default_image

2 years ago

September 7, 2022

भलिबल संघको निर्वाचन आज, चन्द र मास्के प्यानलबीच प्रतिस्पर्धा

256 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको राष्ट्रिय खेल भलिबलको सर्वाेच्च संस्था नेपाल भलिबल संघको नवौं चुनावी साधारण सभा बुधबार काठमाडौंमा हुँदैछ ।

अघिल्लो साधरणसभामा अध्यक्षलगायतका कार्यसमितिमा निर्विरोध निर्वाचित भएपनि यसपटक चुनाव हुने सम्भावना बढी छ । संघको उपाध्यक्ष रहेकी निरोज मास्केले यसअघि नै भलिबल बिकासका लागि पाँच ‘प’ को प्रतिबद्धतासहित अध्यक्षको लागि उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । भने संघका महासचिव रहेका जितेन्द्र बहादुर चन्दले आइतबार मात्रै एजेन्डासहित उम्मेदवारी दिने घोषणा गरेका छन् ।

यि दुवैको तर्फबाट महासचिवमा पनि उम्मेदवारी परेकाले दुवै पछि हट्ने सम्भावना न्यून हुँदा प्रतिस्पर्धा हुने सम्भावना बलियो छ । यि दुवैले छुट्टै प्यानल नबनाएको भनेपनि चन्द पक्षबाट रोशन श्रेष्ठ र मास्केपक्षबाट मनवीर छन्त्यालले महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । यस अर्थले पनि अध्यक्ष र महासचिवका लागि निर्वाचन हुने सम्भावना छ ।

दुवै टोलीले एक विशेष कार्यक्रमसहित उम्मेदवारी दिने घोषणा गरेका थिए । यसपटक निर्वाचित हुने अध्यक्ष संघको व्यक्तिगत सातौं र समग्रमा आठौं अध्यक्ष हुनेछन् । २०३३ सालमा स्थापित संघमा यसअघि अनुप शम्शेर जवरा, बासुदेव प्रधान, प्रकाश थपलिया, अनुप शम्शेर जवरा, गंगा बहादुर थापा (२०५४–२०६८), दान बहादुर तामाङ (२०६८–२०७२) र मनोरन्जनरमण शर्मा (२०७२–७९) अध्यक्ष रहिसकेका छन् । अनुप शम्शेर जवरा दुईपटक अध्यक्ष भएका थिए ।

निरोज मास्के अध्यक्षमा निर्वाचित भए उनी भलिबल संघको इतिहासमा पहिलो महिला अध्यक्ष बन्नेछिन् ।
चन्दलाई वर्तमान अध्यक्ष मनोरञ्जनरमण शर्माको साथ रहेको विश्वास गरिएको छ । उता मास्केका प्यानललाई पूर्व अध्यक्षद्वय गंगा बहादुर थापा र दान बहादुर तामाङलगायतको साथ रहेको देखिएको छ ।

मास्केले दुई वर्षअघि नै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । केन्द्रिय सदस्य हुँदै संघमा प्रवेश गरेकी मास्केले त्यसपछि कोषाध्यक्ष हुँदै उपाध्यक्ष बनेकी थिइन् । उम्मेदवारी घोषणा गर्दै उम्मेदवार मास्केले भलिबल विकासका लागि पाँच ‘प’ को आफ्नो प्रतिबद्धता पनि सार्वजनिक गरेकी छिन् । जसमा प्रशिक्षण, प्रतियोगिता, पूर्वाधार, प्रोत्साहन र प्रशासनिक संरचना रहेका छन् ।

प्रशिक्षणमा खेलाडीतर्फ ग्रासरुट, विद्यालय, उमेर समूह, क्लब, सिनियर र भेट्रानमा प्रशिक्षण हुनेछ । रेफ्री र प्रशिक्षकतर्फ पालिका, जिल्ला, प्रदेश र केन्द्रमा प्रशिक्षण हुनेछ । यस्तै ग्रासरुट देखि नै ट्यालेन्ट हन्ट, स्कुल टु युनिभर्सिटी कार्यक्रम र पालिका स्तरका कार्यक्रम पनि रहेका छन् ।

प्रतियोगितातर्फ विद्यालय, क्लब, पालिका, जिल्ला, प्रदेश, राष्ट्रिय, अन्तर्राष्ट्रिय (सहभागिता र आयोजना), भेट्रान, पारा, व्यवसायिक र कर्पाेरेट, बिच भलिबलसँगै प्रदेश र केन्द्रिय स्तरमा स्तरीय क्लब प्रतियोगिता आयोजना गर्ने आफ्नो घोषणा पत्रमा उल्लेख छ । पूर्वाधारतर्फ केन्द्रमा व्यवस्थित कभर्डहल, हरेक प्रदेशमा राष्ट्रिय स्तरका कभर्डहल, केन्द्र तथा प्रदेशमा भलिबल एकेडेमी, स्थानिय तहमा पुर्वाधार र बिच भलिबलको केन्द्र स्थापना रहेका छन् ।

प्रोत्साहनतर्फ राष्ट्रिय टिमका खेलाडीलाई नियमित सेवा सुविधा, खेलाडी, प्राविधिक तथा अफिसियलको बिमा, खेलाडी बर्गिकरण र सहुलियत कार्डको व्यवस्था र खेलाडी एक्सचेन्ज र एक्सपोजर कार्यक्रम रहेको छ ।

प्रशासनिक संरचनामा व्यवस्थित कार्यालय र प्रशासन, आर्थिक नियमावलीसहित पारदर्शिता, विभिन्न विभाग गठन र परिचालन, व्यवस्थित सुचना सञ्चार प्रवाह र दक्ष र प्रविधियुक्त प्राविधकहरु राख्ने रहेका छन् । श्रोत व्यवस्थापनतर्फ सरकारी निकायसँग साझेदारी, नीजि क्षेत्रको परिचालन, सदस्यता वितरण र प्रभावकारी बाँडफाड व्यवस्था, रणनीतिक साझेदार, एनआरएनए र विश्वभर छरिएका भलिबल प्रेमी शुभेच्छुक र पेशागत संघ संस्था र समुदायको संलग्नता एवं परिचालन गर्ने रहेको छ ।

यस्तै खेलाडी हुँदै एक दशकदेखि संघको महासचिव पदमा काम गरिसकेका चन्दले १४ वटा एजेन्डामा प्रस्तुत गर्दै आफ्नो नेतृत्वमा रहेको टिमले त्यसलाई पूरा गरेरै छोड्ने बताएका छन् । ‘हामीले १४ एजेन्डा मात्र प्रस्तुत गरेका छौ । त्यसलाई पूरा गर्न सकेनौ भने त्यो बेलामा आएर हामीलाई भन्नुस् । हामीले पूरा गर्न सक्ने एजेन्डा बनाएका छौ,’ चन्दले भनेका थिए, ‘मेरो नेतृत्वमा आएको नयाँ कार्यसमितिले आफुले गरेको प्रतिबद्धता पूरा गर्नेछ । उनले नयाँ कार्यसमितिले काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन’ को स्टाइलमा काम गरेमा भलिबलको आफ्नै कभर्डहल बन्ने तथा भलिबल विकास हुने बताएका छन् ।

१४ एजेन्डामध्ये स्थानीय तह जिल्ला प्रदेशदेखि केन्द्रसम्म रहेका संघहरुलाई व्यवस्थित गर्दै भलिबल खेलको बिकास गर्ने, संघ र संघसँग सम्बन्धित निकायसँग छलफल गरी वार्षिक क्यालेन्डर प्रकाशित गर्ने, कार्यन्वयन गर्ने, विद्यालय भलिबल कमिसनलाई सक्रिय गराई कम्तीमा वर्षमा महिला र पुरुषको १–१ राष्ट्रिय टिम बनाइ अन्तर्राष्ट्रिय उमेर समूहमा सहभागी गराउने एजेन्डा छन् ।

यसपटक ३९ सदस्यीय कार्यसमितिमा अध्यक्ष, ५ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, ७ सचिव र १० सदस्य गरी २५ जना निर्वाचित हुनेछन् । बाँकी १४ मध्ये १३ जनालाई निर्वाचित कार्यसमितिले मनोनित गर्नेछ । १ जना पूर्व अध्यक्ष पदेन सदस्यका रुपमा रहनेछन् ।

निर्वाचनमा १ सय ३६ जना मतदाता रहेपनि यसपल्ट भने १३३ जनाले मात्र मतदान गर्न पाउनेछन् । ७७ वटै जिल्लाबाट ७७ जना, सात प्रदेशबाट १४ जना, हालको केन्द्रीय कार्यसमितिबाट ३९ जना रहेपनि तीन जना राखेपका कर्मचारी रहेकाले मत हाल्न पाउने छैनन् । रेफ्री कमिसनबाट १ र राष्ट्रिय खेलाडी (पुरुष र महिला) र तीन सिभिल क्लब (ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र, न्यू डायमण्ड युथ स्पोर्टस क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र) ले संघको निर्वाचनमा मताधिकार पाएका छन् ।

March 1, 2025

मेचीनगर गोल्डकपको तयारी अन्तिम चरणमा

हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]

March 1, 2025

च्याम्पियन्स ट्रफी – दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]

March 1, 2025

इङ्ल्यान्डका कप्तान बटलरको राजीनामा

एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]

Success

Thank you for your time.